दुई दशकसम्म अनुत्तरित एक प्रश्न : प्राण गैसकेका र हत्या आरोप लागेका दीपेन्द्रलाई किन बनाइयो राजा ?

image

दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगले पनि राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएर हत्या गरेको निष्कर्ष निकालेको छ । 
आखिर बाँच्ने सम्भावना नै नभएका दीपेन्द्रलाई किन बनाइयो राजा ? यो प्रश्न २० वर्षसम्म पनि अनुत्तरित नै छ । 

दरवार हत्यकाण्ड भएको राति न्यरो सर्जन डा. उपेन्द्र देवकोटा नर्भिक अस्पतालमा विरामी जाँच्दै थिए । अचानक विना इजाजत एकजना मानिस ढोका ठेलेर उनको कोठामै पुग्यो । देवकोटाले वोल्न भ्याइकै थिएनन्  । उसले भन्योे–डाक्टर साप ठूलो दुर्घटना भएको छ, तपाईंको आवश्यकता छ, मसँग हिँडिहाल्नुस्’ । डा. देवकोटा उसैको मोटरमा बसे । थापाथलीबाट कालिमाटी, ताहचल हुदै मोटर छाउनी अस्पताल तिर मोडियो । देशसञ्चार अनलाइनलाई डा. देवकोटाले भनेका छन्–मैले त्यति छिटो कसैले मोटर हाँकेको देखेकै थिइन । आर्मी अस्पताल पुग्दाखेरि रिंगटाले बान्ता भएर आफै बिरामी भए जस्तो अवस्थामा थिएँ म । 
अस्पातल पुगे पछि मात्र डा. देवकोटालाई दरवारमा गोली चलेको थाहा भयो । सैनिक अस्पतालमा राजा रानी सहित राजपरिवारका सदस्यलाई लहरै राखिएको थियो । पहेँलै रंगको कुर्ता सुरुवाल लगाएका राजा वीरेन्द्रको अनुहार पनि पहेँलो भैसकेको थियो । डाक्टरले नाडी छामे । राजाको प्राण थिएन । रानी ऐश्वर्यको टाउको उडेको थियो । 
गम्भीर घाइते अधिराजकुमारी श्रुतीको प्राण गएको थिएन । अप्रेसन थिएटरमा सबैभन्दा जटिल अवस्थामा थिए युवराज दीपेन्द्र। डा. देवकोटाले भनेका छन् –मैले हेर्दा युवराजले सास फेर्नुभएको थियो। चिमोट्दा खुट्टा चलाउनु भयो । 
तत्काल उनको अप्रेशन गरियो र लगत्तै एमआरआई पनि । रिपोर्ट हेरेपछि डा. देवकोटा उनी नबाँच्ने निष्कर्षमा पुगि सकेका थिए । टाउकामा लागेको गोली दुईटै डाइनकेफ्लन ड्यामेज (दिमाग) गरेर निक्लेपछि मान्छे बाँच्ने सम्भावना जिरो छ। चिकित्सा विज्ञानमा यस्तो घटनामा परेका कोही पनि बाँचेको रेकर्ड थिएन । डा. देवकोटाले भनेका छन् –मैले बुझेँ, दीपेन्द्र सरकार बाँच्ने जिरो प्रतिशत चान्स छ। 
२०५८ जेठ १९ गते रातिको कुरा हो । राजा रानीको मृत्यु भैसकेको थियो । तर राजा कहिल्यै मर्दैनन् भन्ने मान्यता अनुसार नयाँ राजाको चयन नहुदासम्म मृत्युको घोषणा भएको थिएन । राजपरिषद् बैठकले २० गते युवराज दीपेन्द्रलाई १९ गते रातिबाटै राजा भएको घोषणा ग-यो । यस प्रसंगमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसंग भनेका छन्–राजा रानी र युवराजको लास एउटै ठाँउमा राखिएको थियो । युवराज दिपेन्द्रलाई राजा घोषणा गरिए पनि उनको मृत्यु भैसकेको थियो । 

दीपेन्द्र अचेत रहेकाले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक बनाइयो । यसरी उनी शाह वंशका तेह्रौँ राजा हुन पुगे । विश्व राजतन्त्रको इतिहासमा सबै भन्दा छोटो समय राष्ट्र प्रमुख भएका यिनले आफू राजा भएको जानकारी समेत पाएनन् । किनकी भेन्टिलेटरको सहायताले मात्र उनलाई जीवित राखेको थियो । यथार्थमा राजा घोषणा हुनु अघि नै उन प्राण गैसकेको थियो । 
एकातिर मृत्यु निश्चित भएका अचेत व्यक्ति, अर्कोतिर उनै माथि हत्याकाण्डको दोष । दरवारमा गोली चलेको केही समय पछि नै अन्तराष्ट्रिय सञ्चार माध्यममा युवराज दीपेन्द्रले गोली चलाएको सूचना गृहमन्त्री रामचन्द्र पौडेलले नै दिएका थिए । तर सरकारी सञ्चार माध्यमले २० गते राजपरिषद्ले दीपेन्द्रलाई राजा घोषणा नगर्दासम्म शोक धुन मात्र वजाए । 
दीपेन्द्रलाई राजा बनाउने निर्णय दुई कारणले अवैधानीक थियो । पहिलो अचेत व्यक्तिलाई राजा वनाउन मिल्दैनथ्यो, त्यस माथि राजा रानी सहित राजपरिवारका सदस्यको हत्याकोे आरोप पनि उनी माथि नै थियो । 


दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगले पनि राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएर हत्या गरेको निष्कर्ष निकालेको छ । 
आखिर बाँच्ने सम्भावना नै नभएका दीपेन्द्रलाई किन बनाइयो राजा ? यो प्रश्न २० वर्षसम्म पनि अनुत्तरित नै छ । 
राजा घोषणा गरिएको पर्सी पल्ट नयाँ राजा दीपेन्द्रको मृत्यु भएको घोषणा गरियो । उनका काका ज्ञानेन्द्र राजा बने । संयोग नै मान्नु पर्छ जीवनकालमा उनी दुई पटक राजा भए । बाजे राजा त्रिभुवनले २००७ सालमा भारतीय दुतावासमा शरण लिएपछि बाबु महेन्द्र, दाजु वीरेन्द्र भन्दा अघि श्रीपेच पहिरिएका उनलाई भतिजा दीपेन्द्रको मृत्यु पछि पनि राजा हुने सौभाग्य प्राप्त भयो । 
यहाँ अर्को एउटा संयोग पनि जुरेको छ । उनकै पालामा २३८ वर्ष लामो राजतन्त्र अन्त्य भै गणतन्त्र स्थापना भयो । यहाँ आई पुग्दा अर्को पनि संयोग मिलेको छ । २०५८ जेठ महिनामा राजा बनेका थिए उनी २०६५ जेठमै आम नागरिकको हैसियतमा दरवारबाट वाहिरिए ।   




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |