“कु” गर्नु अघि राजा महेन्द्रले भनेका थिए “गभर्नमेन्ट अफ दि पिपुल, फर द पिपुल, बाई द पिपुल, स्याल नट डाई”

image

राजाले उपप्रधानमन्त्री सुवर्णसँग बीपीलाई कु गरेर हटाउने सङ्केत गरेका थिए, “बीपीको स्वभाव र कार्यप्रणाली मलाई मन परेको छैन। तसर्थ राजशक्ति प्रयोग गर्ने विचार गरेको छु। द्वन्द्व अवश्यम्भावी छ। दुई–चार वर्ष आफ्नो इच्छा अनुकूल शासन गर्छु। तिमी मलाई साथ दिन तयार छौ कि छैनौ?” सुवर्णले असहमति जनाउँदै भने, “सरकार, गलत कुरो हुन्छ। केही मतभेद छन् भने प्रधानमन्त्रीसँग सरकारले कुरा गरेर हटाउनुपर्छ। कु गरेर त देशकै निम्ति पनि राम्रो हुँदैन। सरकारका निम्ति पनि राम्रो हुँदैन। म त सल्लाह दिन सक्तिनँ।”

राजा महेन्द्र र बीपीबीच व्यक्तित्वको टकराव तीव्र थियो, सिद्धान्तको होइन। बीपीले आफूलाई ‘जीहजुरी गरुन्’ भन्ने अपेक्षा गर्थे राजा महेन्द्र। तर बीपीबाट त्यस्तो व्यवहार सम्भव थिएन। “बीपी सार्वभौमसत्ता जनतामा हुनुपर्छ भन्ने मान्यता राख्थे। राजा आफूलाई देवताको अवतार ठान्थे र राज्य शक्तिको स्रोत आफूमा निहित छ भन्ने मान्यता राख्थे। राजालाई राज गर्नु थियो, त्यसका लागि शक्ति आफ्नो हातमा लिनु थियो।” 

राजा महेन्द्र अत्यन्त कुटिल थिए । उनको देखाउने र गर्ने व्यवहार नितान्त भिन्न हुन्थ्यो । २०१७ सालको प्रारम्भ देखि नै उनले प्रधानमन्त्री बीपी कोइरालालाई हटाउने अनेकौं प्रयास शुरु गरे । यस क्रममा तीन महिनाभन्दा लामो विदेश भ्रमण गरे । उनको औपचारिक भ्रमणको तालिका यस्तो थियो( जापान, संयुक्त राज्य अमेरिका र क्यानडा। तर राजाले ती बाहेक अन्य केही मुलुकको अनौपचारिक भ्रमण गरे । बीबीसी अनलाईनमा पत्रका विष्णु पोखरेल देख्छन् –उक्त भ्रमणका क्रममा महाशक्ति राष्ट्रहरूको नाडी छामेर आएका महेन्द्रले नेपाल फर्किएको झन्डै पाँच महिनामै बीपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरेको केही विश्लेषकहरूको बुझाइ छ। 

