राजा पृथ्वीनारायण शाह दुलही छोडेर फर्किनु परे पछि...

image

कन्यादानका वेला राजा हेमकर्ण  सेनले छोरीलाई गजमोती हार लगाई, दुलाहा दुलहीलाई एकदन्ता हात्तीमा चढाएर अन्माएका थिए । विवाहमा बरलाई अर्पण गरिएकाले यी दुवै चिज गौनाका साथ पठाई दिने विचार राजा रानीको थियो । यस विषयमा छलफल हुदा  ती चिज दिन युवराज दिग्बन्धन राजी भएनन् । पृथ्वीनारायण पनि के कम –एकदन्ता  हात्ती र हिराको हार दिने भए डोला लैजान्छौ, नदिने भएर काढी तरवारसित पनि डोला जैलाउला भनिदिए । 

नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह युवराज हुदाँकै कुरा हो । उनी चौध वर्ष लागेपछि गोर्खा दरवार भावी राजाका लागि सुयोग्य राजकुमारीको खोजीमा थियो । 
राजा नरभूपाल शाहकी जेठी रानी चन्द्रप्रभावती (निःसन्तान) र माहिली कौसल्यावतीले (पृथ्वीनारायणकी आमा) शीलगुण युक्त राजकन्याको खोजिमा ब्राह्मणहरू खटाएकी थिएन ।  । 
तिनताका राजकुमारहरु विवाह योग्य भएपछि उनीहरुका लागि योग्य (डोलाहरु) कन्याको प्रस्ताव सहित सन्देश ल्याई काम पटाएर पुरस्कार लिने ब्राह्मणलमीका दल सकृय हुन्थे । यिनीहरु मार्फत गोर्खा दरवारमा पनि डोला सन्देश आईरहेकै थिए । तर मामूली रजौटाकी छोरी डोला ल्याएर विवाह गर्न रानी चन्द्रप्रभावती र कौसल्यावती राजी थिइनन् ।  
ति दिन गोर्खा राज्य आर्थिक र सामरिक रुपमा सवल भैसकेको थिएन । तर महत्वाकांक्षी पृथ्वीनारायणमा युवराज हुदैंदेखि राज्य विस्तार गर्ने धोको थियो । 
त्यो बेला मकवानपुर राज्य गोर्खाको तुलनामा सम्पन्न थियो । प्रसस्त उव्जाउ हुने समथर जमीन, धना जंगल यस राज्यको बलियो आर्थिक स्रोत थियो । मकवानपुरले काठ र हात्ती विक्रि गरेर प्रयाप्त आम्दानी गरिरहेको थियो । काठमाडौं उपत्यकाका राजाहरु समेत हात्ती खेदा गर्न मकवानपुरको भर पर्थे । राजा हेमकर्ण सेन उम्दाउम्दा हात्तीहरु आफ्ना हात्तीसारमा राखेर अरु मुगलानियाँलाई विक्रि गर्थे भने मुगलबादशाहलाई खुसी पार्न भने वर्षेनी १४ हात अग्लो हात्ती नजराना बुझाउथे । पछि त्यति अग्ला हात्ती दिन नसकेपछि राजा हेमकर्णले पटनाका मुगललाई वार्षिक दश बाह्र हजार रुपैया दिएर सन्तुष्ट गराउन थाले । 

उनै राजा हेमकर्ण सेनकी सुन्दर कन्या भर्खर १२ वर्ष हुदैं थिइन् । त्यो बेला सानो (रजस्वला नहुँदै) उमेरमै कन्यादान गर्दा पुण्य हुन्छ भनेर छोरीहरुको छिट्टै विहा गर्ने चलन थियो । राजा हेमकर्ण पनि राजकुमारीको चाडै कन्यादान गरेर पुण्य लिने मानसिकतामा थिए ।

त्यसैले उनको विवाह चर्चा चलाइयो । एक पटक देवघाटको मेला भर्न गएका बेला राजा हेमकर्णको नजर गोर्खाका युवराज पृथ्वीनारायण शाह माथि परेको थियो । पृथ्वीनारायणको रुपरंग र चतुर स्वभावबाट प्रभावित भएका थिए उनी । त्यही भएर छोरीको विवाहका लागि लमी मार्फत गोर्खाकी महारानी समक्ष प्रस्ताव पठाए । 
मकवानपुरे राजाको त्यो प्रस्ताव बारे रानीहरु चन्द्रप्रभा, कौशल्या, युवराज पृथ्वीनारायण र भारदारहरुका बीच लामै छलफल चल्यो । सबैको राय मिल्यो –मकवानपुरसंग सम्वन्ध वढाउदा राजनीतिक रुपमा गोर्खालाई फाइदा हुन्छ । त्यसैले प्रस्ताव स्वीकार गर्दै स्वीकृतिका लागि राजपुरोहित, धाईहरुको टोली डोलेमैयाँ (राजकुमारी) को शीलस्वभाव जाँच्न मकवानपुर पठाउने निर्णय दरवारले लियो । गोर्खा  दरवारले राजकुमारीको रुपरंग, शीलस्वभाव चित्त वुझायो अनी विवाहको निधो भयो । 
राजा हेमकर्णले विवाहको निमित्त छोरी मैयाँलाई डोलाका रुपमा गोर्खा नपठाएर युवराज पृथ्वीनारायणलाई बरियाँत सहित मकवानपुरमै आमन्त्रण गरे । सन् १७३७ को कुरा हो । शुभ साइतमा विवाह सम्पन्न पनि भयो । दुलाहा पक्षले दुलही लिएर जाने कुरा उठाउदा राजाले भने–अहिले मेरी छोरी सानै छ । अवको तेस्रो वर्षमा आएर गौना गरी लिएर जानु होला । राजाको त्यो प्रस्ताव सुनेपछि दुलाहा पक्ष अकमक्कमा परे । पृथ्वीनारायणले ससुरालीलाई चिढाउन चाहेनन् । दुलही विनै जन्ति फर्किए । 
उता युवराजको विवाह भैसकेकाले गोर्खा दरवारमा उनलाई राजपुरोहितले विधि विधान पुरा गराई राजकाज सम्वन्धी शिक्षा दिक्षा दिन थाले । 
यस्तैमा एक वर्ष पुरा भयो । सन् १९३८ को जनवरीमा  गौनाका लागि पृथ्वीनारायण शाह डोला सहित मकवानपुर पुगे । ससुराली पक्षसंग कुरा हुदाँ मैयाँ सानै भएकाले अहिले पठाउन सकिन्न, अर्को वर्ष पठाउँला भन्ने जवाफ पाए । यस विषयमा दुलाहा र दुलही पक्ष विच भनाभन पनि भयो । 
पृथ्वीनारायण टोली सहित गोर्खा फर्किए । सन् १७३९ को जनवरीमा मंकरसंक्रान्ति मेला भर्न राजा हेमकर्ण सेन हरिहरपुर नजिक बागमतीको खुडाडाँघाटमा हुने मेला भर्न सपरिवार जाने तय भयो । त्यही मौकामा डोला सहित आउन उनले ज्वाई पृथ्वीनारायणलाई सन्देश पठाए । 
माघ लागेपछि डोला अन्माईदेलान् भनेर पृथ्वीनारायण तम्तयारी अवस्थामा त्यहाँ पुगे । मेला भरेर ससुराली टिमसंगै फर्किदै गर्दा बाटामा दुई पक्ष विच विवाद भयो । 
मकवानपुरे राजपरिवारको तुलनामा गोर्खालीहरुको भेषभूषा सामान्य थियो । पहाडमा वनेका मोटा पोशाक लगाएका थिए उनीहरुले । तर मकवानपुरे राजापरिवारमा भारतका मुगलहरुको प्रभाव थियो । उनीहरुको भेषभूषा र रहन सहनमा चमकधमक थियो ।  पोशाकको विषयलाई लिएर जेठान दिग्बन्धन र उनका दीवान कनकसिंह बानियाँले पृथ्वीनारायण शाहसंग अभद्र व्यवहार गरे । 
त्यसलाई गोर्खालीहरुले आफ्नो अपमान सम्झिए । राजा हेमकर्णले छोरालाई सम्झाए पनि ज्वाई जेठान  बीच मनोमालिन्य भयो । जसको प्रभाव डोला पठाउने कुरामा  पनि पर्न गयो । 
कन्यादानका वेला राजा हेमकर्णले छोरीलाई गजमोती हार लगाई, दुलाह दुलहीलाई एकदन्ता हात्तीमा चढाएर अन्माएका थिए । विवाहमा बरलाई अर्पण गरिएकाले यि दुवै चिज गौनाका साथ पठाई दिने विचार राजा रानीको थियो । यस विषयमा छलफल हुदा ती चिज दिन युवराज दिग्बन्धन राजी भएनन् । 
पृथ्वीनारायण पनि के कम –एकदन्ता हात्ती र हिराको हार दिने भए डोला लैजान्छौ, नदिने भएर काढी तरवारसित पनि डोला जैलाउला भनिदिए । 
त्यो रात कुरा मिलेन । पृथ्वीनारायण राती मकवानपुरमाढीमै बसे । कुरा मिलेन । विहान उज्यालो नहुँदै ससुरालीसित विदा भै गोर्खातिर फर्किए । राजा हेमकर्ण यो घटनावाट दिक्क भए । 
वरियात गोर्खा फर्किएर रानी चन्द्रप्रभा र कौसल्यावतीलाई सविस्तार सुनाए । 

यो घटनाले पहिलो गासमै ढुङ्गा लागेसरी भयो गोर्खा दरवारलाई । अनी रानीहरु मकवानी राजकुमारी भन्दा सुन्दर, खानदानी, कुलीन राजकन्यासँग पृथ्वीनारायण शाहको अर्को विवाह गराउने निष्कर्षमा पुगे । सुयोग्य राजकुमारीको खोजीमा भानु जोशी खटाइए । उनी तराई हुँदै काशी पुगे । अन्तःगोरखपुर जिल्लाका ठाकुर दयाराम सिंहकी छोरीमौयाँलाई डोलाका रुपमा गोर्खा ल्याइयो । त्यसको एक महिना पछि पृथ्वीनारायण शाहको दोस्रो विवाह गोर्खामै भयो । नवविवाहिता रानीको नाम नरेन्द्रलक्ष्मी राखियो । 

(काफ्ले त्रिभुवन विश्वविद्यालयमा इतिहास विषयका उपप्राध्यापक हुन् । 
 




प्रतिक्रिया


  1. याे लेख सही छ। तर याे सेनवंशी राजा काे थिए ?? लेखकले किन लुकाए? त्यतिबेला हात्ती कस्ले चढ्थ्याे ?? सेनहरु थारु समुदायका हुन् र उनीहरुकाे कल्चर अनुसार पहिला पहिला विवाह हुँदा छाेरी माइतीमै बस्थ्याे। तर गाेर्खा दरववारियालाई मन परेन। किनकि त्यहाँ प्रस्ट भनिएकाे छ: ज्वाइँ जेठानले दुलही दिएन सानैछ भनेर। यसकाे अर्थ के हाे ?? लेखक र इतिहासकारहरुले थारु समुदायकाे विषयमा इतिहासदेखि नै सबै लुकाउँदै आएकाे छ। राज्य नै थारुप्रति विभेदकाे नजरले हेर्थ्याे नै। ईतिहास पनि आफ्नाे बखान मात्रै गर्न लाउथ्याे। कस्ताे एक पाखे लेखक रहेछ। जानकारीकाे लागि मकवानपुरमा अहिले पनि सेनका सन्तानहरु थारु समुदायहरुकाे ठुलाे बसाेबास छ। याे अपुराे लेख अर्काे पटक पुर्ण बनेर आओस्।

    धेरै राम्रो छ सर सबै यथार्थलाई समेटिएको रहेछ ,,नेपालकाे इतिहास सम्बन्धि थप अरु पनि पढ्न पाइयाेस्।धन्यवाद।

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |