प्रधानमन्त्री आफै हारेको एउटा चुनाव

image

अधिकारीले लेखकलाई सुनाए – ‘‘म बोली भ्याएकै थिइन, योगप्रसादजीले भन्नथाले – हेर्नुस् किसुनजी ४० हजार मत मेरो खल्तीमा छ । अब त्यसमाथिको भोटका लागि मात्र उहाँहरुको प्रयत्न सुरु हुन्छ । गृहमन्त्रीको कुरा सुनेर प्रधानमन्त्री मज्जाले हाँसे । अधिकारीले लेखकलाई सुनाए – ‘‘के बुझेर हाँस्नुभयो थाहा भएन । वाह ! चालीस हजार भोट भन्नुभयो । अनि योगप्रसादजी भन्न थाले ‘अरे किसुनजी जब भगवान देता है तो छप्पर फाड्के देता है । तपाईलाई अहिले हराउने को छ ?’’

तीन दशकअघिको कुरा हो । तीस वर्षे पञ्चायती व्यवस्थाको अन्त्यलगत्तै नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा शक्तिशाली अन्तरिम सरकार बनेको थियो । व्यवस्थापिकाको समेत अधिकार पाएको अन्तरिम मन्त्रिपरिषद्लाई संंविधान निर्माण गरी संसदीय चुनाव गराउने कार्यादेश थियो । विसं २०४७ सालको कात्तिकमा संविधान जारी गरेर सरकारले २०४८ वैसाख २९ गते एकै चरणमा मतदान हुनेगरी चुनावको मिति तय ग¥यो । चुनावी वातावरण ह्वात्तै चर्केेका बेला जनआन्दोलनका सहयात्री कांग्रेस र नेपाल कमयुनिस्ट पार्टी (एमाले) बीचको  प्रतिस्पर्धा चरममा पुगेको थियो । 
विसं २०१५ पछि मुलुकमा पहिलो पटक संसदीय निर्वाचन भइरहेकाले जनता पनि उत्साहित थिए । तर, प्रधानमन्त्री भट्टराई र एमाले महासचिव मदनकुमार भण्डारीबीचको प्रतिस्पर्धाका कारण नेपालीको सर्वाधिक चासो थियो – काठमाडौं क्षेत्र नं १ मा । 


त्यो चुनावमा प्रधानमन्त्री भट्टराईले गृहमन्त्री योगप्रसाद उपाध्याय चुनावी अभियानको सारथि बनाएका थिए भने अधिवक्ता श्रीहरी अर्याल थिए सहसंयोजक । 
संयोजक उपाध्याय भए पनि चुनाव परिचालन र रिपोर्टिङको सबै काम अर्यालकै जिम्मामा थियो । यसबीच बाबुको निधन भएकाले अर्याल काजक्रियातिर लागे । अनि प्रधानमन्त्री भट्टराईले अधिवक्ता राधेश्याम अधिकारीलाई भने – ‘‘मलाई नेपालभर घुम्नुपर्छ । त्यसैले श्रीहरीजीले गरेको काम अब तपाईँ हेर्नुस् ।’’
सांसद अधिकारीले लेखकलाई सुनाए – ‘‘मैले तत्काल पत्रकार किशोर नेपाललाई भने तपाईँ आफ्नो टिम लिएर घुम्नुस् । कुन बुथमा किसुनजीको के अवस्था छ, रिपोर्टिङ गरिदिनुस् ।’’

पूरै क्षेत्र घुमेपछि नेपालले रिपोर्ट गरे – ‘‘तीस हजार मत नल्याउँदासम्म किसुनजीले जित्ने सुनिश्चित हुँदैन । हामीले जति बुझ्दा पनि उहाँको मत चौबीस पच्चिस हजारभन्दा माथि जान सकिरहेको छैन । किसुनजी एकदमै धरमरमा हुनुहुन्छ । हार्न सक्नुहुन्छ । ’’

चुनाव हुन चार दिन बाँकी रहँदा २०४८ वैशाख २५ गते बिहान अधिकारी सरासर बालुवाटार पुगे । त्यति बेला प्रधानमन्त्री भट्टराई बेडरुममै गृहमन्त्रीसँग कुरा गर्दै थिए । अधिकारीले रिपोर्ट गरे – ‘‘किसुनजी हाम्रो भोट ३० हजार नभईकन जित सुनिश्चित हुँदैन । अहिलेसम्म जति गर्दा पनि २५ हजारभन्दा माथि गइरहेको छैन । थप मेहनत गर्नुपर्छ भन्ने रिपोर्ट मैले पाएको छु ।’’

त्यो क्षण स्मरण गर्दै अधिकारीले लेखकलाई सुनाए – ‘‘म बोली भ्याएकै थिइन, योगप्रसादजीले भन्नथाले – हेर्नुस् किसुनजी ४० हजार मत मेरो खल्तीमा छ । अब त्यसमाथिको भोटका लागि मात्र उहाँहरुको प्रयत्न सुरु हुन्छ ।

गृहमन्त्रीको कुरा सुनेर प्रधानमन्त्री मज्जाले हाँसे । अधिकारीले लेखकलाई सुनाए – ‘‘के बुझेर हाँस्नुभयो थाहा भएन । वाह ! चालीस हजार भोट भन्नुभयो । अनि योगप्रसादजी भन्न थाले ‘अरे किसुनजी जब भगवान देता है तो छप्पर फाड्के देता है । तपाईलाई अहिले हराउने को छ ?’’ 

निर्वाचन परिचालन समितिका संयोजक गृहमन्त्री स्वयं बोलिसकेपछि अधिकारी मौन भए । मनमनै लाग्यो – सामान्य साथी गुहारेको त हो नि मैले । गृहमन्त्री बलियो सूचना भएर नै बोले होलान् नी । तै पनि मन चिसै थियो । एक कप चिया खाएर उनी बाहिरिए । 

चुनावी अभियान जारी रहँदा एमाले नेताहरुले काठमाडौं – १ मा प्रधानमन्त्री भट्टराईविरुद्व महासचिव भण्डारीको उमेदवारी फिर्ता लिने र त्यसका लागि कांग्रेसले सुनसरीमा एमाले अध्यक्ष मनमोहन अधिकारीलाई छोडिदिनु पर्ने प्रस्ताव ल्याएका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ‘किसुनजी’ नामक सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले प्रकाशित गरेको पुस्तिकामा लेखेका छन् – ‘‘त्यो प्रस्ताव हामीले अन्तरिम सरकारका मन्त्री मथुराप्रसाद श्रेष्ठको घरमा मदन भण्डारी, कृष्णप्रसाद भट्टराई, म र प्रकाश काफ्ले भएर राखेका थियौँ ।’’ 

भट्टराई गृहमन्त्रीको रिपोर्टमा ढुक्क थिए । मतदानको अघिल्लो दिन वैशाख २८ गते बिहानै बालुवाटार पुगेका राधेश्याम अधिकारीले प्रधानमन्त्री भट्टराईलाई सोधेका थिए – ‘‘किसुनजी जितेर प्रधानमन्त्री हुनुभयो भने भविष्यमा के के गर्नुहुन्छ ?’’ 

हँसिलो मुद्रामा रहेका भट्टराईले अधिकारीलाई बेडरुममै लिएर गए । तकिया देखाउँदै भने – ‘‘हेर्नुस् यो तकियामुनि नेपालका सबै समस्या थिचेर म सुत्छु । तपाईलाई थाहा छ ? अनिमात्र मलाई पुरा निद्रा लाग्छ । नेपालमा यति धेरै समस्या छन् कि तपाई कल्पना गर्न समेत सक्नुहुन्न । तर, मेरो लक्ष्य चाहिँ देशका ७५ वटै जिल्लामा सडक र बत्ती पुर्‍याउने छ । त्यति काम सरकारको हो । बाँकी जनता आफैँले गर्छन् ।’’  

वैशाख २९ गते । चुनाव हुने दिन । चुनाव परिचालन कमिटीका सहसंयोजक अधिकारीले भने – ‘किसुनजी मत हालेपछि तपाइँले सबै बुथमा पुगेर मतदातालाई हात हल्लाई दिनुभयो भने पनि राम्रो सन्देश जान्छ । भेट्नै पाएनौ भन्ने धेरैको गुनासो छ ।’’ 

प्रधानमन्त्रीले भने – ‘‘हैन राधेश्यामजी तपाई जानुस् । बरु मतदान गरेपछि म तपाइँलाई चाबहिलसम्म लगेर छोडिदिन्छु । जानु । इट डज नट लुक नाइस् (म गएको राम्रो देखिन्न म जान्न’ ।’’

प्रधानमन्त्रीकै मोटरमा अधिकारी मीनभवनसम्म पुगे । त्यहीँ भट्टराईले मत खसाले । मतदातातिर फर्किएर ‘भी’ सेपमा औँला देखाए । बीबीसीका पत्रकार मार्क टलीलाई अन्तवार्ता दिँदै भने – ‘हामी ‘थम्पिङ मेजरिटी’ ल्याएर जित्छौँ ।’’ अनि रत्नराज्य स्कूल बानेश्वर, मित्रपार्क हुदै चावहिल पुगेपछि भट्टराई बालुवाटारतिर लागे । 
मतदान अवधिमा कांग्रेसी उत्साहित थिए । चुनाव सकियो, गाउँबाट काउन्टिङ सुरु हुँदा प्रधानमन्त्री हारिरहेका थिए । कांग्रेसीहरु चाहिँ बानेश्वरको गणना त सरु होस्, जिती हाल्नुहुन्छ नि भन्दै ढुक्क थिए । 

गणना अन्तिम चरणतिर आइपुग्दा प्रधानमन्त्री हार्ने करिब करिब निश्चित भइसकेको थियो । गणनास्थल राष्ट्रियसभा गृह पुगेका कांग्रेसी सबै निराश देखिए । भट्टराईलाई जिताउन हरतरहले सक्रिय हुनेमध्येका एक भरतशमशेर राणा पनि त्यहीँ थिए । विसं २०१५ सालको संसद्मा विपक्षी दलका नेता राणाले २०१७ सालको ‘कु’पछि आफ्नो दल राष्ट्रिय गोर्खा परिषद्लाई कांग्रेसमा विलय गराएका थिए । पञ्चायती व्यवस्थाविरुद्व (२०१८ र २०२९) मा भएको सशस्त्र क्रान्तिमा हतियार किन्नेदेखि कमाण्ड सञ्चालनको भूमिका उनले निवार्ह गरे । 

राणाले अधिकारीसँग भने – ‘‘किसुनजी हार्ने हुनुभयो । बमसम पड्काएर भए पनि भाँडभैलो पार्नू पर्छ ।’’ राणाको कुरा सुनेर अधिकारी तर्सिए । उनले भने – ‘‘म यो पक्षमा छैन । हामी देशभर जितिरहेका छाैँ । राम्रो रिजल्ट आइरहेको छ ।’’ त्यसपछि राणा मतगणना स्थल राष्ट्रियसभा गृहवाट बाहिरिए । 

क्षणभरमै परिणाम घोषणा भइहाल्यो । एमाले महासचिव मदनकुमार भण्डारी (२७ हजार ३७२) संग प्रधानमन्त्री भट्टराई (२६ हजार ६२१) ७५१ मतको अन्तरमा पराजित भए ।  कार्यवाहक सभापति तथा प्रधानमन्त्री भट्टराईको पराजयले बहुमत स्थान जिते पनि कांग्रेसजनका लागि चुनाव खल्लो भयो ।

नित्य गीता पाठ गर्ने भट्टराई ‘कर्म गर फलको आशा नगर’ भन्ने त्यसको सारबाट दीक्षित थिए । चुनाव हार्नु उनका लागि नयाँ घटना थिएन । त्यसअघि २०१५ सालमा पनि उनी पराजित भएका थिए । 

अन्तिम परिणाम घोषणा भएपछि सहसंयोजक अधिकारी निराश मुद्रामा बालुवाटारतिर लागे । चुनावमा खटिएका कार्यकर्ताको मनोबल बढाउँदै भट्टराईले भने – ‘‘केही छैन चुनावमा हारजित त हुन्छ ।’’ त्यति बेला चालीस हजार मत मेरो पकेटमा छ भन्ने गृहमन्त्री सानो मुख लगाएर छेउमा बसिरहेका थिए । 

प्रधानमन्त्री आफैँ पराजित भएको घटना सबैका लागि अप्रत्याशित थियो । तत्कालीन प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लेखकलाई सुनाए – ‘गणनामा म आफैँ रातभर गएर बसेको पनि थिए । किसुनजीको हारले मलाई पनि ‘सक’ भयो । प्रधानमन्त्री नै हारेपछि सक हुनु स्वाभाविकै हो । पछि म उहाँलाई भेट्न गएँ । आफू हारेको कुरालाई एकदमै सहजरुपमा लिनुभयो । म हारेँ सूर्यप्रसादजी केही छैन भन्नुभयो । चुनाव हो हारजित हुन्छ । के फरक पर्‍यो ? प्रधानमन्त्री आफैँ हार्ने चुनाव कति निष्पक्ष भएछ भन्नुभयो ।’’ भट्टराई हारेपछि चुनाव अनुगमनमा खटिएका एक कर्मचारी ‘हार्ट एट्याक’ भएर मरे ।’’ 

पराजयबाट भट्टराईभन्दा उनका कार्यकर्ता र शुभचिन्तक बढी दुखी भए । तीमध्येका एक पूर्वमन्त्री राजेन्द्र खरेलले लेखकलाई सुनाए – ‘‘कल्पनै थिएन, किसुनजीले हार्नुहुन्छ भन्ने । जुन दिन हार्नुभयो, जीवनमा पहिलोपटक त्यति धेरै रोए, अनी बेस्सरी रक्सी पिएँ । पाँच सात दिन पिएरै बसेँ । अनिमात्र किसुनजी कहाँ गए । बडो चिन्ता मानेर बस्नु भएको रहेछ । आफ्नो नियतिलाई दोष दिनु भयो ।’’

भट्टराईको पराजय बारे बीबीसीका पत्रकार मार्क टलीले लेखेको प्रसंग ‘किसुनजी’ पुस्तकमा पत्रकार विजयकुमारले उल्लेख गरेका छन् । टलीले लेखेका थिए – ‘‘मलाई राम्ररी थाहा छ । एक पत्रकारका रुपमा मैले पक्ष र विपक्षमा भेदभाव गर्नु हुँदैन । तर म यो स्वीकार नगरी बस्न सक्दिन कृष्णप्रसाद भट्टराईको पराजयले मलाई उदास बनाएको छ । मेरो नजरमा उनी दक्षिण एसियाका एक असाधारण नेता हुन् ।’’




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |