प्रथम महिला मन्त्री द्वारिकादेवीको सम्झना कवितामा

image

२०१६ साल जेठ १३ गते आजकै दिन नेपाली इतिहासमा पहिलो पटक जननिर्वाचित सरकार वन्यो । जसमा पहिलो पटक महिला मन्त्री भइन । बीपी कोइराला नेतृत्वको ११ सदस्यीय मन्त्रीमण्डलमा सरकारमा थारु, मधेरी, गुरुङ, थकाली, राई, लिम्वुको प्रतिनिधित्व थियो । त्यसै गरी भौगोलीक रुपमा पनि पूर्व, पश्चिम, उत्तर, दक्षिणका भूभागको प्रतिनिधित्व थियो । नेपाली इतिहासमा सर्वाधिक समावेशी मन्त्रीमण्डल त्यही हो भनेर इतिहासकारहरुले लेखेका छन् । त्यही मन्त्रीमण्डमा सुदुरपश्चिमवाट निर्वाचित महिला द्वारिकादेवी ठकुरानी मन्त्री भइन । ठकुरानी नेपाल मात्र नभएर दक्षिण एसियामै मन्त्री हुने पहिलो महिला हुन् । उनको सम्झनामा पूर्व मन्त्री भक्तवहादुर बलायरले लेखेको कविता । 

१) यसपाली बैतडी गएँ द्वारिकाको जिल्ला ।
  दशरथ जन्मेको थलो लोकतान्त्रिक किल्ला ।। 
२) मेलौली देवीको भूमि द्वारिकाको गाउँ ।
   सबैले गौरवले लिन्छन् द्वारिकाको नाउँ ।। 
३) राणा फाल्न बन्दूक वोक्ने, यही ठाउँकी महिला ।
   द्वारिका महिला मन्त्री नेपालकै पहिला ।। 
४) उन्नाइस सय बहत्तर कार्तिक बाह्रतिर । 
    दान्कोट गर्खामा जन्मिन् राखिन् ठाडो शिर ।।

