मेरो अविभावक गिरिजाबाबु, राष्ट्रपति नवनाउनु मेरो भूल

image

ठूलो पार्टी भएपछि मैले  पनि अलिकति धर्ती छोडेको हुँ भन्ने लाग्छ  आज । अब कोही नभए पनि हुन्छ भने जस्तोतिर मेरो दिमाग गयो र गिरिजाबाबुलाई राष्ट्रपति बनाउने अवसर मैले गुमाएँ भन्ने लाग्छ ।  त्यो त्रुटि भयो भन्ने मलाई अहिले लाग्छ ।

 

हामीले जनयुद्ध सुरु गरेको ५ बर्ष नपुग्दै सबै राजनीतिक नेताहरुसँग वार्ता र संवादको प्रकृया सुरु गरेका थियौं । स्वभावैले पहिलो कुराकानी कम्युनिष्ट नेताहरुसँग नै हुने परिवेश थियो र त्यहीअनुसार नै हामीले कुरा ग-यौं । चाहे त्यो सिलगुडीमा होस् चाहे लखनउमा होस् । चाहे पटनामा होस्, चाहे देशभित्रै होस् । हाम्रो त्यतिबेलाको एउटै कुरा हुन्थ्यो, यदि युद्धलाई शान्तिमा बदल्ने हो भने संविधान सभाको निर्वाचन हुनुप-यो । देशलाई गणतन्त्रसम्म लैजाने प्रतिवद्धतामा हामी सबै एक ठाउँमा उभिन प-यो ।

            अध्यक्ष प्रचण्डसंग लेखक, २०७६

हामीले सुरु गरेको आन्दोलनका विरुद्ध सेना परिचालन गर्ने कि नगर्ने भन्ने एउटा निकै ठूलो बहस भएको थियो । सरकारका तर्फबाट र राजा वीरेन्द्रका तर्फबाट आउने अभिव्यक्तिहरु फरक–फरक आएको हामीले देख्थ्यौं । कहीँ न कहीँ राजा वीरेन्द्रले नेपाली नेपालीका विरुद्ध सेना परिचालन गरिहाल्न हुँदैन भन्नेखालको भावना राखेको हामीले संकेत पायौं । त्यसपछि काठमाडौंमा काम गर्ने हाम्रा केन्द्रीय सदस्यहरुमार्फत हामीले (राजासँग) सम्पर्क बनाउने कोशिस ग-यौं । त्यो सम्पर्क सुत्र मुख्यतः धीरेन्द्रमार्फत भयो ।  धीरेन्द्रसँग पटक–पटक हाम्रा केन्द्रीय सदस्यहरुको कुरा भएको र धीरेन्द्रले वीरेन्द्रसँग कुरा गरेर वीरेन्द्रको कुरा हामीसम्म ल्याइपु-याउने काम तिनै केन्द्रीय सदस्यमार्फत भएको थियो ।

एउटा बिन्दुमा वीरेन्द्रले मलाई पनि भेट्न चाहेको कुराको सूचना मलाई प्राप्त भएपछि कसरी भेट्ने, काठमाडौंमा भेट्न कति सजिलो हुन्छ ? या बाहिर कसरी भेट्ने भन्नेबारेमा चर्चा हुँदै नै थियो । वीरेन्द्रसँग सिधैँ हाम्रो कुरा भएको होइन । हाम्रा अन्य केन्द्रीय सदस्यमार्फत धीरेन्द्र हुँदै वीरेन्द्रसम्म अप्रत्यक्ष कुराकानी भएकै थियो । त्यतिबेला यहाँको जिम्मा हाम्रो कृष्णध्वज खड्कालाई थियो । कृष्णध्वज खड्कामार्फत नै हाम्रो कुराकानी चलेको थियो । तर, दरबार हत्याकाण्ड भयो ।

गिरिजाबाबुसँग नेपालका कम्युनिष्टहरुको वैचारिक, राजनीतिक र व्यवहारिकरुपले पनि दुरी र तिक्तता निकै चर्को थियो । कम्युनिष्टप्रति गिरिजाबाबुको धारणा असाध्यै तीतो र नकारात्मक नै हुने गथ्र्यो । तर, जब देशको राजनीतिमा एउटा नयाँ तरंगहरु पैदा भयो, खासगरी जनयुद्धले एउटा ठूलो शक्ति सञ्चय ग-यो, राजनीतिक बहस पनि सृष्टि ग-यो र परिस्थितिमाथि आन्दोलनको जबरजस्त दबाब बढ्दै गैसकेपछि गिरिजाबाबु पनि अब नयाँ ढंगले सोच्नुपर्छ भन्ने ठाउँमा आइपुग्नुभयो ।

सायद, दरबार हत्याकाण्डको पनि त्यसमा असर छ भन्ने लाग्छ । उहाँ पनि र हामी पनि अब संवादको बाटोबाट जानुपर्छ, छलफल र बहसबाट नै समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्छ भन्ने निष्कर्षमा आइपुगेपछि गिरिजाबाबुसँग वार्ता, संवाद भयो । त्यो संवादपछि निरन्तर अगाडि बढियो ।

पहिलोपटक गिरिजाबाबुसँग मेरो भेट हुँदा त्यो तालमेल मिलाइदिने, वातावरण मिलाउने मुख्य पात्र भनेकै चक्र बास्तोला हुनुहुन्थ्यो । हामी दिल्लीमा भेटेको हो । म अहिले पनि त्यो घर, कोठा, बसेको ठाउँ सबै सम्झिराखेको छु ।

चक्र बास्तोलाको भूमिका निकै सकारात्मक, रचनात्मक रहेको थियो । उहाँमा अब देशलाई शान्तितिर लैजानुपर्छ भनेर गिरिजाबाबुलाई पनि प्रभावित पार्न सक्ने क्षमता, हैसियत देखियो । त्यो सबै उहाँले प्रयोग गरेको म पाउँथे । उहाँ नै मुख्य पात्र हुुनुहुन्थ्यो वातावरण बनाउने । शान्ति प्रकृयाको वातावरण बनाउने कुरामा चक्रजी नै मुख्य पात्र हुनुहुन्थ्यो ।

हामी त भुमिगत थियौं । त्यहाँ, दिल्लीमा पनि हामी भुमिगतरुपले नै बस्थ्यौं । धेरै गाडी चेञ्ज गरेर, धेरै रुटहरु चेञ्ज गरेर हामी त्यहाँ पुगेका थियौं । हामी पुग्नुभन्दा अगाडि नै गिरिजाबाबु, चक्रजी र अर्को एकजना (गोकर्ण पौडेल) पहिल्यै पुगेर बसिराख्नुभएको थियो । म र बाबुराम, त्यतिबेलाको माओबादी पार्टीको तर्फबाट हामी दुईजना गएका थियौं । 

मैले त गिरिजाबाबुसँग सँगै बसेर कुरा गरेको पनि थिइनँ । २०४६ सालको आन्दोलनपछि हामी संसदमा भए पनि गिरिजाबाबुसँग आमने –सामने मेरो कुरा भएको थिएन । पहिलो कुराकानी त्यतिबेलै हो । चक्रजीसँग त्योभन्दा अगाडि पनि मेरो कुराकानी हुने गथ्र्यो । त्यो नाताले पनि वातावरण बन्न सहज भयो ।

गिरिजाबाबु त्यतिबेला चेन स्मोकर हुनुहुँदोरहेछ, चुरोट खाएको खायै । बुढो मान्छेले यति सिग्रेट खाएको देखें । म पनि त्योबेला सिग्रेट पिउँथें । मलाई लागेको थियो, बुढो मान्छेले पक्कै पिउनुहुन्न होला । मैले पो किन पिउनु र भनेर सिग्रेट नलिइकन गएको थिएँ । उहाँले पिएको पियै देखेर मैले पनि उहाँको बट्टाबाट सिग्रेट झिकेर खाएको म सम्झन्छु ।

गिरिजाबाबुको लामो कुरा गर्ने बानी रहेनछ । छोटोमा, तपाईहरु शान्ति प्रकृयामा आउने हो कि होइन ? साँच्चै आउने हो कि होइन ? भन्नुभयो । अनि मैले हामी त साँच्चै आउने हो, तपाईहरु गणतन्त्रमा जाने हो कि होइन ? भनेर सोधेको थिएँ । उहाँले भन्नुभयो, गणतन्त्रमा जाने हो, तर अहिल्यै नै गणतन्त्र भन्यो भने वातावरण झन बिग्रन्छ । त्यसकारण, अहिलेलाई हामी पूर्ण लोकतन्त्र भनेर जाउँ, पछि गणतन्त्रमा जाने हो भनेपछि हामीबीचको कुरा निकै सकारात्मक भएको थियो । गिरिजाबाबुसँग एकछिन कुरा भयो । मोटामोटी कुरा मिल्यो । कुरा मिलेपछि उहाँ निस्कनुभयो ।

चक्रजीसँग हाम्रो कुरा साथीको जस्तो हुने, गिरिजाबाबु अलि अभिभावकजस्तो, त्यसकारण सबै कुरा खुलेर गर्न गाह्रो हुन्थ्यो । चक्रजीसँग खुलेर कुरा हुन्थ्यो । उहाँसँग साथीजस्तो गरी अब के गरी वातावरण बनाउने, कसरी देशलाई संविधान सभातिर लैजाने, लैजान सकिन्छ कि सकिँदैन, गणतन्त्रसम्म देश पुग्ला कि नपुग्ला, भन्नेबारेमा खुलेर कुरा हुन्थ्यो । त्यो दिन पनि गिरिजाबाबु गैसकेपछि चक्रजीसँग यी सबैबारे बडो हार्दिक ढंगले कुराकानीहरु भए । र, निकै उत्साहित भएर हामी फर्कियौं ।

पहिलो भेटमा (गिरिजाबाबुसँग) हामी एउटा कम्पाउन्डवाला घरमा गएका थियौं । चारैतिर कम्पाउन्ड थियो र गाडी चेञ्ज गर्दै, विभिन्न ठाउँ हुँदै हामी घुमेर त्यहाँ पुगेका थियौं । गिरिजाबाबु आफ्नो ढंगले त्यहाँ पुगिसक्नुभएको थियो । त्यो कम्पाउन्डभित्र मन्दिर पनि भएजस्तो लाग्छ । अहिले म यकिन ठ्याक्कै भन्न सकिराखेको छैन । त्यहाँभित्र सानो–सानो मन्दिर पनि थियो जस्तो लाग्छ ।

अर्को (दोस्रो) मिटिङ्गमा पनि पहिला गिरिजाबाबु पुग्नुभयो । अनि बाबुराम र म केही समयपछि पुगेका थियौं । हाम्रो आफ्नै भूमिगत तरिका थियो । हाम्रो आफ्नै नेटवर्क थियो, त्यहाँ । त्यो नेटवर्क प्रयोग गरेर हामी गयौं ।

गिरिजाबाबु बसेको ठाउँ (होटल) मा हामी कहिल्यै पनि गएनौं । नयाँ–नयाँ ठाउँहरुको खोजी गरिन्थ्यो । कोही हाम्रा समर्थकहरुका घरमा, जो १२ बुँदे समझदारीमा अन्तिम सहमति भयो, त्यो हाम्रो माओवादी समर्थकको घरमा भएको थियो दिल्लीमा । होटलमा, कहीँकतै होइन । जति पनि हामीले भेटहरु ग-यौं, या त समर्थकहरुको घरमा गरिएको थियो, या त गिरिजाबाबुले विश्वास गरेको कुनै मान्छे बसेको ठाउँमा भेट गरिन्थ्यो । गिरिजाबाबु बसेको होटलमा जानु हाम्रा लागि खतरामुक्त थिएन ।

मलाई लाग्छ, गिरिजाबाबुसँग भएको पहिलो कुराकानी र चक्रजीले खेलेको सहजीकरणको भुमिकाले शान्तिप्रकृयामा आउन निकै ठूलो वातावरण बनायो । पछि फेरि गिरिजाबाबुसँग जसरी देशका महत्वपूर्ण राजनीतिक मुद्दाहरु टुंग्याउनका निम्ति बडो सहज ढंगले हामी सहमतिमा पुग्ने ग-यौं । त्यो यदि गिरिजाबाबु आफै पनि निर्णय लिने कुरामा आँट गर्ने मान्छे नभएको भए, या आफैं पनि हिजो इतिहासका थुप्रै अनुभवबाट नगुज्रिएको भए र म पनि त्यस्तो अनुभवबाट हण्डर–ठक्कर नखाएको भए सायद गाह्रो हुन्थ्यो ।

त्यसकारण त्यो हाम्रो इतिहासले, चाहे गिरिजाबाबुको अथवा नेपाली काँग्रेसको इतिहासले पनि र मेरो र हाम्रो माओवादीको त्यतिबेलाको इतिहासले पनि हामीलाई मद्दतै ग-यो । गिरिजाबाबु र हाम्रोबीचमा राम्रो समझदारी भएर मात्रै देशमा शान्ति, स्थिरता र एउटा नयाँ वातावरण, परिवर्तन ल्याउन सकिन्छ भन्ने थियो ।

त्यतिबेला हाम्रोतर्फबाट अलि बढी पहिलोचोटि वार्तामा आउनुभएको र अर्कोपटक पनि वार्तामा बस्नुभएको कृष्णबहादुर महरा हुुनुहुन्छ । उहाँमार्फत कुराकानी भैराखेको थियो । दरबारसँग पनि विभिन्नरुपमा कुराकानी भैराखेको थियो । त्यो कुराकानीको वातावरण बनाउने विभिन्न पात्रसँग महराजीको भएको छलफलको रिपोर्ट मलाई उहाँले दिनदिनैजस्तो गर्नुहुन्थ्यो ।

एकपटक ढोरपाटनमा हेलिकप्टर लिएर ज्ञानेन्द्र जाने र म पनि त्यहाँ पुग्ने र कुरा गर्ने भन्नेचाहिँ भयो । तर, व्यवहारिकरुपमा त्यो कहिल्यै पनि आएन । ठोस वार्ता हुनेखालको वातावरण नबनेपछि हामीले पनि त्यसलाई छोड्यौं र पार्टीहरुसँगकै संवादलाई अगाडि बढायौं ।

शेरबहादुरजी एकपटक प्रधानमन्त्री हुँदा, पहिला अयोग्य भनेर ज्ञानेन्द्रले फाले । अर्कोपटक फेरि त्यही अयोग्यलाई प्रधानमन्त्री बनाए । त्योबेलामा मैले एउटा वक्तव्य जारी गरेको थिएँ । अब नोकरहरुसँग कुरा गरेर केही अर्थ भएन, मालिकसँग नै कुरा गर्नपर्यो । त्योबेलामा मालिक भनेको ज्ञानेन्द्र नै थिए । उनैले प्रधानमन्त्री बनाउने÷फाल्ने गर्थे । त्यो परिस्थिति थियो । मैले त्यतिचाहिँ वक्तव्य मार्फत भनेको हो । तर, ज्ञानेन्द्रसँग मिलेर काँग्रेसका नेताहरुलाई या त्यतिबेलाका एमालेका नेताहरुलाई जेल हाल्ने हामीले कहिल्यै कल्पनै गरेनौं । किनकि, शान्तिको वातावरण बनाउनका लागि, संविधानसभाको चुनावको वातावरण बनाउनका लागि र गणतन्त्रको वातावरण बनाउनका लागि एमालेका नेताहरुसँग पनि, काँग्रेसका नेताहरुसँग पनि हाम्रो लगातार कुराकानी भैराखेको थियो । त्यसकारण, राजासँग मिलेर पार्टीहरुमाथि कुनैखालको दबाव दिने कुरा मेरो दिमागले कहिल्यै कल्पना पनि गरेन ।

ज्ञानेन्द्रसँग कुरा हाम्रो केही पनि भएको थिएन । तर, ज्ञानेन्द्रले पनि वार्ताको वातावरण बनाउन खोजेका छन् भन्ने कुरा बाहिर आइराखेको थियो । मिडियाहरुमा त्यो कुरा आइराखेको हुन्थ्यो । सायद ज्ञानेन्द्रले एक स्टेप पछाडि हटेर अब वार्ताको वातावरण बनाउँछन् कि भनेजस्तो हामीलाई लागेको थियो । तर, माघ १९ गते उनको वक्तव्य जुन आयो, रेडियोबाट मैले आफैंले सुनें । त्यो वक्तव्य आइसकेपछि यी मान्छे न शान्तिको पक्षमा छन्, न वार्ताको पक्षमा छन्, सब बेइमानी र जालझेलबाहेक यिनले केही पनि गर्दारहेनछन् भन्ने भएपछि तुरुन्तै मैले वक्तव्य ड्राफ्ट गरें । उनको भण्डाफोर गरेर हामी अझ चर्को, सशक्त ढंगले अगाडि जानुको विकल्प छैन, राजनीतिक दलहरु अब आपसमा संवादलाई तिव्रता दिनुपर्छ भनेको थिएँ ।

माघ १९ को कदम नभएर यदि गम्भीर र जिम्मेवारीपूर्ण ढंगले ज्ञानेन्द्रले वार्ताको वातावरण बनाएको भए राष्ट्रिय राजनीतिक सहमतिको वातावरण बन्न सक्थ्यो । यद्यपि हाम्रो बटमलाइन संविधानसभा नै भन्ने थियो । जनताले बनाएको संविधान भन्ने नै थियो । हाम्रो बटमलाइन गणतन्त्र नै थियो ।

तर, राजासँगै बसेर राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले, माओवादीलगायत सबै राजनीतिक दल र राजासमेत बसेर निकास ल्याउन सकिन्छ भनेर कैयौं छलफल हुन सक्थे । तर, यी सबै कुरा त अब हाइपोथेसिस भए । यी काल्पनिक कुरा भए ।

जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो । हामी त भुमिगत नै थियौं । हामी युद्धमै थियौं । हामी फौजी आक्रमण र राजनीतिक आक्रमण दुईटै भन्थ्यौं त्यतिबेला । र, सात राजनीतिक दल शान्तिपूर्ण आन्दोलनको स्थितिमै थिए । जब बाह्रबुँदे समझदारीमा हस्ताक्षर भयो, देशभरि जनतामा एउटा उत्साहको सन्देश त गइ नै हाल्यो ।  अब शान्ति पनि हुन्छ, अब परिवर्तन हुन्छ भन्ने रक्तसञ्चार र आत्मविश्वास जनतालाई भयो । किनभने, ग्रामीण इलाका करिब– करिब हाम्रो कन्ट्रोलमा थियो । देशैभरि यो कुरा सबैले मानेकै कुरा हो । हामीले देशभरिका जनता, कार्यकर्ताहरुमा सर्कुलर गरेका थियौं कि काठमाडौंको प्रदर्शनमा अब सक्रियतापूर्वक सहभागी हुने ।

हाम्रा लागि र देशका लागि पनि १२ बुँदे समझदारी धेरै दुरगामी महत्वको परिघटना हो । यसलाई सफल पार्नैपर्छ र त्यहाँ हाम्रो समझदारी हुँदा गिरिजाबाबुसँग पनि त्यतिबेला माधव नेपाल तत्कालीन नेकपा एमालेको महासचिव हुनुहुन्थ्यो, उहाँसँग पनि कुरा हुँदाखेरि हाम्रो के थियो भने हामीले फौजी कारबाही गरिराख्ने । त्यो फौजी कारबाहीलाई मद्दत हुने ढंगले सात राजनीतिक दलहरुले आन्दोलनको कार्यक्रमहरु बनाएर लैजाने । सात राजनीतिक दलको आन्दोलनमा हामीले आमरुपमा कार्यकर्ता र जनता पनि पठाउने र एकअर्कामा तालमेल गर्ने भन्ने भएकै थियो । त्यसकारण पहिला पनि आन्दोलनको कुरा त सात राजनीतिक दलले गर्दाखेरि के थियो स्थिति भन्ने कुरा र १२ बुँदे समझदारी र माओवादी पनि आन्दोलनमा सँगसँगै सहभागी भयो भनेपछि के भयो भन्ने कुरा त यो दुनियाँले देखेको कुरा हो । यसमा माओवादीको के थियो भन्नैपर्छ जस्तो लाग्दैन । स्वतः त्यसले एउटा गुणात्मकता ल्यायो ।

मेरो र गिरिजाबाबुको प्रायः बिहान र बेलुका दैनिक फोनमा कुराकानी हुन्थ्यो । म नेपाल भएका बेलामा, रुकुम–रोल्पामा भएको बेलामा गिरिजाबाबुलाई फोन गर्न स्याटेलाइट फोन प्रयोग गर्थें । दिल्लीमा भुमिगत भएका बेलामा टेलिफोनबाट नै कुराकानी गर्थें । बिहान–बेलुका नै कुरा हुन्थ्यो । हामीले फौजी आक्रमण यहाँ–यहाँ गर्दैछौं, यो–यो ठाउँमा हाम्रो हमला हुन्छ भनेर मैले भन्ने गर्थें ।

सर्लाहीको सदरमुकाममा हमला हुँदैछ भन्ने कुरा भनेको छु । तौलिहवामा हमला हुँदैछ, पाल्पामा यसरी हमला हुँदैछ भन्ने कुरा मैले सबै गिरिजाबाबुलाई रिपोर्ट गरिराखेको हुन्थें । माधवजीलाई रिपोर्ट गरिराखेको हुन्थें । उहाँहरुले आन्दोलनका कार्यक्रमका बारेमा आज यो, भोलि यो भन्ने कुरा पनि भनिराख्नुहुन्थ्यो । त्यसकारण नेपालमा यो एउटा विचित्रको भएको हो । यस्तो संसारमा कमै हुन्छ । शान्तिपूर्ण आन्दोलन र युद्ध सँगसँगै मिलेर, तालमेल गरेर गर्ने भनेको यो संसारमा विरलै देख्न पाइन्छ । यो हिम्मतचाहिँ गिरिजाबाबुले गरेकै हो । सात राजनीतिक दलहरुले पनि गरेकै हो । त्यसैले यो परिवर्तन, वास्तवमा संविधान सभा पनि सम्भव तुल्यायो । गणतन्त्र पनि सम्भव तुल्यायो र आजको परिस्थितिसम्म आयो ।

जब बैशाख ८ गते (२०६३ साल) झण्डै–झण्डै राजनीतिक दल र राजा मिल्ने हुन् कि भनेजस्तो स्थिति देखा पर्न खोजेको थियो । कतिपय नेताहरुमा ‘भयो यति भएपछि’ भन्नेखालको पनि थियो । तर, मैले ८ गते बिहान नै त्यो हुन खोजेको सम्झौताको भण्डाफोर गरेर आन्दोलन जारी राख्नुपर्छ भन्ने वक्तव्य दिएको थिएँ । गिरिजाबाबु र माधव नेपालसँग कुरा गरिसकेको थिएँ । आन्दोलन जारी राख्नुपर्छ, नत्र बर्बाद हुन्छ भन्ने कुरा भैराखेको थियो ।

यद्यपि भारतका करण सिंह आएर राजासँग राजनीतिक दललाई सम्झौता गराउने लगातार कोशिस भैराखेको थियो । त्यसको विरोधमा हामी थियौं । गिरिजाबाबु पनि र तात्कालीन एमालेका नेता माधव नेपाल पनि आन्दोलन जारी राख्ने भन्नेमा गएपछि आन्दोलन जारी भयो र बैशाख ११ गते फेरि एउटा नयाँ ठाउँमा गएर सम्झौता भयो ।

यद्यपि हामी भुमिगत र विद्रोही शक्ति भएको हुनाले बैशाख ११ को महान उपलब्धी भनेर त हामीले भनेनौं । यो पनि नगरे हुन्थ्यो, सिधैं एकैचोटि गणतन्त्रमा गए हुन्थ्यो भन्ने त हाम्रो थियो । तर, जे भए पनि धेरै माथिको उपलब्धीमा त देश गइ नै सकेको थियो । त्योबीचमा गिरिजाबाबुसँग मेरो लगातार कुरा भैराखेको थियो ।

गिरिजाबाबु नै प्रधानमन्त्री भएर आउनुभयो । त्यसो भएपछि मलाई धेरै सजिलो भयो । १२ बुँदे समझदारी भैसकेको थियो । शान्ति प्रकृयातिर अगाडि बढ्ने कुरा भैसकेको थियो । त्यसकारण अब मलाई खतरा छैन भन्नेमा म पुगेकै थिएँ । हाम्रो टिम र म खतरामा छैनौं भनेपछि रक्सौल र वीरगञ्जको बाटो हुँदै मकवानपुरको एउटा गाउँमा आएर बसेको थिएँ । त्यही गाउँमा हाम्रो पार्टीको बैठक पनि भयो । भेला पनि भयो । अब कसरी जाने भन्ने कुरा पनि भयो ।

त्यो बैठक सकेर म चितवन आएँ । चितवन आउँदाखेरि मेरा इन्टरभ्यूहरु पनि आए । मैले पहिलोपटक चितवनमा कान्तिपुरलाई र अर्को एउटालाई इन्टरभ्यू दिएँ । त्यहाँबाट हेलिकप्टरबाट म सिक्लेस गएँ । त्यहाँ हाम्रो ठूलो राष्ट्रिय भेला थियो, त्योभेलालाई सम्बोधन गर्न म सिकलेस गएँ । सिकलेस जाने क्रममा पनि गिरिजाबाबुसँग मेरो कुरा भैराखेको थियो । पुगिसकेपछि पनि कुरा भएको थियो । त्यहाँ अन्तिम वार्ताका लागि आउने वातावरण बनाउन सिकलेस नै आउनुपर्यो भनेर मैले गिरिजाबाबुलाई भनें ।

