२००७ सालको क्रान्ति : बीपी अर्थात वेकर र जीबी याकथुम्बा

image

तारिणीले लेखेका छन्, ‘बेकर (बीपी) कति चिन्तित हुनुहुन्छ भन्ने मैले बुझिहालेँ । जब कुनै उपाय नदेखेर उहाँ घबडाउनुहुन्छ, मस्तसँग सुतिदिनुहुन्छ ।

क्रान्तिको बेला थियो । कमान्डर ‘बेकर’ रघुपति जुटमिलस्थित हेडक्वार्टरबाट देशभर खटिएका मुक्तिसेनालाई वायरलेस रेडियोमार्फत निर्देशन दिन व्यस्त थिए । हेडक्वार्टरतिरै लम्किँदै थिए, क्रान्तिका योद्धा तारिणीप्रसाद कोइराला । मोर्चाबाट फर्किएका उनलाई गोलीगट्ठा जुटाउने चटारो थियाे । त्यसका लागि भेट्नु थियो बेकरलाई । अर्थात् बीपीलाई । क्रान्तिका बेला बीपीको नाम थियो– बेकर ।

तारिणीले त्यो क्षणलाई ‘रेडियो नेपालको सामाजिक इतिहास’ किताबमा प्रकाशित एउटा लेखमा समेटेका छन्– ‘मोर्चाबाट फर्किएर दिउँसो १२ बजेतिर गोलीगट्ठा लिन जाने क्रममा म हाम्रो हेडक्वार्टरको लामो बरन्डाबाट अघि बढिरहेको थिएँ । वायरलेस भएको कोठामा लेखिएको थियो– लापरबाहीसाथ कुरा गर्नाले शत्रु बलियो हुन्छ । बोल्नुभन्दा पहिले सोच्नुहोस् ।’

तारिणी सरासर ‘वार कमान्ड’ कक्षमा पुगे जहाँ मुक्तिसेनाका जवान स्टेनगनका साथ तयारी अवस्थामा थिए ।

तारिणी : बेकर (बीपी) हुनुहुन्छ ?

मुक्तिसेना : वायरलेसबाट अर्डर दिन व्यस्त हुनुहुन्छ 

गोली सकिएर मुक्तिसेनामा हाहाकार मच्चिएको थियो त्यति बेला । कुन बेला शत्रुपक्षले आक्रमण गरेर मार्ने हो, सबै त्रासमा थिए ।

केही बेरको प्रतीक्षापछि बेकर बाहिरिए ।

तारिणी : हाम्रा सिपाहीसँग गोली सकिएको छ 

बेकर : सिपाहीसँग अहिले कति जति गोली होला ?

तारिणी : गोली त छँदै छैन । कसैसँग दुई, कसैसँग तीन थान होल, बस् त्यत्ति 

बेकर : भोलि दिउँसो नभई गोलीको व्यवस्था सम्भव छैन । हाम्रा सिपाहीले शत्रुको मोर्चालाई घेरेर मात्र बसून् । एक गोली फायर नगरून् । भोलिसम्ममा गोलीको व्यवस्था हुन्छ । ल, अब तिमी जाऊ । म सुत्छु 

यस प्रसंगमा तारिणीले लेखेका छन्, ‘बेकर (बीपी) कति चिन्तित हुनुहुन्छ भन्ने मैले बुझिहालेँ । जब कुनै उपाय नदेखेर उहाँ घबडाउनुहुन्छ, मस्तसँग सुतिदिनुहुन्छ ।’

तारिणी निस्कने बेला मुक्तिसेनाका कमान्डर जीबी याक्थुम्बा ढोकैमा भेटिए । उनी पनि बेकरसँग गोलीकै विषयमा कुरा गर्न चाहन्थे । तारिणीबाट बेकरको मनोदशा बुझिहाले । म अरू तनाब दिन चाहन्नँ भन्दै त्यहीँबाट फनक्क फर्किए याक्थुम्बा ।

राष्ट्रिय सेना बडाहाकिमको दुईतले निवासमै केन्द्रित थियो । निवासवरिपरि १० फिट अग्लो पर्खालमात्र थिएन, चारैतर्फ बालुवाका बोरा राखेर ‘सेन्ट्री’ बस्ने पोस्टसमेत बनाइएको थियो । जहाँ सेनाका लागि २/३ महिना पुग्ने रसदपानीको प्रबन्ध थियो ।

बीपीले भनेका छन्, ‘पूरा बजार हाम्रो कब्जामा छ, पूरा जिल्ला हाम्रो कब्जामा छ । तर बडाहाकिमको निवास कब्जा गर्न सकिएको छैन ।’

यही विषयलाई लिएर बीपी र सुवर्ण चिन्तित थिए ।

त्यति नै बेला वायरलेसमा सैन्य कमान्डर याक्थुम्बाको बोली सुनियो, ‘अब राति उनीहरूले आक्रमण गरे, हाम्रो क्षेत्रमा पसे भने त हामी टिक्न सक्दैनौँ, हामीसँग गोलीगट्ठा छैन ।’

त्यसपछि शीर्ष नेतृतहमा भएको छलफलको निष्कर्ष यस्तो थियो–

पहिलो : बडाहाकिम निवासको चारैपट्टिका पर्खालमा जिलेटिन फिट गरी फ्युजद्वारा विस्फोट गराउने 

दोस्रो : हवाई जहाजबाट बम खसाल्ने 

तेस्रो : एउटा शक्तिशाली तोप बनाई पर्खाल नष्ट गर्ने 

चौथो : ट्याङ्कको व्यवस्था गरी पर्खाल ध्वस्त बनाउने 

यी विकल्पमध्ये तीनवटामा प्रयास त गरियो तर कार्यान्वयन सहज थिएन । त्यसैले सफल पनि भएनन् ।

अनि, चारैतिरबाट बडाहाकिम निवासलाई घेरा हाली आत्मसमर्पण गराउने योजना बन्यो । विद्रोहीले बडाहाकिमलाई हतियार फालेर आत्मसमर्पण गर्न माइकबाट आग्रह गरे । दुवैतर्फबाट गोलीको पर्रा छुट्न थाल्यो ।

बीपी, सुवर्ण र तारिणी नेपाल बैंकको छतबाट युद्ध नियाल्दै थिए । यस प्रसंगमा बीपीले भनेका छन्, ‘ब्रेनगनको गोलीबाट त्यो मुडेराका प्लास्टर खसिरहेका छन् । त्यसको धूलो खसिरहेको छ, हाम्रो टाउकोमाथि ।’

उता जमिनबाट याक्थुम्बाको नेतृत्वमा गिरिजाप्रसाद कोइरालाहरू बडाहाकिम निवासतर्फ गोली चलाइरहेका थिए । यस प्रसंगमा पूर्वप्रधानमन्त्री गिरिजाले लेखकसँग भनेका थिए, ‘मैले आफैं पनि बन्दुक चलाएँ । कानै नजिकबाट गोली आउन थालेपछि चौरमा थुपारिएको मुडामा आड लिएर बालबाल बचेँ ।’

सरकारी पक्षले मुक्तिसेनाका एक जवानको खुट्टामा डोरीले बाँधेर रूखमा टाँगिदियो । केही दिन लास त्यसै गरी झुन्ड्याएर राखियो । यस प्रसंगमा याक्थुम्बाले पत्नी इन्दिरालाई सुनाएका रहेछन्, ‘त्यस घटनापछि मलाई एकदमै झोंक चल्यो । आफ्नो साथीको मृत शरीर चीलले लुछिरहेको छ । हामी केही गर्न सक्ने अवस्थामा छैनौँ । त्यसपछि सिधै ‘वार हेडक्वार्टर’ आएँ । मेकानिक्स फत्तेबहादुर नेपालीलाई भनेर एउटा ट्य्राक्टरलाई फलामको पाताले बेरी ट्याङ्क बनाउन लगाएँ । त्यसमा गोली चलाएँ, प्वाल पर्‍यो । फेरि ट्य्राक्टरको बाहिरी तह फलामको पाताले बेर्न लगाएर गोली हानेँ । प्वाल परेन । युद्धमोर्चामा जानुअघि कालीको मन्दिरमा पूजा गरेँ । रक्सी र नरिवल चढाएँ । रक्सी खाँदैनथेँ, त्यस दिन खाइदिएँ । अनि बडाहाकिमको निवासमा आक्रमण गर्न मुक्तिसेनाको टोली लिएर गएँ ।’

ट्याङ्क लिएर याक्थुम्बाको नेतृत्वमा मुक्तिसेना बडाहाकिमको घरतिर लाग्यो । सरकारी सेना एकसुरले ट्याङ्कमा गोली चलाउँदै थियो । ट्याङ्क पर्खाल फोरेर निवासभित्रै पुग्यो । याक्थुम्बाले ‘माइकिङ’ गरे– बडाहाकिम साहेब, मुक्तिसेना तपाईंको निवासको कम्पाउन्डमा छ । हतियार फालेर आत्मसमर्पण गर्नुस् ।

बडाहाकिम उत्तमविक्रम राणाले जवाफ दिए, ‘हाम्रो सुरक्षाको ग्यारेन्टी गर्नुस्, म आत्मसमर्पण गर्न तयार छु ।’

बडाहाकिमले घरको माथिल्लो तलाबाट सेतो कपडा देखाए । अनि याक्थुम्बा नेतृत्वको टोली घरतिर दौडन लाग्यो ।

त्यस दिनको घटनाबारे पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले लेखकसँग सुनाएका थिए, ‘म पनि याक्थुम्बाको पछिपछि दौडिँदै बडाहाकिम निवासभित्रै पुगेँ । उताबाट गोली आयो । बालबाल म बचेँ । अलिकति मात्र ढिलो गरेको भए, त्यहीँ मारिन्थेँ ।’

त्यस घटनाबारे बीपीले आत्मवृत्तान्तमा लेखेका छन्, ‘म दौडिँदै पुगेँ । याक्थुम्बा एकदम भयानक किसिमले दौडिँदै त्यहाँ पुगेका थिए । क्रोधमा थिए, के गर्लान्, के गर्लान् भन्ने लाग्यो । सेतो झन्डा देखाएपछि त तिनीहरूलाई हामीले संरक्षण दिनुपर्ने, हतारहतार घरको माथिल्लो तलामा उक्लिएँ ।’

बडाहाकिमका श्रीमती र ३/४ जना छोरीहरू डरले थर्थर काँपेर बसिरहेका थिए । याक्थुम्बाचाहिँ रिसले आगो हुँदै नकाटी छाड्दिनँ भनिरहेका थिए । उनी बडाहाकिमलाई भन्दै थिए, ‘तीन सेकेन्डभित्र तल बैठकमा नआए म स्वयम् माथि आइपुग्नेछु ।’

सेतो कमिज–सुरुवाल लगाएका बडाहाकिम दयाको भिख माग्दै बैठककक्षमा देखापरे । टेबलमा ह्विस्की र केही ग्लास पनि थिए ।

काँधमा राइफल र हातमा नाङ्गो खुकुरी समाएका याक्थुम्बा आवेगमा भन्दै थिए, ‘म तँलाई नकाटी छोड्दिनँ ।’

त्यो वातावरणले बीपीलाई एकदमै चिन्तित बनायो । कतै याक्थुम्बाले बडाहाकिमलाई मारिहाल्छन् कि भनेर उनी रिसाए । ‘आत्मसमर्पण गरेको मानिसलाई काट्ने ?’ – बीपीले याक्थुम्बालाई धकेलेर बडाहाकिमभन्दा अलि पर पुर्‍याइदिए ।

नाङ्गो खुकुरी नचाउँदै याक्थुम्बा भनिरहेकै थिए, ‘नकाटी छोड्दिनँ ।’

यस प्रसंगमा बीपीले आत्मवृत्तान्तमा भनेका छन्, ‘याक्थुम्बाले रिसमा जोसिएर त्यहाँको एउटा खम्बामा हानेको खुकरी त्यहीँ अड्कियो र थरर्र हल्लिन थाल्यो । त्यति क्रोधमा आएको थियो याक्थुम्बा ।’

...
 

राणाशासनविरुद्धको क्रान्तिका लागि नेपाली कांग्रेसले बनाएको जनमुक्ति सेनाका कमान्डर जीबी याक्थुम्बाको नाम आउनेबित्तिकै मेरा मनमा छुट्टै सम्मानभाव जाग्छ । बीपीको आत्मवृत्तान्त पढेयताका दिनमा राणाशासन अन्त्य गर्ने एक महान् क्रान्तिकारी योद्धाका रूपमा उनी मेरो मनमस्तिष्कमा घुमिरहन्छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनअघि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको मुखबाट नेपालको प्रजातान्त्रिक आन्दोलनका थुप्रै कथा सुन्ने मौका पाएँ । २००७ सालको क्रान्तिमा ‘पोलिटिकल कमिसार’को हैसियतले युद्धमोर्चामा खटिएका कोइरालाले याक्थुम्बाको क्रान्तिकारी व्यक्तित्व र योगदानका कथा रोचक ढङ्गबाट सुनाएको सम्झिँदा अझै जीउ सिरिङ्ग हुन्छ । उनीप्रति उच्च सम्मानभाव जागृत हुन्छ ।

तर २००७ सालको क्रान्ति र मुक्तिसेनाका योद्धाहरूमा केन्द्रित रहेर अनुसन्धान नभएकाले याक्थुम्बाबारे मुस्किलले केही सामग्री मात्र पाइन्छन् ।

मुक्तिसेना हुँदै नेपाल प्रहरीमा याक्थुम्बाको मातहत रहेर काम गरेका पूर्वएसपी श्यामकुमार तामाङको निधनसँगै त्यो क्रान्ति देख्ने, भोग्ने पुस्ता सकिएको छ ।

यस्तै प्रसंगमा कुरा हुँदा एक दिन देवी घिमिरेले याक्थुम्बा परिवार ललितपुर, झम्सीखेलमा बस्ने गरेको सुनाउनुभयो । मलाई इन्दिरा याक्थुम्बालाई कुन बेला भेटौँ र कसरी भेटौँ भन्ने लागिरहेको थियो । कोरोना महामारीका कारण भेट्न सकिरहेको थिइनँ ।

अघिल्लो साता श्रीमती याक्थुम्बालाई भेट्नु अघिसम्म ममा एकप्रकारको उत्साह थियो । तर त्यो खुसी धेरै बेर टिक्न सकेन ।

उनका कुरा सुन्नासाथ दुःखी हुन पुगेँ । उनले भनिन्, ‘क्रान्तिमा त्यत्रो योगदान गर्नुभयो । अहिले कहीँ–कतै उहाँको नामनिसाना देख्दिनँ । श्रीमान्‌को नाम नै मेटिने भयो भन्ने चिन्ताले सताइरहन्छ ।’

मैले सोधें, ‘उहासँग सम्बन्धित केही कागजपत्र छन् कि ?’

