पहिलो महिला प्रधानमन्त्री बन्न गरिएको प्रस्ताव अस्वीकार गर्ने शैलजा आचार्य

image

मेरो जानकारीमा भएसम्म निष्ठाकी प्रतिमूर्ति, सिद्धान्तनिष्ट शैलजाले तत्कालीन राजा ज्ञानेन्द्रसँग सभा, समारोहबाहेक एकान्तमा कहिल्यै भेट गर्नु परेन । प्रधानमन्त्री पदका लागि पटक–पटक दरबार धाएका समकालीन राजनीतिज्ञहरू पछि गणतन्त्रका ‘मसिहा’ भए । तर पदका लागि जे पनि गर्न हुन्छ भन्ने सिद्धान्तहीन र भ्रष्ट राजनीतिक माहोलमा शैलजाको त्यसबेलाको अडान र असन्तुष्टि कुनै एक व्यक्ति वा परिवारको शासनका लागि होइन, अकुण्ठित जनअधिकारका लागि उनले जीवन समर्पण गरेको आफ्नो आदर्श र सिद्धान्तप्रतिको निष्ठा थियो भन्ने कुरा कसैले बुझ्न चाहेन । उनी एक्लो वृहस्पति झूटा ठहरिन् ।

कुरा २०५९ असोज १८ पछिको हो । राजाले जननिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवालाई अक्षमको आरोप लगाउदै आफूखुसी सरकार वनाउने र विघटन गर्ने अभ्यास शुरु गरेका थिए । प्रत्यक्ष र निरंकुश शासनको महत्वकांक्षासहित नियोजित योजनामा रहेका राजा ज्ञानेन्द्र २०५९ जेठ ८ मा प्रतिनिधिसभा विघटन गराएपछि शासनसत्ता हातमा लिने तयारीस्वरूप  आफ्नो तजबिजीमा चल्ने सरकार निर्माणको ‘एक्सपेरिमेन्ट’ मा थिए । यस क्रममा देउवालाई हटाएर राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा सरकार गठन गरे । चन्द सरकारको प्रयोग असफल भएपछि उनी अलिक समाजले पत्याउने र दलहरूको समर्थ नयुक्त प्रधानमन्त्रीको खोजीमा थिए । भ्रष्टाचारविरोधी र निष्कलंक प्रधानमन्त्रीको खोजीमा ‘राजा’ छन् भन्ने सन्देश प्रवाहित गरिएको थियो । नभन्दै उनले कांग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पनि प्रधानमन्त्री बनिदिन अनुरोध सहित आमन्त्रण गरेका थिए । भट्टराईले दरवार पुगेर प्रधानमन्त्रीको पद ठाडै अस्वीकार गरिदिए । 
राजालाई भेटेर उनी फर्किदासम्म दरवारको पश्चिम गेटमा पत्रकारको घुइचो लागि सकेको थियो । पदप्रतिको आशक्ति भएको हाम्रो समाजको मानसिकतालाई व्यंग्य गर्न होला शायद बाहिर निस्केर उनले भनेका थिए, ‘अरे बाफ रे बाफ १ पत्रकार बाबुहरू १ महाराजधिराजबाट प्रधानमन्त्रीजस्तो पद पाए कसरी अस्वीकार गर्ने ? शिरोधार्य गर्छु भनेर आएको छु ।’
राजनीतिमा निष्ठा र आदर्शका लागि उदाहरणीय नेता किशुनजीको पदप्रतिको निष्प्रियतालाई हाम्रो मिडियाले त्यतिबेला बुझेन भन्ने मलाई लाग्छ । हिमालय टाइम्स दैनिकबाहेक त्यहाँ उपस्थित सबै सञ्चारकर्मीसँग सम्बद्ध मिडियामा सोझो हिसाबले भोलिपल्ट त्यस्तै समाचार आयो । मानौं ज्ञानेन्द्रले प्रधानमन्त्री बनाए किशुनजीले स्वीकार गर्नेछन् । तर यो सर्वथा उल्टो समाचार थियो । 
त्यसबेला दरबारको पश्चिम गेटमा यो पंक्तिकार पनि हिमालय टाइम्स दैनिकको समाचार सम्पादकको हैसियतमा किशुनजीको प्रतिक्रिया बुझ्न उपस्थित थियो । उनले प्रधानमन्त्री खान स्वीकार गरेको भए ज्ञानेन्द्रले आग्रह गरेकै थिए । समकालीन राजनीतिभन्दा किशुनजीको अलग धार र अडान उनको सिद्धान्तप्रतिको निष्ठाका कारण थियो, पदप्रतिको लालसाप्रेरित विचार थिएन भन्ने धेरैले पछिमात्र बुझे ।
किशुनजीले अस्वीकार गरेपछि दरबारको दोस्रो रोजाइ थिइन् अर्की निष्कंलक र निष्ठावान् नेतृ शैलजा आचार्य । राम्रो छवि भएको नेतालाई प्रधानमन्त्री बनाउँदा दरबारप्रतिको जनआक्रोश कम हुने र दलहरू पनि विभक्त हुने सोचेका थिए शायद ज्ञानेन्द्र र उनका दरबारिया सल्लाहकारहरूले । तर विचारमा स्पष्ट र अडानमा खरो उत्रने स्वभावका कारणले होला दरबार शैलजालाई सीधै प्रस्ताव गर्न हच्किएको थियो । प्रधानमन्त्री बनाउने प्रक्रियाका लागि वातावरण तयार गर्न त्यसअघि दरबार शैलजालाई राजा ज्ञानेन्द्रसँग भेट गराउन चाहिरहेको थियो । तर आँट गर्न नसकिरहेको भन्ने पछि यो पंक्तिकारलाई जानकारी भयो ।
यसैबीच एक दिन नेपाली कांग्रेसका पुराना नेता जो लोकेन्द्रबहादुर चन्द नेतृत्वमा वन तथा भू–संरक्षण मन्त्री पनि थिए, बद्रीनारायण बस्नेत, उनले यो पंक्तिकारलाई टेलिफोन गरेर घरमै बोलाए । उनी मेरो पहिलेदेखिकै पारिवारिक सम्बन्धका आदरणीय व्यक्ति र छिमेकी पनि हुन् । म उनलाई भेट्न पुगें । 
निकै लामो भूमिका बाँधेर शैलजा आचार्यलाई राजासँग भेट गराउने दरबारको चाहना व्यक्त गरे । दरबारले शैलजालाई प्रधानमन्त्री बनाउन चाहेको सूचना पनि उनले मलाई दिए । उनकै शब्दमा, ‘दरबारले पनि रियलाइज गरेजस्तो छ कि जनसमर्थन नभएका पुराना पञ्चलाई मात्रै साथ लिएर केही हुन्न । निष्कंलक छवि भएका सात दलमध्येकै कुनै नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने राजालाई लागेको छ । शैलजाजी धेरै दुःख गरेको नेता हो । उनलाई दरबारले भेट गर्न चाहेको छ । त्यसैले एक पटक उनीसंग कुरा गर्नुप-यो ।’
तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शैलीबाट आजित भएर संवैधानिक राजतन्त्र र लोकतन्त्रमा विश्वास राख्ने नेपाली कांग्रेससहितका दलहरू उनको निरंकुशता अन्त्यका लागि तत्कालीन विद्रोही माओवादीसँग सहकार्यको गृहकार्यमा लागिसकेका थिए । तर माओवादीसँगको सहकार्यप्रति शैलजाको गम्भीर असहमति थियो । मुलुकमा गणतन्त्र आइसक्दा पनि उनी माओवादीसँगको सहकार्य र कांग्रेसले संवैधानिक राजतन्त्र परित्याग गरेको घटनाबाट पूरै असन्तुष्ट थिइन् । उनको आस्थाको राजनीति र सिद्धान्तप्रतिको अविचलनलाई हाम्रो समाजले खासै चिन्न, बुझ्न सकेनभन्ने मलाई अहिले पनि लाग्छ । शैलजाको आफ्नो सिद्धान्तप्रतिको अडानका आधारमा उनले ज्ञानेन्द्रलाई कैयौं पटक भेटिसकेको भन्नेजसरी भ्रमपूर्ण समाचारहरू आइरहेका थिए । स्वार्थी समाज र त्यसको मनोविज्ञानका कारण स्भाविक परिणामस्वरूप धेरै मानिसहरूको बुझाई पनि यस्तैयस्तै नै थियो । तर उता दरबार भने अझै पनि शैलजालाई भेट्न झस्किरहेको थियो ।