सिटौलाजी र शेखरजी पनि हुनुहुन्थ्यो क्यारे, उहाँहरु दुईजना हेलिकप्टर लिएर सिकलेस आउनुभयो । हाम्रो एकछिन कुरा भयो । हामी त्यहाँ प्रशिक्षणमै थियौं । कुराकानी पछि ल हामी काठमाडौं जाने भन्ने सहमति भयो । तर, काठमाडौं आज जान सकिदैँन, हाम्रो बैठक भोलि सकिन्छ, त्यसपछि पर्सि भनेर २ गते काठमाडौं आउने कार्यक्रम बनाइयो । पर्सिपल्ट फेरि हेलिकप्टर लिएर पोखरा आउनुभयो । हामी सिकलेसबाट पोखरा झरिसकेका थियौं । त्यहाँबाट काठमाडौं, बालुवाटार आएर दिनभर त्यहाँ बैठक बसेर ८ बुँदे सहमति भयो र सहमतिपछि शान्ति प्रकृया अगाडि बढ्यो ।

साँच्चै भन्ने हो भने मलाई यो सपना हो कि विपना हो भनेजस्तो झिलिमिली झिलिमिली, अलि रोमाञ्चकारी जस्तो पनि भयो । के हुँदैछ भनेजस्तो । रमाइलो पनि, उत्साह पनि । कता–कता एकखालको असहज लागेजस्तो फिलिङ पनि हुँदैहुँदै बसेको थिएँ । जे भए पनि त्यो ऐतिहासिक थियो । दुरगामी थियो । रोमाञ्चकारी थियो । इतिहास निर्माणको दिन थियो त्यो ।

संबिधान सभाको चुनाव अगाडि नै देश गणतन्त्रमा जाने ग्यारेन्टी राजनैतिक नेतृत्वले गरोस् भन्ने हामी चाहन्थ्यौं । तर, देश गणतन्त्रमा नजाओस् भन्ने चाहनेहरुले संविधान सभा नहोस् भन्ने चाहन्थे । एकदम प्रष्टै थियो त्यो । जसलाई गणतन्त्रप्रति विश्वास र आस्था थिएन, उनीहरु संबिधान सभा नहोस् भन्ने चाहन्थे । किनभने संविधान सभा भयो भने देश गणतन्त्रमा गैहाल्छ भन्ने भएको हुनाले संविधान सभा रोक्ने र अनेक तरिकाले त्यसलाई फेल गर्ने कोशिस कसरत भएकै थियो । यहाँनेर इतिहासका कति राम्रा, कति नराम्रा, त्यो विश्लेषण त अलग्गै छ । तर, गिरिजाप्रसाद कोइरालाचाहिँ पटक्कै धुर्मुराउनुभएन । उहाँ त्यहाँसम्म गएरै छाड्ने भन्नेमा दृढ भएको हुनाले र मैले मेरो बटमलाइन यही हो भनेको हुनाले यो चिज अगाडि बढ्यो ।

अप्ठ्यारा त थिए, तर त्यतिबेला म के सम्झिन्छु भने विशेष अधिवेशन बोलाइएको थियो अन्तरिम संसदको । विशेष अधिवेशन बोलाएर गणतन्त्रसम्बन्धी प्रस्ताव पारित गर्न लगिएको थियो । हामी पहिलो संबिधानसभाको पहिलो बैठकबाट गणतन्त्रमा जाने भन्ने चाहिँ पहिल्यै अन्तरिम संसदबाट पारित गराइयो । त्यो पारित गराएपछि हामी ढुक्क भयौं, अब गणतन्त्रबाट दायाँ–बायाँ हुँदैन । त्यति नै बेला गणतन्त्रमा जाने भन्ने अन्तरिम संसदले प्रस्ताव पारित गरिसकेपछि राजतन्त्रवादीहरु एकदम उत्तेजित भए । मलाई अलि बढी आक्रमण पनि भैराखेको थियो । बढी अड्डी कसेर गणतन्त्रमा नलगी नछोड्ने भनेको हुनाले ममाथि भौतिक हमला गर्ने कोशिस पनि भयो । त्यतिबेला सिराहामा झण्डै–झण्डै थोरै थोरैले मात्रै बचियो । मसँग भएको प्रहरीले हतियारवालालाई गिरफ्तार नगरेको भए त्यो दिन ठूलै दुर्घटना हुन सक्ने स्थिति थियो । संविधानसभा भन्दा अगाडि त्यस्ता प्रयासहरु पनि भए । तर, सबै प्रयासहरु अन्ततः असफल भए र देशले गति लियो ।

चुनाव नजिकै आउँदै जाँदा माहोल माओवादीका पक्षमा बन्दै गएकै थियो । गिरिजाबाबुलाई के कुराको अनुभूति भएकै थियो भने काँग्रेसले चुनाव जित्दैन । माओवादीले कति ल्याउँछ भन्ने सूचना त उहाँलाई के कति थियो, मलाई थाहा भएन । तर, जे होस् काँग्रेस चुनावमा बहुमतमा या ठुलो पार्टी भएर आउँदैन भन्ने उहाँलाई थाहा थियो । तर, पनि चुनाव गर्नैपर्छ भन्नेमा उहाँ दृढ हुनुहुन्थ्यो । कतिपय काँग्रेस नेताहरुले चुनाव नगराउन प्रेसर पनि गिरिजाबाबुलाई हालेका थिए, त्यो पनि मैले थाहा पाएको थिएँ । तर, गिरिजाबाबु यो शान्तिप्रकृया जसरी पनि सफल पार्नुपर्छ, संबिधान जसरी पनि बनाउनुपर्छ र त्यसकारण चुनाव गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । काँग्रेसले चुनाव हारे पनि देशले जित्छ भन्नुहुन्थ्यो उहाँले । त्योबेला चुनाव जित्ने र हार्ने कुरा होइन, देशले जित्ने कुरा हो भन्नुहुन्थ्यो । देशलाई जिताउने उद्देश्यका साथ उहाँ अगाडि बढ्नु नै भयो ।

रह्यो राष्ट्रपतिको कुरा । मलाई के लाग्छ भने राष्ट्रपतिमा गिरिजाबाबुलाई मैले सजिलै समर्थन गर्छु भन्नेमा उहाँ ढुक्क हुनुहुन्थ्यो । हाम्रो लिखित÷अलिखित सहमति त भएको थिएन, चुनावपछि उहाँलाई राष्ट्रपति बनाउन मैले सहयोग गर्ने भन्ने । किनभने, चुनावको परिणाम नै के आउँछ भन्ने थाहा नभइकन पहिल्यै को राष्ट्रपति, को प्रधानमन्त्री भन्ने कुराको अर्थ पनि थिएन । तर, हाम्रो जति निकटता थियो, जति धेरै छलफल हामीवीच हुन्थ्यो, त्योबाट गिरिजाबाबु यदि भोलि माओबादी पार्टी ठूलो भयो र प्रचण्डले जसलाई भन्यो, त्यही राष्ट्रपति हुने स्थिति आयो भने मलाई दिन्छन् भन्ने कुरामा विस्वस्त हुनुहुन्थ्यो भन्ने कुरा पछि थाहा भयो । चुनावपछि, रिजल्ट आइसकेपछि ।

तर, हाम्रो पार्टीले गिरिजाबाबुलाई राष्ट्रपतिमा समर्थन गर्न तयार भएन । यहाँ अलिकति फरक छ । म व्यक्तिगतरुपले हुने र पुरै पार्टीलाई त्यो ठाउँमा पु-याउन गाइड गर्नुमा अलिअलि अन्तर छ । गिरिजाबाबुप्रति मेरो सकारात्मक धारणा हुँदाहुँदै पनि ठूलो पार्टी भएपछि म पनि अलिकति धर्ती छोडेको हुँ भन्ने लाग्छ मलाई आज । अब कोही नभए पनि हुन्छ भनेजस्तोतिर मेरो दिमाग गयो र गिरिजाबाबुलाई राष्ट्रपति बनाउने अवसर मैले गुमाएँ भन्ने लाग्छ । मैले सार्वजनिकरुपमै धेरैचोटि भनेको छु, त्यतिबेला गिरिजाबाबुलाई राष्ट्रपति बनाउनुपर्ने थियो, त्यसो गरेको भए संबिधान बन्न पनि ४÷५ बर्ष लाग्दैनथ्यो, तुरुन्तै बन्थ्यो र देशको राजनीति पनि अर्कै ढंगले जान्थ्यो । त्यो त्रुटि भयो भन्ने मलाई अहिले लाग्छ ।

गिरिजाबाबुचाहिँ ढुक्क हुनुहुन्थ्यो । चुनावपछि पनि उहाँले मकहाँ साथीहरु पठाउनुभएको थियो, राष्ट्रपतिका बारेमा के सोचेको छ भनेर । मैले हुन्छ भन्न सकिनँ । बाहिरी कुनै कारणले होइन, माओवादीको आफ्नै कारणले त्यो परिस्थितिलाई ठीक ढंगले ह्यान्डल गर्न नसकिएको हो । मेरो अनुभवको पनि अलिकति कमी भयो । किनभने, झण्डै बहुमत आयो हाम्रो । बहुमत नै आउँछ कि आउँदैन भन्ने हामीले पूर्वानुमान पनि गर्न सकेका थिएनौं । एकैचोटि आई नै हाल्यो । आइहालेपछि निर्णय लिने कुरामा परिपक्वता देखिनुपथ्र्यो । लिडरसिपको हैसियतले त्यसमा म अरु कसैलाई दोष दिन्नँ, म नै मुख्य जिम्मेवार हो भन्ने लाग्छ । मैले उहाँलाई राष्ट्रपति बनाउनुपर्ने थियो । त्यो एउटा परिपक्व निर्णय हुन्थ्यो ।

ज्यातिविधि धेरै जितेकाले मभित्र पनि कहीँ न कहीँ अब मैले जसलाई चाह्यो, त्यसैलाई हुन्छ भनेपछि किन अरुलाई बनाउने ? मैले चाहेदेखि मसँग पहिल्यैदेखि सहकार्य गरेकै मान्छे किन नबनाउने भनेर मैले रामराजाप्रसाद सिंहलाई उठाउने फैसला गरें । त्यहाँ कहीँ न कहीँ मिस भयो । तर, यो कसैको (विदेशी) दबावले होइन ।

मैले त्यतिबेला यति छिटै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुपर्ला भनेर आफूलाई तयार पारेको थिइनँ । बहस हुँदै जान्छ, राजनीतिक संघर्ष हुँदै जान्छ भन्ने थियो । संविधान बनाउने र शान्ति प्रकृया टुंग्याउने दुईटा मुख्य मेरा जिम्मेवारी थिए । तर, भर्खर युद्ध र क्रान्तिबाट आएको हुनाले मलाई एउटा ‘क्रान्तिकारी रोमान्सवाद’ भनिन्छ नि, त्यस्तो पनि भयो । मैले केही केही कुरा अलि एक्स्ट्रीममा गएर निर्णय गरें । जुन पछि गएर बुम-याङ गरें भन्ने लाग्छ । यसले देशलाई पनि फाइदा गरेन ।

जस्तो– एउटा त गिरिजाबाबुलाई राष्ट्रपति बनाएर मैले प्रधानमन्त्री लिएको भए सहज जान्थ्यो भन्ने अहिले फर्केर हेर्दा लाग्छ । यो कुरा मैले आज हैन, धेरै पहिलेदेखि भनिराखेको छु । दोस्रो कुरा, मैले १२ बुँदे समझदारी, शान्तिप्रकृया बनाउन सकारात्मक सहयोग गर्ने अन्तराष्ट्रिय शक्तिहरुलाई पनि एकैचोटि मिनिमाइज्ड गर्न खोजें । सबै मैले भनेपछि हुन्छ भनेजस्तो एउटा मनोभावना त्यतिबेला आयो । यिनै दुईवटा कमजोरीका कारण नै मलाई लाग्छ, मैले ९ महिनापछि सरकार छोड्नुपर्ने परिस्थिति बन्यो ।

त्यतिबेला सेनापतिको हैसियतले रुक्माङद कटुवालले जुन राजनैतिक वक्तव्यहरु दिने गरेका थिए, ती वक्तव्यहरु लोकतन्त्रका विरुद्ध, परिवर्तनका विरुद्ध नै हुने गर्थे । एउटा सेनापतिले, सरकारको मातहतमा भएको एउटा संस्थाले योरुपमा जान उचित हुँदैन भन्ने कुरा त स्वतःसिद्ध नै थियो । त्यसकारण मैले यसलाई कुनै न कुनैरुपले कारवाहीको विषय बनाउनपर्छ भन्ने ठानें । र, त्यो ठूलो कुरो पनि मलाई लागेन । किनभने, पुराना कतिपय संरचना र संस्थाहरु राजा वरिपरि बसेर हुर्केका त्यहीँबाट पालिएका पोसिएका थिए । एउटालाई राम्रो सबक सिकाउन सकियो भने यो गणतन्त्र सुदृढ भएर जान्छ भन्ने मलाई लाग्यो । त्यसकारण मैले कारबाहीको कुरा गरें । तर, कारबाही किन गर्नुप-यो, तीन महिनापछि आफैं जान्छ भन्ने कैयौंका मलाई सुझावहरु पनि थिए । आफैं जाने कुराको एउटा अर्थ हुन्छ । तर, नागरिक सर्वोच्चताका विरुद्ध सेनापति बोल्दै हिँड्नेलाई कारवाही नगर्ने हो भने गणतन्त्र झन कमजोर हुन्छ भन्ने मलाई महशुस भयो र म कारवाही गर्ने निर्णयमा पुगें । कारबाही गरें पनि । तर, त्यसपछिको नाटकीय घटना तपाई–हामी सबैलाई थाहा छ । 

अन्तिमसम्म, कारबाही गर्दासम्म पनि फेरि गिरिजाबाबुको अब जे–जे भयो भयो, राजीनामा चाहिँ नदेऊ भन्नुभएको थियो है मलाई । मैले राजीनामा दिने कुरा पनि संकेत गरेको थिएँ । बिहान स्थायी कमिटीको बैठक बसेर आज राजीनामा दिन्छु भनेको थिएँ मैले पार्टीमा । त्यो कुरा थाहा पाएपछि गिरिजाबाबुले दिनमा मलाई तीन÷तीनचोटि फोन गरेर तपाई नछोड्नुस् है, प्रधानमन्त्री नछोड्नुस् भन्नुभएको थियो । मैले भनें, गिरिजाबाबु म त डुबें, यो राष्ट्रपति एकातिर, अर्को अर्कोतिर, यो सबैचिज भद्रगोल भयो । त्यसकारण योभन्दा त बरु म जनतामै जान्छु । उहाँले चाहिँ राजीनामा नदेऊ नै भनिराख्नुभएको थियो ।

राजीनामा दिन जाँदाखेरि राष्ट्रपति (रामवरण) र वरिपरि भएका मान्छेहरुको त जितेको मुड थियो । अरु पार्टीहरु पनि सबैले हस्ताक्षर गरेर राष्ट्रपतिलाई दिएका थिए । उनीहरुको मुड त बिजेताको जस्तो थियो । मेरो त सामान्यरुपमा म गएँ, औपचारिकता पूरा गरें । त्यसपछि म जनतामा यी कुरा लिएर गएँ ।

संविधान बनाउने सन्दर्भमा खासगरी नेपाली काँग्रेस, त्यतिबेलाको माओवादी, एमाले र विजय गच्छदारको पनि पार्टी थियो, यी चार पार्टीका वीचमा १६ बुँदे जुन समझदारी भयो, संविधान बनाउने बारेमा त्यो १६ बुँदे समझदारी एउटा ऐतिहासिक समझदारी थियो । १२ बुँदे समझदारीपछिको निकै दुरगामी महत्व राख्ने समझदारी थियो त्यो । त्यो समझदारी बनाउनेबेलामा दुईटा कुरा भएका थिए । जुन कुरा मैले भन्दै आएको पनि छु ।

एउटा त संबिधान निर्माण भैसकेपछि पहिलो प्रधानमन्त्री केपी ओलीलाई बनाउने । र, संविधान घोषणा भैसकेपछिको राष्ट्रपति सुशील कोइरालालाई बनाउन मैले सहयोग गर्छु भनेको थिएँ । त्यसमा मोटामोटी समझदारी जस्तो थियो हाम्रो । लिखित त गरिएन, तर त्यो कुरा भयो । त्यसमा सुशीलजीको पनि मौन समर्थनजस्तो थियो ।

नेपाली काँग्रेसले राष्ट्रपति पाउने, एमालेले प्रधानमन्त्री पाउने भैसकेपछि मेरा लागि संविधान बनाउने कुरा महत्वपूर्ण थियो । संविधान बन्यो भने ठूलो कुरो हुन्छ भन्ने थियो मलाई । म त प्रधानमन्त्री, राष्ट्रपति हुने दौडमा थिइनँ । सुशीलजीलाई र केपीजीलाई यो कुरामा सहमत गराइसकेपछि संविधान बन्छ भन्ने आधारमा १६ बुँदे भएको थियो । त्यहीअनुसार नै संविधान बन्यो ।

दबावहरु त थिए धेरैखाले । संविधान नबनोस् भन्ने दबाव धेरैखाले थिए । मलाई लाग्छ, सुशीलजीसँग २४ सै घण्टा सँगै बस्ने अतुलजीलाई यो कुरा थाहा छ । तर, ती दबाव सबैलाई झेलेर हामीले संविधान घोषणा गरियो । त्यहाँसम्म सहजै थियो, तीनवटै पार्टीका वीचमा ।

सरकार बनाउने बेलामा कताबाट सुशीलजीको दिमागमा प्रधानमन्त्री उठ्ने आयो । त्यो बडो दुर्भाग्यपूर्ण भएको लाग्छ मलाई । सुशीलजी त्यसरी चुक्नै हुन्थेन । प्रधानमन्त्री भैसक्नुभएको थियो, संबिधान बनेको थियो । उहाँकै नेतृत्वमा संविधान बन्यो भन्ने कत्रो हाईहाई थियो । उहाँले भन्नेवित्तिकै उहाँका लागि राष्ट्रपतिको भवन उहाँलाई स्वागत गर्न तयार थियो । उहाँले त्यो लोभ नगर्नुपथ्र्यो । कसले उहाँको दिमागमा हाल्दियो । मैले त उहाँलाई नउठ्नुस् भनिराखेको थिएँ । हुन्न है सुशीलजी, जे पहिला सहमति भएको छ, त्यही लाइनमा जानुपर्छ, केपीलाई नै समर्थन गरौं, तपाई राष्ट्रपतिमै जानुस् भन्ने गर्थें मैले । उहाँले अँ–अँ भन्नुहुन्थ्यो ।

