नेता र कार्यकर्तालाई चुनावको चटारो भए पनि आम जनताका लागि यो कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै बनेको छ । अघिल्ला चुनावहरुमा जस्तो दलहरुका खास एजेण्डा छैनन् । नत उनीहरुका घोषणा पत्रलाई जनताले चासोका साथ हरेका छन् । यो समयमा दल र नेतालाई गाली गरेर कर्तव्य पुरा हुन्छ भन्ने ठानियो भने भविश्यमा फेरी अक्षमहरुबाट शासित हुनु पर्ने छ । त्यसैले योग्य, नैतिकवान र इमान्दार उम्मेद्धवारलाई जिताएर लोकतन्त्रलाई बलियो बनाउने भूमिका निर्वाह गरौं । चुनावले लोकतन्त्रलाई परिस्कृत गर्छ । तर चुनावमा जनताले विवेक प्रयोग गर्न सकेनन् भने त्यसले लोकतन्त्रको उपहास हुन जान्छ । चुनावले सधै लोकतन्त्रलाई सवल मात्र वनाउदैन भन्ने उदाहरणका रुपमा यस अंकमा शाही कालमा भएको नगर चुनावको प्रसंग राखिएको छ ।
राजा र दल विचको दुरी वढेका बेला २०६२ असोज ९ गते निर्वाचन आयोगले साढे ३ महिना भित्र नगर निर्वाचन गराउने घोषणा गरेको समाचार सार्वजनीक भयो । देशका ५८ नगरपालिकामा चुनाव गराउने शाही सरकारको निर्णयमा संसदवादी दल र माओवादी दुवैले आपत्ति जनाए । संसदवादी दलले चुनाव वहिस्कारको घोषणा गरे भने विद्रोही माओवादी निर्वाचन भाड्न हिंसात्मक गतिविधि गर्न थाल्यो ।
शाही सरकारले आफ्नो पक्षमा जनमत छ भनेर देखाउन धाँधली गरेर वढी मत खसाउने रणनीति वनायो तर जनताको साथ नपाएकाले सरकारको योजना तुहियो । कार्कीका अनुसार –‘सात दल र माओवादीको वहिस्कारका बिच २०६२ माघ २६ गते भएको चुनावमा हजारौं फर्जी मत हाल्दा समेत २१ प्रतिशत भन्दा वढी मत खस्न सकेन (कार्की, २०६९ ः १३२)।’’ दलहरु अलोकप्रिय छन्, र मलाई जनताको समर्थन छ भनेर देखाउने राजाको चाहना माथि तुसारापात हुन पुग्यो ।
त्यो चुनावले ‘‘नेपालकै इतिहासमा सवभन्दा कम अर्थात २० प्रतिशत मात्र मतदान भएको इतिहास रच्यो (निर्वाचन आयोग, २०७७ ः २४५)।’’
त्यो चुनाव फगत एउटा नाटक जस्तो मात्र हुन पुग्यो र त्यस घटनाले राजाको पक्षमा जनमत छैन भन्ने पुष्टि गरिदियो । राजावादी हतोत्साहित भए भने राजा विरोधीको मनोवल झनै बढ्यो । राजा गलत बाटोमा छन् भन्ने मान्यता स्थापित गरि दियो ।
प्रतिक्रिया