यसरी शैलजालाई राजासँग भेट गराउने प्रस्ताव ममार्फत आएपछि आश्चर्यचकित हुँदै भने, ‘अंकल म पत्रकार मान्छे । यो प्रधानमन्त्री बनाउने, राजासँग भेट गराउने यी सब काममा म किन सहभागी बनौं ? यसै पनि म राजाको यो प्रक्रिया र संसद् विघटनप्रति असहमति राख्ने पत्रकार परें । शैलजा दिदीलाई नै मैले सल्लाह दिनुप-यो भने हुँदैन भन्छु होला शायद । अनावश्यक झन्झटमा म लाग्दिनँ । अंकलले नै भने भैहाल्यो नि ।’ 
फेरि उनले भने, ‘होइन, होइन । तिमीले सोचेजस्तो अहिले प्रजातन्त्र नभएर पञ्चायतको राजाले प्रधानमन्त्री बनाउने कुरा पनि होइन यो । बहुदलीय प्रजातन्त्रकै एउटा प्रक्रियाभित्रै छ मुलुक । फेरि तिमीलाई थाहा छ कि छैन— अहिले पनि किशुनजीबाहेक सबै नेता प्रधानमन्त्री बन्ने अवसर पाए खान तम्तयार भएर बसेका न् । दरबारमा त्यस्तो सन्देश पनि पठाएका छन् । शैलजाजीलाई बन्न के फरक प-यो र ?’ त्यसपछि म बस्नेतको कुरामा सहमत भएँ तर अझै पनि यो दरबार—सरबारसँगको भेटघाटमा म पर्न ठिक ठानिरहेको थिइनँ । त्यही भएर अझै आनाकानी गरेर बस्नेतलाई आफैं कुरा गर्न भनिरहेको थिएँ। मैले अलिक अप्ठ्यारो मानेपछि उनले भने, ‘किन अप्ठ्यारो मानेको ? शैलजाजी कहिलेकाँही अलिक अनावश्यक अडानमा रहन्छिन् । दरबारले पनि सीधै कुरा गर्न अप्ठ्यारो मानेर मलाई भनेको हो । तिमीलाई उनले धेरै राम्रो ठान्छिन् भन्ने मलाई थाहा छ । पत्रकार भए पनि के भो र राम्रो काम गर्नका लागि ? शैलजाजी प्रधानमन्त्री भइन् भने देश र जनतालाई राम्रो हुन्छ ।’
आदर गर्ने व्यक्ति भएका कारण पनि उनको कुरा टाल्नसक्ने अवस्थामा म रहिन । 
उनले भने –पहिला तिमी कुरा गर । त्यसपछि मलाई पनि भेट गराउ । 
त्यति आग्रहपछि मैले उनको भनाइ अस्वीकार गर्न सकिनँ । म सीधै घर आए । शैलजालाई फोन गरें र भेट गर्न आउन लागेको बताए । शैलजाले बाहिर जानुपर्ने काम भएकाले दुई घण्टापछि मात्रै निवास (मित्रपार्क) मा आउन आग्रह गरिन् । 
जहाँ म निरन्तर गइरहन्थे । पत्रकारिताका सन्दर्भमा मात्र होइन, आफूले मन पराएको एउटा निष्ठावान् नेता र श्रद्धा गर्ने दिदीका हिसाबले पनि म अन्य व्यावहारिक विषयमा पनि छलफल गरिरहन्थे । 
कहिले कसो कही विषयमा सल्लाह गर्नु पर्दा उनी  आफै मलाई बोलाउने गर्थिन् । त्यही भएर मलाई यो विषय लिएर शैलजाकोमा पुग्न केही समस्या त थिएन तर प्रजातन्त्र ‘कु’ गर्न खोज्ने राजासँग भेट्नुस् भन्ने  प्रस्ताव सुनाउन अलिकति संकोच भने लागिरहेको थियो ।
जे होस् म उनको निवास पुगेर कुरा गर्न थालें । ‘दिदी पञ्चायतकाबेला वीपीले पनि राजनीतिक परिस्थिति बुझ्न, विश्लेषण गर्न धेरै पञ्चहरूलाई बोलाएरै भेट गरिरहनुहुन्थ्यो हैन ? बीपीले राजासँग भेट गर्ने गरेको कुरा त बाहिर धेरै नै आइरहेको छ ।’ यसरी लामो भूमिका बाँधेको देखेर शैलजा पनि छक्क परिन् शायद । उनले हाँस्दै भनिन्, ‘किरणजी, तपाईं पहिले कुरा गर्दा त यसरी कहिल्यै भूमिका बाँधिरहनु हुन्नथ्यो । आज धेरै भूमिका बाँधी रहनुभएको छ । जरुरी कुरा के हो ? त्यो भन्नुस् न । किन यसरी भूमिका बाँधेको ?’ 
मैले भने, ‘दिदी वास्तवमा आज कुरा सुरु गर्न अलिक संकोच मानेरै मैले यसरी भूमिका बाँधेको हुँ । कुरा अलिक अर्कै खालको छ । राजाले भेट गर्न बोलाए भने तपाईँ जानुहुन्छ ?’ मैले यति भनिसकेपछि शैलजाले आफ्नो पार्टीका नेता, परिवारका सदस्य र अन्य पार्टीका नेताहरू कसकसले ज्ञानेन्द्रलाई भेट गर्न बिन्ती पत्र नै हालेका थिए भनेर सुनाईन । अनि भनिन् ‘म त बिन्तीपत्र हाल्न जानेवाला होइन । तर राजाले भेट गर्न बोलाउँछन् भने किन भेट नगर्ने ? मजाले भेट्छु नि ।’ त्यसपछि मैले बस्नेतसँग भएका कुराको सबै इतिवृतान्त सुनाएँ र यसमा तत्कालीन मन्त्री बस्नेतको ‘इन्ट्रेस्ट’ का विषयमा पनि हाम्राबीच लामै छलफल भयो । शैलजाले बस्नेतको ‘इन्ट्रेस्ट’लाई आफ्नो पुरानो मित्रको शुभचिन्ता र कांग्रेस छोडेर राजाको मन्त्री भएकाले बिग्रिएको उनको छवि बनाउने र कांग्रेसभित्रको राजनीति सुधार गरेर कांग्रेसमै फर्कने वातावरणसँग जोडेर सकारात्मक टिप्पणी गरेकी थिइन् ।
शैलजा र बस्नेत पार्टी प्रतिबन्धितकालमा मोरंग कांग्रेसको सभापति र सचिव भएर काम गरेका सहयोद्धा पनि हुन् । लामै कुराकानीपछि बस्नेतसँग भेट गराउने भोलिपल्टको समय मिलाएर म हिँडे । तर शैलजाले बस्नेतलाई भेटाउदा म पनि अनिवार्य रूपले सँगै आउनु पर्छ भनिन् । 
भोलीपल्ट बस्नेत र म शैलजा निवास मित्रपार्क गयौं । त्यहाँ करिब दुई–अढाई घण्टा सौदाद्रपूर्ण रूपमा कुराकानी भयो । राजासँगको भेटको कुरा केही भएन । बस्नेतले अन्तमा यतिमात्र भने, ‘किरणले तपाईंलाई हिजो भनेको विषय अगाडि बढ्दैछ ।’ शैलजाले पनि यतिमात्र भनिन्, ‘ठिक छ, ठिक छ ।’ 
तीन दिनपछिको कुरा हो, फेरि तत्कालीन मन्त्री बस्नेतले मलाई घरमा बोलाए । म माथिल्लो तलाको बैठक कक्षमा पुग्दा उनी एउटा टेलिफोनमा कुरा गर्दै थिए । उनले यताबाट भनिरहेको म सुनिरहेको थिएँ । उनी भन्दै थिए, ‘ती भाइ अहिले मकँहा नै छन् । म उनलाई त्यो खबर सुनाउँछु ।’ उताबाट टेलिफोन गर्ने व्यक्ति दरबारका प्रमुख सचिव रहेछन् । उताबाट के भनियो टेलिफोनमा मैले सुन्न सक्ने कुरै भएन । तर शैलजालाई राजाले कसरी भेट्ने भन्ने विषयमा प्राविधिक अप्ठ्यारो परेको भन्ने बस्नेतबाट थाहा पाएँ । 
दरवारले कसैलाई आफै भेट्नु प-यो भने पनि पहिला विन्तीपत्र हाल्न लगाउने अनी भेट्ने चलन रहेछ । शैलजा राजालाई भेट्न तयार थिइन । तर विन्तीपत्र हाल्न किमार्थ तयार हुने छैनन् भन्ने बस्नेतले वुझेका थिए । 
दरवारले विन्तीपत्र हाल्न लगाएर भेट्ने वातावरण मिलाउ भनेको बस्नेतले मलाई सुनाए । तर मैले त्यस्तो काम शैलजाबाट हुन नसक्ने स्पष्ट पारे । ‘त्यस्तो किन ? भेट गर्न चाहने दरबार । अनि फेरी उहाँले दर्शनभेट गर्न चाहेको भन्ने ? यो वाहियात कुरा उहाँबाट होला भन्ने मलाई त लाग्दैन’ मेरो ठाडो जवाफ सुनेपछि बस्नेतले फेरि जसरी पनि मिलाउनु पर्छ भन्ने शैलीमा आग्रह गरे ।
शैलजालाई राजासँग भेट गराएर यो प्रक्रियालाई सफल बनाउने ठूलो सदिच्छा उनमा थियो । निकै आग्रह गरेपछि म सन्देश पु-याउनसम्म राजी भएँ । बस्नेत निवासवाट घर पनि फर्किइन । समय नलिई सोझै शैलजाको निवास पुगें र सबै कुरा सुनाएँ । मेरो कुरा सुनेपछि शैलजाको जवाफ आयो, ‘त्यस्तो त किन हुन्थ्यो र ? म सबैभन्दा पहिले यो कुरा पार्टी सभापति गिरिजा दाजुलाई सुनाउँछु । राजाले मलाई भेट गर्न बोलाएका छन् र जाँदैछु भनेर । मैले पार्टीको जानकारीमै उनलाई भेट गर्ने हो । 
दरबार गएर मलाई भेट गर्न चाहेको विषयबारे राजालाई जिज्ञासा राख्छु । फर्केर आएपछि सबैभन्दा पहिला तपाईँलाई बोलाउँछु । तपाईं र म सल्लाह गरौंला र पत्रकारहरूलाई बोलाएर सबै कुरा सार्वजनिक गरौंला ।’ मलाई उनको कुरा बडो चित्त बुझ्यो । 
फर्केर शैलजाले जे जसरी भनेकी थिइन्, सकेसम्म मात्रो नबिराई बस्नेतलाई सुनाएँ । उनले पनि दरबारमा यही कुरो ‘जाहेर’ गरे होलान् शायद । शैलजाको त्यो स्पष्ट दृष्टिकोण र राजालाई भेटेर प्रधानमन्त्री पाउने लालसारहित र आशक्तिरहित अडानबाट शायद दरबार झस्कियो ।
मेरो जानकारीमा भएसम्म निष्ठाकी प्रतिमूर्ति, सिद्धान्तनिष्ट शैलजाले तत्कालीन राजा ज्ञानेन्द्रसँग सभा, समारोहबाहेक एकान्तमा कहिल्यै भेट गर्नु परेन । प्रधानमन्त्री पदका लागि पटक–पटक दरबार धाएका समकालीन राजनीतिज्ञहरू पछि गणतन्त्रका ‘मसिहा’ भए । तर पदका लागि जे पनि गर्न हुन्छ भन्ने सिद्धान्तहीन र भ्रष्ट राजनीतिक माहोलमा शैलजाको त्यसबेलाको अडान र असन्तुष्टि कुनै एक व्यक्ति वा परिवारको शासनका लागि होइन, अकुण्ठित जनअधिकारका लागि उनले जीवन समर्पण गरेको आफ्नो आदर्श र सिद्धान्तप्रतिको निष्ठा थियो भन्ने कुरा कसैले बुझ्न चाहेन । उनी एक्लो वृहस्पति झूटा ठहरिन् । देश, जनता र प्रजातन्त्रप्रति नेपालका तत्कालीन निरंकुश राजाको ‘कु–दृष्टि’मा परिवर्तन नआएको सन्दर्भमा शैलजाको विचारले मुलुकको समस्या समाधान गथ्र्यो कि गर्दैनथियो, यो बेग्लै बहसको विषय हुनसक्ला, तर एक्लो वृहस्पति भएर पनि आफ्नो विचार र सिद्धान्तमा कसैसँग,कहिल्यै सम्झौता नगर्ने उनको निष्ठाप्रति हार्दिक नमन । 




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |