हाम्रो पत्रकारिता मरेकै हो ?

image

उहाँले भनेको सम्झन्छु ‘टेलिभिजनमा गर्ने पत्रकारलाई सम्पादकको जानकारी वेगर विरामी हुने त के आर्यघाट जाने छुट समेत हुदैन । तिमीहरु मध्ये कोहीलाई भोली आर्यघाट (मृत्य) जानु पर्ने भयो भने पनि कृपया अघिल्लो दिन मलाई जानकारी दिएर मात्र जानु । नत्र तिम्रो विटमा म कसरी अर्को रिपोर्टर पठाउन सक्छु ।’

एक दिन विहान क्याम्पस जादै थिए । बाटोमा एक साथी भेटिए । हामी संगै एउटै क्याम्पस पढेका । दुवै पछि त्यही क्याम्पसमा पढाउने । ति दिन म विहान आरआर क्याम्पसमा पत्रकारिता पढाउथे र दिउसो कान्तिपुर टेलिभिजनका लागि राजनीतिक मामिलामा रिपोटिङ गर्थे । 
मेरा ति मित्रले भने –जगतजी तपाईका समाचार म नियमित हेर्छु । रमाइलो लाग्छ । धेरै मेहनत पनि गर्नु हुन्छ भन्ने कुराको झल्को समाचारबाटै पाइन्छ । तर पनि तपाई एकदमै बायस हुनुहुन्छ ? सन्तुलित रुपमा समाचार बनाए हुदैन । 
मैले सोधे –के भयो साथी त्यस्तो । म कुन समाचारमा बायस भए जस्तो लाग्यो तपाईलाई । सल्लाह दिनु भयो भने आगामी दिनमा मलाई आफ्ना कमी कमजोरी सच्याउन ठूलो सहयोग हुने छ । 
उनले भने –तपाई सधै नेपाली कांग्रेस, त्यस माथि पनि गिरिजाप्रसाद कोइरालाको मात्र समाचार बनाउनुहुन्छ । अरु बिषयमा तपाईका समाचार हेर्न पाइदैन । कहिले कही त अरु अरु विषयमा समाचार बनाए हुदैन ?
मैले भने –बनाउन त हुन्छ । तर टेलिभिजनमा यति धेरै प्रेसर हुन्छ की म आफ्नो विट वाहेक अरुमा केन्द्रीत हुनै पाउदिन । फेरी आफ्नो विटमा हरेक दिन कुनै न कुनै गतिविधि भैरहेकै हुन्छ । त्यसलाई छोडेर अर्को तिर जान अफिसले नै दिदैन । के गर्ने ?’’ 
उनी भन्न थाले ‘तपाई जस्तो पत्रकारले त सबैका समाचार दिनु प-यो नी ।’ 
मैले सोधे –तपाईलाई हाम्रो टेलिभिजनले सन्तुलित समाचार दिए जस्तो लाग्दैन ? 
उनी भन्न थाले –टेलिभिजनले त दिन्छ । तर कांग्रेसको समाचार तपाई मात्र बनाउनुहुन्छ । एमालेको भूवन केसी र राप्रपाको दिपक भट्टराईले मात्र बनाएको देख्छु नी । 
साथीको कुरा सुनेर म छक्क परे । एक छिन लाग्यो हाम्रो पत्रकारिता वारे क्याम्पसमा पढाउने मेरा साथीले त राम्रोसंग बुझेका रहेन छन् भने अरुको हातल के होला ? 
अनी मैले सोधे । ए साथी तपाई क्याम्पसमा कुन विषय पढाउनु हुन्छ ? 
