सन्दर्भ सहिद दिवस : बाबु भक्तलाललाई सहिद गंगालालको पत्र

image

तपाईं मेरा पिता हुनुहुन्छ, तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्दिनँ । अब मेरो माया मारिदिनोस् । मेरा अरू भाइहरू छँदै छन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ ।

बा !
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्दै सकिनँ, म सक्दिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु । सम्झिनुपर्ने पाठचाहिँ मैले बिर्सिन आँटेछु ! आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेंला सुखसित डराएर आँखा चिम्लिन आँटेछु ! तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । अन्तस्करणबाट आगो रुमल्लिएर आयो ! के–के असह्य भयो । अब म सहन असमर्थ छु ! जताततै कोलाहल ज्वाला देख्छु, आफैँ सल्किन लागेको छु । मलाई त्यो निभाएर मर्न दिनोस् ।

तपाईं मेरा पिता हुनुहुन्छ, तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्दिनँ । अब मेरो माया मारिदिनोस् । मेरा अरू भाइहरू छँदै छन्, एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायविरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गंगालालको
दण्डवत् सेवा 
 




प्रतिक्रिया