तीन प्रधानमन्त्रीका पिताको यस्तो मरण

image

राणाका सिपाहीले लास बोकेर शंखमूल घाटसम्म पुर्‍याए । उनको काजकिरियाको पनि छुट्टै कथा छ । कृष्णप्रसादको मृत्यु हुँदा दुई आमासहित साइला छोरा कोसु काठमाडौंमा, मातृका र तारिणी विराटनगरमा, बीपी पटनामा र गिरिजा वनारसमा थिए । यस प्रसंगमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई भनेका थिए — पिताजीको मृत्यु भयो तिमी पटना जाऊ भन्ने कोसु दाजुको टेलिग्राम पाएपछि म बीपीलाई भेट्न गएको थिएँ । 

बीसौं शताब्दीको अन्त्यतिर राणा शासन उत्कर्षमा थियो । गीता, पुराण वाचन र पर्चा वितरण गरेर ‘गाथगादी ताकेको’ अभियोगमा नेपाल प्रजा परिषद्का चार सदस्यलाई मृत्युदण्ड दिइएपछिका दिनमा राणा विरोधी भावना ह्वात्तै बढेको थियो । तर, प्रजारिषद्का चार सदस्यलाई मृत्युदण्ड र दर्जनौलाई जेलमा कोचिएकाले राणाहरू भने आफूविरुद्ध कसैले बोल्ने आट गर्ने छैनन् भन्नेमा ढुक्क थिए । 

उता महात्मा गान्धीको नेतृत्वमा भारतमा स्वतन्त्रता संग्राममा जारी थियो । त्यस आन्दोलनले नेपाली जनतामा नागरिक अधिकार र स्वतन्त्रताको चेतना अभिवृद्धि गराइरहेको थियो । त्यतिबेला अध्ययनका क्रममा बीपी कोइराला बनारसमा थिए भने उनका दाजु मातृका काठमाडौंमा नेपाल सरकारको वन सल्लाहकार रहेका बेलायती नागरिक स्मिथका दोभाषे सुब्बा थिए । 

मातृकाका चार वर्षे छोरा कमल ती दिन बाबाआमाका साथ घट्टेकुलोस्थित डेरामा थिए । घट्टेकुलो हिजोआज जस्तो कंक्रिटको जंगल बनिसकेको थिएन । जताततै लहलह बालीनाली । बाह्रै महिना पिसानी हुने घट्ट चल्थ्यो त्यहाँ । 

उमेरले आठ दशक नाघेका कोइराला परिवारका (कम्युनिस्ट ) सदस्य कमलले लेखकलाई सुनाए — ती दिनका धमिला तस्बिर मेरो मस्तिष्कमा अझै ताजै छन् । तिनलाई स्पष्ट पार्न भने स्मिथले खिचेका फोटाहरू हेर्ने गर्छु । हामी हात्तीमा चढेर चितवन, हेटाैँडा जान्थ्यौ । ती तस्बिरले मलाई त्यस युगका घटना सम्झाइरहन्छन् । 

कमलले सम्झिए — मेरो काका (बीपी) र बाजे (कृष्णप्रसाद) केही समयको अन्तरालमा पक्राउ पर्नुभयो । बीपी भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा पटना जेलमा हुनुहुन्थ्यो । यता भारतबाट भागेर सप्तरी (नेपाल) पसेका भारतीय नेताहरु जयप्रकाश नारायण र राममनोहर लोहिया पनि पक्राउ परेका थिए । त्यसको केही समयपछि जमिन्दारहरुको सहयोगमा स्थानीय जनताले हनुमाननगर जेल तोडेर उनीहरुलाई भगाइदिए । राणाकालमा प्रशासन र सुरक्षा संयन्त्र नाममात्रको थियो । सारा जनता लागेपछि मालपोत उठाउने प्रयोजनका लागि राखिएको त्यो प्रशासनले के नै गर्न सक्थ्यो र ?  

दुवै नेतालाई समाएर भारत पठाउन अंग्रेज सरकारले राणाहरुमाथि चर्को दबाब दिएको थियो । त्यही समयमा  जयप्रकाश र लोहियालाई कृष्णप्रसादले आश्रय दिएकाछन् भन्ने पोल कसैले लगाइदियो । विराटनगरका बडाहाकिम आफैँ कोइराला निवासको तलासी लिन आइपुगे । जयप्रकाशले बीपीलाई उपहार लेखेर दिएको एउटा किताबबाहेक केही पनि फेला परेन । खाली त्यतिमात्र हो भेटिएको । त्यत्तिकै आधारमा कृष्णप्रसाद पक्राउ परे । 

नेपालका तीन प्रधानन्त्री (मातृका, बीपी र गिरिजाप्रसाद कोइराला) का पिता पक्राउ गरेको दिनको स्मरण गर्दै पूर्वप्रधानमन्त्री सुशील कोइरालाले लेखकलाई सुनाएका थिए — हामी केटाकेटी नै थियौँ । सबै घटनाक्रम याद छैन । खाली पिताजीलाई समाएर लैजाने बेलामा हामी खुब रोएको सम्झना छ ।  

बाथका रोगी कृष्णप्रसादलाई हिँड्न गाह्रो थियो । त्यही थाहा पाएर होला, बडाहाकिमले आफ्नै खर्चमा बयलगाडामा हिँड्ने सुविधा दिएका थिए । विराटनगरबाट हनुमाननगर, सिरहा, सर्लाही, वीरगञ्ज हुँदै काठमाडौं पुग्न उनलाई २२ दिन लाग्यो । 

कमलले सम्झिए — बैलगाडामा काठमाडौंतर्फको यात्रा गरिरहँदा जलेश्वरमा लक्ष्मण शास्त्री र रामचन्द्र अधिकारी (मनमोहन र भरतमोहन अधिकारीका पिता) ले मेरो बाजेलाई देख्नुभयो । यस सम्बन्धमा भरतमोहन अधिकारीले पनि एकपटक सुनाउनु भएको थियो मेरो पिताजीले तिम्रो बाजेलाई भेटाउनु भएको मलाई याद छ ।

अड्डा सार गर्दै बारा पुर्‍याएका बेला आफूले कृष्णप्रसादलाई भेटेको सन्दर्भमा वरिष्ठ अधिवक्ता गणेशराज शर्माले कमलसँग भनेका थिए — हामी वाराको बरियारपुरमा बस्थ्यौँ । मेरो बाले भन्नुभयो — खर्दार साहेब, खर्दार साहेब । बैलगाडी रोकेर नमस्कार गरेको म सम्झन्छु ।  

बयलगाडाबाट वीरगञ्जसम्मको यात्रा पूरा गरेपछि कृष्णप्रसादलाई नेपाली रेलबाट अमलेखगञ्ज लगियो । त्यहाँबाट काठमाडौं ।

काठमाडौं प्रवेश गरेपछि जेठा छोरा सुब्बा मातृकाले पिताजीलाई कालिमाटीमै भेटे । केही समय उनलाई पाको पोखल्ट्याङस्थित भेटनारायण श्रेष्ठको घरमा राखियो । 

त्यो घरको पनि अर्कै कथा छ । भेटनारायणले राणाकी छोरीसँग बिहा गरेका थिए । त्यो बेला राणाले मन पराए भने जोसुकैका छोरी बुहारी समाएर लैजान्थे । त्यस्तो अत्याचारको विरोधमा बोल्ने हिम्मत कसैको हुँदैनथ्यो । तर, कुनै नेवारले राणाकी छोरीसँग प्रेममा परी बिहा गरे देश निकाला र सर्वस्व हरणको सजाय भोग्नुपथ्र्याे । राणाकी छोरीसँग प्रेममा परेका भेटनारायण पनि भागेर कलकत्ता पुगे, घर भने हरण गरियो । त्यही घरमा कृष्णप्रसादलाई नजरबन्द गरिएको थियो । 

पिताजी पक्राउ परेपछि मातृकाको नोकरी खोसियो । राणाकालीन प्रशासनमा कसैको पनि स्थायी जागिर हुँदैनथ्यो । वर्ष दिनमा एकपटक जागिरेहरुको पजनी हुन्थ्यो । कृष्णप्रसादलाई थुनेको केही दिनमै मातृकालाई सात दिनभित्र चार भञ्ज्याङ काट्न आदेश दिइयो । 

कमलले सम्झिए — बाबा (मातृका) ले उपत्यका छाड्नु पर्ने निश्चित भयो । हामी विराटनगर फर्किने तयारीमा थियौँ ।  एक दिन आमाले मलाई हिडाउँदै त्रिपुरेश्वर लिएर जानु भयो । हिजोआज जस्तो घट्टेकुलोबाट पुतलीसडक, भद्रकाली हुँदै जाने बाटो थिएन । टुँडिखेल पूरै घुमेर भद्रकाली हुँदै त्रिपुरेश्वर गयाैँ । 

तिनताका दिनमा एक, दुई घन्टा हिड्नु सामान्य मानिन्थ्यो । बाजेलाई अन्तिम पटक कमलले भेटेको त्यही दिन हो । त्यसअघिका भेटको धमिलो स्मरण मात्र उनीसँग छ । हिँड्दा हिँड्दै कमलले वाग्मति किनारमा एउटा सेतो ढुंगा टिपेका थिए । 

विसं २०७६ साउन दोस्रो साता ७५ वर्षपछि बाजेलाई थुनामा राखेको जुद्धधर्मशालामै पुगेका कमलले सुनाए — बाजेलाई भेटेको यो ठाउँ हेर्न जाऊँ भन्ने धेरै पटक लाग्यो । मौका मिलेको थिएन । आज तपाईहरुले ल्याउनु भयो । 

बाजेलाई थुनिएकै उही कोठामा पुगेका कमलले सम्झिए — वाग्मति नदी निक्कै सफा र फराकिलो थियो । आमाले मलाई अघि अघि लगाएर धर्मशालाको माथिल्लो तलाको यही लामो कोठामा पुर्‍याउनु भयो । पूर्वपश्चिम फैलिएको कोठामा मैले अनौठो दृश्य देखे ।

पश्चिमतिरको एउटा खाँबामा रामदलका प्रहरी जवानको रातो फेटा टाँगिएको छ । हिजोआजजस्तो प्रहरीले क्याप लगाउने चलन थिएन । फेटा लगाउँथे । फेटा टाँगिएको छ, प्रहरी चाहिँ छैन । अहिले आएर कल्पना गर्छु — निगरानी गर्न खटाइएको त्यो सिपाही कृष्णप्रसाद भाग्ने होइनन् भनेर ढुक्कले फेटा त्यही छोडेर घुम्न जाँदो हो ।
बिरामी कृष्णप्रसादको साथमा सेवाका लागि उनका दुवै पत्नी मोहनकुमारी र दिव्या पनि थिए । 

कृष्णप्रसादलाई थुनामा भेट्ने एकमात्र जीवित पात्र कमलले भने — यही कोठा हो, त्यो दिन मेरो मानसपटलमा ताजै छ । लामो दरीमाथि तीनवटा बिछौना छन् । पुलिसको फेटा राखेको कोठामा एउटा अर्को बिछौना बेरेर राखेको छ । सेतो झुस्स, दाह्री पालेका बाजे बस्नुभएको थियो । केटाकेटी मन न हो । मलाई बसिरहन के मन लाग्थ्यो र ? यता उता गर्दै थिएँ ।

आमाले त्यो बेलाको चलनअनुसार सासुससुरालाई ढोग्नु भयो । अनी मलाई पनि भन्नुभयो — ढोग पिताजीलाई । ढोगेँ । बालापन न हो । म कहिले घाटतिर हेर्थे, कहिले कता । झ्यालतिरबाट हेर्दा फाट्टफुट्ट मानिसहरु गइरहेको देखिन्थ्यो । हिजोआजजस्तो थापाथली त्रिपुरेश्वरको बाटो बनिसकेको थिएन । मान्छेहरु पनि कम हुन्थे । मैले वाग्मति किनारबाट ल्याएको सेतो ढुंगा हातमा लिइरहेको थिएँ । बाजेले सोध्नुभयो — ल देखा त तैँले हातमा के लिइरहेको छस् ? मैले मुठ्ठी खोलेँ । दे मलाई त्यो ढुंगा भन्नुहुन्छ । केटाकेटी न भएँ म  । झन् मुठ्ठी बन्द गर्छु । आमाले भन्नुभयो — दे तेरो चिनो राख्छु भन्नु भएको छ । बाजेले — भन्नुभयो दे तेरो ढुंगो म चिनो राख्छु । मैले मान्दै मानिन ।

आमाले बाटोमा पाइहालिन्छ नी दे भनेपछि बल्लबल्ल दिएँ । लिएर राख्नुभयो । फेरि पनि यो मेरो कल्पना हो । कहिले कहीँ म कल्पना गर्छु केही गरी उहाँ जेलबाट जिउँदै छुटेको भए के भन्नुहुन्थ्यो होला ? विराटनगर आएर भन्नुहुन्थ्यो होला — देखिस् तैँले दिएको चिनो मैले कति जतन गरेर राखेको छु । 

त्यसपछि एकदमै भावुक भएर कमलले सुनाए — हुन त कोइराला निवासमा बाजेसँग बिताएका क्षण आमा बाबाको मुखबाट मैले धेरै थाहा पाएको छु तर मेरो सम्झनाको अर्को भेट हुन पाएन । 

मातृकाको नोकरी खोसिएपछि कमल विराटनगर फर्किए । काठमाडौंमा जाडोको मौसम सुरु भयो । 

उता विराटनगरमा तारिणीप्रसाद कोइराला कालो कोट लगाएर हेरक दिन बिहान टेलिग्राम अफिस जान्थे । काठमाडौंबाट दाजु केशवले बिरामी पिताजीका बारेमा केही खवर पठाउँछन् कि भनेर ? 

केही दिनपछि काठमाडौंमा लगातार दुई दिनसम्म ठूलो हिमपात भएको समाचार आइपुग्यो । एक त बाथका बिरामी त्यसमाथि हिमपात, पिताजीको स्वास्थ्य के भयो होला भन्ने चिन्ता थपिँदै थियो । 

काठमाडौं ल्याएर पाको पोखलड्याङको घरमा राखिएका बेला भेट्न जानेहरुलाई कृष्णप्रसाद भन्दा रहेछन् —राणाहरुले थुनेर राखेका छन्, राम्ररी खान पनि दिँदैनन् । कुनै दूतले यो कुरा प्रधानमन्त्री जुद्धशमशेरलाई सुनाई दिएछ । 

रिसले चुर भएर उनले भनेछन् — झन् काठोलाई मान गरेर जेलमा नहाली नजरबन्द गरेर राखेको । खान दिएनन् राणाहरुले भन्दो रहेछ । हाली दिनु जेलमा । सिदा पाउँछ ।

आदेशलगत्तै बबर शमशेरको चिठी लिएर सिपाहीहरु उनलाई जेल सार्न भनेर आई हाले । कृष्णप्रसादको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने त आदेश पालना गर्ने उनीहरुलाई के मतलब ? 

बाबुको अवस्था चिन्ताजनक छ भनेर त्यति बेला वन विभागका जागिरे छोरा केशव वीरगञ्जबाट काठमाडौं आए थिए । जेल सार्न भनेर आएका सिपाहीलाई उनले भनेछन् यस्तो सिकिस्त मानिसलाई कसरी जेल लग्ने ? ल माथि जाउ कुरा गर्न । 

प्रधानमन्त्री जुद्धशमशेरले हिड्न नसक्ने भए उलिन काठमा राखेर भए पनि ल्याउनु भन्ने आदेश दिए । त्यसमा पनि बस्ने अवस्था थिएन । केशवले पिताजीलाई लिन आएका सिपाहीलाई भनेछन् — यस्तो हालतको मानिसलाई कसरी लैजाने ? राणा प्रधानमन्त्रीको आदेश अवज्ञा गर्नसक्ने अवस्था थिएन । फेरि स्ट्रेचर लिएर आए । त्यसैमा राखेर भद्रगोल जेल पुर्‍याए । जहाँ टंकप्रसाद आचार्य र रामहरी शर्मालाई पनि राखिएको थियो । दुवैले कृष्णप्रसादलाई भेट्न पाऊँ भन्दा अनुमति दिइएन । यो प्रसंग रामहरी शर्माले आफ्नो स्मरणमा लेखेका छन् । 

घरमा मकलमा आगो तापेर दुई पत्नी र छोराका साथ बसेका कृष्णप्रसादको अवस्था जेलमा सारिएपछि एकदमै खराब भयो । एक दिन राति एकजना मानिस आएर केशवप्रसाद कोइरालालाई भनेछ– तपाईँका पिताजीलाई फेरि यहीँ ल्याएर राख्नु भन्ने हुकुम छ । सिपाहीहरुले फेरि जेलबाट धर्मशालामै लिएर आए । 

कमलले सम्झिए — तारिणीको टेलिफोन अफिस जाने र आउने क्रम चलिरहेकै थियो । एकदिन अचानक कोइराला निवास (विराटनगर) को आगनमा काका तारिणी रुँदै गरेको देखे । काठको फल्याकमा बसेका तारिणी ओभरकोटको बाहुलाले मुख छोपेर एक सुरले रुँदै थिए । मातृका दौडिँदै आएर सोधे — के भयो तारिणी ?

घरको बार्दलीमा बसेर हेरेको दृश्य सम्झिँदै कमलले भने — मलाई लाग्यो, यति ठूलो मानिस त्यसरी किन रुनुभएको होला ? तारिणी दाजुले रुन्चे स्वरमा भन्नुभयो — पिताजी जानुभयो । त्यसपछि घरमा कोकोहोलो मच्चियो । स्वास्नी मानिसहरु सबै रुन थाले । म चाहिँ अलमलमा परेँ । रुन मन लागेन । बरु परालको टालमा चढेँ । त्यहीँबाट सबै रोएको हेरिरहेको छु । त्यत्तिकैमा मामाबाजे (जानकीप्रसाद, पूर्वमन्त्री आमोद उपाध्यायका बाबु) आउनु भयो ।  यो त परालको टालमा पो बसेछ भनेर तल झार्नुभयो ।

उता काठमाडौंमा कृष्णप्रसादको मलामी जाने मान्छे पनि पाइएनन् । देशद्रोहीको आरोपमा थुनिएका उनको मालामी गएर राणाको कुदृष्टिमा पर्न को तयार हुने ? दुई पत्नी, छोरा बुहारी र अरु तीनजना आफन्तबाहेक कोही भएन । तीनजनाले मात्र लास बोक्न नमिल्ने खबर पुगेपछि मोहनशमशेरले बाबुआमा मरेका छ जना पुलिस पठाई दिए । बाबुआमा भएकाले लास बोक्नु हुँदैन भन्ने मान्यता थियो ।

हिउँ परेको छ, त्यसमाथि मलामीको अभाव । आर्यघाट लैजानसक्ने अवस्था भएन । कसरी लैजाने ? केही उपाय नभएकाले शंखमूल घाटमा दाह संस्कार गर्ने तय भयो । बीपीले पिताजीको दाह संस्कार विष्णुमतीमा भएको लेखेका छन् । त्यतिबेला पटनामा रहेका उनले सुनेको आधारमा लेखेको कुरा सत्य होइन । कमलले भने — मलाई पिताजीसँगै रहनु भएकी नोना आमा र कोसुबाबाले सुनाउनु भएकाले शंखमूलमा दाह संस्कार भएको सत्य हो ।  

लास उठाउनुअघि अर्को आश्चर्यजनक घटना भयो । प्रहरीहरु मृत कृष्णप्रसादको शरीरमा संगीनले च्वास्स च्वास्स घोच्न थाले । राणाका सिपाहीको त्यो व्यवहार देखेर केशव जंगिए । जिउँदो हुँदा त चैनसँग बाँच्न दिएनौ, दिएनौ मरिसके पछि पनि संगीनले घोप्ने ? 

सिपाहीले मृत्युपछि कृष्णप्रसादको लासलाई दुःख दिन भनेर संगीनले घोपेका भने होइनन् । त्यति बेला अहिलेजस्तो ‘पोस्टमार्टम’ गर्ने चलन र प्रविधि थिएन । जलाउनुअघि लासको प्रकृति मुचुल्काका लागि संगीनले घोप्ने चलन थियो । मरेको हो होइन एकिन गर्न सिपाहीले लासलाई संगिनले घोपेका रहेछन् । तर, त्यो चलन थाहा नभएका केशव बाबुलाई मरेपछि पनि दुःख दिएको ठानेर रिसाए । 

राणाका सिपाहीले लास बोकेर शंखमूल घाटसम्म पुर्‍याए । उनको काजकिरियाको पनि छुट्टै कथा छ । कृष्णप्रसादको मृत्यु हुँदा दुई आमासहित साइला छोरा कोसु काठमाडौंमा, मातृका र तारिणी विराटनगरमा, बीपी पटनामा र गिरिजा वनारसमा थिए । यस प्रसंगमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई भनेका थिए — पिताजीको मृत्यु भयो तिमी पटना जाऊ भन्ने कोसु दाजुको टेलिग्राम पाएपछि म बीपीलाई भेट्न गएको थिएँ । 

काठमाडौं र विराटगरमा कृष्णप्रसादको परम्पराअनुसार काजकिरिया भयो । बीपी अंग्रेजको जेलबाट छुटेकै दिन कृष्णप्रसादको मृत्यु भएको थियो ।

तर, उनलाई पटना बाहिर जाने अनुमति थिएन । बीपीले बाबुको काजकिरिया पनि गरेनन् । यसरी कृष्णप्रसादको मृत्यु भएको ७ वर्ष भित्र उनकै छोराहरु (बीपी, मातृका) को नेतृत्वमा भएको सशस्त्र क्रान्तिले १०४ वर्ष लामो राणा शासनको अन्त्य भयो ।

अनि उनकै जेठा छोरा मातृका जनताको छोरामा पहिला प्रधानमन्त्री भए । त्यसको आठ वर्षपछि २०१६ मा कृष्णप्रसादका माहिला छोरा बीपी र २०४८ सालमा कान्छा छोरा गिरिजा प्रधानमन्त्री भए ।

संसारमै एकै बाबुका तीन तीन छोरा मुलुकको कार्यकारी प्रधानमन्त्री भएको इतिहास रचियो ।

यस सन्दर्भमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकलाई सुनाएका थिए — एकपटक जापानीहरुको एउटा उच्चस्तरीय प्रतिनिधि मण्डल नेपाल आएको बेला मलाई सोधेका थिए । तपाईँहरु एउटै बाबुका तीन छोरा प्रधानमन्त्री हुनुभयो । यस्तो घटना बिरलै हुन्छन् ।

उनीहरुले कोइरालाको जिन परीक्षण गर्न चाहेका थिए रे !  




प्रतिक्रिया


  1. Hi there! Would you mind if I share your blog with my twitter group? There's a lot of people that I think would really appreciate your content. Please let me know. Thank you

    Thanks for finally talking about >तीन प्रधानमन्त्रीका पिताको यस्तो मरण - अन्वेषी मिडिया प्रा .लि. <Loved it!

    What's Going down i'm new to this, I stumbled upon this I have discovered It positively useful and it has helped me out loads. I'm hoping to give a contribution & help different users like its aided me. Good job.

    Hello, I enjoy reading all of your post. I wanted to write a little comment to support you.

    Hmm it looks like your blog ate my first comment (it was super long) so I guess I'll just sum it up what I submitted and say, I'm thoroughly enjoying your blog. I as well am an aspiring blog blogger but I'm still new to everything. Do you have any helpful hints for first-time blog writers? I'd genuinely appreciate it.

    Hey would you mind sharing which blog platform you're using? I'm planning to start my own blog soon but I'm having a difficult time making a decision between BlogEngine/Wordpress/B2evolution and Drupal. The reason I ask is because your design seems different then most blogs and I'm looking for something unique. P.S Sorry for getting off-topic but I had to ask!

    Amazing! This blog looks just like my old one! It's on a completely different subject but it has pretty much the same layout and design. Great choice of colors!

    Thanks for some other informative website. Where else may just I get that type of information written in such a perfect means? I have a challenge that I'm simply now working on, and I've been at the glance out for such information.

    Hello, I enjoy reading through your article post. I like to write a little comment to support you.

    It's amazing designed for me to have a web site, which is helpful designed for my know-how. thanks admin