दरवार हत्याकाण्डको  प्रतिवेदन बनाउदा

image

जुन कोठामा ति सामान थिए । त्यसको दश पन्ध्र हात वरपर यति नराम्रो गन्ध आउने । वाफ रे वाफ । उल्टी होला जस्तो हुने । तैपनि कहाँ कस्तो छ । के छ भनेर ति सामान हेरियो । कतिपय अवस्थामा नाक मुख थुनेर समेत यो काम गर्नु परेको थियो ।

२०५८ जेठ १९ गते दरवार हत्याकाण्ड भयो । त्यस पछिका तीन दिनमा तीन राजा भए । बीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्र । नयाँ राजा ज्ञानेन्द्रले २२ गते प्रधानन्यायाधिस केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल सदस्य रहेको छानविन समिति बनाए । तर २४ गते एमाले महासचिव नेपालले समितिमा नवस्ने घोषणा गरे । 
समितिलाई घटनाका प्रत्यक्षदर्शी, राजपरिवारका सदस्य, उपचारमा संलग्न चिकित्सक, सुरक्षा निकाय, परिचारिका, र समितिले आवश्यक ठानेका व्यक्तिहरुसंग बयान लिने, घटनास्थलसंग सम्वन्धीत हतियार, गोली लगायतका अन्य वस्तुहरु संकलन र जाँच गरी तीन दिन भित्र प्रतिवेदन पेश गर्ने अधिकार दिइएको थियो ।

                       

 प्रतिवेदन सार्वजनीक गर्दै सभामुख रानाभाट

आयोग गठन भएको तेस्रो दिन वेलुका संसदका सचिव सूर्यकिरण गुरुङले फोन गर्नु भयो । म उहाँ मातहतको  उपसचिव । गुरुङ सरले भन्नु भयो–ए मुकुन्दजी तपाईले हामीलाई सहयोग गर्नु प-यो । आउन सक्नु हुन्छ । मैले भने –राष्ट्र संकटमा परेको वेलामा, राष्ट्रिय शोकको यो घडीमा अलिकति पनि सहयोग गर्न सके भने आफूलाई धन्य मान्ने छु सर । 
अनी समितिलाई सहयोग गर्ने कर्मचारीका रुपमा म सहभागी भए । प्रधानन्यायाधिस, सभामुखका अतिरिक्त अदालतबाट काशीराज दाहाल, श्रीप्रसाद पण्डित हुनुहुन्थ्यो भने हामीले संसद सचिवालयका तर्फबाट काम गरियो । अवसर भनौ कि दुर्भाग्य भनौ । समितिमा रहेर काम गर्न पाइयो । 
समितिले २६ गते काम थाल्यो । गर्नु पर्ने धेरै थियो, समय अत्यन्त कम । पहिलो म्याद सकिए पछि २८ गते समितिको म्याद चार दिन थपियो । तीन दिन तीन रात त हामीले संसद सचिवालयमै बसेर काम ग-यौ । राजा ज्ञानेन्द्र, रानी कोमल, शाहज्यादा पारस सहित राजपरिवारका सदस्यको बयान दरवारमै भयो । यो काममा प्रधानन्यायाधिस, सभामुख आफै सहभागी हुनुहुन्थ्यो । हाम्रो काम प्रश्नावली निर्माण, प्राप्त कागजात विश्लेषण, वयान उतार र टाईप गराउने थियो । त्यसका अतिरित्त कार्यालय व्यवस्थापन, सम्वन्धित निकाय र पदाधिकारीसंगको सहकार्य र समन्वय, अभिलेख व्यवस्थापन र प्रतिवेदन तयारी गर्ने जिम्मेवारी हाम्रो टिमलाई  थियो । 

देवयानीको बयान
यस अवधीमा मेरा लागि सबै भन्दा चुनौतीपूर्ण काम भनेकै युवराज दीपेन्द्रकी प्रेमिका देवयानीको बयानका लागि प्रवन्ध मिलाउने कुरा नै बन्यो । संयोगले उनी त्यति वेला भारतमा थिइन । 
राजदूत मार्फत उनकोे वयान लिने प्रवन्ध मिलाइयो । त्यसका लागि समितिले राजदुत डा. भेषवहादुर थापालाई अधिकार प्रत्यायोजन गरेको थियो । मेरो जिम्मेवारी प्रश्नपत्र र रेकर्डर अत्यन्त गोप्यताका साथ दिल्ली पठाउने थियो । 


उनलाई सोध्ने, प्रश्न र टेप रेकर्डर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुगेर सानेवानीका अधिकारीलाई दिने र उनीहरु मार्फत दुतावास पु-याउने प्रवन्ध गरिएको थियो । त्यो टेप पु-याउने र ल्याउने काम म आफैले अत्यन्त गोप्य ढंगवाट गर्नु परेको थियो । 
मेरो सम्झनामा देव्यायनीलाई सोधिएका प्रश्न यस्ता थिए । 
युवराज र तपाईका विचमा कस्तो सम्वाद भयो ? 
कति पटक फोन भयो ? 
किन काठमाडौं छोडेर दिल्ली जानु भएको ? 

टेप सार्न गुरुङ सर आफै पनि लाग्नु भएको हो ।देवयानीले रुदै दिएको एक घण्टाको बयान सार्न तीन घण्टा लाग्यो होला । तपाईं र युवराज वीचको सम्बन्ध के हो कस्तो हो ? भन्ने प्रश्नमा देवयानीले रुदै व्यक्तिगत प्रश्नको जवाफ दिन्न भनेकी थिएन । 
देवयानीको बयान अनुसार राति ८ बजेर १२ मिनेटमा दीपेन्द्रले ९८१०२१५१३ नम्वरको मोवाइलबाट देवयानीलाई ९८१०२४३३९ नम्वरमा फोन गरे । 
दिपेन्द्र : आइतबार (जेठ २१ गते ) सुरु हुन लागेको राष्ट्रिय खेलकुदको उद्घाघाटन कार्यक्रममा तिमी आउँछ्यौ होइन ? 

बयानमा देवयानीले भनेकी छन् –सरकार मैले कुरा बुझिनँ भन्दै थिएँ । फेरि सोधिबक्स्यो, मैले जवाफ दिनुभन्दा अगाडि नै फोन राखिदिबक्स्यो । 
पहिलो कलमा १ मिनेट १४ सेकेन्ड कुराकानी भयो । तर दीपेन्द्रको कुरा देवयानले सुन्न सकिनन् । 
त्यसपछि ८ बजेर १९ मिनेटमा उनले ल्याण्डलाईनबाट दीपेन्द्रको मोवाइलमा फोन गरिन्। फोन गयो(गयो तर उठेन ।  देवयानीको बयानमा दीपेन्द्रले नउठाएपछि फोन अटोमेटिकल्ली एडिसीकोमा ट्रान्सफर भयो। उनीसंग देवयानीले भनिन्, सरकार अलिकति लरवराई बक्सिरहेको छ । गाथमा आराम छैन कि ?  
उनले डिउटी अफिसरलाई माथि खोपिमा गएर हेर्न अनुरोध गरिन्। यसपटक चार मिनेट १४ सेकेन्ड कुराकानी भयो।

त्यसको बीस मिनेटपछि ८ बजेर ३९ मिनेटमा फेरि दीपेन्द्रले आफ्नो मोवाइलबाट देवयानीलाई फोन गरे । जम्मा ३२ सेकेन्ड कुरा भयो। 
दीपेन्द्रले भनेका थिए –अव म सुत्न लागे । गुड नाइट । भोलि बिहान मात्रै तिमीलाई फोन गर्छु ।
देवयानीलाई अन्तिम कल गरेको अर्को ३० मिनेटमा नारायणहिटी दरवार हत्यकाण्ड भै हाल्यो । 

बान्ता आउने त्यो गन्ध
दरवार हत्याकाण्डमा परेका व्यक्तिहरुका रगतले लतपतिएका लुगा, जुत्ता र अरु सबै सामान पोको पारेर समितिले संसद सचिवालयमा राखेको थियो । जुन कोठामा ति सामान थिए । त्यसको दश पन्ध्र हात वरपर यति नराम्रो गन्ध आउने । वाफ रे वाफ । उल्टी होला जस्तो हुने । तैपनि कहाँ कस्तो छ । के छ भनेर ति सामान हेरियो । कतिपय अवस्थामा नाक मुख थुनेर समेत यो काम गर्नु परेको थियो । राजाले प्रयोग गरेको सिगार, चम्माका टुक्रा लगायत केही समान दरवारमा फिर्ता गरिए पनि लुगाफाटा संसद सचिवालयको एउटा दराजमा केही वर्षसम्म राखेको मलाई थाहा छ । मेरो अवकाश भएपछि के गरिएको छ भन्न सक्दिन । 

काल नआई कोही मर्दैन 
हत्याकाण्ड हुदा अधिराजकुमारी श्रुतीसंगै उनका श्रीमान् गोरखशमशेर पनि दरवारमै थिए । उनलाई पनि गोली लाग्यो । तर संयोगले बाँचे । के भएछ भने । उनले श्रीकृष्णको लकेट लगाएका रहेछन् । उनलाई हानेको गोली त्यही लकेटमा लागेर फर्किए छ । भगवानको फोटो कुच्चियो । उनी जोगिए । लकेट नलगाएको भए उनी मर्ने । 
 

अझै अचम्म लाग्छ
त्यो समयलाई फर्केर हेर्दा मलाई अझै पनि अचम्म लाग्छ । कति हतारमा काम गर्नु परेको थियो 
दरवार ३२ थते भन्दा एक दिन पनि म्याद नथप्ने मानसिकता थियो । त्यसैले एकदमै हतारमा काम गर्नु परेको थियो । तीन रात तीन दिन त नसुतेरै काम गरियो ।  अध्यक्ष देखी उपसचिवसम्मले दश जनाले विना पारिश्रमिक काम गर्न पाएकोमा गर्व लाग्छ।

विहान छ वजे अफिस गएको मानिस, भोली, पर्सी वेलुका मात्र घर फर्किएका थियौं । टाइप गरेको कुरा राम्ररी पढ्न समेत नपाउदै प्रिन्ट गरेर प्रतिवेदन वुझाइएको हो । 
एकै पटक दरवारबाट यो समयमा प्रतिवेदन वुझाउने भनेर खवर आइहाल्यो । त्यो सुनेर हामी त अलमल्लमा परिहाल्यौ । समय अभावले प्रतिवेदनमा स्टिच समेत गर्न पाइएन । वाइण्डिङ र कभरिङको त कुरै छोडौं । कुनै वाहुन बाजेको सिदा जस्तो एउटा कपडामा वेरर राजा समक्ष प्रतिवेदन पेश गरियो । 
त्यही प्रतिवेदन समितिले २०५८ जेठ ३२ गते सार्वजनक गरेको हो । 




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |