तिनैताका कान्तिपुर टेलिभिजनका लागि लेखकलाई दिएको एउटा अन्तवार्तामा भट्टराईले भनेका थिए – उनका लागि राजनीति कमाउने उद्योग होइन, न त सत्ता र शक्तिमा पुग्ने भर्याङमात्रै हो । भट्टराईका लागि त राजनीति सेवा गर्ने माध्यममात्र हो । त्यही दिन मैले सोधेको थिएँ – किसुनजी तपाईँलाई भावी पुस्ताले कुन रुपमा स्मरण गरोस् भन्ने चाहनु हुन्छ ? हसिँलो अनुहार बनाएर उनले भनेको अझै सम्झन्छु – बस्, भट्टराई एउटा इमानदार मानिस हो भनेर सम्झिदिए पुग्छ ।
दुई दशकअघिको कुरा हो सत्तारुढ दल नेपाली कांग्रेसभित्रको आन्तरिक कलह चरममा पुगेको थियो । सभापति गिरिजाप्रसाद कोइरालाको समूह प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईविरुद्ध पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव पेस गर्ने तयारीमा थियो । सांसदहरु सिद्धान्तभन्दा सत्ता र शक्तिको लोभमा यो वा त्यो पक्ष गुटमा गोलबद्ध हुँदै थिए ।
भट्टराईलाई सत्ताच्युत गर्न आफ्नै पार्टीका सांसदले त हस्ताक्षर अभियान चलाएकै थिए दरबार र भारतसमेत उनका लागि अनुकूल थिएनन् ।
यस्तैमा भट्टराई समर्थक कांग्रेसका वरिष्ठ नेताले बालुवाटारमै पुगेर भने – किसनुजी भरपर्दो उपाय नखोजे सरकार कुनै पनि बेला ढल्न सक्छ । त्यस दिनको घटना कांग्रेस नेता प्रदीप गिरीले पुष ८ गते कृष्णप्रसाद भट्टराई अध्ययन केन्द्रको वेबिनारमा यसरी सुनाए – सरकार ढाल्न पार्टी सभापति गिरिजावावु आफैँ कस्सिनुभएको थियो । सांसदहरूलाई घरमै बोलाएर किसुनजीविरुद्ध हस्ताक्षर गराउँदै हुनुहुन्थ्यो । उहाँले क–कसलाई बोलाउनु भयो, कुन कुन सांसदले सरकारविरुद्ध हस्ताक्षर गरे भन्नेजस्ता सूचना तारन्तर आइरहेका थिए । म किसुनजीको बेडरुममा थिएँ । तलबाट कसैले खबर ल्यायो – पार्टीका केही नेता तल बैठक कक्षमा पर्खिएर बस्नुभएको छ । किसनुजीलाई छिटो भेट्नु छ । सरकार अप्ठेरोमा परिसक्यो भनिरहनु भएको छ ।
त्यस दिनको घटना कांग्रेस नेता प्रदिप गिरिले यसरी सम्झिए – म प्रधानमन्त्रीको बेडरुमबाट तल झरेँ । अनि फेरि माथि उक्लिएर किसुनजीलाई बाहिर फलानो फलानो नेता छन् भनेर बताएँ । तीमध्ये कतिपय अहिले पनि राजनीतिमा सक्रिय भएकाले नाम चाहिँ नभनौँ । किसुनजी झर्किनु भयो । किन आएका बेला न कुबेला !
क्षणभरमै प्रधानमन्त्री तल्लो तलाको बैठक कक्षमा पुगे । त्यहाँ भएको छलफलका मुख्य अंश –
वरिष्ठ नेता : किसुनजी अब हजुर प्रधानमन्त्री भइरहने हो भने अलिकति पैसा व्यवस्था नगरी भएन । गिरिजाबाबु सांसदहरुलाई निवास (महाराजगञ्ज) मा बोलाउँदै पैसा र पद बाँडेर धमाधम सही गराउँदै हुनुहुन्छ ।
भट्टराई : ए बाबु म पनि त्यसै गरौँ ? कहाँबाट ल्याउँ ?
वरिष्ठ नेता : किसुनजी हजुरले हुन्छ भन्नुमात्र पर्यो पैसाको कमी हुनेछैन । हामी गर्छौँ इन्तजाम । साथीहरु भर्खरै चुनाव जितेरआएका छन् । उनीहरु माथि ठूलो ऋण छ । अलिकति पैसाको व्यवस्था हुनसक्यो भने त धेरैले सरकारविरुद्ध हस्ताक्षर गर्नेछैनन् । अनि हामी सहजै संकट सामना गर्नसक्छौँ ।
भट्टराई : मैले के गर्नु पर्यो ?
वरिष्ठ नेता : पैसा दिने मान्छे हामीले लिएरै आएका छौँ । यहीँ तल छन् । हजुरको आज्ञा भए बोलाऊँ ?
भट्टराई : मैले के गर्नु पर्यो भने नि त ?
वरिष्ठ नेता : केही गर्नु पर्दैन किसुनजी ! दुई जना तल छन् । उनीहरु तीन तीन करोड सहयोग गर्न पनि तयार छन् । त्यति भए सरकार जोगाउन सकिन्छ । बस ! हजुरले उनीहरुलाई भेटेर वचन दिए पुग्छ किसुनजी !
भट्टराई : कस्तो वचन बाबु ?
वरिष्ठ नेता : एउटालाई शाही नेपाल वायुसेना निगमको कार्यकारी प्रमुख र अर्कोलाई नेपाल आयल निगमको महाप्रबन्धक बनाई दिन्छु भने हुन्छ ।
भट्टराई : अरे बा ! गज्जब ! आफ्नै पार्टीका सांसद किन्न मैले कार्यकारी अध्यक्ष र जीएम पद बेच्नु पर्ने ? मेरो नाममा (२०५६ को चुनावमा कांग्रेसले भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको थियो) चुनाव लड्ने । जिताएपछि पनि मलाई भ्रष्ट बनाएर प्रधानमन्त्री पदमा टिकाई रहने ?
वरिष्ठ नेता : के गर्ने त किसुनजी सरकार त जोगाउनु पर्यो नि !
भट्टराई : (कोठातिर जान फनक्क फर्किँदै) तपाईँहरु कोसँग कुरा गर्न आएको ? नैतिकता बेचेर, पैसा बाँडेर, चाकरी गरेर मलाई पद जोगाउनु छैन । बस ! गर्नुस् ।
राणा शाहीको अन्त्य र मुलुकमा प्रजातन्त्र स्थापनाका लागि २००३ सालदेखि अनवरत संघर्ष गर्दै आएका भट्टराई पाँच दशक लामो राजनीतिक जीवनकालमा प्रतिस्पर्धा गरेका सबैजसो चुनावमा पराजित भएका थिए । मुलुकमा भएको पहिलो संसदीय चुनाव (२०१५) मा गोर्खाबाट हारे । यस्तै २०४६ सालको जनआन्दोलन पछि अन्तरिम प्रधानमन्त्रीको हैसियतमा आफैँले गराएको निर्वाचन (२०४८) मा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँग काठमाडौं क्षेत्र नं १ बाट पराजित भए । भण्डारीको निधनपछि २०५० मा सोही क्षेत्रमा भएको उपचुनाव पनि भट्टराईले विद्या भण्डारीसँग हारे ।
विसं २०५६ को संसदीय निर्वाचनमा पहिलो पटक पर्साबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएर प्रधानमन्त्री बनेका भट्टराई सरकार बनेको छ महिना पुग्दा नपुग्दै चौतर्फी घेराबन्दीमा परे । माओवादीले हिंसात्मक गतिविधि ह्वात्तै बढायो । त्यसैलाई आड बनाएर राजदरबार सरकारले केही गर्न सकेन भन्दै कांग्रेस सभापति कोइरालालाई सत्ता लिन उकास्न थाल्यो । छिमेकी मुलुक भारत भट्टराई सरकार लम्मिएको हेर्न चाहँदैनथ्यो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संसदीय दलको सामना गर्न वा संसद् भंग गरेर ताजा जनादेशमा जान शुभचिन्तकहरुबाट तीव्र दबाब परिरहेको थियो ।
लोकतन्त्रका मूल्य मान्यतामा कसैसँग सम्झौता नगर्ने स्वभावका भट्टराई नित्य गीतापाठ गर्थे । कम गर फलको आश नगर भन्ने गीताको सारमा अगाध विश्वास राख्थे । आफ्नै अन्तरआत्माको आवाज सुनेर निर्णय लिने स्वभाव थियो उनको ।
एकातिर सरकार चरम संकटमा थियो अर्कोतिर केही दिनमै प्रधानमन्त्री फ्रान्स भ्रमणमा जाने तय भइसकेको थियो । जंगवहादुर राणा पछि नेपालका प्रधानमन्त्रीले पहिलो पटक फ्रान्सको औपचारिक भ्रमणका लागि निमन्त्रणा पाएका थिए । भट्टराईले आफूविरुद्धको प्रस्ताव फिर्ता गरे फ्रान्सबाट फर्किएपछि राजीनामा दिने वाचा गरे । उनकै नाममा मत मागेर चुनाव जितेको भए पनि सभापति कोइरालाले फ्रान्स जाँदासम्मका लागि पर्खने धैर्य देखाएनन् । सत्ता छोड्न दबाब बढाई रहे ।
यस घटनाले पनि संसद् भंग गरेर ताजा जनादेशमा जानुबाहेक किसुनजीका सामु विकल्प छैन भनेर सल्लाह दिनेहरुलाई नै बल पुगिरहेको थियो । तर, लोकतान्त्रिक अधिकारका लागि सारा जीवन अर्पण गरेका भट्टराईले संसद्मै जनप्रतिनिधिहरूलाई ‘मार्मिक’ सम्बोधन गर्दै पद त्यागको घोषणा गरिदिए । पद जोगाउनका लागि उनी न सांसद किन्न तयार भए न त संसद् भंग गर्ने प्रधानमन्त्रीको विशेष अधिकार प्रयोग गर्न रुचाए । बरु प्रधानमन्त्रीका रुपमा बालुवाटार छिर्दाको बेदाग छविलाई झनै चम्किलो बनाएर बाहिरिए ।
गणेशमान सिंहले भन्ने गरेकै शैलीमा उनको जीवन चलिरहेको थियो । कहिले नेताको पछि लाखौ मानिसको भिड, त कहिले ऊ एक्लै । प्रधानमन्त्रीबाट निवृत्त भएपछि भट्टराई भैँसेपार्टी स्थित सांसद शरतसिंह भण्डारीको घरमा बस्न थाले । भट्टराई निवासमा खासै चहलपहल थिएन ।
तिनैताका कान्तिपुर टेलिभिजनका लागि लेखकलाई दिएको एउटा अन्तवार्तामा भट्टराईले भनेका थिए – उनका लागि राजनीति कमाउने उद्योग होइन, न त सत्ता र शक्तिमा पुग्ने भर्याङमात्रै हो । भट्टराईका लागि त राजनीति सेवा गर्ने माध्यममात्र हो । त्यही दिन मैले सोधेको थिएँ – किसुनजी तपाईँलाई भावी पुस्ताले कुन रुपमा स्मरण गरोस् भन्ने चाहनु हुन्छ ? हसिँलो अनुहार बनाएर उनले भनेको अझै सम्झन्छु – बस्, भट्टराई एउटा इमानदार मानिस हो भनेर सम्झिदिए पुग्छ ।
सत्य बोल्नसक्नु, सिद्धान्तअनुसार जीवन यापन गर्नसक्नु राजनेताको गुण हो । जस्तोसुकै कठिन अवस्थामा पनि सत्य बोल्न सक्नु र गम्भीर परिस्थितिमा समेत ठट्टा गरेर सबैलाई हसाउन सक्नु भट्टराईको विशेषता थियो ।
सामान्य मानिस हुन् वा राजा भट्टराईमा सबैसँग उही रुपमा प्रस्तुत हुनसक्ने अद्भूत गुण थियो । यस प्रसंगमा प्रदीप गिरीले एउटा रोचक प्रसंग सुनाएका छन् । विसं २०१६ ताकाको कुरा हो । सभामुखको हैसियतमा भट्टराई पहिलोपटक राजा मेहन्द्रलाई भेट्दै थिए ।
राजा : (रानी रत्नलाई चिनाउँदै) महारानी यी हुन् कृष्णप्रसाद भट्टराई । हाम्रा सभामुख । कुमार हुन् यिनी ।
भट्टराई : सरकार गल्ती भयो । अविवाहित हुँ कुमार होइन ।
सत्तामा हुँदा होस् वा घात प्रतिघात र अपमानको सिकार हुँदा भट्टराईले हाँसीखुसी र ठट्ठामा कमी गरेनन् । गम्भीर राजनीतिक वार्ता र बहस जारी रहेका बेलासमेत मानिसहरुलाई मजाले हसाउन सक्ने भट्टराईकै जस्तै क्षमता वर्तमान प्रधानमन्त्री केपी ओलीमा पनि छ । धारा प्रवाह बोल्न पनि सक्छन् । यी दुई केपी (कृष्णप्रसाद र खड्गप्रसाद) बीच केही समानता र धेरै असमानता पनि छन् । एक जनाले जीवनभर सिद्धान्त अनुरूपको जीवन यापन गरे । आफू मेटिन तयार भए, अपमान सहे तर प्रजातन्त्रमाथि कहिल्यै घात गरेनन् ।
अर्काले (प्रधानमन्त्री केपी ओली) सिद्धान्तअनुरुप व्यवहार गरे वा गरेनन् मैले लेखिरहनु पर्दैन । जनतालाई बाँडेका सपना पूरा गर्न कति इमानदारी देखाए त्यो पनि इतिहासले नै मूल्याङकन गर्नेछ । लोकतन्त्रमाथि भने अहिल्यै प्रहार गरिसकेका छन्
प्रतिक्रिया