काठमाडौं नगर प्रमुखको मतगणना रोक्न गृहमन्त्रीले दवाव दिएको त्यो क्षण

image

त्यही दिन गृहराज्यमन्त्रीले भेट्न वोलाए । अप्ठेरो मानि मानि गए । उनी भन्न थाले– हजुरले अलिकति आँखा चिम्लि वक्सियोस् । हामी सबै मिलाई हाल्छौं । त्यहाँ किन छिटो गर्ने भनेर आदेश दिनुहुन्छ । जे गर्नु पर्छ मेरो अंग, प्रहरीले गर्छ । उब्रिएका मतपत्र सबै मिलाएर गरिहाल्छन् । 

 

लोकतन्त्रमा सधै जनताको मात्र जित हुन्छ तर तानाशाहलाई हार्ने छुट हुदैन । संयोगले यति बेला काठमाडौं महानगरको मतगणना जारी छ । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह एमालेका केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंह भन्दा निक्कै अघि छन् । यस्तै घटना भएको थियो, २०४३ को स्थानीय चुनावमा । कांग्रेस समर्थित स्वतन्त्र उम्मेदवार हरिवोल भट्टराईले सरकार समर्थित रवीचरण श्रेष्ठलाई निक्कै पछि पारि सकेका थिए । आफू समर्थक हार्ने भएपछि गृह राज्यमन्त्रीको दवावमा कैयौं दिन मतगणना रोकियो । 
ति दिन काठमाडौंमा गणेशमान सिंहले लौरो उठाए पनि जित्छ भन्ने भनाई चर्चित थियो । 

                              नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंह, तस्वीर सौजन्य : मीनरत्न वज्राचार्य
यो अंकमा हामीले पञ्चायतकालमा भएको एउटा चुनाव र गृह प्रशासनले गणना रोक्न गरेको प्रयास कसरी विफल पारियो भन्ने विषयमा तत्कालीन प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको अनुभव प्रकाशन गरेका छौ । संयोगले अहिले गणेशमान सिंहकै बुहारी सिर्जना चुनावी मैदानमा छन् र जारी मत गणनामा लौरो चिन्ह्रले उनलाई निक्कै पछि पारिरहेको छ । 
अन्वेषण टिमले तत्कालीन प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसंग २०७६ मा लगातार तीन दिन कुराकानी गर्ने अवसर पाएको थियो । प्रस्तुत छ श्रेष्ठको अनुभव उहाँकै शव्दमा । 

                                            गणेशमान सिंहका साथ सूर्यप्रसाद श्रेष्ठ

म प्रमुख निर्वाचन आयुक्त थिए । २०४३ को कुरा हो । गाँउ तथा नगरपञ्चायतको चुनाव हुदै थियो । त्यो चुनापमा प्रतिवन्धित नेपाली कांग्रेसका उम्मेद्वारहरु पनि स्वतन्त्र हैसियतमा मैदानमा थिए । पञ्चायतका आउट पोष्ट कव्जा गर्ने रणनीति अन्तर्गत गणेशमान सिंहले विभिन्न स्थानमा आफ्ना कार्यकर्तालाई उम्मेद्वारी दिन लगाएका थिए । 
काठमाडौंको नगर प्रमुखमा कांग्रेसका हरिवोल भट्टराई र पञ्चायत समर्थित रवीचरण श्रेष्ठ प्रतिश्पर्धामा थिए । प्रधानमन्त्री सहित पञ्चहरु रवीचरणलाई जिताउन लागि परेका थिए । चुनाव सकिएर मतगणना चलिरहेको थियो । हरिवोलले जित्ने संकेत देखिएपछि सरकारको दवावमा गणना रोकियो । दुई तीन दिन भैसक्यो, गणना शुरु हुदैन । प्रमुख आयुक्त भएकाले मानिसहरु मलाई प्रश्न गरि रहेका थिए–चुनाव किन गणना हुदैन ? राष्ट्रियसभा गृहमा गणना शुरु गर भनेर दशौ हजार मानिस दिनहु नारा जुलुस गरिरहेका थिए । त्यो अवस्थामा म अप्ठेरोमा परे । मेरो जीवनकै कठिनतम घडि थियो, त्यो । त्यति दवाव मैले कहिल्यै खेप्नु परेको होइन । 
तत्कालीन गृह राज्यमन्त्री प्रकाशबहादुर सिंहले मतगणना नगर्न अत्यधिक दवाव दिइरहेका थिए । उनले काठमाडौंका निर्वाचन अधिकारीलाई भनेका थिए –खर्वदार, प्रमुख आयुक्तले भन्दैमा गणना शुरु गर्लास्, त्यहाँ धेरै यता उता गर्नु छ । मिलाउनु छ ।
सीडीयो हिरण्यलाल रेग्मी मतदान अधिकृत थिए । उनले गृहमन्त्रीको दवाव खेप्न सक्ने कुरै थिएन । मेरो कानमा पनि त्यो कुरा पुग्यो । त्यतिञ्जेल धेरैले मलाई फोनमा भनि सकेका थिए– गणना रोकियो भने यसैलाई आधार वनाएर कांग्रेसीले आन्दोलन गर्ने सम्भावना रहन्छ । नेताहरु विच यस्तै छलफल भैरहेको छ । मैले सीडीओलाई निर्देशन दिए – नरोक्नुस्, गणना गर्नुस् । 
विचारा सीडीयो अप्ठेरोमा परे । निर्णय लिन उनलाई गाह्रो हुने नै भयो । गृह राज्यमन्त्रीको आदेश मान्ने की प्रमुख निर्वाचन आयुक्तको । 
मतगणना अवरुद्ध भएको चार पाँच दिन भैसक्यो । सुचारु हुन सकेको होइन । एकदमै तनावमा थिए म । अन्तमा आफै मतगणनास्थल राष्ट्रियसभा गृह पुगे । 
त्यही दिन गृहराज्यमन्त्रीले भेट्न वोलाए । अप्ठेरो मानि मानि गए । उनी भन्न थाले– हजुरले अलिकति आँखा चिम्लि वक्सियोस् । हामी सबै मिलाई हाल्छौं । त्यहाँ किन छिटो गर्ने भनेर आदेश दिनुहुन्छ । जे गर्नु पर्छ मेरो अंग, प्रहरीले गर्छ । उब्रिएका मतपत्र सबै मिलाएर गरिहाल्छन् । 
उनको कुरा सुनेर म छक्क परे । मैले भने –मन्त्रीजी, कसरी मन्त्री हुनु भयो ? राजाले बनाएको होइन ? राजाले दिएको संविधान अन्तर्गत बनेको होइन ? राजाले तपाईलाई मन्त्री र मलाई प्रमुख आयुक्त वनाई वक्सियो । संविधानमा मेरो काम कर्तव्य अधिकार स्पष्ट छ । स्वतन्त्र छ । कसैको प्रभावमा नपर्ने खालको छ । मन्त्रीज्यूले मलाई बोलाएर यस्तो भन्नु त पद अनुकुलको काम भएन ? हजुरले यस्तो भन्न पनि सुहाउदैन । मैले गर्न पनि सुहाउदैन । जनताले स्वतन्त्र र निष्पक्ष ढंगले मतदान गरेका छन् ।  
गणना गरेर रिजल्ट आउट गर्ने मेरो संवैधानीक दायित्व हो । 
मलाई माफ गर्नुस् । सीडीओलाई पनि दवाव नदिनुस् । यति भनेर म फर्किए । 
दिमागले चच्कर खाइरहेको छ । 
गृह राज्यमन्त्रीले नै मलाई धाँधली गर्न दिनुस् भनिसकेपछि दरवार गुहार्नु वाहेक अर्को विकल्प रहेन । त्यो दिन छुट्टी परेको थियो । सभागृह पुगे । भिड भाड टन्न थियो । छिटो मतगणना शुरु गर भनेर नारावाजी चलिरहेकै छ । म पनि अप्ठेरोमा परे ।

