सरकारले तिरेको थियो, महाकविको २२ हजार ऋण

image

जो मानिस १ करोड जनताको हृदयमा बसेको छ, त्यो मानिस मर्न सक्तैन, मर्ने छैन ।

नाम लक्ष्मी, तर लक्ष्मीले कहिल्यैै साथ दिएन । प्रसंग हो महाकवी लक्ष्मीप्रसाद देवकोटाको । नेपाली साहित्यका लागि सर्वाधिक योगदान दिएका महाकवी देवकोटाले जीवनभर आर्थिक संकट सामना गर्नु प-यो । मृत्यु सैयामा पुग्दा समेत उनलाई ऋणकै चिन्ता थियो । २०१६ भदौ २९ गते ५१ वर्षको उमेरमा उनको निधन भयो । २०१६ भदौ ३० गतेको गोरखापत्रमा प्रकाशित समाचार अनुसार भदौ २९ गते प्रधानमन्त्री बीपी कोइरालाका तर्फबाट निर्माण तथा सञ्चार मन्त्री गणेशमान सिंहले पशुपति आर्यघाट पुगी महाकवि देवकोटासँग उनको अन्तिम इच्छाबारे सोधेका थिए । मन्त्री सिंहसंग देवकोटाले आफ्नो ऋण र छोराहरुको पढाइबारे चिन्ता व्यक्त गरे । 
जीवनभर आर्थिक सङ्कटमा बाँचेका देवकोटा आफूसंग पैसा आयो भने बाटोमा भेटिने गरिब दुःखीलाई बाँड्दै रित्तो हात घर पुग्थे रे । त्यो बेला महाकविको २२ हजार ऋण रहेछ । सरकारले पूरै ऋण तिर्ने बचन दिएकै दिन उनको निधन भयो । 
उनी पेटको क्यान्सरबाट पीडित थिए । काठमाडौं र कलकत्ताका अस्पतालहरुमा भर्ना गरी उपचार गरिए पनि निको नभएपछि उनलाई पशुपतिमा राखिएको थियो । भदौ २९ गते सरकारले महाकविको शोकमा दिउँसो २ बजेपछि सिंहदरबार सचिवालय र अरु अड्डामा बिदा दियो भने सबै शिक्षण संस्था एक दिन बन्द गरिए । देवकोटाको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री बीपी कोइरालाले २०१६ भदौ ३० गते प्रतिनिधि सभा बैठकमा भनेका थिए— “नेपाली साहित्यजगत्का एक महान् विभूति महाकवि देवकोटाको असामयिक निधनबाट देशलाई ठूलो क्षति भएको छ । नेपालको सबभन्दा ठूलो साहित्यिक, मलाई त यो भन्नमा अत्युक्ति लाग्दैन कि नेपाली साहित्यको इतिहासको सबभन्दा ठूलो व्यक्तिको निधन भयो ।” प्रधानमन्त्रीले प्रतिनिधि सभा र महासभामा बैठक स्थगन प्रस्ताव राखेपछि दुवै सदनमा २ मिनेट मौन धारण गरेर महाकविप्रति श्रद्धाञ्जली अर्पण गरियो ।
महाकविप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय गोरखा परिषद््का नेता मृगेन्द्रशमशेर राणाले भने, “देवकोटा नेपालको साहित्यिकजगत्को मात्र होइन कि नेपालभरको एउटा तारा हुनुहुन्थ्यो । उहाँ को निधन भो भन्ने त मलाई लाग्दैन । त्यसैले आज हामी उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न आएका छौं भन्ने मलाई लाग्छ । त्यो विभूति हाम्रा अगाडि छैन । हामीमा ठूलो क्षति भएको छ । उहाँको मृत्यु भो भन्ने मलाई लाग्दैन उहाँ मर्नु भएको छैन । मर्नुहुने पनि छैन । जो मानिस १ करोड जनताको हृदयमा बसेको छ, त्यो मानिस मर्न सक्तैन, मर्ने छैन ।”
नेपाल कम्युनिस्ट पार्टीका तुलसीलाल अमात्यले भने, “देवकोटाजीको निधनले हाम्रो देशको साहित्यलाई मात्र होइन, संसारको साहित्यलाई नै एउटा ठूलो धक्का दिएको छ ।” 





प्रतिक्रिया