दरवार हत्यकाण्ड अघि नै राजा वीरेन्द्रलाई अनिष्टको संकेत गर्ने जोगी को थिए

image

श्रीहर्षले सुनाए – ‘‘मैले गिरिजावावुलाई भेट्दासम्म चार दिनको अन्तरमा तीन राजाको नाममा शासन चलिसकेको थियो । सानोबुवा अझै टेन्सनमै हुनुहुन्थ्यो । मैले जोगीसँगको कुराकानी र त्यसपछिका घटनाक्रम सविस्तार सुनाए । उहा“ले भन्नुभयो – ‘‘तैले यो कुरा मलाई पहिल्यै किन नभनेको ? मैले भने – त्यति बेला मलाई डर लाग्यो सानोबुवा तपाइँले श्रीहर्ष बहुलायो कि क्या हो भन्नुहोला भन्ने । डरले भन्नै सकिनँ ।”

विसं २०५८ जेठ पहिलो साताको कुरा हो । बीपी पुत्र श्रीहर्ष कोइराला बालुवाटरस्थित कार्यालयमा व्यस्त थिए । खत्री थरका एक व्यवसायी हस्याङफस्याङ गर्दै आइपुगे । तिनताका श्रीहर्षका काका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने उनी आफैँ पनि कृषि विकास बैंकका सल्लाहकार । कृषि र कुखुराको दाना उत्पादन गर्ने व्यवसायी कल्याण खत्रीले भने – ‘‘श्रीहर्षजी ! व्यवसायमा मलाई धेरै नोक्सानी भयो, कृषि विकास बैंकमा अलिकति ऋण छ मिनाह गराई दिनुपर्‍यो ।’’ श्रीहर्ष भन्दै थिए – ‘यार मैले कसरी मिनाह गर्न सक्छु ?’ धेरै कर गरेपछि उनले खत्रीलाई भनिदिए ‘‘ठीक छ निवेदन हाल्नुस् के गर्न सकिन्छ म प्रयास गर्छु ।’’

श्रीहर्षबाट आफ्नो काम नहुने बुझेपछि खत्री भन्न थाले – ‘‘ठीक छ मेरो काम त गरिदिनु भएन । ऋणले म थला परेँ । तपाइँले सुन्नु भएन । त्यसो भए भारतबाट एकजना नामुद जोगी आएका छन्, भविष्यवाणी गर्न माहिर । एक एक कुरा मिलाउँछन् । तपाईँलाई भेट्ने भन्दैछन् । समय मिलाउनुस्, मसँग हिँड्नुस्, भेटाउँछु ।’’
श्रीहर्षले भने – ‘‘कता जोगी (ज्यौतिषी) भेट्न जाने यार ! म परेँ आईटीको मान्छे । ज्योतिषीमा विश्वास छैन । किन भेट्नु ।’’ मनमनै उनी सोच्न थाले ‘‘कतै ज्योतिष भेटाउने बहानामा आफ्नो ऋण मिनाह गर्न मलाई प्रभावित गर्ने रणनीति त होइन ।’’

 

 

 

खत्रीले धेरै कर गरेपछि श्रीहर्ष जोगी भेट्न राजी भए । त्यो घटनाबारे श्रीहर्षले लेखकलाई सुनाए – ‘‘उसले धेरै कर गरेपछि मैले हुन्न भन्नै सकिन ।’’  कल्याणले श्रीहर्षलाई सरासर बालाजु औद्योगिक क्षेत्र नजिकै आफ्नो घरमा पुर्‍याए । दक्षिण भारतबाट आएका जोगीसँग उनको त्यहीँ भेट भयो । 

श्रीहर्षलाई भेट्नासाथ जोगीले भने– ‘‘ देखिए, दो हप्ते के अन्दर शुक्रवारके दिन दरवारके लोग मारे जा रहे है । देखिए इस वक्त आपके चाचा प्रधानमन्त्री है । उनके उपर भी बडा एट्याक होनेवाला है । लेकिन मत घबराइए, उनको कुछ नहीँ होगा । सिट छोड्नी होगी । उसके वाद और दस साल जिएंगे वह ।” 
श्रीहर्षले लेखकलाई सुनाए – “मलाई उसको भनाइमा खासै विश्वास लागेन । त्यति गम्भीरतापूर्वक लिइन पनि । सानो बुबा अझै दस वर्ष बाँच्नुहुन्छ भन्यो । मेरो अनुहारमा एकोहोेरो हेरेर जोगीले भन्यो – ‘आप को अभि भी विश्वास नही हो रही है न ।’’ 