                                                   राजा वीरेन्द्रका साथ सूर्यप्रसाद श्रेष्ठ

गृह राज्यमन्त्रीको आदेश नमानेर मेरो निर्देशन मान्न निर्वाचन अधिकृत रहेका सीडीयोलाई सहज थिएन । 
सिधै राजा वीरेन्द्रसंग कुरा गरेर समस्याको निकास निकाल्ने वाहेक अर्को उपाय देखिएन ।  अन्तिम विकल्प, दरवारमा फोन गरेर सोधे –सिधै सरकारसंग कुरा हुने लाइन छ की छैन ? राजासंग सिधै कुरा गर्न सकिने, डाइरेक्ट लाईन हामीलाई दिदैनथे । एडीसी मार्फत नै जानु पथ्यौ । अनी मैले एडीसीलाई भने–सरकारलाई विन्ती गरिदिनु, कि यो गणना सुचारु नगरेकाले कुनै घटना भयो भने प्रमुख आयुक्त जिम्मेवार हुदैन । 
त्यो खवर पाउना साथ राजाबाट वोलाहट भैहाल्यो । मैले भने सरकार चार पाँच दिन भयो । काठमाडौं नगर पञ्चायतको मतगणना स्थगित छ । गृह राज्यमन्त्रीले अलि हस्तक्षेप गरेका छन् । मेरो कुरा सुनेर सरकार रिसाई वक्सियो । अनी आदेश वक्सियो । जनताले मतदान गरि सकेका छन् । मतगणना गरेर रिजल्ट प्रकाशित गर्नु । 
सरकारबाट तत्काल आदेश दिदै हुकुम भयो । निर्वाचन गराउने यो सम्पूर्ण दायित्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको हो । उसले जे भन्छ । त्यही गर्नु । उसले भन्यो – भने अञ्चलाधिस, सीडीयो जे जे फेर्नु परे पनि फेर्नु । खर्वदार कसैले हस्तक्षेप ग¥यो भने ठिक हुदैन । 
राजाको यस्तो आदेश सुने पछि मन हल्का पारेर फर्किए । दरवारबाट फर्किन नपाउदै राजाको आदेश प्रमुख सचिव रञ्जनराज खनाल मार्फत म कहाँ आई हाल्यो । अनी मैले सीडीयोको मद्तका लागि आयोगबाट एउटा ठूलो टिम पठाए । 
यसरी स्थगित भएको मतगणना सुचारु भयो । कांग्रेस उम्मेद्वार हरिवोल भट्टराई विजयी भए । पञ्चायत समर्थक रवीचरण हारे । 




प्रतिक्रिया


प्रतिक्रिया दिनुहोस्

तपाइँको ई-मेल गोप्य राखिनेछ ।