त्यसपछिको वार्तालाप झनै पीडादायी भयो । याक्थुम्बाले भनिन्, ‘देश, प्रजातन्त्र र क्रान्तिका उपलब्धिको रक्षामा केन्द्रित हुनुपरेकाले घरपरिवार हेर्न पाउनुभएन । प्रथम पत्नीसँग वियोगको सम्बन्ध बन्यो । उहाँ बर्माको महावाणिज्यदूत भएर आएपछि सन् १९६० मा मसँग बिहे भयो । भर्खर कक्षा नौमा पढ्दै थिएँ । साइकल चढेर स्कुल जान रमाउने उमेर थियो । नाताले श्रीमान्–श्रीमती भयौँ ।तर हामीबीच उमेर अन्तर धेरै थियो । ती दिन राजनीति, नेपालको क्रान्ति र त्यसमा उहाँको योगदानबारे न मलाई केही थाहा थियो, न त जान्ने–सुन्ने रुचि नै । त्यसमाथि म बर्मामा जन्मिएकी । नेपाली बुझ्दिनथेँ । त्यसपछि ल्हासाको महावाणिज्यदूत हुनुभयो । फेरि दक्षिणपूर्वी एसिया हेर्ने गरी राजदूत हुनुभयो । क्यान्सरले ग्रस्त भएपछि ५० वर्षको उमेरमा निधन भइहाल्यो । यसरी उहाँले श्रीमती र परिवारलाई आफ्नो संघर्ष, २००७ सालको जनक्रान्ति र त्यसमा खेलेको भूमिकाबारे सुनाउने वातावरण नै पाउनुभएन ।’

उनी भन्दै गइन्, ‘भर्खर छोरा निराकार जन्मिएको थियो । पढ्ने उमेरमा बिहे भयो । बिहे गर्ने उमेर (२६ वर्ष) मा विधवा भइहालेँ । जीवनलाई फर्केर हेर्छु, आफैंलाई अचम्म लाग्छ । मैले कसरी पार लगाएँ ? नाबालक छोराको भविष्य सम्झिएँ । अनि श्रीमान्‌कै नाममा ज्ञानोदय बालबाटिका स्कुल खोलेँ, त्यसलाई स्थापित गर्दागर्दै मेरो जीवनले डाँडा काटिसक्यो ।’

याक्थुम्बाले भारी मनका साथ सुनाइन्, ‘घरमा उहाँका कागजपत्रले भरिएको एउटा सुटकेस थियो । मातृकाप्रसाद कोइराला, बीपी कोइराला, सुवर्णशमशेर राणा र पूर्णसिंह खवासलगायतका चिठीपत्र देखेकी थिएँ त्यसमा । मैले एक–दुई पत्र हेरेको पनि हो । नेपाली राम्ररी नबुझ्ने भएकाले तिनमा के लेखिएको थियो प्रस्ट भन्न सक्ने अवस्थामा छैन । पूरै पढ्न पनि सकिनँ । धेरै चिठी नीलो कागजमा लेखिएका थिए । ती प्रायः क्रान्तिकालमा लेखिएका हुन् जस्तो लाग्छ । बीचमा केही वर्ष म पढ्नका लागि कलकत्ता गएँ । फर्किएर आउँदा ती ऐतिहासिक कागजात कता कसरी हराए, थाहा भएन । सुरुमा तिनको महत्त्व बुझिनँ । अहिले आएर थकथक लाग्छ । ती चिठी जोगाउन नसकेकोमा पछुताउनुबाहेक अब मसँग अर्को विकल्प रहेन ।’

...
 

विराटनगर कब्जा भएपछि भारतको मध्यस्थतामा राणा, राजा र नेपाली कांग्रेसबीच त्रिपक्षीय सम्झौता भयो । गद्दी छोडेर भारतको शरणमा गएका त्रिभुवनलाई राजा मान्ने, राणा–कांग्रेस संयुक्त सरकार बनाउने र दुई वर्षभित्र संविधानसभा निर्वाचन गरी संविधान बनाउने सहमति भएपछि एक सय चार वर्षसम्म चलेको राणाशाही अन्त्य भयो ।

२००७ फागुन ३ गते बीपी, मातृका र सुवर्णसँगै पूर्णसिंह खवास, जीबी याक्थुम्बालगायत मुक्तिसेनाका कमान्डर सवार अरू दुई जहाज पनि काठमाडौँ हवाई मैदान ओर्लिए । ‘कांग्रेसका नेताहरू हवाई जहाजबाट गौचर विमानघाटमा ओर्लंदा उनीहरूको भव्य स्वागत भयो । ‘वीर विश्वेश्वर जिन्दावाद’को नाराले आकाश गुन्जियो ।

प्रजातन्त्र ल्याउन ज्यानको बाजी थाप्ने मुक्तिसेनालाई रक्षा दलमा परिणत गरियो । त्यही फोर्स पछि नेपाल प्रहरीमा रूपान्तरण भयो ।

बीपीले भनेका छन्, ‘क्रान्ति समाप्त भएर हामी सत्तामा पुग्दासमेत कांग्रेससँग एक हजारजति हतियार थिए । त्यो मैले लुकाएर राखेको थिएँ । याक्थुम्बाले अकस्मात् मसँग आएर सोधे, ‘अब यसलाई के गर्ने ?’ मैले भनेँ, ‘बुझाइदेऊ । अब हामी यो राख्न सक्तैनौँ ।’

त्यस दिनदेखि कांग्रेस कमजोर भइसकेको थियो । राजा कांग्रेसमाथि हाबी भए । २०११ सालमा राजा त्रिभुवनको निधन भयो । त्यसपछि शासनसत्तामा आएका महेन्द्रले नेपाली कांग्रेसलाई मुख्य प्रतिद्वन्द्वीका रूपमा हेर्न थालिसकेका थिए । कांग्रेसलाई प्रहार गर्न मुक्तिसेनालाई कमजोर बनाउने रणनीतिमा उनी थिए । मुक्तिसेनाबाट नेपाल प्रहरीको आईजीपी हुने पहिलो व्यक्ति याक्थुम्बा थिए ।

२०१२ भदौ १० गते मध्यरातमा राष्ट्र्रिय सेनाको एक कम्पनीले आईजीपी याक्थुम्बा बसेको सरकारी निवास श्रीमहललाई चारैतिरबाट घेराउ गरी उनलाई राजीनामा गर्न बाध्य पार्‍यो । उनलाई त्रिपुरेश्वरस्थित सरकारी गेस्टहाउसमा बन्दी बनाइयो ।

राजा महेन्द्रलाई परेको थियो, ‘याक्थुम्बाले प्रहरीमा विद्रोह गराएर राजतन्त्रलाई अप्ठेरोमा पार्न सक्छ ।’ त्यही त्रासमा आफूमाथि राजाले प्रतिशोध साधेको याक्थुम्बाले श्रीमती इन्दिरालाई सुनाएका थिए ।

याक्थुम्बालाई थुन्ने राजा महेन्द्रको कदम उनकै आमाहरू (राजा त्रिभुवनका श्रीमतीहरू) लाई मन परेको थिएन । यो प्रसंग मुक्तिसेनाबाट नेपाल प्रहरीमा समावेश गरिएका पूर्वएसपी श्याम तामाङले आफ्नो पुस्तक ‘जनमुक्ति सेना’को नलेखिएको इतिहासमा उल्लेख गरेका छन् ।

यस प्रसंगमा श्रीमान्‌ले आफूसँग भनेको कुरा श्रीमती याक्थुम्बाले यसरी सुनाइन्, ‘राजा महेन्द्रलाई याक्थुम्बाले सेना र प्रहरी मिलाएर ‘कू’ गर्छ कि भन्ने डर थियो । त्यसैले मलाई आईजीपीबाट हटाई बन्दी बनाए ।’

याक्थुम्बाले इन्दिरासँग भनेका थिए, ‘राजा त्रिभुवनका रानीहरू क्रान्ति र ईश्वरी छोरासँग (महेन्द्र) रिसाए । जसले देश छाडेर भागेका (भारतको शरणमा गएका त्रिभुवन) राजाको ताज र राज फिर्ता गरायो उसलाई अपमान नगर, पाप लाग्छ भनेपछि मात्र मलाई रिहा गरी बर्माको महावाणिज्यदूत बनाइयो ।

याक्थुम्बाले १५ वर्ष कूटनीतिक क्षेत्रमा बिताए । ल्हासामा रहँदा उनले भनेको एउटा वाक्य इन्दिराको कानमा गुन्जिरहन्छ, ‘राजा महेन्द्रले मन पराएनन् । मार्न खोजे, सकेनन् । लात्ताले हानेको कुकुर भान्सामा !’

अन्तिम दिनमा उनी क्यान्सरपीडित थिए । उपचारका लागि उनी दिल्लीको अल इन्डिया मेडिकल कलेजमा भर्ना भए । संयोगले बीपी पनि त्यहीँ उपचार गराउँदै थिए । इन्दिराले सम्झिइन्, ‘मेरो श्रीमान् सातौँ तलामा, बीपी तेस्रोमा । एक दिन एकदमै खुसी भएर भन्नुभयो, ‘बीपीबाबु आउनुभएको छ, भेट्न जान्छु । तल जानु भयो । क्षणभरमै फरक्क फर्किएर आउनुभयो । एकै छिनअघिको खुसी उहाँको अनुहारमा देखिनँ । के भयो हजुर भनेर सोधेँ । भन्नुभयो, मसँग नभेट्ने रे ।’

अन्तिम दिन याक्थुम्बाले श्रीमतीलाई भनेका थिए, ‘तिमी बहादुरको श्रीमती हौ, जे भए पनि बहादुर भएर बस्नू । छोरा छ । बिहा गरे पनि उसलाई माया गर्नेसँग गर्नू ।’

कलिलो उमेरमै विधवा भएकी इन्दिरासँग सहारा भन्नु नाबालक छोरा निराकार मात्र थिए । श्रीमान्‌को पेन्सन र सुविधा दिलाइपाउनका लागि उनले को–कोसँग अनुनय–विनय गरिनन् र ! तर कसैबाट सहयोग पाइनन् । बरु कतिपय पुरुषहरू उनलाई भन्ने गर्थे ‘कलिलो उमेर रहेछ । बिहा गरे भयो नि ।’ कोही उनको लामो कपाल हेरेर भन्थे, ‘वाह कति लामो सुन्दर कपाल ।’ कोही भन्थे, ‘हैन नानी यो कपाल, नक्कली हो कि सक्कली ?’

सिंहदरबार धाउँदा–धाउँदा दिक्क मानेर जानै छाडिन् । देश र प्रजातन्त्रका लागि ज्यानको बाजी लगाए याक्थुम्बाले । अन्त्यमा उनको परिवारलाई पेन्सन र सुविधाबाट समेत वञ्चित गराइयो । श्रीमान्‌को पेन्सनका लागि सिंहदरबार धाउँदा–धाउँदा इन्दिराले आशा मारिन् । अन्तिम दिनमा उनको मनमा लागेको थियो, ‘एउटा विधवालाई न्याय नदिने । यो सिंहदरबार जलिजाओस् ।’

इन्दिराले त्यो क्षण सम्झिइन्, ‘दिक्क लाग्यो । निराश भएँ । श्रीमान् गएपछि नेपालमा आफ्नो भन्ने कोही थिएन पनि । मनमनै भनेँ, यो सिंहदरबार जलिजाओस् ।’ तिनैताक २०३० सालमा त साँच्चै जलिहाल्यो सिंहदरबार ।

को हुन् जीबी याक्थुम्बा ?

नेपालको सुदूरपूर्वी जिल्ला पाँचथरबाट कामको खोजीमा चक्रबहादुर सुब्बा छोरा मंकरजंगसहित सिंगो परिवारका साथ बर्मा पुगे । उनै मंकरजंगका छोराको रूपमा १९२० मार्च १६ मा बर्माको मचिना होरिलाइनमा जन्मिएका थिए ज्ञानबहादुर सुब्बा (जीबी याक्थुम्बा) । आईएसम्मको अध्ययन पूरा गरी बेलायती सेनामा भर्ना भए । दोस्रो विश्वयुद्वमा बेलायती पक्षबाट जापानविरुद्ध लडे ।

विश्वयुद्धपछि सैनिक सेवाबाट अवकाश लिएका उनी रेल्वे सुरक्षा गुल्मको अधिकृत (भारत, गुहाटी) का रूपमा काम गर्न थाले ।

राणाविरुद्धको क्रान्तिका लागि सुवर्णशमशेर राणाको नेतृत्वमा गठित नेपाल प्रजातन्त्र कांग्रेसले मुक्तिसेना निर्माण अभियान चलाइरहेका बेला पूर्णसिंह खवाससँग उनको भेट भयो । याक्थुम्बा रेल्वेको जागिर छाडेर पूर्ण सिंहको अध्यक्षतामा गठित सैन्य कार्यदलको वरिष्ठ उपाध्यक्ष भए । नेपाली राष्ट्र्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएपछि २००७ सालमा नेपाली कांग्रेसले राणाविरुद्ध चलाएको सशस्त्र क्रान्तिमा वीरगन्ज र विराटनगर मोर्चाको कमान्ड सम्हाले ।

क्रान्ति उत्कर्षमा रहेका बेला मुक्तिसेनाले काठमाडौंबाहेक देशका ठूला सहरमा राणा–फौजलाई परास्त गरिरहेको थियो । वीरगन्जमाथि कब्जा जमाएपछि विराटनगर प्रतिष्ठाको विषय बनेको थियो । त्यो मोर्चाका सैन्य कमान्डर जीबी याक्थुम्बा थिए भने बीपी र सुवर्णशमशेर आफैं मैदानमा थिए ।

मुक्तिसेनाले सिंगो विराटनगर क्षेत्रमा प्रभाव जमाइसक्दासमेत बडाहाकिम उत्तमविक्रम राणाको निवासलाई भने कब्जामा लिन सकिरहेको थिएन । अन्त्यमा उनै याक्थुम्बाको साहसले बडाहाकिम राणालाई आत्मसमर्पण गर्न बाध्य पार्‍यो ।

 




प्रतिक्रिया


  1. Really no matter if someone doesn't be aware of then its up to other people that they will help, so here it occurs.

    Does your site have a contact page? I'm having a tough time locating it but, I'd like to shoot you an email. I've got some creative ideas for your blog you might be interested in hearing. Either way, great site and I look forward to seeing it improve over time.

    I'm gone to inform my little brother, that he should also pay a quick visit this website on regular basis to take updated from hottest information.

    Today, I went to the beachfront with my children. I found a sea shell and gave it to my 4 year old daughter and said "You can hear the ocean if you put this to your ear." She put the shell to her ear and screamed. There was a hermit crab inside and it pinched her ear. She never wants to go back! LoL I know this is totally off topic but I had to tell someone!

    I blog often and I really thank you for your content. Your article has truly peaked my interest. I am going to bookmark your website and keep checking for new details about once a week. I opted in for your RSS feed too.

    I've been exploring for a little for any high-quality articles or blog posts in this sort of house . Exploring in Yahoo I at last stumbled upon this website. Studying this info So i'm glad to convey that I've a very good uncanny feeling I came upon exactly what I needed. I most indisputably will make certain to don?t fail to remember this site and give it a look regularly.

    Do you mind if I quote a couple of your posts as long as I provide credit and sources back to your webpage? My blog is in the exact same area of interest as yours and my visitors would genuinely benefit from some of the information you present here. Please let me know if this ok with you. Thank you!

    Remarkable things here. I'm very glad to peer your article. Thanks a lot and I'm taking a look ahead to touch you. Will you please drop me a mail?

    There is certainly a lot to know about this topic. I love all of the points you made.

    obviously like your web site but you need to test the spelling on quite a few of your posts. A number of them are rife with spelling issues and I find it very troublesome to inform the reality nevertheless I will surely come back again.

    Hello, its good piece of writing about media print, we all be aware of media is a fantastic source of information.

    Thank you a bunch for sharing this with all folks you actually know what you're speaking about! Bookmarked. Kindly additionally visit my website =). We may have a link exchange contract between us