दस्तावेज : पुष्पलालको पत्र

image

नेपाल कम्युनिष्ट पार्टीको स्थापना, २००६ साल बैसाख १० गते कलकत्तामा भएको थियो । एक बंगालीको घरमा पार्टी स्थापना गर्दा पुष्पलालल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ, थिए । पार्टी खोले पनि चार महिना गोप्य नै राखियो । पाँच महिनापछि भदौमा मात्र कम्युनिष्ट पार्टी स्थापनाको औपचारिक जानकारी दिइयो । त्यही कम्युनिष्ट पार्टीले नेपालको वाम आन्दोलन अघि वढाई रहेको छ ।  नेपाल कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा पुष्पपलालले २८ जुन १९७७ मा कांग्रेस नेता सुवर्णशमशेर राणालाई लेखेको यो पत्र । 

श्री सुवर्णजी 
त्यहाँबाट बनारस भै म यहाँ आएको ४–५ दिन भयो । हाम्रो भएको निधो अनुसार यहाँ सबै तिर कुराकानी गर्दा असर राम्रो परेको छ । यो पत्र पुग्दा त्यहाँ तपाईको केन्द्रीय समितिको बैठक भैरहने छ । त्यसको सफलताको कामना गर्दछु । 
त्यहाँ कुरा भए अनुसार आगामी जुलाई महिनाको १२ ता. मा बनारसमा भारत–नेपाल जनमैत्रीसंघको एक बैठक बस्ने छ । त्यसमा बनारसका गन्य मान्य व्यक्तिहरुले (सबै विचारधारा) भाग लिने छन् । र उक्त बैठकले भारत स्तरको बैठक बोलाउने निधो गर्ने छ । उक्त भारत स्तरको बैठकमा धेरै नै गन्य मान्य व्यक्तिहरु भाग लिन इच्छा गर्दैछन् । अतः त्यहाँ केन्द्रीय समिति – केन्द्रीय कार्यकारिणीको बैठक समाप्त गरी श्री भद्रकालीजी (भद्रकाली मिश्र), चौधरीजी (परशुनारायण चौधरी) र गजेन्द्रजी (गजेन्द्रनारायण सिंह) हरुलाई बनारस पठाई दिनु होला । 
म पनि जुलाई ७–८ सम्म बनारस पुग्ने छु । 
तपाईको स्वास्थ्य लाभको कामना गर्दै यो पत्र समाप्त गर्दछु । 
भवदीय 
पुष्पलाल




प्रतिक्रिया