५) डोटी दान्कोट जैैनोलीमा जन्मेर बढेकी । 
   शिक्षा ज्ञान गुरु राखी घरैमा पढेकी ।। 
६) राधादेवी पन्त माता बामदेव पिता । 
   घरैमा अध्ययन गरिन् महाभारत गीता ।।
७) शिवराज पन्तकी दिदी ब्राहमणको कुल ।
   डोटीको गौरव बन्यो सुगन्धित फूल ।। 
८) डोटी गौंडा सिलगढी पाल्पापछि अर्को । 
    राणाका जर्नेल बस्थे धाक रवाफ चर्को ।। 
९) नौ जिल्लाको केन्द्र डोटी प्रशासनिक किल्ला । 
    अदालत प्रशासनिक कार्य डोटी जिल्ला ।। 
१०) उद्धव चन्द प्रशासनिक कामले डोटी आउँथे । 
     वामदेव पन्तका घर बस्ने बास पाउँथ्ये ।। 
११) उद्धव द्वारिकाबीच चिनाजानी बढ्यो । 
     भावना दुवैको मिल्यो मायाप्रीति गड्यो ।। 
१२) प्रणयसूत्रमा बाँधिन् बयानब्बे सालमा । 
     शिक्षाको दीपक बाले राणा शासनकालमा ।।
१३) उद्धव चन्द शिक्षाप्रेमी समाजसेवी थिए । 
    द्वारिकालाई अघि बढ्न पूर्ण साथ दिए ।। 
१४) दुवै मिली तल्ली स्वराड शिक्षादीप बाले ।
     मणिलेक मा.वि. खोली पढाइ पनि थाले ।। 
१५) तल्ली स्वराड मेलौलीमा शिक्षा ज्योति बाल्यो । 
    दुई हजार चार सालमा हाईस्कूल खोल्यो ।। 
१६) भारत छोडो आन्दोलन भारतमा चक्र्यो । 
    नेपालमा राणाशाहीको निकै मुटु धड्क्यो ।। 
१७) भारतमा नेपालीले पार्टी खोल्न  थाले । 
    नेपाली मन मस्तिष्कमा क्रान्तिज्वाला बाले ।। 
१८) नेपाली कांग्रेसको जन्म भारतमा भयो । 
    नेपालका राणाशाहीमा त्यस्को खवर गयो ।। 
१९) बी पी आए तीन सालमा मुजफ्फरपुर । 
    हतियार जम्मा गर्ने संगठनको सुर ।। 
२०) एन डी प्रकाश साथ लगी बी पी भेट्न गइन् । 
     बी पी को व्यक्तित्वदेखि निकै खुशी भइन् ।। 
२१) काँग्रेसको सदस्यता बी पीबाट लिइन् । 
     क्रान्तिलाई सफल पार्ने पूरा वचन दिइन् ।। 
२२) आवतजावत हुन थाल्यो बी पीको साथमा । 
     राणा फाल्ने कसम खाए माटो लिई हातमा ।। 
२३) नेपालमा चर्कियो क्रान्ति ठाउँ ठाउँ क्रान्ति भयो । 
     डोटी गौडा कब्जा गर्न मुक्ति सेना गयो ।।
२४) सुदूरपश्चिम क्रान्तिलाई द्वारिका सघाउँिथन् । 
     बन्दुक र बन्दोवस्ती रासन पठाउँथिन् ।।
२५) कमान्डर रुप सिंह बजिर सिंह जोशी र्। 
    क्रान्तिकारीलाई दिन्थिन् आफैं बन्दुक खोसी ।। 
२६) सात सालमा उद्वव चन्द बत्तिस दिन जेल । 
     राणाको विरोध गर्दा हात खुट्टामा नेल ।। 
२७) क्रान्तिकारी भीमदत्त रूप सिंह अरू । 
     द्वारिका सघाउने गर्थिन् मुक्तिसेनाहरू ।।
२८) कांग्रेसको आहृावानमा क्रान्ति सफल भयो ।
     सात साल फाल्गुन सात राणा शासन गयो ।। 
२९) राजाले घोषणा गरे फाल्गुन सातमा । 
     संविधान छिट्टै आउँछ जनताको हातमा ।। 
३०) द्वारिका उद्ववको साथ माछापानी थियो । 
    दश सालमा उद्वव चन्द कालले टिपी लियो ।। 
३१) लोग्नेको देहान्त हुँदा ठूलो आघात भयो । 
    गर्भिणी अवस्था थियो बच्चा खेर गयो ।। 
३२) द्वारिका एकली परिन् जिम्मेवारी आयो । 
    चढ्दो जवानी थियो पति कालले खायो ।। 
३३) समाजसेवा राजनीति एक्लैको काँधमा । 
     सम्पूर्ण जीवन सुम्पिन् ईश्वरको हातमा ।। 
३४) देशको कसम खाइन् देश सेवा गर्ने । 
    डटेर सामना गर्ने विध्न वाधा पर्ने ।। 
३५) द्वारिका एकली परिन् हिम्मत हारिनन् । 
    प्रजातन्त्र राष्ट्रसेवा कदापि छाडिनन् ।। 
३६) परिवारले साथ दियो हिम्मत बढायो ।
    परिवारको साथ पाई केही आशा पलायो ।। 
३७) मीनबहादुर चन्द सधैं उनका साथ थिए ।
    प्रत्येक पाइला उन्ले सधैं साथ दिए ।। 
३८) द्वारिका सक्रिय भइन् बी पी भेट्दै गइन् । 
     लोग्नेको शिक्षाको धोको उनी मेट्दै गइन् ।। 
३९) राजनीतिमा उनको नाम चर्चा पाउन थाल्यो । 
     द्वारिकाले महिलामा नयाँ जोश हाल्यो ।। 
४०) चर्चाको शिखरमा पुगिन् बहादुर नारी । 
     संघर्षमा डटिरहिन् विपत्तिलाई फारी ।। 
४१) संविधानसभा चुनाव टार्दा टार्दै गए । 
     महेन्द्रको चालदेखि कांग्रेस चिन्तित भए ।। 
४२) संविधानसभाको मिति जति पर सा-यो ।
    बहुदलको जनतामाथि उल्टा प्रभाव प-यो ।। 
४३) कांग्रेसी विवश भए सत्याग्रह गर्न ।
     या  त चुनाव गराई छोड्न या त आफू मर्न ।।
४४) देशव्यापी सत्याग्रह शुरु हुने  भयो । 
     षड्यन्त्रकारीको अब सातोपुत्लो गयो ।। 
४५) चौध साल बाइस मार्ग सत्याग्रह शुरु । 
     लागे भद्र अवज्ञामा सब काँग्रेसीहरु ।।
४६) अड्डा खाना धर्ना दिने काम ठप्प पारे । 
     महेन्द्रको सातो गयो पूरा शेखी झारे ।। 
४७) डडेल्धुरा, डोटी, अछाम बैतडी र अरु । 
     जिल्ला जिल्ला भेला भए सत्याग्रहीहरु ।। 
४८) देशका सम्पूर्ण जिल्ला सत्याग्रह गरे । 
     गाउँ गाउँबाट जनता उठी सदरमुकाम घेरे ।। 
४९) अवज्ञा आन्दोलनवाट राजामा दबाव । 
     निर्वाचन छिटो गर्न परिग्यो प्रभाव ।। 
५०) अड्डाखाना कार्यकर्ता धर्ना दिई बसे । 
    निर्वाचन गराउन पूरा कम्मर कसे ।। 
५१) बाध्य ग-यो राजालाई घोषणा गरायो । 
     छिट्टै नै चुनाव गर्न राजालाई अह्रायो ।। 
५२) पन्ध्र साल फागुन सात चुनावको तिथि ।
    राजाको धोषणावाट तोकिदिए मिति ।। 
५३) संसदको चुनाव गर्ने संविधानसभा छोडी । 
    सात सालको धोषणाको मूल मर्म तोडी ।। 

५४) राजाले धोषणा ग¥यो उन्नाइस गते माघ । 
    चुनाव संसदको लागि सवै लिन भाग ।। 
५५) चुनाव संसदको लागि धोषणा जो ग-यो । 
    भाग लिने कि वहिस्कार पार्टी संकट प-यो ।। 
५६) भाग लिऊँ त अडान छोड्नु नलिऊँ त दोष । 
    लिने कि वहिष्कार गर्ने पार्टीलाई सोच ।। 
५७) बहिस्कृत हुने आफैं बहिष्कार गरेमा । 
     अडान छोड्नु पर्ने लड्नु नै परेमा ।। 
५८) अन्य पार्टी चुनावको तयारीमा थिए ।
    अन्त्यमा बी पी ले आफ्नो स्वीकृति नै दिए ।। 
५९) पन्ध्र साल फागुन सात चुनाव हुने भयो । 
    प्रतिनिधि छान्ने हक जनतामाथि गयो ।। 
६०) चुनाव प्रचार भयो घुमघाम गरी ।
     कार्यकर्ता घुम्न लागे पूरा देशभरि ।। 
६१) तल्ली स्वराड गाभिनमा डडेल्धुरा आयो  । 
    काँग्रेसको संसदको टिकट द्वारिकाले पायो  ।। 
६२) एक सय नौ क्षेत्र थिए पूरा नेपाल भरि । 
    तल्ली स्वराड छयासट्टि नम्बरमा परि ।। 
६३) कार्यकर्ता सबै खटे रुखमा भोट माग्न । 
    जनताका माझमा जान्थे आफ्ना कुरा राख्न ।। 
६४) जनतामा लहर आयो महिला उम्मेदवार । 
    भोट हाल्न सिकाए सवले वनि जिम्मेवार ।। 
६५) निर्वाचनको दिन जति नजिकमा आउँथे । 
    गाउँघर द्वारिकाको पक्ष नारा लाउँथे ।। 
६६) हातमा रुख चिन्ह खोपी द्वारिकाले सिकाइन् । 
    रुख चिन्ह यस्तो हो भनि आफ्नो हातमा देखाइन् ।। 
६७) जनतामा लहर उल्र्यो नारा घन्कि रन्थ्ये । 
    द्वारिका मत दिन्छौ भनि सवै जनता भन्थ्ये ।। 
६८) पन्ध्र साल फागुन सात निर्वाचन आयो । 
    मतदाताले मत हाल्न वुथमा लाम लाग्यो ।। 
६९) मतदान शुरु भयो लामवद्ध गरि ।
    द्वारिकालाई मत भन्थ्ये सबै वुथ भरि ।। 
७०) उर्लिदो लहर देखि विरोधी डराए । 
     धाँधलि भयो लौ भनि विरोधी कराए ।। 

७१) मेलौलीका वुथमा जनता विहानै लाममा । 
    सवजना तल्लिन थिए मत हाल्ने काममा ।। 
७२) मेलौलीमा अधिकृत देव चन्द थिए । 
    मतदातामा शंका भयो पक्षपात लिए ।। 
७३) निवार्चन अधिकृत देव वहादुर चन्द ।
     सोझा मान्छे देखे भने मत भन्ने अन्त ।। 
७४) मतदान अधिकृत पक्षपाति थिए । 
    खुलम खुला मेलौलीमा अर्को पक्ष लिए ।। 
७५) देव वहादुर चन्द खिन्न उर्लिदो भेल देखि । 
    चुनाव स्थगित गरे उजिर दिए लेखि ।। 
७६) मिन वहादुर चन्द सहित वत्तिस जना थुन्यो । 
    डडेल्धुरा पक्रि लगे धाँधली भो भन्यो ।। 
७७) दोस्रो दिन चुनाव भयो अधिकृत फेरि । 
     जनतामा झन जाँगर चल्यो पैलो दिन हेरी ।। 
७८) शान्तसँग चुनाव भयो लाम वद्ध गरि । 
     पर्वजस्तै उल्लास छायो पूरा स्वराड भरि ।। 
७९) मत पेटिका डडेल्धुरा जिल्ला सदरमुकाम । 
     मतदाता खुशी थिए सकि आफ्नो काम ।। 
८०) पन्ध्र साल फागुन सात देखि चुनाव भयो । 
    सोह्र साल बैशाख एक्काईस सम्म चुनाव रहयो ।। 
८१) चुनाव भयो बैशाखको एक्काईस गते सम्म ।
     काँग्रेसको चौहत्तर सिट मत पायो टन्न ।। 
८२) द्वारिका विजयी भइन् परिणाम आयो । 
     जनताको वहुमत भोट द्वारिकाले पायो ।। 
८३) निवार्चन सकिएर पार्टी नेता चुनी । 
    तीन मैना विति गयो सरकार वन्ला भनि । 
८४) सरकार गठन गर्न निम्तो नै आएन । 
    तीन मैना विति सक्दा संकेत पाएन ।। 
८५) राजाले षड्यन्यन्त्र ग-यो भन्ने शंका प-यो । 
    वाध्य भई महेन्द्रले निमन्त्रणा ग-यो ।। 
८६) दुई हजार सोह्र साल आठ गते जेठ ।
    बी.पीले मुस्किलले पाए राजा सँग भेट ।। 
८७) सरकार गठन गर्न राजाले वोलाए । 
     षड्यन्त्रको जाल वुन्ने दरवारी टोलाय ।। 

८८) पार्टी नेता विशेश्वर प्रधानमन्त्री वने । 
     उप.प्र.म पद राखि सुवर्णलाई चुने ।। 
८९) मन्त्री परिषद पुरा भयो योग्य मन्त्री वने । 
    संसदमा सभामुख के.पी.भट्टराई चुने ।। 
९०) स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन । 
    द्वारिका देवीले पाइन उपमन्त्री आसन ।। 
९१) पहिलो महिला मन्त्री नेपालकै वनिन । 
    जनताका सुदिन आए द्वारिकाले भनिन ।। 
९२) शिवराज पन्त वनमन्त्री द्वारिकाका भाई । 
     दिदीभाइ मन्त्री भए संसदमा आई ।। 
९३) जनताले चुनेको सरकार पहिलो पटक बन्यो । 
    जनता सुखी देश विकास सरकारले भन्यो ।। 
९४) काँग्रेसको सरकारले कार्य गर्न थाल्यो । 
    गाउँघर डाँडाकाँडा शिक्षा ज्योति बाल्यो ।। 
९५ पाठशाला कलेज खोले सबले पढन पाउने । 
     पर्यटकको संख्या वृद्धि नेपालमा आउने ।। 
९६) त्रि.वि.को स्थापना भयो उच्च शिक्षा पढाई । 
    गरिवले पढ्न पाउने ठालु गए  डराई ।। 
९७) विर्ताको उन्मूलन भयो राजा रजौटाको । 
     जनताको शोषण हुने वडो अनौठोको ।। 
९८) सरकारी संस्था खोल्यो गाउँ विकास योजना । 
     जिल्ला विकास वोर्ड खोली काम थाल्यो रोजना ।। 
९९) राष्ट्रियकरण गरी आर.एन.एसी वन्यो । 
      सदुपयोग बजेटको नेपाल बन्छ भन्यो ।। 
१००) आर.टि.ओ. अन्तर्गत रोडहरु वने । 
      जनतामा हौसला वढी रोडहरु खने ।।
१०१ पूर्व पश्चिम राजमार्गको सर्भेक्षण भयो । 
      कृषकका खेतवारी कूलो नहर गयो ।। 
१०२) कृषि शिक्षा उधोग र यातयात सेवा । 
      विकासको शुरुवात देश दिने टेवा ।। 
१०३) जनताले उछिन्दै गए ठालु ढल्दै गए । 
      आफ्नो नै भविष्यदेखि अरु डर्दै गए ।। 
१०४) त्रि.वि.को स्थापना भयो उच्च शिक्षा पढाई ।
     गरिव बढ्न पाउने ठालु गए डराई ।। 
१०५ प्रतिगामी तत्वलाई छटपटी भयो । 
     सरकारको काम देखि सातो पुत्लो गयो ।। 

