मान्छेको काधँमा गाडी चढ्ने युगमा नेहरुको नेपाल भ्रमण

image

भारतका प्रधानमन्त्री पण्डित जवाहलाल नेहरूले  भने- हामी गाडी माथि चढ्छौं, तर तपाईंंहरूको देशमा त गाडी मनुष्यको काँधमा चढ्दो रहेछ !

 

भारतका प्रधानमन्त्री पण्डित जवाहलाल नेहरू २०१६ जेठ २८ गते नेपाल आएका थिए । काठमाडौंमा उनको भव्य स्वागत भयो । टुँडिखेलमा नागरिक अभिनन्दन लिएपछि नेहरूले त्यहाँ उपस्थित जनसमुदायलाई हिन्दीमा सम्बोधन गरे- हामी गाडी माथि चढ्छौं, तर तपाईंंहरूको देशमा त गाडी मनुष्यको काँधमा चढ्दो रहेछ !
त्यति बेलासम्म काठमाडौंलाई मुलुकका बाँकी भागसँग जोड्ने यातायातको कुनै मार्ग बनिसकेको थिएन । बेलायतमा बनेका मोटरलाई कलकत्तासम्म पानीजहाजमा र त्यहाँबाट भारतको बाटो हँुदै भीमफेदीसम्म ल्याइन्थ्यो । त्यहाँबाट मानिसहरूले काँधमा बोकेरै मोटर थानकोटसम्म ल्याउँथे । भारतको सहयोगमा त्रिभुवन राजपथ नबन्दासम्म काठमाडांै उपत्यकामा राजा, महाराजा, प्रधानमन्त्री, मन्त्री, सभामुख, कमान्डर इन चिफ र सीमित धनीहरू मात्र मोटर चढ्थे ।
विकासको दृष्टिले नेपाल निकै पछि थियो । राणाकाल भर देशभर कतै एक इन्ची पक्की सडक बनेको थिएन । राजधानीभित्रका सडक गिट्टी ठोकेर बनाइएका थिए । गाडी नगुड्ने भएकाले धूलोचाहिं उड्दैनथ्यो र मानिसहरू हिंड्दा सुबिस्ता थियो । केही सम्पन्न मानिसहरूले घोडा, मोटरसाइकल र प्राइभेट कार निजी रूपमा पनि प्रयोग गर्थे । भक्तपुर वा पाटन जाँदा एक मोहर तिरी ट्रक वा लरीबाट आवत-जावत गर्नुपथ्र्यो ।
२००७ मा प्रजातन्त्र स्थापना भएसँगै काठमाडौंं आएका तत्कालीन कांग्रेस नेता विश्वबन्धु थापा झन्डै ८ वर्ष बीपीसँगै बसे । यो बीचमा कैयौंपटक डेराबाट हिंडेरै उनी बीपीका साथ नयाँ सडकमा रहेको कांग्रेस कार्यालय गएका छन् । २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा चितवनबाट निर्वाचित भएपछि मात्र उनी अलग्गै बस्न थालेका हुन् । ती दिन सम्झँदै विश्वबन्धु थापा भन्छन्, 'जताततै ठूला-ठूला पर्खाल मात्र देखिन्छन् । राणाका महलहरू पर्खालले घेरेर राखेका । पुतलीसडकबाट चारखाल जाने उकालो त हिंड्नै डरमर्दोे । त्यहाँ बेलुका अलि अँध्यारो भयो कि भूत आउँछ भनेर दौडिनुपर्ने ।'
राणाकालसम्म पिच बाटो भनेकै सिंहदरबारदेखि हाल भारतीय राजदूतावास रहेको स्थानसम्म मात्र थियो । प्रजातन्त्र आएपछि पनि सहरमा खासै परिवर्तन भइसकेको थिएन । सहरमा कच्ची र बग्गी हिंड्न सक्ने बाटाहरू थिए । राजा र धनीहरू बग्गी, हात्ती र मोटरमा सवार हुन्थे । अलि हुने खानेहरू साइकल कुदाउँथे । त्यो बेलाका ठूला नेताहरू बीपी कोइराला, गणेशमान सिंंह, टंकप्रसाद आचार्य, कृष्णप्रसाद भट्टराई तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा सबै साइकलमा सवार हुन्थे । २०१६ सालका सांसद अच्युतराज रेग्मी भन्छन्, 'राजा त्रिभुवनले साइकल चढेको मैले आफ्नै आँखाले देखेको छु । म नक्सालमा बस्थें । एउटा मानिस साइकल चढेर आएको देखियो । सबै राजा आए राजा आए भनेर कराए । हेरेको त त्रिभुवन रहेछन् । उनका दुईजना बडीगार्ड पछि-पछि साइकलमा थिए ।'
राजधानी काठमाडौंमा औलामा गन्न सकिने ट्याक्सी पाइन्थे । २०१६ सालसम्म आइपुग्दा काठमाडौंंमा साइकल र रिक्सासहित जम्मा २०२२ सवारी साधन थिए । लामो समय साइकलमा चढेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले कांग्रेसको महामन्त्री भएपछि एउटा ट्याक्सी भाडामा लिएका थिए । भट्टराईले 'मेरो म' पुस्तकमा भनेका छन्, 'मन्त्रीहरूले गाडीमा झन्डा लगाएर हिंड्थे । एक दिन मेरो ट्याक्सीवालाले भन्यो हजुर मन्त्रीहरू झन्डा लगाएर ठाँटका साथ हिंड्छन् । हजुर त झन् महामन्त्री । मन्त्रीहरूको पनि मन्त्री हजुर चढ्ने मोटरमा पनि त झन्डा हाल्नुपर्‍यो नि ।' त्यसपछि भट्टराई त्यही भाडाको ट्याक्सीमा कांग्रेसको चारतारे झन्डा फहराएर हिँड्न थाले । भट्टराईले भनेका छन्- के बीपी कोइराला के कृष्णप्रसाद । महाकवि लक्ष्मीप्रसाद देवकोटा अत्यन्त रेसमा साइकल कुदाउनेमध्ये एक थिए ।
कालिमाटीदेखि थानकोटसम्म लरी चल्थ्यो । गाडीमा सुकुल बिछ्याएर मान्छे बस्ने बनाइएको हुन्थ्यो । थानकोटसम्म पुग्न २५ पैसा भाडा लिन्थ्यो । राजधानीबाहिर जाँदा हिँड्न नसक्नेहरू थानकोटबाट भीमफेदीसम्म तामदान -तीन-चारजना मानिसले बोक्ने डोलीजस्तो) वा डोको, चढेर जान्थे । डोकोमा चढ्नेले १० रुपैयाँ र तामदानमा चढ्नेले २५ रुपैैयाँसम्म तिर्नुपथ्यो ।
अच्युतराज रेग्मी पाल्पाबाट विजयी भएर काठमाडांै आउँदाताका बानेश्वरमा दिउँसै स्याल कराउँथ्यो । ४-५ वटा झुप्रा मात्र थिए । २०१५ सालमा त्रिचन्द्र क्याम्पस पढेका कांग्रेस नेता मार्सलजुलुम शाक्य सम्झन्छन्, 'टुकुचा खोलाभन्दा उता पुतलीसडक डिल्लीबजार, नयाँ वानेश्वर त दुर्गम गाउँजस्तै थिए । खाली असन, इन्द्रचोक, मखन क्षेत्रमा मात्र बजार थियो ।'
२०१६ सालसम्म आइपुग्दा काठमाडौं, भक्तपुर, ललितपुर, वीरगन्ज, विराटनगर, भद्रपुर र तानसेन सातवटा मात्र नगरपालिका खुलेका थिए भने ८५१ गाउँ पञ्चायत  थिए । हिजोआजजस्तो अर्थतन्त्र ठूलो थिएन । आर्थिक वर्ष २०१६।०१७ मा अर्थमन्त्री सुवर्णशमशेर राणाले २४ करोडको वाषिर्क बजेट सदनमा पेस गरेका थिए । जसमा विकासका लागि १४ करोड रुपैयाँ छुट्याइएको थियो । त्यति सानो अंकको विकास बजेट पनि पूरै खर्च हुन सकेको थिएन ।  
प्रधानमन्त्री निर्वाचित भएर आएलगत्तै बीपीले सबै सांसदहरूलाई बोलाएर भनेका थिए, 'तत्काल एक वर्षभित्र गर्नुपर्ने कामका साना-साना योजना बनाएर तपाईंहरू आउनुस् ।' संसदीय दलको सचिवका नाताले सबैका योजना जम्मा पारेर प्रधानमन्त्री कहाँ पुर्‍याउने जिम्मेवारी अच्युतराज रेग्मीले पाए । कहाँ कहाँ स्कुल खोल्ने भन्नेबारे उनले विपक्षी सांसदहरूसँग पनि सल्लाह गरे अनि कांग्रेसका सबै सांसदले दिएका योजानको फाइल बनाए । एक दिन उनले प्रधानमन्त्री बीपीसँग भने सबैको योजनाका वारेमा मैले तयारी गर्नुपर्छ म साइकलमा हिंडेर कति काम गरूँ । गाडी पनि छैन । अनि बीपीले उनलाई प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वरमा बोलाए । त्यहींबाट प्रधानमन्त्रीकै मोटरमा रेग्मी सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय हाल बेलायती बैठकको छेउमा पुगे । सबै योजनासहितको फाइल बीपीले अर्थमन्त्री सुवर्णकहाँ पठाए । त्यस बेला योजना आयोग अर्थ मन्त्रालयको एउटा शाखाजस्तो थियो । आयोगका सचिव यादवप्रसाद पन्तले सबै योजनाको अध्ययन गरे । सांसदहरूले तयार गरेको त्यही फाइलको आधारमा दोस्रो पञ्चवषर्ीय आयोजना बनाइएको थियो । जनप्रतिनिधिको सुझावका आधारमा बनेको त्यो नै पहिलो योजना थियो ।
देशको पहिलो निर्वाचित संसद्को समाचार संकलन गरेको अनुभव बोकेका पाका पत्रकार भैरव रिसाल भन्छन्, 'त्यो समयमा खानेपानी, हुलाक, प्राइमरी स्कुल सांसदहरूको प्रमुख माग हुने गर्थे । बाटो पहाडमा जान्छ भन्ने त कल्पना नै थिएन । पछि त्रिभुपन राजपथ र अरनिको राजमार्ग बनेपछि मात्र बाटोको माग आउन थालेको हो ।'
काठमाडांै खाल्डोलाई मात्र नेपाल भन्ने चलन थियो । २०१५ माघ २९ गतेको गोरखापत्रमा राजा महेन्द्रको नाममा 'आइन्दा काठमाडौंलाई होइन पूरै देशलाई नेपाल भन्नु' भन्ने विवरणको अपिल छापिएको देखिन्छ । अपिल यस्तो थियो-

काठमाडौंलाई मात्र नेपाल भन्ने बानी वा चलन मलाई राम्रो लागेन । अब उप्रान्त काठमाडौंलाई मात्र नेपाल भन्ने बानीलाई प्रत्येक नेपाली मात्रले हटाई महाकालीदेखि मेचीसम्म नेपाल भन्ने र राजधानीलाई काठमाडौं भन्ने बानी गरुन, यो मेरो अपिल छ ।
-श्री ५ महेन्द्र
त्यसको ठीक तल प्रचार विभागका नाममा यस्तो सन्देश छापिएको छ-
'श्री ५ महाराजधिराजको सदिच्छाअनुसार प्रत्येक देशवासीले आजैदेखि अहिलेदेखि नै उचित तरिकाले आफ्नो आफ्नो पुरानो बानी सपार्न प्रयत्नशील हुनुपरेको छ ।'

४५ वर्षमुनिका महिलाले आफ्नै देशभित्र पनि काठमाडांै उपत्यकाबाहिर जाँदा राहदानी लिनुपथ्र्यो । २०१७ साल जेठ १ गते प्रतिनिधिसभामा गृह सहायकमन्त्री देवानसिंह राईले २०१६ सालमा १३ हजार २ सय २ महिलाले राहदानी लिएको जानकारी दिएका थिए ।
यो त प्रजातन्त्र आएपछि जनताले पाएको सुविधा थियो । २००७ सालअघि राणाकालमा बिहान तोप पड्किएपछि घर कम्पाउन्डबाट निस्कन पाइन्थ्यो र राति तोप पड्केपछि घरभित्र छिरिसक्नुपथ्र्यो । राणा र केही धनीबाहेक आमजनतासँग अहिलेजस्तो घडी थिएन । आम जनताका लागि समय थाहा पाउने आधार बिहान बेलुका राणा सरकारले पड्काउने तोप र घडी चरा अर्थात् कुखुराको भाले हुन्थ्यो । देशका अन्य भागबाट काठमाडौं आउन र यहाँबाट बाहिर जान हरेक नेपाली नागरिकले राहदानी बनाउनुपथ्र्याे ।
पाल्पादेखि चार दिन लगाएर काठमाडौं आइपुगेको रेग्मी सम्भिmन्छन् । पाल्पाबाट ७ कोस हिँडेर बुटवल झर्‍यो । त्यहाँबाट बस चढेर सुनौली पुग्यो । सुनौलीबाट भारतको नौतनवा हुँदै गोरखपुर पुग्यो । गोरखपुरबाट रेल चढेर रक्सौल आइपुग्यो । रक्सौलबाट नेपाली रेल चढेर अमलेखगन्ज । त्यहाँबाट बसमा भीमफदी र त्यहाँबाट पैदल काठमाडांै ।
श्रावण १६, २०७१, कान्तिपुर दैनिकमा प्रकाशित




प्रतिक्रिया