राणाकालमा ज्यान सजाय भएका चार सहिदहरुको सम्झनामा सहिद सप्ताह चलेको छ । त्यस अघि मकैको खेती पुस्तक लेखेको आरोपमा सुव्वा कृष्णलाल अधिकारी र उत्तरपुस्तिकामा राणालाई नपुंसक लेखेको अभियोगमा कवी चक्रपाणी चालिसेका छोरा लक्ष्मी नन्दलाई जेलमै सडाएर मारियो । उनीहरु सहिद हुन् की होइनन् ?
राणाकालमा मृत्युदण्ड वा माफि दिने, सरकारी कर्मचारी नियुक्त वा वर्खास्त गर्ने, कानून वनाउने संशोधन गर्ने, खारेज गर्ने अधिकार प्रधानमन्त्रीसंग थियो । व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाको सम्पूर्ण अधिकार एक सय चार वर्षसम्म प्रधानमन्त्रीमा निहित रहन पुग्यो ।
प्रधानमन्त्रीको इच्छावेगर मुलुकमा पात समेत हल्लिदैनथ्यो । राणा विरुद्व लाग्नेले मृत्युदण्ड वा आजन्म कैद भोग्न तयार हुनु पथ्यो वा प्रवासिनु पथ्यो । ‘कालको औषधी छैन, हुकुमको जवाफ छैन र जसको हातमा तरवार उसको हातमा दरवार’ जस्ता उखान खुवै चलेका थिए । मुलुकमा दुई वर्गमा बिभिाजित थियो, एउटा शासक, अर्को शासित । देशको सम्पूर्ण आम्दानी प्रधानमन्त्रीको निजिसम्पक्ति सरह मानिन्थ्यो । ‘वर्षमा ३ करोड जति राजस्व उठ्थ्यो । त्यसमा ४० लाख प्रधानमन्त्रीले सीधै राख्थे । बाँकी २ करोड ६० लाखको बजेट बन्थ्यो । जुद्धशमशेरले १३ वर्ष २ महिना केही दिन शासन गरे । छाड्ने बेलामा उनले भाषण गर्दै बडो गौरवसाथ भने, ‘यति सानो मेरो कार्यकालमा १ करोड रुपैयाँ विकास कार्यमा खर्च भएको छ ।’ प्रधानमन्त्री वाहेकका उच्च पदमा राणा परिवारकै सदस्य नियुक्त हुन्थ्ये । निजामति र सैनिक तर्फका तल्लो तहमा मात्र जनताका छोरा छोरीले जागिर पाउथे । त्यो पनि राणाका दरवार चाहरेर चाकडी गरी रिझाउन सक्नेले मात्र । ‘राणाका सन्तान जन्मजात जर्नेल हुन्थे । जनताका सन्तान ‘सेनामा कर्णेलसम्म पुग्न सक्थे तर त्यो भन्दा माथि पुग्न राणा नै हुनु पथ्यो (नेपाल, २०५९ ः २२) ।’
भगवानको अवतार मानिएकाले राणालाई जे गर्न पनि छुट थियो । राणाहरुलाई राम्रो लागे जसका छोरी बेटी उठाएर लैजान्थे । नेवारहरुले राणाहरुको त कुरै छोडौ, क्षेत्रीकी छोरी लग्यो भने पनि चारपाटे मुडेर देश घुमाइन्थ्यो । अर्को तर्फ ‘राणाले जसकी श्रीमती लगे पनि जारी खत तिर्न नपर्ने, क्षेत्रीहरुले जारी खत मात्र तिरे पुग्ने तर नेवारले भने जारले मागेको बिगो र सजाय समेत भोग्नु पथ्यो (सिंह, २०६७ ः ८६)।’राणाकी छोरीसंग विवाह गरेको आरोपमा काठमाडौंका भेटनारायण श्रेष्ठको सर्वश्व हरण गरियो । उनी कलकत्तामा कस्तुरीको व्यापार गरी वसेका दाजु सत्यनारायण वहादुर श्रेष्ठसंग निर्वासित भए । ‘राणाकी छोरीसंग प्रेम गर्नु उनको अपराध थियो (जोशी, २०४८ ः ६)।’
राणाकालको अत्याचार वारे प्रशासक भीमवहादुर पाँडेले लेखेका छन् ‘वि.सं. १९९५ ०९६ तिरको कुरा हो । कवी चक्रपाणी चालिसेका छोरा लक्ष्मीनन्दन चालिसे त्रिचन्द्र क्याम्पसमा पढ्दै थिए । उनको जाँचमा सोधिएको एउटा प्रश्न यस्तो थियो ‘तिमी कसलाई बहादुर मानिस ठान्छौं ।’ त्यसको जवाफमा लक्ष्मीनन्दनले लेखका थिए ‘श्री ३ जंगवहादुर महाराजलाई म नेपालका एक मात्र बहादुर मानिस ठान्छु । निवन्धको अर्को अंशमा उनले लेखेका थिए ‘तर उनैका सन्तान आज नपुँसक जस्ता भएका छन् ।’ संयोगले उनको कपी वालकृष्ण शमशेर जवराले जाँचे । आफू र राणा परिवारलाई नपुसक भनेकोमा बालकृष्ण शमशेरको चित्त दुखेन । बौद्विक वहसका क्रममा लक्ष्मीनन्दनले लेखेको निवन्धको प्रसंग उनले केही ठाँउमा उठाए । एक कान दुई कान मैदान हुदै त्यो कुरा प्रधानमन्त्रीको दरवारसम्म पुगिहाल्यो ।
‘जुद्वशमशेरले लक्ष्मीनन्दनलाई वाह्र वर्ष कैद गर्न आदेश दिए । पछि उनको मनमा के आएछ लौ त्यसलाई छ वर्ष मात्र कैद गर्नु भन्ने आदेश दिए (राणा, २०७० ः २७२)।’ लक्ष्मीनन्दनलाई तुरुन्तै पक्राउ गरी नेल ठोकी भद्रगोल जेलमा थुनियो । झ्यलखानाभित्रको चरम नरकीय यातना सहन सकेनन् । कडा रोगले गाँज्यो । चार वर्ष पछि उनी छुटे । केही समय पछि प्राण त्याग गरे । छोराको निवन्ध प्रकरणमा लक्ष्मीनन्दनका पिता ‘कवी चक्रपाणी चालिसेको पनि जागिर गयो (पा“डे, २०६१ ः १४३)।’
लक्ष्मीनन्दनको मृत्यु त्यही प्रकृतिको थियो जसरी त्यस अघि ‘मकैको खती’ नामक पुस्तक लेखेको अभियोगमा सुव्वा कृष्णलाल अधिकारीलाई जेलमै सडाएर मारिएको थियो । अधिकारीले एक हजार प्रति पुस्तक छपाएका थिए । राणाहरुले नौ सय उनान्सय प्रति जफत गरे । एक थान पुस्तक जति खोजि गर्दा पनि फेला पार्न सकेनन् । महाराजको गाथगादी ताकेको अभियोगमा उनलाई छ वर्ष कैद सजाय सुनाइयो र एक प्रति पुस्तक लुकाएको अभियोगमा थप ३ वर्ष थप गरी नौ वर्ष जेल सजाय सुनाइएको थियो ।
प्रतिक्रिया