उनले भने –भूगोल । 
मैले भने –त्यसो भए आज देखि गणित पनि पढाउनुस् । 
उनी भन्न थाले –हैन तपाई पनि मजाक गर्नु हुन्छ यार । क्याम्पसले भूगोल पढाउने भनेर नियुक्ति दिएको छ । त्यसैको डिग्रि लिएको छु । कसरी पढाउन सक्छु यार गणित । 
मैले भने – हो कुरा त्यही छ, साथी । मलाई मेरो टेलिभिजनले नेपाली कांग्रेस विट दियो, झण्डै १० वर्ष त गिरिजाप्रसाद कोइरालाको मात्र समाचार कभर गर्ने जिम्मेवारी पाए, अव भन्नस् त म कसरी अरु विषयमा नियमित रिपोटिङ गर्न सक्छु ? 
मेरा ति मित्र छक्क परे । हैन, तपाईहरुकोमा त्यस्तो छ है । मलाई त थाहै थिएन । आजसम्म पनि तपाई जस्तो बायस, कांग्रेसको मात्र समाचार गर्ने पत्रकार कमै छन् भन्ने लागेको थियो, कुरा त वेग्लै पो रहेछ । मलाई यति कुरा बुझाई दिनु भएकोमा धन्यवाद । 
यो त मैले भण्डै डेढ दशक पत्रकारिता गरि सकेकपछिको कुरा हो । 
काम शुरु गर्दाका दिन सम्झिदा झनै रोमाञ्चित हुन्छ । आफैलाई अचम्म लाग्छ । हामी कति छिटो त्यो युगबाट यहाँसम्म आई पुग्यौ भनेर । 
साप्ताहिक पत्रिकाको बोलवाला चलिरहदा मैले पत्रकारितामा कखरा शुरु गरे । गोरखापत्र वाहेक नीजि क्षेत्रमा कान्तिपुर, हिमालय टाइम्स, आजको समाचार पत्र जस्ता दैनिक पत्रिकाले भर्खर भर्खर प्रकाशन शुरु गरेका थिए ।
एक प्रकारले भन्ने हो भने पञ्चायती व्यवस्था विरुद्व जनमत बनाउने काममा नेपालका साप्ताहिक पत्रिकाको सर्वाधिक योगदान थियो । त्यसैले पनि साप्ताहिक पढ्न नपाएको दिन त नुन नहालेको खल्लो तरकारी खाए जस्तो हुन्छ भन्ने पाठकहरु प्रसस्त भेटिन्थे । 
एका विहानै सडक पेटीमा बेच्न राखिएका सबै जसो पत्रिका उठेरै पढि सक्ने अनी एउटा किनेर फर्किने बुद्धिजीवीको कमी थिएन । हामी जस्ता विद्यार्थी त सबै पत्रिका खार खुर पढेर  पनि रित्तो हात फकिन्थ्यौ । 
त्यो वेलाको चर्चित साप्ताहिक विमर्शका सम्पादक हरिहर विरही सुनाउनु हुन्थ्यो ‘कुनै समय थियो, हामी तीन दिनसम्म लेटर प्रेसमा पत्रिका छापि रहन्थ्यौ । पहिलो दिन छापिएका प्रति काठमाडौंमा वितरण गरिन्थ्यो । दोस्रो दिन छापिएका पत्रिका हवाई जहाज र वसबाट राजधानी वाहिरका ठूला शहरमा पठाइन्थ्यो, तेस्रो दिन छापिएको पत्रिका हुलाक मार्फत देश विदेशका ग्राहकलाई पठाइन्थ्यो ।’
मैले काम गर्दासम्म पनि विमर्शको आकर्षण घटेको थिएन । दैनिक पत्रिकामा काम गर्ने साथीहरुको तुलनामा हाम्रो सेवा सुविधा पनि कम थिएन । 
तर राजनीतिक पृष्ठभूमिबाट आएको पुस्ता र विश्वविद्यालयमा पत्रकारिता पढेर आएको हाम्रो पुस्ता विच वुझाईमा ठूलो खाडल भने अवश्य थियो । 
सम्पादकको भूमिकामा रहेका कतिपय हाम्रा दाईहरु भन्नु हुन्थ्यो ए भाई –यो पत्रकारिता गर्ने चिज हो । आरआर क्याम्पस तिर हल्लिएर पढ्दैमा हुने कुरा होइन । पत्रकारिता गर्ने हो भने लेख्न सक्निु पर्छ । हेर त आज सम्पादकको भूमिकामा रहेका कति मान्छे पत्रकारिता पढेर आएका छन् । तिम्रो क्याम्पसमा पढ्नेहरु प्रायः रिर्पोटरमै सिमित छन् । 
दाईहरुका मुखबाट दिनहु सुन्न पाइन्थ्यो । हामी त प्रजातन्त्र ल्याउने मिसनका लागि पत्रकारितामा आएका हौ । त्यसैले हेर पहिला पार्टीको कार्यकर्ता अनी पत्रकार । पार्टीको सदस्यता लिएपछि प्रजातन्त्रको पक्षमा माहौल बनाउनका लागि पत्रकार बने । त्यसैले त पत्रकार होस् की पार्टी कार्यकर्ता भनेर कसैले सोध्यो भने गर्भका साथ भनिदिन्छु पहिला पार्टीको सदस्य हु । अनी मात्र पत्रकार ।’ 
नेपाली पत्रकारिता भित्रका यि दुई पुस्ता एक साथ काम गर्दै थिए । दाईहरु पहिला राजनीति अनी मात्र पत्रकारिता भन्थे । हामी चाँही पहिला पत्रकारिता, अनी मात्र राजनीति भन्ने मान्यता राख्थ्यौ । 
विस्तारै नेपाली पत्रकारिताले उद्योगको रुप लिदै थियो । २०५० को दशकमा नीजि क्षेत्रमा दैनिक पत्रिका, रेडियो र टेलिभिजन स्थापना हुदै गए । २०६० सम्म आई पुग्दा साप्ताहिक पत्रिकाको युगले ओरालो यात्रा शुरु ग-यो । यो विन्दुसम्म आई पुग्दा साप्ताहिक विमर्श र रेडियो नेपालमा एक साथ काम गरिरहेको म कान्तिपुर टेलिभिजन तिर लागे । 
त्यहाँ साप्ताहिककै स्कूलिङ भएका तर विश्विद्यालयमा पत्रकारिता पढि रहका साथीहरुको वाहुल्यता थियो । व्यवशायीक पत्रकारिताको शुरुवातसंगै पढेको जनशक्तिको महत्व बढ्दै थियो ।
त्यो वेलासम्म आई पुग्दा ठूला मिडियामा पत्रकारका लागि विज्ञापन गर्दा न्युनतम योग्यता पत्रकारितामा बीए पास भन्न कुरा स्थापित भैसकेको थियो । 
कान्तिपुर टेलिभिजनमा पहिलो पटक प्रवेश गर्दाको क्षण मेरो मन मस्तिष्कमा अझै आई रहन्छ । त्यस दिन शुरु मै समाचार प्रमुख (क्याम्पसका मेरा गुरु) विनोद भट्टराईले भन्नु भएको थियो ‘ल तिमीहरु अव टेलिभिजन पत्रकारितामा पहिलो व्यवशायिक पुस्ता हुदै छौ । खुव मेहनत गर । टेलिभिजन पत्रकारिता आफैमा दुनियाँको सबै भन्दा शक्तिशाली र मेहनत गर्नु पर्ने विधा हो । यहाँ एक्लैको कुनै मूल्य छैन । सबै कुरा टिममा हुन्छ । काम पनि टिमले गर्ने हो । जस अप जस पनि टिम नै हुन्छ ।’
त्यही बेला उहाँले भनेको सम्झन्छु ‘टेलिभिजनमा गर्ने पत्रकारलाई सम्पादकको जानकारी वेगर विरामी हुने त के आर्यघाट जाने छुट समेत हुदैन । तिमीहरु मध्ये कोहीलाई भोली आर्यघाट (मृत्य) जानु पर्ने भयो भने पनि कृपया अघिल्लो दिन मलाई जानकारी दिएर मात्र जानु । नत्र तिम्रो विटमा म कसरी अर्को रिपोर्टर पठाउन सक्छु ।’
मेरो टेलिभिजन पत्रकारिताका शुरुवाती दिन कान्तिपुर टेलिभिजनको बेलका ७ र ८ वजेको वुलेटिनका लागि रिपोटिङ गर्नेमै केन्द्रीत हुन्थ्यो । लाईभ प्रशारणको कुरा प्राविधिक रुपमा जटिल र महंगो थियो । 
राजनीतिक दलहरुको आन्दोलन र तिनमा भएको प्रहरी दमनका दृष्य देखाउने होडवाजी टेलिभिजन च्यानलहरुबिच लामो समय चलिरह्यो । ति लिन डेस्कमा बस्ने साथीहरुको मानसिकता नै थियो ‘राजनीतिक समाचार र नेताका भाषणलाई उच्च प्राथमिकता दिने । विकास निर्माणका समाचारलाई कम प्राथमिकतामा राखे भैहाल्छ ।’
नेपाल टेलिभिजनको समाचार राजा रानी, प्रधानमन्त्री र मन्त्रीहरुका अनुहार देखाउदैमा सकिन्थ्यो । कान्तिपुरले राजनीतिक दलका नेता र तिनका कार्यकर्ता अनी आम जनताको अनुहार देखाउन पायो । जसका कारण छोटो अवधिमै स्थापित हुन पनि सक्यो । 

मैले टेलिभिजन पत्रकारिता गर्दा (२०५९ चैत्र देखि २०७६) नेपालको राजनीतिमा कैयौं ऐतिहासिक परिवर्तनका घटना भए । माओवादीको शसस्त्र विद्रोह, राजा ज्ञानेन्द्रवाट जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्त, २०६२–०६३ को जनआन्दोलन, शान्ति प्रकृया, दुई दुई वटा संविधानसभा निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा, संविधानसभाबाट संविधान अनी संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचन । यबै युगान्तकारी घटना हुदाँ समाचार संकलन र प्रशोधनमा प्रत्यक्ष संलग्न हुने अवसर मलाई पनि मिल्यो । 
मिसन (राजनीतिक) पत्रकारिताको ओरालो यात्रा र व्यवसायिक मिडियाहरुमा शुरु भएको विट र व्युरोको अभ्यासलाई नजिकबाट हेर्ने अवसर हाम्रो पुस्तालाई मिल्यो । 
यस विच पत्रकारिताले व्यवशायीक फड्को मा-यो । विभिन्न विधामा विज्ञ पत्रकारहरु जन्मिए । मिडिया हाउसहरु विच योग्यता र क्षमताको आधारमा जनशक्ति भर्ना गर्ने प्रतिश्पर्धा शुरु भयो । मिडियाका उपभोक्तालाई समेत धेरै समाग्री पढेर परिस्थितीको विश्लेषण गर्ने सुविधा प्राप्त हुन थाल्यो । 
प्राध्यापक कृष्ण खनाल भन्ने गर्नु हुन्छ –जगतजी म मिडियामा आएका समाचार र विचार पढ्छु । अनी त्यसबाट लिनु पर्ने सन्देश के हो भन्ने चाही आफै तय गर्छु ।’
मिडियामा वहुलवादले पाठक, दर्शक श्रोताका लागि छनौट गर्ने विकल्प खुल्ला त गरिदिन्छ तर अझै पनि नेपालका बुद्धिजीवीहरुको विचारमा –मिडियामा राजनीतिक समाचार र विचार जति पढ्यो उति कन्फ्युजन वढ्छ । बरु नपढ्दा आनन्द हुन्छ ।’
पछिल्लो दशकयता सूचना र प्रविधिका क्षेत्रमा भएको आमूल परिवर्तनसंगै अनलाइन र मल्टि मिडियाले परम्परागत सञ्चार माध्यमको शक्ति माथि धावा वोलि रहेको छ । राजनीतिक मिसन कमजोर हुदै गर्दा पत्रकारिता आर्थिक मिसन तर्फ अग्रसर हुदैछ । 
हिजो मैले पत्रकारिता शुरु गर्दा साताको एक दिन समाचार पढ्ने जमाना थियो । दल र गुटै पिच्छेका आ आफ्ना छुट्टा छुट्टै पत्रिका थिए । आफ्नो आङको भैसी नदेख्ने अर्काको आङको जुम्रा देख्ने नेपाली उखानकै शैलीमा एक अर्का पक्ष माथि आक्रमण र घोचपेच गरिएका समाचार र विचार पढ्न पाइन्थ्यो । 
आफू विरुद्ध कतै समाचार आयो भने ‘नेताहरुका लामा लामा वक्तव्य आई हाल्थे । तिनको भाषा प्राय यस्तो हुन्थ्यो–कपोकल्पित, भ्रामक, अतिरञ्जित र दुरासयपूर्ण समाचार प्रकाशित भएकोमा खेद छ । 
अव पत्रकारिता र राजनीतिको वाटो फेरिएको छ । पत्रकारलाई तत्काल सूचना प्रवाह गर्न नेतासंग सम्वन्ध आवश्यक छ भने नेतालाई आफ्ना कुरा जनतासम्म पु-याउन पत्रकारको सहयोग पर्छ, यही विन्दुमा दुई पक्ष विच सहकार्य भैरहेको हुन्छ । 
नत्र एउटा नेता र पत्रकार विचको सम्वन्ध कहिल्यै दिर्घकालसम्म जान सक्दैन, किन भने नेताको प्राथमिकता साम, दाम, दण्ड, भेदको नीति अवलम्वन गरेर भए पनि सत्ता र शक्तिमा पुग्ने हुन्छ भने पत्रकारले सधै सत्यको खोजी गर्नु पर्छ । 
अव चाही सूचना प्रविधि क्षेत्रमा भएको क्रान्तिले नेता र पत्रकारको सम्वन्धलाई कुन रुपमा परिभाषित गर्ने हो भनेर कुर्नु वाहेक अर्को विकल्प छैन । मुलुक संघीयतामा गएसंगै पत्रकारितामा अनलाइन –युट्युव र न्यूमिडियाको शसक्त उपस्थिती र प्रभाव बढ्दो छ । 
कनै समय राजनीतिक दल र गुटले मिडिया चलाउने गर्थे अव एक पत्रकार एक अनलाईनको अवस्था बन्दैछ । 
अर्को तिर आज कुनै नेताले जनता वा मतदाता समक्ष आफ्नो सन्देश पठाउनु प-यो भने मिडियाको भर पर्ने पर्ने  अवस्था छैन । सामाजिक सञ्जालमा पोष्ट गरिदिए पुग्छ । मिडियाले कति स्पेस र समय दिने हो ? कुन अंश दिन्छ, कुन सेन्सर गर्छ भन्ने डर पनि रहेन । 
पत्रकार पनि सामाजिक सञ्जालमा पोष्ट भएका नेताका विचार वा प्रतिकृयाबाट समाचार बनाई रहेका छन् । गाउँ गाउँमा सिंहदरवारको नाराले राजनीतिक बजार पिटेका बेला, नेताका हात हातमा मोवाइल अनी सामाजिक सञ्जाल नै मिडिया भन्ने अवधारणा विकसित हुदैछ । अनी पत्रकारका ल्यापटप मै अफिस र सञ्चार माध्यम बनेका छन् । प्रविधिले ल्याएको यो क्रान्तिकारी परिवर्तन केही वर्ष अघिसम्म आम मानिसका लागि कल्पना वाहिरको कुरा थियो । 
धेरै साथीहरु भन्न थालेका छन् –नेपालमा पत्रकारिता मरि सक्यो । मालिकको घोडा नभै समाचार कक्षको नेतृत्वमा पुग्ने दिन सकिए ।’ मलाई लाग्छ, पत्रकारिताको दिन सकिने छैन । बरु यसले नयाँ मार्ग समाउने छ । 
 




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |