सन्दर्भ पुष १ : राजा महेन्द्र भन्ने गर्थे -देखाउन लायक एउटा प्रधानमन्त्री बीपी मात्र हो

image

राजाले बीपीलाई बिनाकुनै आरोप आठ वर्ष जेल हाले । त्यसपछिका आठ वर्ष बीपीले भारत प्रवासमा बिताए । यति हुँदा पनि राजा र बीपीबीच व्यक्तिगत आरोप–प्रत्यारोप भएन । राजा महेन्द्र बीपीको तारिफ गर्थे ‘मेरो देखाउन लायक एउटै प्रधानमन्त्री बीपी मात्र हो ।’

राजा महेन्द्रले २०१७ साल पुष १ का दिन बीपी कोइराला नेतृत्वको निर्वाचित सरकार र संसद्माथि कु गरी प्रधानमन्त्री, मन्त्री, सांसद र शाही कदमको विरोधमा जाने नेता तथा कार्यकर्तालाई जेल हाले । स्वतन्त्रताको पक्षमा आवाज उठाउनेहरुलाई खोजी खोजी थुने । राजाको कोपभाजनबाट उम्किएका नेता भारत प्रवासमा गए ।
उता संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा रहेका कांग्रेस संसदीय दलका सचिव अच्युतराज रेग्मीलाई स्थायी प्रतिनिधि हृषीकेश शाहले कु गरेको समाचार सुनाउँदै भने, “तपाईंहरु के गर्ने हो, गर्नुस् । यो विश्वबन्धु त नेपाल गएर मन्त्री बन्छ । राजासँग उसको सबै कुरा मिलिसकेको छ ।” कांग्रेस महामन्त्री रहिसकेका शाह र थापाबीच ठट्टा भइरहन्थ्यो । थापाले तत्काल प्रतिक्रिया जनाए, “के भन्छ यो पागल ठकुरी, ल सुन्नुभो अच्युतजी ।” थापाले रेग्मीसँग भने, “तर बीपीको पछि लागेर केही हुनेवाला छैन । राजासँग मेरो सम्बन्ध छ । बरू तपार्इं मसँग लाग्नुस् । म त नेपाल जान्छु । विचार गर्नुुस्, म गिरफ्तार भएँ भने तपाईं नेपाल नआउनुहोला । भइनँ भने आउनुहोला । म तपाईंहरुलाई मन्त्री बनाएर सम्मान दिन्छु ।” कु लगत्तै परराष्ट्र मन्त्रालयका सचिव नरप्रतापशमशेर थापाले ‘राष्ट्रसङ्घमा भाग लिइरहेका नेताहरुको पासपोर्ट खोसिदिनू’ भन्ने बेहोराको पत्र स्थायी प्रतिनिधि शाहलाई पठाई सकेका थिए ।  
त्यसपछि शाहले थापा र रेग्मीलाई भनेका थिए— “हुन त तिमीहरुको पासपोर्ट जफत गरी बेइज्जतीसाथ पठाउनू भनी लेखी पठाएको छ । तर म प्रजातन्त्रवादी भएकाले त्यस्तो गर्दिनँ ।” रेग्मी अमेरिकाबाट बेलायत र फ्रान्स लगायत युरोपेली मुलुक घुमेर छ महिनापछि सुवर्णशमशेर राणालाई भेट्न कलकत्तातिर लागे । बीपी, गणेशमान, कृष्णप्रसाद लगायत प्रायः सबै नेता जेलमा रहेकाले कांग्रेसजनका लागि सुवर्ण बाहेक भरोसायोग्य नेता कोही थिएनन् ।
रेग्मीलाई भेट्ने बित्तिकै सुवर्णले भनेका थिए, “सबै नेता, कार्यकर्ता थुनामा रहेको बेला अहिले त एक एक कार्यकर्ता हीराको टुक्रा जस्तै मूल्यवान् भएका छन् ।” राजाले प्रजातन्त्रप्रति आस्था राख्नेहरुलाई जबरजस्ती आफ्नो कदमको समर्थन गर्न लगाए । नगर्नेको सर्वस्व हरण गरे । कांग्रेस नेता तथा विघटित मन्त्रिपरिषद््का उपप्रधानमन्त्री सुवर्णशमशेर राणाको ललिता निवास सहित २९९ रोपनी जग्गा हरण गरियो । हाल प्रधानमन्त्रीको सरकारी निवास रहेको बालुवाटारको जमिन पनि सुवर्णकै सम्पत्ति हो । रेग्मीसँगै अमेरिका गएका थापा नेपाल फर्किए । लगत्तै डा. तुलसी गिरी र हृषीकेश शाहलाई राजाले सरकारमा महङ्खवपूर्ण जिम्मेवारी दिए ।
उता सैन्य बलमा राजाले खोसेको प्रजातन्त्र बन्दुकबाट पुनःस्थापित गर्ने भन्दै सुवर्णको नेतृत्वमा कांग्रेसले २०१८ सालमा सशस्त्र क्रान्ति चलायो । ‘हिट एन्ड रन’ अर्थात् ‘हान र भाग’ को रणनीतिमा सञ्चालित गुरिल्ला युद्ध थियो त्यो । नेपाल–भारत सीमामा कांग्रेसले ५०० देखि ७०० को हाराहरीमा सैन्य दस्ता खडा गरेको थियो ।
गुरिल्ला युद्ध प्रभावकारी भइरहेका बेला नेपाली सेनाले राजामा बिन्ती चढायो— “सरकार, गुरिल्ला प्रकृतिको युद्धसँग लडेर सम्भव छैन । त्यसैले सरकारले राजनीतिक वार्ता मार्फत समाधान खोज्नु उचित हुन्छ ।”
राजाले हृषीकेश शाहलाई त्यो कामका लागि खटाए । प्रधामनन्त्री थिए डा. तुलसी गिरी । गिरीले कांग्रेसलाई तह लगाउन चिनियाँ कार्ड प्रयोग गर्दै भने— “भारतले कांग्रेसलाई प्रयोग गरेर नेपालमा केही गर्न खोज्दै छ ।” चीन र भारतबीच युद्ध चलिरहेको थियो । चीनले कडा प्रतिक्रिया जनायो, “भारतबाट समूहका समूह मान्छे पठाएर नेपालमा आतङ्क मच्चायो भने चीनलाई सैह्य हुने छैन ।” भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले सुवर्णलाई तत्काल बोलाएर भने, “ओ जर्नेल, तुम्हारे लिए हम चाइना से नही लड सक्ते । तुम्हारा ए आन्दोलन बन्द करो ।”
नेहरुलाई भेटेर फर्किएपछि सुवर्णले कार्यसमितिको बैठक बोलाए र सशस्त्र आन्दोलन स्थगित गरे । २०२५ सालमा सुवर्णको वक्तव्यका आधारमा राजाले भारत प्रवासमा रहेका कांग्रेसीहरुलाई आममाफी दिए । प्रवासबाट फर्किएका सुवर्ण समर्थक धेरै नेता पञ्चायतमा पसे, जसमा कांग्रेसका महामन्त्री रहिसकेका परशुनारायण चौधरी, सूर्यप्रसाद उपाध्याय, अच्युतराज रेग्मी लगायत थिए । तीमध्ये धेरै पञ्चायती मन्त्री पनि भए ।
धेरै समयपछि एक दिन विश्वबन्धु थापाले मजाक गर्दै अच्युतराज रेग्मीलाई भने, “हैन, पञ्चायत पस्नु नै थियो भने मैले भनेको बेला आए हुुँदैनथ्यो !” रेग्मीले भने, “तपाईं नेताहरुलाई जेल हालेर पञ्चायत पस्नुभयो । हामी छुटाएर पस्यौं ।” थापाले थपे, “के फरक भयो त, हामीले आलो गु खायौं, तपाईं सुकेको गु खान आइपुग्नुभो ।” राजाले बीपीलाई बिनाकुनै आरोप आठ वर्ष जेल हाले । त्यसपछिका आठ वर्ष बीपीले भारत प्रवासमा बिताए । यति हुँदा पनि राजा र बीपीबीच व्यक्तिगत आरोप–प्रत्यारोप भएन । राजा महेन्द्र बीपीको तारिफ गर्थे ‘मेरो देखाउन लायक एउटै प्रधानमन्त्री बीपी मात्र हो ।’ “तर बीपी बलियो भए राजा निर्बल हुन्छ भन्ने महेन्द्रलाई राम्ररी थाहा थियो । राजतन्त्र शक्तिशाली हुँदा प्रजातन्त्र कमजोर हुन्थ्यो ।” विश्वबन्धु थापा भन्छन्, “एउटै वनमा दुइटा बाघ नअटाउनु जस्तै हो महेन्द्र र बीपीको कथा ।” राजनीतिकर्मी एवं विश्लेषकहरुको विचारमा त्यो कु नै राजतन्त्रको अन्त्यका लागि खनिएको खाडल थियो । “राजाले त्यो बेला कु नगरेर संसद्लाई चल्न दिएको भए सायद राजतन्त्रको अन्त्य यति छिटो नहुन सक्थ्यो ।”
राजाले निर्वाचित प्रधानमन्त्री बीपीलाई अपदस्त गरी आठ वर्ष जेल हाले । छुटेपछि बीपी पुन ८ वर्ष भारत प्रवासमा गए । तर कहिल्यै उनले राजनीतिक रुपमा आलोचना गरे पनि राजाप्रति गुनासो गरेनन् । अर्कोतर्फ निर्वाचित सरकारलाई हटाएर सत्ता हात लिएकोमा महेन्द्रको आलोचना भयो । तर पनि राजाले बीपीप्रति कहिल्यै नकारात्मक धारणा राखेनन् । 
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले लेखकलाई सुनाए, ‘राजा महेन्द्र सधैं बीपीको तारिफ गर्नुहुन्थ्यो । मलाई अहिले पनि याद छ । म प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्को बैठकमै राजाले भन्नुभएको थियो— प्रधानमन्त्री त बीपी जस्तो हुनुपर्छ । त्यति सम्मानभाव थियो राजा महेन्द्रको बीपीप्रति ।’
 




प्रतिक्रिया