त्यो दिन पनि राति ९ बजेसम्म केपी, म र कृष्ण सिटौला, हामी सँगै थियौं । सिटौलाले हामीलाई उहाँ(सुशील) प्रधानमन्त्रीमा उठ्नुहुन्न भनेर रिपोर्ट गरिराख्नुभएको थियो । ११ बजेमात्रै निर्णय भएछ, उठ्ने भनेर । उहाँलाई के कुराको भ्रम प-यो अथवा भ्रम पारियो भने बाबुराम भट्टराईले माओवादीका २५ जना सांसदलाई क्रस गराउँछ रे र त्यो भोट सुशीलजीलाई आउँछ भन्नेमा विश्वास दिलाइयो । बाबुरामको तर्फबाट केही मान्छे बालुवाटार गए । त्यहाँ कुराकानी पनि भयो । तर, एउटा कोही कतै जानेवाला थिएन । किनभने, सम्भव थिएन नि । छाडेर जानुको अर्थ त सांसद पनि जान्थ्यो, सबै जान्थ्यो । बाबुरामसँग त्यसरी लाग्ने कोही सांसद थिएनन् । त्यो भ्रमका कारण पनि सायद सुशीलजीले प्रधानमन्त्रीमा उठ्ने निर्णय गर्नुभयो । उहाँको राजनीतिक जीवनको एउटा साह्रै नराम्रो निर्णय त्यही भयो । यसले सायद उहाँलाई पछि अलि बढी नै ह्युमिलेट पनि ग-यो होला ।

शान्ति प्रकृयामा आएपछि चक्र बास्तोलासँग पटक–पटक मेरो कुराकानी हुने गथ्र्यो । यद्यपि उहाँको गिरिजाबाबुसँग के–के (सम्बन्ध) बिग्रेको मैले अझै पनि सबै खोतल्या छैन । खोतल्न नि चाहन्नँ । किन हो मलाई थाहा छैन । चक्रजी पहिलो वार्ताको सहजकर्ता हो । उहाँ आफैंमा एउटा विद्धान मान्छे पनि हो, नेपालको इतिहास र विदेश मामिलासम्बन्धी समस्याहरुलाई सैद्धान्तिकरुपले निरुपण गर्नेमा पनि चक्र बास्तोलाको ठूलो भूमिका हो । त्यसकारण उहाँ र म अलि सैद्धान्तिक छलफलहरु गथ्र्यौं । देशको परिस्थितिको विश्लेषण गथ्र्यौं । उहाँ मलाई एउटा अभिभावकले जस्तो गरी सुझाव दिनुहुन्थ्यो । तपाई यो गर्नुस्, त्यो गर्नुस् भन्ने गर्नुहुन्थ्यो । उहाँको सुझाव मलाई बडो पारदर्शी, निष्पक्ष र निश्वार्थ लाग्थ्यो । धैरैपटक हाम्रो कुराकानी हुने गरेको थियो ।

कम्युनिष्ट आन्दोलनतिरबाट भन्नुपर्दाखेरि पहिलो त पुष्पलाल श्रेष्ठ नै हो, जसले जहिले पनि लोकतन्त्रका निम्ति, संयुक्त आन्दोलनको पक्षपोषण गरेरै मर्नुभयो । उहाँले धेरै ठूलो योगदान नेपाली इतिहास र नेपाली समाजको विश्लेषणमा गर्नुभएको छ । दोस्रो–नेपाली काँग्रेसका विश्वेश्वरप्रसाद कोइराला नै हो, जसले प्रजातान्त्रिक समाजवादका बारेमा नेपालमा कसरी लैजाने भन्ने र साँच्चै पहिलो पिढीँका क्रान्तिकारीहरुलाई उत्प्रेरित गर्ने भूमिका खेल्नुभयो । उहाँ बहुआयामिक व्यक्तित्व पनि हुनुहुन्थ्यो । साहित्यमा पनि, राजनीतिमा पनि उस्तै दक्खल राखेर युगान्तकारी भुमिका खेल्नेभित्रै पर्नुहुन्छ ।

मैले यतापट्टि कम्युनिष्ट आन्दोलनतिरबाट हेर्दा मदन भण्डारी । छोटै समयमा उहाँ लोकप्रियताको एउटा शिखरमा पुग्नुभयो । उहाँ पनि स्मरण गर्न लायक व्यक्तित्वभित्रै पर्नुहुन्छ भन्ने मलाई लाग्छ । त्यसपछि नेपाली काँग्रेसभित्र गणेशमान सिंह पनि एउटा यस्तो संघर्षशील र जुझारु व्यक्तित्व बन्नुभयो । र, पछिल्लो चरणमा इतिहासमा गिरिजाप्रसाद कोइरालाको भूमिका पनि महत्वपूर्णरुपमा स्थापित भयो । यिनै नेताहरुलाई नै म मुख्य नेताहरुका रुपमा लिन्छु ।

(पत्रकार जगत नेपालले २०७६ सालमा गरेको अन्तरवार्तामा आधारित यो सामग्रीको पूर्णपाठ प्रचण्डको अन्तरवार्ता संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पुस्तकबाट लिइएको हो)

 




प्रतिक्रिया


  1. image заговор как забрать удачу у человека

    знаки зодиака для учителей рожденные 14 февраля 1993, кто родился 14 февраля знак зодиака кукла колдуна remix tik tok оберег который женщина может вышить для себя сонник снов одежда

    16 июня знак гороскопа к чему снится если ты опаздываешь на самолет к чему снится поругаться со своим парнем 1992 год кого гороскопа маджонг значение костей, чем полезна игра маджонг

    image снится парень который нравится целует другую

    сколько людей живёт на луне расклад таро будем ли мы вместе онлайн, будем ли мы вместе по имени к чему снятся недруги женщины мир таро совет в отношениях, мир таро: значение перевернутое 13 октября 1996 день недели

    image Achat facile de médicaments en France Nipro Zollikon

    aankoop van medicijnen in Gent EMS Kaindorf an der Sulm ¿se puede tener medicamentos sin receta médica?

    Comprar tabletas en Australia Genericon Namur prix du médicaments en Belgique

    Wo Medikamente ohne ärztliche Verschreibung erhalten? Betapharm Haedo commande de médicaments en ligne

    image comprar medicamentos con confianza Helvepharm Ciudad Victoria

    Medicamentos de medicina Cinfa Lo-Reninge Medikamente sicher online kaufen

    image prix du médicaments sur ordonnance Eurogenerics Diest

    médicaments en vente libre à Paris Northia Messines (Mesen) medicijnen gemakkelijk kopen in Europa