केपी ओलीको उपचार : एयर एम्वुलेन्सबाट दिल्ली लैजाँदाको कथा

image

काठमाडौँ आएर अवुधाबी हुँदै न्यूयोर्कको लागि उहाँ उड्नुभयो । तर मौसमको खराबीका कारण गर्दा उहाँको जहाज अवुधाबीमा अवतरण हुन नसकेर सायद दुबई गयो । जसले गर्दा न्यूयोर्कको जहाज छुट्न गयो । धेरै समय अर्थात् लामो समयसम्म उहाँ एयरपोर्टमै बस्न बाध्य हुनुभयो । अन्त्यमा धेरै ठाउँमा अनुरोध गरेर लण्डन हुँदै न्यूयोर्क पुग्नुभयो । 

हुनत, केपीजी न सभासद् न पार्टीको महत्वपूर्ण पदमा रहेको नेता । तर महत्वपूर्ण पाइला चाल्ने बेला उहाँको सक्रियतामा कहिल्यै ब्रेक लागेन । २०६९ मा पनि उहाँको सक्रियता त्यस्तै थियो । घर हुँदा बिहान–बेलुका अबेरसम्म सयौँसँग भेटघाट, छलफलमा व्यस्त हुने र जिल्ला दौडाइ पनि उत्तिकै हुने । यो सबै परिस्थिति देख्दा मैले बारम्बार चेतावनी दिने गरेकी थिएँ । केपी ओलीको किड्नी प्रत्यारोपण विश्वका डाक्टरहरूको लागि एउटा ठूलो पाठ भनौँ या चुनौती भनौँ । कारण नियमित औषधि खाने बाहेक अन्य कुनै पनि नियम उहाँले पालना गर्नु भएन । यसरी अत्यन्तै सक्रिय जीवन चलिरहेकै अवस्थामा २०६९ असोजतिर (सन् २०१२ अक्टोबर) उहाँ न्यूयोर्क हुँदै मेक्सीको जाने कार्यक्रम बन्यो । नेपालमै हुँदा उहाँलाई थकित जस्तो देखिएको थियो । त्यसमाथि विदेश उड्नकै लागि उहाँ जिल्लाको एउटा कार्यक्रमबाट फर्किनु भएको जस्तो लाग्छ ।

काठमाडौँ आएर अवुधाबी हुँदै न्यूयोर्कको लागि उहाँ उड्नुभयो । तर मौसमको खराबीका कारण गर्दा उहाँको जहाज अवुधाबीमा अवतरण हुन नसकेर सायद दुबई गयो । जसले गर्दा न्यूयोर्कको जहाज छुट्न गयो । धेरै समय अर्थात् लामो समयसम्म उहाँ एयरपोर्टमै बस्न बाध्य हुनुभयो । अन्त्यमा धेरै ठाउँमा अनुरोध गरेर लण्डन हुँदै न्यूयोर्क पुग्नुभयो । यस पटक म साथमा नगएर राजेशलाई पठाएकी थिएँ । कारण म अमेरिका गइसकेको र दोहोर्‍याएर जान मन पनि नभएकोले राजेशलाई पठाएकी थिएँ । यो यात्रामा राजेश गएको हुनाले उसले अनेकौँ झन्झट ब्यहोरेर पनि यात्राको व्यवस्थापन गर्न सफल भयो । सायद म गएकी भए धेरै गाह्रो हुन्थ्यो होला । यसरी न्यूयोर्क अवतरण गर्नासाथ संयुक्त राष्ट्र संघका महासचिवसँगको भेट र मिटिङमा सहभागी बन्नुभयो । यसबेला उहाँ आइक्यापको सदस्यको नाताले उक्त मिटिङ्मा सहभागी हुनुपर्ने थियो । त्यसको भोलिपल्ट नै पाँच घन्टाको हवाइयात्रा गरेर मेक्सिको पुग्नुभयो र केही मिटिङ्मा भाग लिनुभयो । तर उहाँको स्वास्थ्यस्थिति दयनीय बन्दै गइरहेको थियो । त्यसैले मेक्सिकोबाट तुरुन्त फिर्ता भई न्यूयोर्क पुग्नुभयो र न्यूयोर्कस्थित लेनोक्स हिल हस्पिटलमा भर्ना हुनुभयो । यसरी अमेरिकाको अस्पतालमा पनि एक हप्ता उपचार गर्नुभयो । तर पूरा निको भएन । अनि त्यहाँबाट डिस्चार्ज भएर न्यूयोर्कमा सञ्जय थापाजीको घरमा दुईचार दिन बसेर २०६९ को दशैँ त्यहीँ मनाएर दिल्ली आउनुभयो ।

हाम्रो सल्लाह के भयो भने अमेरिकाले एसियनहरूको रोग पहिचान गर्न सकेन होला । त्यसैले दिल्लीमै उपचार गरौँ भन्ने रह्यो । तसर्थ, म पनि यहाँबाट दिल्ली गएँ । हाम्रो भेट दिल्लीमा भयो । यस बीचमा मलाई कति तनाव भयो भन्ने व्यक्त गर्ने शब्दहरू नै अहिले छैन । दिल्ली पुगेर डाक्टरसँग सम्पर्क गरी हामी एपोलो अस्पताल गयौँ । रगतदेखि सबै परीक्षणहरू गरायौँ । तर यहाँ पनि डाक्टरहरूले रोग केही छैन, अति कमजोर छ, आराम गरेपछि राम्रो हुन्छ भन्नुभयो । यदि आराम मात्र गर्ने हो भने आफ्नै ठाउँमा जाउँ भनेर हामी नेपाल फर्कियौँ । नेपाल फर्केको अर्को दिनदेखि उहाँको खोकी यसरी बढ्यो कि हेर्न नै गाह्रो भयो । त्यसपछि केही बोतल स्लाइन पानी चढाउनु पर्‍यो भनेर डाक्टर दिलिप शर्माको सल्लाह बमोजिम थापाथलीस्थित ‘ब्लु बर्ड क्लिनिक’मा लगियो र स्लाइन चलाइयो । तर स्थितिमा सुधार देखिएन । लगत्तै नर्भिक अस्पतालका डाक्टरलाई डा. दिलिपले बोलाउनुभयो । अनि उहाँले केपी सरलाई देख्नासाथ र जाँच गरिसकेपछि तुरुन्त एम्बुलेन्स बोलाएर नर्भिक अस्पताल पुर्‍याउन लगाउनुभयो ।

थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याएपछि आवश्यक प्रक्रियाहरू पुर्‍याइसकेपछि उहाँलाई आइसीयुमा लगेर राखियो । नर्भिक अस्पतालमा हुँदा पनि भिजिटरको भिड अति नै थियो । सायद चौथो दिनमा नर्भिकबाट पुनः एयर एम्बुलेन्स् बोलाएर सिधै दिल्ली गुडगाउँस्थित मेदान्त अस्पताल लगियो । त्यतिबेला नर्भिक अस्पतालको अवस्थाबारे केही बुझ्ने र जान्ने अवसर मिल्यो । त्यहाँ बिरामीको कक्षमा जान नपाएका हजारौँ शुभचिन्तकहरूसँग मैले भेटेकी थिएँ । तीनचार दिन त थापाथलीमा मेला लागेजस्तै भएको थियो । मेरो बहिनी राधा शाक्य प्रसुति गृह अस्पतालकी स्टाफ नर्स भएको हुनाले हाम्रो लागि खानाको व्यवस्था उनैले गरेकी थिइन् । यसरी नर्भिकले पनि नसकेपछि मेदान्त लाने क्रममा देखेको त होइन सुने अनुसार नर्भिकदेखि एयरपोर्ट सम्म नै शुभचिन्तकहरूको भीड लागेको थियो रे । मलाई लाग्छ, नेपालमा एकजना व्यक्ति बिरामी हुँदा जनताको ठूलो चासो यही नै पहिलो थियो कि ?

एयर एम्बुलेन्स्मा राजेशलाई साथमा पठाएर म र इन्द्र भण्डारी नियमित उडानबाट दिल्ली उड्यौं । हामी एयरपोर्टबाट सिधै अस्पताल गयौँ । तर हामी पुग्दासम्म पनि केपीजीलाई पुर्‍याएको थिएन । हामीलाई झन् बढी तनाव भयो । एयर एम्बुलेन्स् अवतरण हुन सकेन कि भन्ने पनि लाग्यो । दिल्लीस्थित मेदान्त अस्पताल बाहिर नेपाली साथीहरू र दूतावासका कर्मचारीहरू पनि प्रतीक्षारत थिए । उहाँलाई अस्पताल ल्याइपुर्‍याउँदा अँध्यारो भइसकेको थियो । जनकपुर निवासी उक्त अस्पतालमा कार्यरत एक जना टेक्निसियन भाइले भर्नाको लागि आवश्यक व्यवस्था गरिदिए । अनि राति हामी नजिकको गेस्ट रुममा गएर बस्यौँ । मेदान्त अस्पतालको वरिपरि विभिन्न स्तरका धेरै नै गेस्टहाउसहरू रहेछन् । हामी त्यहाँ पुग्नासाथै धेरै एजेण्टहरूले आ–आफ्नो गेस्टहाउसमा हामीलाई लैजाने प्रयास गरेका थिए । त्यसैले एपोलोमा उपचार गराउँदा जस्तो बस्नको लागि दुःख यहाँ भएन । ठिकै खालका दुई तीन वटा कोठा लिएका थियौँ । खाना पकाएर खाने ठाउँ र सामानहरू पनि थिए । साथै रेस्टुराँबाट मगाएर पनि खान सकिन्छ । खाने, बस्ने सवालमा यस पटक मैले धेरै दुःख भोग्नु परेन । उता बिरामीलाई सुरुदेखि नै ‘आइसीयु र सीसीयु’मा भर्ना गरेको हुनाले हामी कुरुवा बस्नु परेको थिएन । त्यहाँ प्रत्येक दिन दुई पल्ट दुई जना भिजिटरलाई मात्र अनुमति दिइएको हुन्छ । म प्रत्येक दिन भिन्न भिन्न व्यक्तिहरू पठाउँथेँ । म गेस्टहाउसमा बस्ने र सुत्ने अनि बिहानको खाजा खाएर हिँडेरै अस्पताल पुग्ने गर्थें । अनि अस्पतालको सेरोफेरोमै दिन बिताउने गर्दथेँ । खाली पैसा मात्र हुनुपर्दछ । चिया, कफी, स्न्याक्स् खाने, नास्ता र बिहान–बेलुकाको खाना खाने ठाउँहरू छुट्टाछुट्टै थिए । सरसफाइ पनि राम्रै छ । अस्पतालमा ओपीडी क्लिनिक वार्डहरू धेरै भएकोले दिनभरि नै मानिसहरूको चहल पहल बाक्लै हुने गर्थ्यो । अस्पताल आउने, जाने धेरै मानिसहरूमा खुट्टा दुख्ने समस्या छ कि भन्ने मलाई लागेको थियो । प्रायः मानिसहरू खुट्टा खोच्याउँदै हिँडेको देखिन्थ्यो । अलि पाका महिलाहरूलाई त हिँड्न समस्या देखिएको थियो ।

बाहिर हामी जस्ता विदेशका बिरामी र उनीहरूका सहयोगीहरूका लागि काउन्सिलिङ् गर्ने, सुझाब लिने छुट्टै कोठा या युनिट पनि व्यवस्था रहेछ । त्यसैले पनि मलाई यहाँ धेरै कुराहरूमा सहयोग पुगेको छ । माथि वार्डमा केपीजीलाई राखेको ठाउँमा सिसा या प्लास्टिकले घेरिएको कोठा रहेछ । भर्ना गरेको तीन चार दिन हुँदा पनि स्वास्थ्यमा खासै सुधार नदेखिएपछि उहाँको मुख र घाँटीबाट मेसिन भित्र पठाएर छातीमा टाँस्सिएको खकार निकाली टेस्ट गर्न एक जना लेडिज डाक्टर तयारीका साथ आउनुभयो र फर्ममा सही गर्न मलाई बोलाउनुभयो । उहाँले भन्नुभयो कि उहाँको रोग के हो ? पत्ता लगाउनको लागि हामी ब्रोन्कोस्कोपी गर्न लागेका छौँ । एक त उहाँ मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति, दोस्रो एकदम कमजोर अवस्था त्यसैले उहाँको खकार निकाल्ने क्रममा अप्ठेरो परेमा भेन्टीलेटरमा राख्नुपर्ने हुन्छ र त्यहाँ राखिसकेपछि जीवित फर्केर आउनेमा अली शङ्का हुन्छ भन्ने ढंगले कुरा गरे । यी सबै कुरा सुनेपछि मैले फर्ममा सही गर्न सकिनँ । मैले आज नगरौँ म सबैसँग सल्लाह गर्छु र तपाईंलाई खबर गर्छु भनेँ । त्यसपछि डाक्टरको टोली फर्कियो ।

अघि डाक्टरको टोलीले भनेको कुराले मलाई ठूलो पहिरोले थिचेजस्तो भयो । अब भेन्टिलेटरमा राख्न दिनु भनेको सिधै फर्केर नआउने भनेजस्तो आशयको कुरा उनीहरूले गरे । त्यो कुराकानी सुनेदेखि नै आफूले टेकेको जमिन हल्लिएजस्तो भयो । खु्ट्टा लुलिएर थचक्क भइएला जस्तो भयो । वरिपरिको वातावरण एकतमासको लाग्यो, संसार फन्फनी घुमेजस्तो भयो । म रोउँ कि, यहीँ थचक्कै बसुँ कि । रोएर समस्या समाधान हुने त होइन । तर, परिस्थिति त्यस्तो भएपछि तर्कले काम गर्दाे रहेनछ । रोएर केही हुन्न भन्दाभन्दै म धेरै रोएँ । रातभर आँखा झिमिक्क भएन । काठमाडौंमा पार्टीका साथीहरू, मैले चिनेका डा. दिलिपकुमार शर्मा र डा. कैलाश भण्डारी, दिल्लीका डा.अखिलेश्वर मिश्र, डा.अनन्त, डा. राजिव शर्मा आदिलाई फोन गरेँ । उनीहरूसँग सल्लाह मागेँ । डा. दिलिप र डा. कैलाशलाई जसरी भए पनि तपाईहरू दिल्ली आउनु भनेर अनुरोध गरेँ । मध्यरातमा डा. राजिव र उहाँका म्याडम, डा. गीत मलाई भेट्न गेस्टहाउस आउनुभयो । नआत्तिन र धैर्य गर्न भन्नुभयो । भोलिपल्ट बिहानैको फ्लाइटबाट डा. दिलिप शर्मा र डा. कैलाश पनि दिल्ली पुग्नुभयो । हामी सबै भएर अस्पतालका प्रमुख डाक्टरसँग कुरा गर्‍यौँ ।

मैले भनेँ, केपी ओली मेरो श्रीमान मात्र नभएर एउटा जिम्मेवार पार्टीको नेता समेत भएकोले मैले मात्र कुनै कुराको निर्णय दिन सक्दिन । अर्कोतिर नेपालबाट दुई जना डाक्टरहरू आएपछि म ढुक्क भएँ । उहाँहरूले जे निर्णय गर्नुहुन्छ त्यसैमा मेरो पनि सहमति हुन्छ भनेँ । म उहाँहरूमाथि विश्वास गर्छु र भरोसा राख्छु । सबै जिम्मा डाक्टर दिलिप र डा. कैलाशलाई दिएपछि अस्पतालका सम्बन्धितहरूसँग छलफल गरियो । तर पछि ब्रोन्कोस्कोपी गर्नु नपर्ने निर्णय भयो । यसपछि थप एक हप्ता गरी जम्मा १४ दिनको दिन केपीजी डिस्चार्ज हुनुभयो । डिस्चार्ज हुनुभन्दा एकदिन अगाडि उहाँलाई आइसीयुबाट जनरल वार्डमा सारिएको थियो । जेनरल वार्डमा ल्याएपछि उहाँलाई नुहाइदिन खोज्दा शरिरमा हाडमा टाँसिएको छाला बाहेक शरीरमा मासु भन्ने छैन कि जस्तो लाग्यो । उहाँलाई यतिको दुब्लो त मैले कहिल्यै देखेको थिएन । शरीरमा कहीँ, कतै एउटा सुई रोप्ने ठाउँ पनि छैन जस्तो लाग्छ । यसरी निमोनियाबाट बचाएर २०६९ को तिहारको लक्ष्मीपूजाको अघिल्लो साँझ डिस्चार्ज गरी अस्पताल बाहिर आयौँ । डिस्चार्ज गरी उहाँलाई सिधै गेस्टहाउसमा लगेँ । एक छिन त्यहाँ आराम गराई त्यसै रात डा. राजिव र गीत शर्माको निवासमा बस्न गयौँ ।

डा. राजिव शर्मा दिल्ली निवासी र बिगतमा एपोलो अस्पतालका अर्थोपोडिक सर्जन हुन् । आजका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हिपको हड्डीको अपरेसन गर्ने व्यक्ति डा. राजिव शर्मा नै हुन् । समय समसयमा उनी पेसाकै सिलसिलामा नेपाल पनि आउँछन् । केपीजीको मिर्गौला प्रत्यारोपणदेखि नै हाम्रो चिनजान भएको हो । डा. शर्माका म्याडम गीत शर्मा सायद शिख समुदायकी छोरी जस्तो लाग्छ । उनी पनि डाक्टर तर मेडिकलपट्टी होइन । उनीहरूका दुई छोराहरूमा जेठो उसबेला अमेरिकामा अध्ययनरत र कान्छो सँगै थिए । छोराछोरीको असाध्यै हेरचाह गर्ने आमाहरूमध्ये डा. गीत पनि पर्नुहुन्छ । हामी अस्पतालबाट निस्केर उहाँहरूको निवासमा किन बस्न गयौँ भने पहिलो कुरो उहाँहरूको विनम्र अनुरोधलाई इन्कार गर्न सकिएन । दोस्रो कुरा, केपीजी धेरै कमजोर भएकोले बाक्लो भेटघाटबाट टाढा राख्नको लागि पनि उहाँहरूको निवास उपयुक्त लाग्यो । तेस्रो, डाक्टरकै घरमा बस्दा मलाई पनि ढुक्क हुने भयो । चौथो केपीजीको लागि आवश्यक सरसफाइ पनि त्यहाँ राम्रो छ । हामी करिब दुई हप्ता डाक्टर शर्माको निवासमा बस्यौँ । यस बीचमा दुई तीन पटक फलोअपमा अस्पतालमा गयौँ । यस अवधिमा केपीजीले निकै कम व्यक्तिहरूलाई मात्र भेटघाट गर्नुभयो । २०६९ को लक्ष्मीपूजाको दिन हामी शर्माजीकै घरमा थियौँ । उहाँहरूको लक्ष्मीपूजामा एकजना पण्डित बोलाएर छोटो पूजापाठ गरिएको थियो । त्यहाँ लक्ष्मीपूजामा छरछिमेकी र आफन्तबीच मिठाई उपहार दिने चलन रहेछ । त्यसैले हामीले त्यतिबेला धेरैथरीका धेरै मिठाई पनि खायौँ । बाहिर पटाका पड्काउने धेरै हुँदा रहेछन् । तिहार भए पनि अन्य चहल पहल खास देखिएन । यसरी यसपटक पनि करिब एक महिना दिल्ली बसेर हामी काठमाडौँ फर्कियौँ ।

एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यको पुस्तक मेरो अनुभूतिबाट

 




प्रतिक्रिया


  1. An impressive share! I've juhst forwarded this onto a co-worker who hass been condeucting a littloe researchh on this. Andd he in fact bought me lunch bcause I found itt ffor him... lol. So alow mee tto reword this.... Thankss for tthe meal!! Butt yeah, tanx ffor spendin thhe tijme to talk about thos subject ere onn youyr site.

    Keepp this going please, grewt job!