श्रीहर्ष चुपचाप बसिरहेका थिए । जोगीले झोलाबाट रातो रंग मिसिएको एक मुठी चामल निकाल्यो । मन्त्र गुनगुनाउँदै सोध्यो – ‘तपाइँको घरमा परेवा आउँछन् ?’

श्रीहर्ष : आएको त थाहा छैन !  

जोगी : हो मैले भनेको सत्य हो होइन, तपाईँले थाहा पाइहाल्नु हुनेछ । अब हेर्नुहोला । तपाईँको घरमा १३ वटा परेवा आउनेछन् ।  घरमा परेवा जति बढ्ने छन् तपाइँको त्यति नै उन्नति हुनेछ । 

श्रीहर्ष : छक्क पर्दै मनमनै (अब के उन्नति, कस्तो उन्नतिको कुरा गरेको होला ? मैले कुनै लाभको पद पाउने हो कि ? पैसा कमाउने हो कि ?) 

जोगी : ठीक छ । घर जानू । मैले भनेको कुरामा ध्यान दिनू । तपाईँको देशमा ठूलो दुर्घटना हुनेवाला छ । आफ्नो काका (प्रधानमन्त्री) लाई एलर्ट गराउनु होला । 

कुराकानी चलिरहँदा खत्री बाथरुमतिर लागे । जोगी बर्वराउँदै भन्न थाले ‘यो कल्याणको पनि धेरै दिन छैन, अब अरु केही महिनाभन्दा बढी बाँच्दैन ।’

उसको कुरा सुनेर श्रीहर्ष छक्क परे । लाग्यो ‘ल जसको घरमा बसेको छ, उसैलाई बाँच्दैन पो भन्छ बा !’

त्यसपछि श्रीहर्षले जोगीलाई सोधे – “हैन तपाइँलाई सबै कुरा थाहा छ भने आफैँ राजा र प्रधानमन्त्री (गिरिजावावु)लाई भेटेर यो सबै कुरा किन भन्न सक्नुहुन्न ?”

जोगी : राजा वीरेन्द्रले बोलाएरै त आएको हुँ । बेङलोरबाट । नत्र म जंगलमा बस्ने जोगी अहिले नेपाल किन आउथेँ ? 

रानी ऐश्वर्यले निक्कै कर गरेपछि राजाले मलाई बोलाउन लगाएका हुन् युवराज दीपेन्द्र र उनकी प्रेमिकाबीच विवाह सम्भव छ कि छैन भनेर सोध्नलाई । 

जोगी भन्दै थिए– ‘‘राजालाई म कसरी भनू कि तिमी मारिँदै छौ । तर, मैले उनलाई भनेको छु । सरकार पार्टी सरिक नहुनु होला र दरवारमा पनि कुनै पार्टी नराख्नु होला ।’’ 

ज्योतिष विद्यामा विश्वास नभएका कारण श्रीहर्षले त्यो दिनको घटनाबारे कसैसँग कुरा गरेनन् । पत्नी रुचिरालाई मात्र जोगीले भनेको कुरा सुनाए ।

यस प्रसंगमा २०७२ साल साउन १५ मा श्रीहर्षले लेखकलाई सुनाए – ‘‘घर फर्किएपछि पत्नीलाई मात्र उसको भविष्यवाणी सुनाएँ । गिरिजाबाबुलाई भन्न सकिनँ । कस्तो बौलाहासँग संगत गर्दो रहेछ ? भनिदिनु होला भन्ने डरले । उसलाई भेटेको भोलिपल्टदेखि घरमा परेवा देखा परे । त्यसअघि कहिल्लै मेरो घरमा परेवा देखिएका थिएनन् । रुचिराले जोगीले पठाएको अक्षता परेवालाई दिन भनिन् ता कि तिनको संख्या गन्न सकियोस् ।’’ 

जोगीले भनेबमोजिम घरमा परेवाको हुल आउन थालेपछि एकाबिहानै श्रीहर्ष बालुवाटारतिर लागे । रिसाए रिसाउनुहुन्छ काका (प्रधानमन्त्री) सबै कुरा सुनाउँछु भनेर । त्यो दिन प्रधानमन्त्री कोइराला निवासबाट बाहिरिइ सकेका थिए । भेट हुन सकेन । देशको प्रधानमन्त्रीको व्यस्तता हुने नै भयो । फेरि कुनै बेला भेट भयो भने भनौँला, भन्दै फर्किए उनी । 

केहीदिन श्रीहर्षले काकालाई भेट्न पाएनन् । विसं २०५८ जेठ १९ गते शुक्रबार राति प्रेम उपाध्यायले आत्तिएर फोन गरे – ‘‘दरवारमा गोली चल्यो रे को को मरे ? राजारानी मरे भन्छन् ।’’  राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्ववन्धु थापाका नातेदार प्रेमको भनाइमा पत्यार लागेन । श्रीहर्षले भनिदिए ‘‘तिमी बौलायौ कि क्या हो ? यो राति खाएर नचाहिने कुरा गर्ने हो ?’’ 

प्रेम भन्दै थिए ‘‘साँच्चै हो दरबारमा ठूलो घटना भएको छ । तपाईँ पत्ता लगाउनुस् ।’’

श्रीहर्षको दिमाग फन्फनी घुम्न थाल्यो । त्यो जोगीको भविष्यवाणी र उसको हाउभाउ चलचित्रको रिलजस्तै फनफनी घुमिरहेको थियो ।  उनले सीधै बालुवाटारमा फोन लगाए । अनि थाहा भयो – ‘‘दरवारमा ठूलो काण्ड भयो । प्रधानमन्त्रीज्यू दरवारका प्रमुख सचिव पशुपतिभक्त महर्जनका साथ निस्कनु भयो ।’’

बस ! श्रीहर्षको दिमाग बिजुलीको गतिमा घुम्न थाल्यो । आँखामा उही जोगीको अनुहार र भविष्यवाणीमात्र आइरह्यो । शुक्रवार नै दरवारका मान्छे मारिन्छन् भनेको थियो । त्यही भयो ।  श्रीहर्ष सीधै बालुवाटार पुगे । काकालाई भेट्न पाएनन् । फर्किए । मनमा लागिरह्यो – उसले सानोबुवामाथि ठूलो हमला हुनेछ भनेको छ । के होला कसो होला ? रातभर झिमिक्क नसुतेर बित्यो । 

जेठ २० गते बिहान मात्र थाहा भयो । जेठ १९ गते शुक्रवार दरवारमा भएको गोलीकाण्डमा राजा रानीसहित दश जनाको मृत्यु भयो । युवराज दीपेन्द्रको समेत मृत्यु भइसकेको थियो । कृत्रिम श्वास प्रश्वास दिएर राखिएको थियो उनलाई । 

उनै अचेत दीपेन्द्रलाई राजा घोषणा गरियो, अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक बनाइयो । नयाँ राजा घोषणा गरिए पनि दीपेन्द्रको राज्यारोहण भएन । राजा कहिल्यै मर्दैन भन्ने परम्पराअनुसार राजाको स्वर्गारोहण हुँदा नयाँ राजाको राज्यारोहणपछि मात्र दाहसंस्कार गर्ने प्रचलन थियो । तर नेपालको इतिहासमा पहिलो पटक त्यो परम्परा भंग भयो । 

जेठ २० गते अपराह्न ४ बजे राजारानीको शव यात्रा सुरु भयो छाउनी अस्पतालबाट । राजारानीको शवको ठीकपछि राज्य सहायक ज्ञानेन्द्र, अनि प्रधानमन्त्रीको मोटर थियो ।  तिनताका प्रधानमन्त्री कोइरालाको चर्को आलोचना भइरहेको थियो । संसद् र सडकमा मात्र होइन आफ्नै पार्टीभित्र पनि संस्थापक नेता भट्टराईले समेत पद छोड्न दबाब दिइरहेका थिए । 

शव यात्रा स्वयम्भु नजिक पुग्दा चर्को नारावाजी सुरु भयो । मानिसको भिडले सडकमा खुट्टा राख्ने ठाउँसम्म थिएन ।  राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना लेख्छन्– ‘‘शव यात्रा चलाएपछि प्रधानमन्त्रीलाई लक्ष्य गरी भयानक हमाला भयो । बाटोको छेउमा निर्माणाधीन एक चार तले घरमाथिबाट प्रधानमन्त्री चढेको मोटरमा चार पाँच किलोको ढुंगा फालियो । प्रधानमन्त्री वालवाल बचे । तर, छत कच्याककुचुक्क भयो । सुरक्षाकर्मी समेत ज्यान जोगाउन भाग्नुपर्ने अवस्था आइलाग्यो । 

स्थिति काबु बाहिर पुग्यो । मोटरमा प्रधानमन्त्री, अंगरक्षक र ड्राइभर थिए ।  प्रधानमन्त्री बोलेका थिएनन् । अंगरक्षक र ड्राइभरले मनमनै सोचे यति नै रहेछ मरिने नै भइयो ।  मोटरको अघिल्लो सिटमा रहेका अंगरक्षक सुनील श्रेष्ठ प्रधानमन्त्रीसँगै पछिल्लो सिटमा बसे । सुरक्षाका लागि प्रधानमन्त्रीसहित तीनैलाई हेलमेट लगाइयो । 

लगातार ढुंगामुढा भैरहेको थियो । वुलेट प्रुफ मोटरको सिसा पत्रपत्र हुँदै पूरै फुट्यो । प्रधानमन्त्रीको सुरक्षाका लागि प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणा आफैँ प्रधानमन्त्रीको मोटरको अघिल्लो सिटमा (अंगरक्षक बस्ने) बसे ।  

प्रधानमन्त्री कोइरालाविरुद्व नारावाजी गर्दै ढुंगा प्रहार हुन थालेपछि असुरक्षा महसुस गरेर गृहमन्त्री रामचन्द्र पौडेलसहित अधिकांश मन्त्रीहरु ज्यान जोगाउन शवयात्रा छोडर भागे ।  रामकृष्ण ताम्राकार, सुरेन्द्र चौधरी, महेश आचार्य भने अन्तिम समयसम्म प्रधानमन्त्रीसँगै थिए ।  उनीहरुले प्रधानमन्त्रीको मोटरतर्फ हेरे । बुलेट प्रुफ मोटरका सबै सिसा फुटिसकेका थिए, प्रधानमन्त्रीको काख र सिटमा इटा, ढुंगा, र सिसाका टुक्रा देखिए । टाउकोमा हेलमेट लगाए पनि प्रधानमन्त्री कोइरालाको ज्यान खतरामा थियो । 

अराजक र उद्दण्ड मानिसहरु फुटेका सिसाबाट लाठी छिराएर प्रधानमन्त्रीलाई घोच्ने प्रयास गर्दै थिए । त्यही वेला प्रधानमन्त्रीको विशेष सुरक्षाका हेर्ने जिम्मेवारी पाएका सई महेन्द्र मरासिनीले पहिलो हवाई फायर गरे । त्यसपछि उनले लगातार सात फायर खोले । मोटरको अघिल्लो सिटबाट प्रहरी महानिरीक्षक राणा आदेश दिँदै थिए – ‘फायर फायर ।’ 

अनि डीएसपी मिलन बस्नेतले समेत फायर खोले । स्थिति नियन्त्रणमा नआएपछि अंगरक्षक (क्याप्टेन) सुनील श्रेष्ठ एक हातले प्रधानमन्त्री कोइरालाको कम्मरमा समाएर जिउको सुरक्षा गर्दै अर्को हातले हवाई फायर गर्न थाले । 

त्यतिबेला चार तल्ला माथिबाट ढुंगा खसाउन लागेका एक युवकतर्फ श्रेष्ठको आँखा पुग्यो । चेतावनी दिँदै श्रेष्ठले रिभल्वर देखाए ‘...तँलाई उँडाई दिऊँ ?’ प्रधानमन्त्रीले भने – ‘गोली नचलाऊ है । गोली नचलाऊ ।’ श्रेष्ठले हवाई फायर खोलिरहे । गोलीको आवाजले शव यात्रा रणमैदान जस्तो बन्न पुग्यो । 

त्यो घटनाबारे प्रधानमन्त्रीका निजी सुरक्षाकर्मी महेन्द्र मरासिनीले लेखकलाई सुनाए – ‘स्थिति कति भयानक भइदियो भने बल प्रयोग नगरे उहाँको ज्यान जाने खतरा आइलाग्यो । कुनै विकल्प नभएपछि बाध्य भएर हामीले फायर खोलेका हौँ । घटनामा २१ राउन्ड हवाई फायर भएको थियो । फायर खोल्दासमेत स्थिति नियन्त्रणमा आएन । सुरक्षाकर्मीहरु भन्न थाले हैन – अब त गोली पनि सकियो के गर्ने ?’

प्रधानमन्त्रीको सुरक्षा खतरा, ज्यानै जान सक्ने तहमा पुगेको थियो, विष्णुमती पुग्दासम्म । त्यहाँ पुगेपछि चालक विष्णु लामिछानेले प्रधानमन्त्रीको मोटरलाई सुरक्षित तवरले बालुवाटार पुर्‍याए । 

प्रधानमन्त्री कोइरालाले लेखकलाई सुनाएका छन् – जीवनमा धेरैपटक म माथि आक्रमण भयो । तर यस प्रकारको खतरनाक आक्रमण कहिल्यै बेहोर्नु परेको थिएन । त्यो आक्रमण स्वःस्फूर्त भएको होइन सुनियोजित रुपमा गराइएको हो । त्यो मलाई मार्ने नै योजना थियो ।

राजा घोषणा गरिएको तेस्रो दिन दीपेन्द्रको मृत्युको घोषणा भयो ।  राजपरिषद्ले २२ गते नै ज्ञानेन्द्रलाई सिंहासनमा राख्ने निर्णय गर्‍यो । नया“ राजाका रुपमा ज्ञानेन्द्रले राज्यारोहण गरे । यसरी रोलक्रममा नरहेका ज्ञानेन्द्र दुईपटक मुलुकको राजा हुन पुगे । विसं २००७ सालमा पिता महेन्द्रभन्दा अघि राजगद्दीमा बसेका उनी फेरि भतिजा दीपेन्द्रपछि राजा हुन पुगे । 

श्रीहर्षले सुनाए – ‘‘मैले गिरिजावावुलाई भेट्दासम्म चार दिनको अन्तरमा तीन राजाको नाममा शासन चलिसकेको थियो । सानोबुवा अझै टेन्सनमै हुनुहुन्थ्यो । मैले जोगीसँगको कुराकानी र त्यसपछिका घटनाक्रम सविस्तार सुनाए । उहा“ले भन्नुभयो – ‘‘तैले यो कुरा मलाई पहिल्यै किन नभनेको ? मैले भने – त्यति बेला मलाई डर लाग्यो सानोबुवा तपाइँले श्रीहर्ष बहुलायो कि क्या हो भन्नुहोला भन्ने । डरले भन्नै सकिनँ ।”

दरवार हत्याकाण्डको केही समयपछि कल्याण खत्रीको पनि हृदयघातका कारण निधन भयो । राजारानीको शवयात्रामा प्रधानमन्त्रीमाथि नियोजित आक्रमण भयो । बल्लतल्ल जोगिए । त्यसको एक महिना केही दिनपछि होलेरी घटनामा प्रधानन्त्री कोइरालाले राजीनामा गर्नु पर्‍यो र जोगीले भने झैँ त्यो घटना भएको करिब करिब दश वर्षमै गिरिजाबाबुको निधन भयो । 




प्रतिक्रिया


  1. Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to make your point. You obviously know what youre talking about, why throw away your intelligence on just posting videos to your blog when you could be giving us something informative to read?

    I love what you guys are up too. This kind of clever work and exposure! Keep up the amazing works guys I've included you guys to my own blogroll.