साउन १६ : पढौं, सन् १९५० को वहुचर्चित नेपाल भारत मैत्री सन्धी

image

नेपालका प्रधानमन्त्री मोहनशमशेरको भ्रमण नै नहुने अवस्था आएपछि नेहरू भारतको प्रचलित चलन तोडेर २१ तोपको सलामी दिन राजी भए । अनी २००६ साल फागुन ७ गते  रेलमार्गबाट हुदै मोहन शमशेर भारत गए। “दिल्लीमा उनलाई भारत सरकारले ठूलो स्वागत र सम्मान गर्‍यो” । मोहनशमशेरलाई सन्धीमा हस्ताक्षर गराउनकै लागि नेहरुले प्रचलित परम्परा तोडेर २१ तोपको सलामी लिने निर्णय लिएका थिए । 

नेपालमा राणा विरोधी आवाज तिव्र हुदै गर्दा १९४९ डिसेम्बरमा प्रधानमन्त्री मोहन शमशेर जबरालाई भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले औपचारिक भ्रमणका लागि निमन्त्रणा गरे । नेपाली प्रधानमन्त्रीले निमन्त्रणा त स्विकारे तर २१ तोपको सलामी पाउने सुनिश्चितता नभएसम्म भ्रमणमा नजाने सन्देश आफ्ना राजदुत सिंह शमशेर मार्फत नेहरुलाई पठाए। त्यतिवेला राष्ट्राध्यक्षलाई २१ र प्रधानमन्त्रीलाई १९ तोपको सलामी दिने चलन थियो। नेपालका प्रधानमन्त्री मोहनशमशेरको भ्रमण नै नहुने अवस्था आएपछि नेहरू भारतको प्रचलित चलन तोडेर २१ तोपको सलामी दिन राजी भए । अनी २००६ साल फागुन ७ गते बल्ल रेलमार्गबाट हुदै मोहन शमशेर भारत गए। “दिल्लीमा उनलाई भारत सरकारले ठूलो स्वागत र सम्मान गर्‍यो” त्यही भ्रमणमा दुई देशबीच मैत्री सन्धी गर्न भारतीय पक्षबाट राखिएको प्रस्तावमा छलफल भयो । मोहनशमशेरलाई सन्धीमा हस्ताक्षर गराउनकै लागि नेहरुले प्रचलित परम्परा तोडेर उनलाई २१ तोपको सलामी लिने निर्णय लिएका थिए । 

नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवासमा “२००६ साल फागुन ८ गते दुई देशका प्रधानमन्त्रीहरुबीच भएको डेढ घण्टा लामो वान टु वान वार्तामा मोहनशमशेरले चाडै नेपाल–भारत सन्धि गर्ने वचन नेहरुलाई दिएर काठमाडौं फर्किए। नेपाल भारतबीच ३१ जुलाई १९५० अर्थात २००७ साल साउन १६ गते शान्ति तथा मैत्री सन्धि भयो । सिंहदरवार स्थित ग्लारी बैठक (संसद भवन) मा नेपालका तर्फबाट प्रधानमन्त्री मोहनशमशेर र भारतका तर्फबाट राजदुत चन्द्रेश्वरप्रसाद सिंहले हस्ताक्षर गरेका थिए । नेपाल भारत सम्वन्धमा सबै भन्दा वढी चर्चा हुने गरेको र नेपालले पटक पटक पुनरावलोकन गर्ने प्रयास गर्दै आए पनि भारत त्यसका लागि तयार छैन । सन्धि हुँदाको राणा शासन गयो, प्रजातन्त्र, पञ्चायत, लोकतन्त्र हुँदै गणतन्त्र आयो। सन्धि पुनरावलोकन हुनुपर्छ भन्ने आवाज बलियो भएको छ। नेपालले दुई देशबीचको हरेक मञ्चमा पुनरावलोकनको कुरा उठाउँदै आएको छ तर भारत त्यस तयार भएको छैन । नेपाल भारत मैत्री सन्धीमा के छ ।

हेरौं पूर्ण पाठ । 

नेपाल भारत शान्ति तथा मैत्री सन्धि
(जुलाई ३१/१९५०) 

नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिखाएको मित्रतापूर्ण सम्बन्धप्रति रहँदै उक्त सम्बन्धलाई अरु विकसित र सुदुढ पारी दुई मुलुकको शान्तिलाई निरन्तरता दिने उद्देश्यले- परस्पर शान्ति तथा मैत्रीसन्धि गर्ने निश्चय गरी यो सन्धि गर्ने निम्नलिखित व्यक्तिहरुलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ । जसमा नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वोच्च सेनापति मोहन शम्शेर जंगबहादुर राण र भारत सरकारका तर्फबाट नेपालमा भारतका महामहिम राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंहले एकअर्काको अधिकार पत्र जाँदा ठीक र रीतपूर्वकको ठहर्‍याइएकोले देहायकाप्रबन्धहरुलाई स्वीकारेका छन् ।

धारा-१

नेपाल भारत सरकारका बीच स्थायी शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एक अर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् ।

धारा-२

दुबै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट वा विवाद उत्पन्न भएका एक अर्कालाई जानकारी दिने प्रतिवद्ध छन् ।

धारा-३

धारा १ मा उल्लेख भएअनुसार सम्वन्ध स्थापना गर्न र त्यसलाई कायम गर्नका लागि दुबै सरकार आवश्यक कामकाजको सुसञ्चालनका लागि आवश्यक कर्मचारी र आफ्ना प्रतिनिधिहरुद्वारा एक अर्कासँग कूटनीतिक सम्बन्ध राख्न राजी छन् ।

ती प्रतिनिधिहरु र तोकिएका कर्मचारीहरुले पारस्परिक आधारमा प्रचलित व्यवस्थाअन्तर्गत अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेका सबै कुटनीतिक विशेषधिकार र उन्मुक्तिहरुलाई उपभोग गर्नेछन् । यी अधिकारहरु दुबैमध्ये एक मुलुकको कूटनीतिक सम्बन्ध भएको कुनै अर्को मुलुकका समानस्तरका व्यक्तिहरुलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुने छैनन् ।

धारा-४

दुबै सरकारहरु एक अर्को मुलुकका तोकिएका शहर, बन्दरगाह र अन्य स्थानहरुमा बस्ने महावाणिज्यदूत, वाणिज्यदूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्न मञ्जुर छन् ।

महावाणिज्य दूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरुलाई उनीहरुको पदाधिकारमा नियुक्तिको वैधानिक प्रमाणपत्र प्रदान गरिनेछ । ती पदाधिकारी या नियुक्तिको वैधानिक प्रमाण पत्रलाई सो प्रदान गर्ने मुलुकले आवाश्यक ठानेमा फिर्ता लिन सक्नेछ । सम्भव भएका त्यसरी फर्ता लिइनुको कारणको जनाउ दिन सकिनेछ । माथि उल्लेखित व्यक्तिहरुले पारस्परिक आधारमा ती सबै हक विशेषाधिकार र उन्मुक्तिहरुको उपयोग गर्नेछन्, जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

धारा-५

नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हातहतियार, विष्फोटक सामाग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यी प्रवन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् ।

धारा-६

दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्का पट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् ।

धारा-७

नेपाल र भारत दुबै देशका सरहकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ-आफ्नो भू-भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृत प्रदान गर्दछन् ।

धारा-८

जहाँसम्म यहाँ उल्लेख भएका कुराहरुको सवाल छ तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट ब्रिटिश सरकारको बीचमा भएका सबै सन्धिहरु, संझौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेज गरेको छ ।

धारा-९

यो सन्धि दुबै सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ ।

धारा-१०

कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ ।

काठमाडौंमा विसं २००७ साल साउन १६ गते तदनुसार ईश्वी संवत १९५० जुलाई महिनाको ३१ तारिखका दिन यो सन्धिको दुबै प्रतिमा हस्ताक्षर भयो ।

 हस्ताक्षर
चन्द्रेश्वरप्रसाद नारायण सिंह                  मोहन सम्शेर जंगबहादुर राणा
भारत सरकारको निमित्त                          नेपाल सरकारको निमित्त




प्रतिक्रिया