राजा महेन्द्र र बीपीको लक्ष्य फरक भए पनि सौहार्दपूर्ण सम्बन्ध थियो। एकअर्कोको सम्मानमा दुवै कुनै कमी देखाउँदैनथे। तर शक्ति जनतामा रहने वा राजामा भन्ने विषयमा ठूलो द्वन्द्व थियो। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा भन्छन्, “बीपीले जसरी सुरूमै राजालाई अन्डरमाइन्ड गर्ने शैली देखाए, त्यसमा राजाले खतरा महसुस गरे। राजालाई राजतन्त्र सुरक्षित छ भन्ने अनुभूति भएको भए बहुदलीय व्यवस्था निल्ने निर्णय हुने थिएन।”
बीपीलाई हटाएर सुवर्णलाई प्रधानमन्त्री बनाउन सकिन्छ कि भनेर राजाले झन्डै नौ महिना प्रयास गरे। एक वर्षभित्र बीपीले राजीनामा गरेर सुवर्णलाई प्रधानमन्त्री बनाउँछन् भन्ने राजाको अनुमान थियो। तर उनले सत्ता छोड्ने सङ्केत नदेखेपछि राजा सरकारलाई बदनाम गर्ने र कमजोर बनाउने योजनामा लागे।  २०१६ चैत २८ गते राजा महेन्द्र बडामहारानी रत्नका साथ जापान र अमेरिकाको राजकीय भ्रमणका लागि प्रस्थान गरे। साथमा सवारी मन्त्री थिए उपप्रधानमन्त्री सुवर्णशमशेर। भ्रमण दलमा सुवर्णकी श्रीमती पनि थिइन्।
वैशाख ६ गते पुगेका राजा आठ दिनको जापान भ्रमण सकेर २०१७ वैशाख १४ गते अमेरिका गए। त्यहाँ सात हप्ता बिताएर लन्डनतर्फ लागे। अनि २०१७ असार ४ गते फ्रान्सको राजधानी पेरिस गए। पेरिसमा पाँच दिन बिताएर असार ९ गते जर्मनी पुगे। त्यही क्रममा अस्ट्रिया, स्विजरल्यान्ड हुँदै राजा असार १३ गते इरानको राजधानी तेहरान पुगे। अनि अफगानिस्थानको राजधानी काबुल हुँदै भारतको १५ दिने भ्रमणका लागि श्रीनगर पुगे। साउन ४ गते भारतको राजधानी नयाँ दिल्ली पुगेका राजा १३ गते दार्जीलिङ हुँदै काठमाडौं आए। जापान र अमेरिकाबाट फर्किएपछि आश्विन २१ गते बेलायत भ्रमणमा गए। त्यो सवारीमा पनि उपप्रधानमन्त्री सुवर्णशमशेर राणा, उनकी श्रीमती राजाको साथमा थिए।
झन्डै एक महिना बेलायतमा बिताएर राजा इटाली पुगे। इटालीबाट भारतको बम्बई हुँदै नेपाल फर्किए। बीपीको विकल्पमा सुवर्णशमशेरलाई अघि सारेर कांग्रेस संसदीय दलमा विभाजन गर्न विदेशमै सुवर्णलाई उकास्न कुनै कसर बाँकी राखेनन्। तर बीपीले नछोडेसम्म सुवर्ण उनी विरूद्ध नलाग्ने प्रस्ट सङ्केत पाएपछि 'कु' बाहेक अर्को विकल्प छैन भन्ने निष्कर्षमा राजा पुगेको देखिन्छ।
युरोप र अमेरिकामा राजाले उपप्रधानमन्त्री सुवर्णसँग बीपीलाई कु गरेर हटाउने सङ्केत गरेका थिए, “बीपीको स्वभाव र कार्यप्रणाली मलाई मन परेको छैन। तसर्थ राजशक्ति प्रयोग गर्ने विचार गरेको छु। द्वन्द्व अवश्यम्भावी छ। दुई–चार वर्ष आफ्नो इच्छा अनुकूल शासन गर्छु। तिमी मलाई साथ दिन तयार छौ कि छैनौ?” सुवर्णले असहमति जनाउँदै भने, “सरकार, गलत कुरो हुन्छ। केही मतभेद छन् भने प्रधानमन्त्रीसँग सरकारले कुरा गरेर हटाउनुपर्छ। कु गरेर त देशकै निम्ति पनि राम्रो हुँदैन। सरकारका निम्ति पनि राम्रो हुँदैन। म त सल्लाह दिन सक्तिनँ।”
अमेरिका भ्रमणमा राजा महेन्द्रको भव्य स्वागत मात्र भएन, अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेएक मात्र नेपाली नेता हुन् उनी। २०१७ बैसाख १८ मा अमेरिकी संसद्लाई सम्बोधन गर्दै राजाले भनेका थिए, “गभर्नमेन्ट अफ दि पिपुल, फर द पिपुल, बाई द पिपुल स्याल नट डाई।”

अर्थात् “जनताको भलाइका निमित्त, जनताले रोजेको व्यवस्था र शासन व्यवस्था यस पृथ्वीबाट लोप नहोस् भन्ने आदर्शलाई हामी कहिल्यै नभुलौं।”
“अमेरिका जानुअघि दिल्लीमा राजाले भारतीय प्रधानमन्त्री नेहरुलाई भेटेर बीपीलाई हटाउन उनको सहमति लिएका थिए।”  ‘निर्वाचित सरकारले सुधार र विकासका लागि काम गर्न थालेपछि राजसंस्थाको औचित्य रहँदैन’ भनेर राजा चिन्तित थिए। त्यही कारण उनले कु को बाटो लिए। नेपाली कांग्रेसका नेता गणेशमान सिंहले भनेका छन्, “राजा र सरकारबीच सम्बन्ध बिग्रने मुख्य कारण थियो— जङ्गलको राष्ट्रियकरण, राजारजौटा उन्मूलन गर्ने विषयमा संसद्मा प्रस्तुत विधेयक।”

अर्को मनोवैज्ञानिक त्रास पनि थियो उनलाई। बीपीले भोला चटर्जीसँगको अन्तर्वार्तामा भनेका छन्, “राजाहरु स्वभावैले निरङ्कुश हुन्छन्। राजा महेन्द्रले पनि मसँग एक पटक भनेका थिए— सत्ताहीन भएर बस्नुभन्दा त बरू म सडकमा नाङ्लो थापेर बस्न वेश ठान्छु।”राजा महेन्द्रमा सत्ता र शक्ति आर्जनको तीव्र आकांक्षा थियो। उनी प्रधानमन्त्री बीपीसँग भन्ने गर्थे, “शासन गर्न नपाउने भए त गणतन्त्र घोषणा गरेर राजगद्दी छोड्छु।” प्रत्युत्तरमा बीपीले भन्ने गर्थे, “तपाईं राजसंस्थाको प्रतिनिधि हो। स्वेच्छाले छोड्न सक्नुहुन्छ।” एक पटक राजाले भने, “तपाईंहरु सबै काम जनता र सरकारले गर्ने हो भन्नुहुन्छ। मैले के गरेर बस्ने ? दरबारमा मलाई समय कटाउन नै गाह्रो हुन्छ।” त्यस बेला बीपीले सम्झाउँदै भनेका थिए, “सरकारलाई समय कटाउन गाह्रो भए नगर विकास योजना र राष्ट्रिय निकुञ्जको स्थापनातर्फ ध्यान बक्सी योजना दिइबक्से हामी त्यसको कार्यान्वयन गर्न सहयोग गर्नेछौं।

यस्ता बहस राजा महेन्द्र र बीपीबीच भइरहन्थे। यस सम्बन्धमा एउटा अन्तर्वार्तामा बीपीले भनेका छन् “राजा महेन्द्रले ‘मैले राम्ररी शासन गर्न सकिनँ भने राजा हुनुको मजा नै के भयो ? राजतन्त्र खारेज गरेर नेपाललाई किन गणतन्त्र घोषणा नगर्ने ?’ मलाई यस्तो समेत भनेका थिए। खासमा उनी मध्ययुगीन निरङ्कुश राजा थिए।”
राजाका सचिव समेत रहेका ईश्वरीमान श्रेष्ठले महेन्द्र र बीपीको सम्बन्धबारे भनेका छन्, “राजा बीपीको भावना र विचारको कदर गर्थे भने कार्यशैलीको विरोध गर्थे। बीपीको व्यक्तित्वबाट भारतीयहरु झस्केका थिए। उनीहरु बीपी निर्वाचित प्रधानमन्त्री भएकोमा खुसी थिएनन् र राजालाई सहयोग गरेका थिए। राजा महेन्द्रले बीपीलाई अपदस्त गरी शासन सत्ता आफ्नै हातमा लिँदा पनि बीपीलाई मात्र परिवर्तन गरी सरकार राख्न चाहन्थे। धेरै पटक राजाले बीपीसँग कुरा गर्न चाहे तर बीपी झुक्तै नझुक्ने, राजालाई टेर्दै नटेर्ने। पिता कृष्णप्रसाद कोइरालाले चन्द्रशमशेरसँग झुक्न नचाहे जस्तै बीपीले पनि राजा महेन्द्रसँग झुक्नै चाहेनन्। त्यसैले त्यो राजा र बीपीको व्यक्तित्वको लडाइँ थियो र राजाले उनलाई कारावासको सजाय दिए। पञ्चायती व्यवस्था लागू गरेपछि उनले तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट आदिलाई प्रधानमन्त्री बनाए। तर कुनैबाट पनि त्यति सन्तुष्ट हुन सकेनन्। त्यसैले त २०२८ सालमा स्वर्गे हुनुअघि नै उनले भनेका थिए-मैले धेरैलाई प्रधानमन्त्री र मन्त्री बनाएँ तर विश्वेश्वर जस्तो योग्य र दुनिया“लाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन सकेन’।”




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |