रेडियो नेपालका कार्यकारी निर्देशक शर्माले लेखकलाई सुनाए — ‘शाही घोषणाको मस्यौदामा प्रधानमन्त्री देउवालाई अक्षम भनिएको थिएन । रेकर्डिङ सुरु भएपछि राजा आफैँले पेन्सिलले ‘असक्षम’ शब्द थपिदिए ।’ त्यो दिनको शाही घोषणामा राजाले भनेका थिए — ‘निर्धारित समयमा निर्वाचन गराउन असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई आजकै मिति (२०५९ असोज १८ गते) देखि पदमुक्त गरिबक्सी मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौँ ।’
सत्र वर्षअघिको कुरा हो । तिनताका म रेडियो नेपालको समाचार शाखामा काम गर्थेँ । विसं २०५९ असोज १८ गते बेलुकापख कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मा आफैँ रेकर्डिङ टिमका साथ दरबार जाने तयारी गर्दैै थिए । हामी सधैँ उनलाई जिस्किएर भन्थ्यौँ — सरले यो बुढेसकालमा के दुःख गरेको ? हामी जान्छौँ नि । त्यो दिन पनि यस्तै कुरा भयो । उनी भन्न थाले — हैन तपाईंहरु आफ्नो काम गर्नुस् । दरबार त म आफैँ जानुपर्छ । महाराजाधिराजबाट आफैँ आउनु हुकुम भएको छ । तपाईंहरु कहाँ जाने ?
कार्यकारी निर्देशक शर्माको सक्रियता देख्दा लाग्थ्यो राजाले पक्कै महत्त्वपूर्ण सम्बोधन गर्दैछन् । हामीले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सोध्यौँ । उनी त्यतिन्जेल अनभिज्ञ रहेछन् । पछि गुप्ता आफैँले रेडियो नेपालका कार्यकारी निर्देशक शर्माले दरबारबाट बोलावट भएको खबर गरेपछि मात्र आफूले राजाको शाही घोषणाबारे थाहा पाएको बताएका छन् । त्यसको दुई दिनपछि शर्माले आफू र नेपाल टेलिभिजनका महाप्रबन्धक तपनाथ शुक्ल राजाको सम्बोधन रेकर्ड गर्न जाँदाको रोचक प्रसंग सुनाए ।
‘साँझपख दरबारबाट खबर आयो । सरकारबाट शाही घोषणा हुँदैछ । रेकर्डिङ टिमसहित प्रमुख आफैँ आउनु होला । लगत्तै मैले सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई दरबारको फोनबारे जानकारी गराए । त्यति वेला साँझको ६ः४५ भइसकेको थियो ।’ केही समयपछि चिफइन्जिनियर रामशरण कार्कीलाई साथमा लिएर शर्मा दरबारतिर हानिए । नेपाल टेलिभिजनबाट महाप्रबन्धक तपनाथ शुक्लको टोली पहिल्यै पुगिसकेको थियो । राति दस बजे राजा ज्ञानेन्द्र ठूला ठूला भंगेरे अक्षरमा टाइप गरिएको शाही घोषणा वाचन गर्न थाले । यस क्रममा उनी ठाउँ ठाउँमा रोकिए ।
रेडियो नेपालका कार्यकारी निर्देशक शर्माले लेखकलाई सुनाए — ‘शाही घोषणाको मस्यौदामा प्रधानमन्त्री देउवालाई अक्षम भनिएको थिएन । रेकर्डिङ सुरु भएपछि राजा आफैँले पेन्सिलले ‘असक्षम’ शब्द थपिदिए ।’ त्यो दिनको शाही घोषणामा राजाले भनेका थिए — ‘निर्धारित समयमा निर्वाचन गराउन असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई आजकै मिति (२०५९ असोज १८ गते) देखि पदमुक्त गरिबक्सी मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौँ ।’
राजाको घोषणा सुनेपछि बल्ल सरकारी सञ्चार माध्यमका प्रमुखलाई देउवा सरकारको दिन सकिएको थाहा भयो । तर, उनीहरुले विभागीय मन्त्री (सञ्चार)लाई सूचना दिन सकेनन् । किनभने दरबारभित्र प्रवेश गर्दा मोबाइल बन्द गर्न लगाइएको थियो, फर्किने बेला खोल्न दिइएन ।
हुन त देउवा सरकारले राजाले कुन बेला फाल्ने हुन् भन्ने पूर्वसंकेत पाएको थियो । पछिल्लो समय देउवा आफैं मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरुसँग भन्ने गर्थे कुन दिन राजाले मैले दिएको राजीनामा स्वीकृत भयो भनेर रेडियो नेपालबाट फुकाई दिने हुन् । यो प्रसंग तत्कालीन सञ्चारमन्त्री गुप्ताले अख्तियारको थुना मेरो सम्झना नामक पुस्तकमा समेत उल्लेख गरेका छन् ।
यस प्रसंगमा देउवा सरकारका गृहमन्त्री खुमबहादुर खड्काले लेखकलाई सुनाएका थिए माओवादीको हिंसात्मक क्रियाकलापका चुलीमा थियो । त्यसैलाई देखाएर राजा प्रजातन्त्र समाप्त पार्ने षड्यन्त्रमा थिए । त्यही सुइँको पाएपछि मैले प्रधानमन्त्री देउवालाई भनेको थिएँ संसद् विघटन गर्न नहुने थियो भयो अब जति चरणमा भए पनि चुनाव त गराउनै पर्छ नत्र राजाले प्रजातन्त्र खान्छन् । ‘हुन्छ हुन्छ’ भने पनि शेरबहादुरजीले चुनाव गराउनेतर्फ ध्यानै दिनु भएन ।
तिनताका मुलुकको सबैभन्दा पुरानो प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेस दुई चिरामा बाँडिएको थियो । विसं २०५९ जेठ ८ गते हठात् संसद भंग गरेपछि प्रधानमन्त्री देउवालाई पार्टीको साधारण सदस्यबाट तीन वर्षका लागि निष्कासन गरिएको थियो । लगत्तै देउवाकै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरियो । नेपाली राजनीति दरबार, संसद्वादी दल र माओवादी तीन कित्तामा विभाजित थियो । दलहरु आफँैमा विभाजित भएर कमजोर थिए । जनतामा नेता र दलहरुको राम्रो छवि थिएन ।
माओवादी हिंसा चरममा थियो । पूरै ग्रामीण क्षेत्र उसको कब्जामा थियो, प्रहरी जिल्ला सदरमुकाममा खुम्चिएको थियो । राजाको हातमा सेना थियो भने विद्रोही माओवादीको निसानामा परेको प्रहरी निरीह साबित भइसकेको थियो । राजा चाहिँ संसद्वादी दल र माओवादीलाई भिडाएर २०४७ सालको संविधानमा गुमाएको आफ्नो शक्ति बढाएर राजतन्त्रलाई बलियो बनाउने रणनीतिमा थियो । नेपाली कांग्रेसको विभाजनले राजाको महत्त्वाकांक्षालाई झनै मलजल गरिरहेको थियो । पार्टी फुटेको भएको झन्डै चार महिनासम्म प्रजातान्त्रिक कांग्रेसको सभापतिको हैसियतमा देउवा नै प्रधानमन्त्री थिए ।
दरबारले विभिन्न कोणबाट प्रधानमन्त्री देउवासहित छ संसदभित्रका दलभित्र खेलेर कात्तिक २७ गतेका लागि तय भएको चुनाव सार्ने वातावरण बनायो । छ संसद्वादी दलले असोज १३ गते माओवादी हिंसाबीच चुनाव गराउन कठिन भएकाले मिति सार्न प्रधामन्त्री देउवालाई लिखित सल्लाह दिए । त्यसैको आधारमा देउवाले राजालाई चुनाव सार्न बिन्ती गरे । त्यसको पा“च दिन बित्न नपाउँदै राजाले असोज १८ गते प्रधानमन्त्री देउवालाई हटाएर सत्ता हातमा लिए ।
शाही घोषणमा राजाले भनेका थिए ‘प्रतिनिधि सभाका लागि आगामी कात्तिक २७ गते हुने निर्वाचन स्थगित गरिबक्सेका छौँ । अर्को व्यवस्था गर्न केही समय लाग्ने हुँदा सो व्यवस्था नभएसम्म नेपाल अधिराज्यको कार्यकारिणी अधिकार हामीमा निहित राखी मुलुकको शासनभार हामीबाटै ग्रहण गरिबक्सेका छौँ । नयाँ मन्त्रिपरिषद् गठन गर्नका लागि पा“च दिनभित्र स्वच्छ छवि भएका तथा आम निर्वाचनमा उम्मेद्ववार नहुने व्यक्तिको नाम सुझाव गरी पठाई राजनीतिक दलहरुबाट सहयोग हुनेछ भन्ने विश्वास हामीबाट लिइबक्सेका छौँ ।’
शाही घोषणाको रेकर्डिङ सकिँदासम्म पनि राजालाई कांग्रेस कम्युनिस्ट समर्थक कर्मचारीको बाहुल्य रहेको रेडियो र टेलिभिजनमा आफ्नो आदेशको अवज्ञा हुन्छ कि भन्ने डर रहेछ । त्यो राति राजासँग भएको संवाद रेडियो नेपालका कार्यकारी निर्देशक शर्माले समाचार कक्षमा बडो रोचक ढंगले सुनाएका थिए ।
राजा : ‘तपाईँहरु यो शाही घोषणा बजाउन सक्नुहुन्छ ? सक्नुहुन्न भने म आर्मी पठाउँछु ।
शैलेन्द्र : सरकार यो सेवक हुँदासम्म आर्मी पठाउनु पर्दैन ।
राजा : ठीक छ । जाऊ ।
घोषणाको टेप लिएर दरबारबाट बाहिरिएपछि शर्मा र शुक्ल दुवै आफ्नो मोटर चढ्ने तरखर गर्दै थिए । त्यति नै बेला ‘सर ! त्यता होइन, यता’ दुई फुर्तिला सैनिक अधिकृत उनीहरुलाई पछ्याउँदै आइपुगे । दुवैलाई छट्टाछुट्टै निजी कारमा बसाए । तीव्र गतिमा हुइँकिएका ती कार एकैपटक सिंहदरबारको गेटमा रोकिए । त्यतिन्जेल निक्कै राति भइसकेको थियो । जनता मस्त निद्रामा थिए । दरबारमा भने बल्ल खेल सुरुभएको थियो । त्यसैले नै त भनिएको होला, दरबार दिनभर सुत्छ । रातभर जाग्छ ।
सिंहदरबार गेटमा तैनाथ सुरक्षाकर्मीलाई सैनिक अधिकारीले परिचयपत्र के देखाएका थिए तिनले बुट बजारेर स्यालुट गरे । अनि फटाफट ढोका खोलिदिए । एउटा मोटर नेपाल टेलिभिजन र अर्को रेडियो नेपाल परिसरमा पुगेर रोकियो ।
त्यो रातको घटना कार्यकारी निर्देशक शर्माले यसरी सुनाए — दरबारबाट हाम्रो सुरक्षाका लागि सेना आएको रहेनछ । हामी कहा“ कांग्रेस र कम्युनिस्ट समर्थक कर्मचारीको बाहुल्य छ । तिनले राजाको घोषणा बजाउन दिने हुन् कि हैनन् भनेर पो आएको रहेछ त !
कार्यालय पुगेपछि शर्मा समाचार कक्षमा बसे । प्रमुख इन्जिनियर रामशरण कार्की जी शाही घोषणाको टेप बोकेर स्टुडियोतिर दौडिँदै थिए । सैनिक अधिकृत कार्यकारी निर्देशक शर्मासँग ठूलो स्वरमा भन्न थाले — सर ! उहाँ कता दौडिएको ?
शर्माले जावाफ दिए — सरकारको घोषणा बजाउन । सैनिक अधिकृत भन्न थाले — हैन, उहाँलाई एक्लै पठाउने होइन सर ! म पनि जानुपर्छ । कार्की अघिअघि सैनिक अधिकारी पछिपछि । कार्कीसँगै उनी स्टुडियो छिरे । रातको ११ बजे रेडियो नेपालबाट शाही घोषणा प्रसारण भयो ।
स्टुडियोभित्र घोषणा बजेको सुनिएन । सैनिक अधिकारीले कार्कीलाई सोधे — सर सरकारको घोषणा बज्यो त ? कार्कीले भने — बजिसक्यो त !
तैपनि तिनलाई विश्वास भएन । सेटमा सोधे — ए केटा हो ! रेडियो सुन त । बज्यो सरकारको घोषणा ? उताबाट ‘बजिरहेको छ सा’ब’ भन्ने उत्तर आयो । अनिमात्र उनी शान्त भए ।
रेडियोले शाही घोषणा बजायो- ‘निर्धारित समयमा निर्वाचन गराउन असक्षम प्रधानमन्त्री शेरबहादुर देउवालाई आज २०५९ असोज १८ गतेदेखि पदमुक्त गरिबक्सी मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौँ ।’
पूरै घोषणा प्रसारण नभएसम्म सैनिक अघिकृत स्टुडियोमै बसे । राजाको आवाज सुनियो । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । जय नेपाल ! अनिमात्र उनी बाहिरिए ।
I've ben browsing on-line mofe than 3 hours lately, yet I never discovered aany attention-grabbing article like yours. It's loovely value enouugh for me. Personally, iff alll site ownerss and bloggers made exceolent content material as yyou did, thee internet will likely bee mmuch moore elpful than ever before.
Yourr way of describing thee whole thing in this post is actally fastidious, evesry one caan simply understand it, Thanks a lot.