१०६) चाहेन राजाले बस्न संविधान भित्र । 
      राणाका पालाका ठालु हुन गए मित्र ।। 
१०७) संवैधानिक राजतन्त्रको सिमाभित्र नरही । 
      राजाले काम गर्न खोज्यो सीमा वाहिर गही ।। 
१०८) सत्र साल पौष एक अन्धकार छायो । 
     नेपालका धर्तीमाथि कालो रात्री आयो ।। 
१०९) सैनिक बलका भर सरकार भंग भयो ।
     प्रजातन्त्रको हत्या ग-यो विश्व दंग रहयो ।। 
११०) अधिवेशन तरुण दलको पौष एकमा थियो । 
     महेन्द्रले दुवै सदन भङ्ग गरि दियो ।। 
१११) थापाथली अधिवेशन तरुण दलको थियो । 
     जर्नेल आई बी पी लाई एउटा खवर दियो ।। 
११२) राजाले बोलायो सबै सिंहदरवार भनी ।
      साथमा ल्याउनु भन्यो अन्य मन्त्री पनि ।।
११३) सिंहदरवार पुगी लग्यो सुन्दरीजलमा । 
     बी पी सहित अन्य नेता थुनिए जेलमा ।। 
११४) बी.पी१, जी.एम.२,के.पी३, सूर्य४अन्य नेताहरु । 
     सबैलाई जेलमा हाल्यो नेता मन्त्री अरु ।। 
११५) दुवै सदन विधटन मन्त्री मण्डल भङ्ग । 
      राजाको कदमदेखि दरवारिया दङ्ग ।। 
११६) द्वारिकादेवीलाई पनि सिंहदरवार भन्यो । 
      सिंहदरवारबाट लगी सैनिक क्लवमा थुन्यो ।। 
११७) महिला भनेर केही दिनमा रिहा भइन् । 
      सुवर्णको हेडक्वार्टर कलकत्तामा गइन् ।। 
११८) सशस्त्र क्रान्तिका लागि सुवर्ण जुटेका । 
      कलकत्तामा नेता पुगे जेलवाट छुटेका ।। 
११९) सुवर्ण शम्शेरले वैठक कलकत्तामा डाके । 
      सशस्त्र क्रान्तिको प्रस्ताव बैठकमा राखे ।। 

१. विश्वेश्वरप्रसाद कोइराला २. गणेशमान सिंह ३. कृष्णप्रसाद भट्टराई ४. सुवर्ण शमशेर 

१२०) द्वारिकाले आफ्ना कुरा प्रस्टसँग राखिन । 
      क्रान्तिमा बन्दुक बोक्ने आफ्नो माग मागिन ।।  
१२१) सशस्त्र क्रान्तिको कुरा सवले पारित गरे ।
      द्वारिकाका कुरा सुनि अचम्मित परे ।।
१२२) द्वारिकाको साहसको प्रशंसा गरियो । 
     उनको नाम क्रान्तिकारी टिममा परियो ।। 
१२३) मर्दानी देखाइन् खुवै द्वारिकादेवीले । 
     प्रशंसा खुलेर गरे कलकत्ता जे.पी.ले ।। 
१२४) जय प्रकाश नारायणले ठूलो सम्मान गरे । 
      द्वारिकाको साहसदेखि अचम्मित परे ।। 
१२५) उन्नाइस साल सुवर्णले निर्णय गराए । 
     ठाउँ ठाउँमा नेतृत्व तोकी आन्दोलन अह्राए ।। 
१२६) आठ ठाउँका सिमानामा संयोजक खटाए ।
     पन्ध्र सालका एम.पी.लाई सीमामा पठाए ।। 
१२७) नेपाल भारत सीमा आठ ठाउँमा किल्ला । 
      संयोजक तैनाथ ग-यो सिमानाका जिल्ला ।। 
१२८) सु.प.का तीन किल्ला तोक्यो दुर्गादत्त जोशी । 
      टनकपुर, झुलाधाट, पिथौरागढ सोची ।। 
१२९) द्वारिकादेवीलाई तोक्यो सहायकको रुपमा । 
      मन लगाई कार्य गरिन् चिसो वर्षा धुपमा ।। 
१३०) झुलाधाट जिम्मा पाइन् द्वारिकादेवीले । 
      मनमा क्रान्तिको ज्वाला राजाको शेखीले ।। 
१३१) मीनबहादुर चन्द पनि द्वारिकाको साथमा । 
     रामदत्त, राम पाध्या हतियार हातमा ।। 
१३२) मनोरथ धर्मदेव कौशल खाती पनि । 
     द्वारिकाका साथ थिए क्रान्ति गर्छौ भनी ।। 
१३३) भारत पिथौडागढ लुहाघाट अनि । 
      द्वारिकाको जिम्मा थियो धर्माघाट पनि ।। 
१३४) रामचन्द्र हमाल र रमेशचन्द्र  जोशी । 
      द्वारिकाका साथै थिए खेमराज जोशी ।। 
१३५) रामदत्त जोशी अनि पद्मबहादुर शाही ।
     तुम्बाका भरले पारी महाकाली आई ।। 
१३६) द्वारिका तुम्बाका भर महाकाली तर्थिन् । 
      नेपालका सिमानामा क्रान्ति भाषण गर्थिन् ।। 
१३७) पिथौडागढलाई छोडी लोहाघाट सरिन् । 
     भारतको गुमदेशमा आफ्नो डेरा गरिन ।। 
१३८) लोहाघाट डडेल्धुरा सीमामा पर्दथ्यो । 
     भन्सारमा जो आउँथ्यो मनपरी गर्दथ्यो ।। 
१३९) धनी चन्द, वीर चन्द , कृष्ण चन्द अनि । 
      हजारी साउँदको मद्दत वीर नारी भनी ।। 
१४०) छोटी भन्सार धर्माघाट अर्को हल्दुघाट । 
      निसानामा कुस्मौतघाट साथै झुलाघाट ।। 
१४१) द्वारिकाको निर्देशन चारै भन्सार घे-यो । 
      कर्मचारी कागजपत्र आफ्नो कव्जा ग-यो ।। 
१४२) मीन चन्द रमेश जोशी अन्य साथी आई । 
      नियन्त्रण गरी राख्यो सिमानामा ल्यााई ।। 
१४३) मीन चन्द मृत्यृदण्ड सर्वस्वहरण । 
      प्रजातन्त्र प्राप्त गर्न कालको बरण ।। 
१४४) सर्वस्वहरण तोक्यो द्वारिकादेवीलाई । 
      द्वारिका भाषण गर्थिन् सिमानामा आई ।। 
१४५) झुलाघाट, पंचेश्वर हल्दुघाट धर्मा । 
     द्वारिका वसेर जान्थिन् किसानका घरमा ।। 
१४६) फुत्ते पार्की केशर चन्द नौ महिना जेलमा ।
      तुम्बाका भरमा तथ्र्ये उलिदो भेलमा ।। 
१४७) पच्चीस सालमा बी.पी. अन्य नेता पनि । 
      सुनायो प्रवासी नेता आउन पाउने भनी ।। 
१४८) मीन चन्दको सत्ताइस सालमा मुद्दा फिर्ता ग-यो । 
      द्वारिकादेवीको सवमा ठूलो प्रभाव प-यो ।। 
१४९) अठतिस साल बाइस असोज सात बजे साँझ ।
      मीन वहादुर पक्राउ परे साथीभाइका माझ ।। 
१५०) दशैँताका घरमा साथी बसी रमाउँदैथे । 
     प्रवासमा भएका कार्य सबै सुनाउँदैथे ।। 
१५१) अन्य साथी भगाइदियो लाठी चार्ज गरी । 
      पुलिसले छापा मा-यो पुरा घरभरि ।। 
१५२) लाठी चलाई साथी भगाई मीन चन्दलाई लगे । 
     मीन चन्दलाई गोली हान्दा छिमेकीले ध्येके ।।
१५३) एक गोली द्वारिकाजीको कानैबाट गयो । 
     त्यहीँदेखि एउटा कान नसुनिने भयो ।। 
१५४) द्वारिका एकली परिन् मीन चन्दलाई मा-यो । 
     सहयोगी मारिदियो निकै गाह्रो पा-यो ।। 
१५५) प्रजातन्त्रप्रेमी मा-यो राष्ट्रवादी वीर । 
     द्वारिकादेवीलाई अब झन प-यो पीर ।। 
१५६) द्वारिकादेवीको क्रान्ति निरन्तर रह्यो । 
      छत्तीस साल जनमतमा  दौडधुप भयो ।। 
१५७) बहुदलमा माग्न भोट घरदैलो गइन् । 
      रातदिन दौडधुप निकै थकित भइन् ।। 
१५८) छयालीस सालमा पनि आन्दोलनमा लागिन् ।
     आन्दोलनमा लाग्न सबलाई आफ्ना कुरा राखिन् ।। 
१५९) आन्दोलनमा सरिक भई हौसला वढाउँथिन् । 
      पञ्चायती व्यवस्था फाल्न एकजुट गराउँथिन् ।। 
१६०) पञ्चायती व्यवस्था गयो वहुदल आयो । 
     सार्वभौम जनता बने मौलिक हक पायो ।। 
१६१) चूनाव नजिक आयो टिकट बाँड्ने भए । 
      द्वारिका टिकट  पाउने सवै ढुक्क रहे ।। 
१६२) एक्लीनारी सिमानामा तम्वु तरी आउँथिन् । 
     पञ्चायतका क्रियाकलाप बेलिबिस्तार लाउँथिन् ।। 
१६३) हत्केलामा ज्यान राखी वारिपारि गर्थिन् । 
     जनताका मनमा आफैं क्रान्तिज्वाला भर्थिन् ।। 
१६४) द्वारिकाले टिकट पाउने सबै ढुक्क थिए । 
      द्वारिकाले टिकट पाउने आफ्नो विचार दिए ।। 
१६५) द्वारिकाले पाइनन् टिकट जनता दुःखी भए । 
     अन्याय के भयो भनी नेतासामु गए ।। 
१६६) राजाको प्रलोभन त्यागी उप. प्र.म पाउने । 
     द्वारिकाको मन मोड्न कति पञ्च आउने ।। 
१६७) नमानी क्रान्तिमा लागिन् कलकत्तामा पुगिन् । 
      सिमानामा प्रचार गर्दा कति घर लुकिन् ।।
१६८) द्वारिकाको परिश्रम प्रवासको काम । 
     सबैले गौरवले लिन्छन् द्वारिकाको नाम ।। 
१६९) नेपालकी पहिलो नारी मन्त्री पद पाएकी । 
    दिएनन् टिकट किन क्रान्तिमा आएकी ।। 
१७०) मूल्याङकन गर्ने काममा किन त्रुटि भयो ? 
     जनताका माझमा अझै प्रश्न वाँकी रहयो ।। 
१७१) उनसट्ठी मङ्सिर चौबीस तीन बजे राति । 
     शौचालय जाँदा ढलिन् दुःख्यौ निकै छाती ।। 
१७२) धनगढी अस्पताल लगे तर होस फर्केन । 
     क्रान्तिदीप झ्वाप्प निभ्यो कालले पर्खेन ।। 
१७३) नेपालीको प्रेरणाको ठूलो स्रोत गुम्यो । 
      सुदूरको उज्ज्वल तारा क्रान्तिदीप निभ्यो ।। 
१७४) श्रद्धाञ्जलि तीनै चन्द कोटी नमन गरी । 
      द्वारिका उद्धव मीनलाई सम्झौं सधैँभरि ।।       

डोटीबाट प्रतिनिधित्व गर्ने बलायर पूर्वमन्त्री हुन् । यो समाग्री हामीले २०७६ श्रावण १९ गतेको पश्चिम टुडे अनलाइनबाट साभार  गरेका हौं । 




प्रतिक्रिया


  1. अत्यन्तै सुन्दर कविता रचना गर्नु भएकाले आदरणीय भक्त बहादुर दाईलाई धेरै धेरै धन्यवाद , यस कविताले २००७ साल वरिपरिको सम्पुर्ण इतिहासलाइ समेत उजागर गरेको छ ।

कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |