महेन्द्रको पक्षमा बीपी र बीपीको विपक्षमा महेन्द्रले किन वनाए कु को योजना

image

डा. पाण्डेले भनेका थिए, ‘बीपीलाई सत्ता हस्तान्तरण गरेर आफू सुनकोसी किनारमा आनन्दले बस्ने योजना राजा महेन्द्रको थियो। यो कुरा राजा आफैले मलाई भनेको चाही होइन। मेरो श्रीमती बालमन्दिरको सचिव थिइन् भने रानी रत्न संरक्षक। रानीले मेरो श्रीमतीसंग भनि वक्सेको रहेछ–राजनीतिक सुधार गरेर सुनकोसी किनारमा गएर आनन्दले बस्ने योजना सरकारले बनाई वक्सेको छ। 

 

राजा त्रिभुवन र युवराज महेन्द्रको राम्रो सम्वन्ध थिएन। खासगरी युवराज्ञी इन्द्रको मृत्युपछि साली रत्नको प्रेममा चुर्लुम्म थिए महेन्द्र। महेन्द्र रत्नसँग विवाह गर्न चाहन्थे। 

अर्कोतर्फ राजा त्रिभुवन राणा परिवारसँग सम्बन्ध राख्ने पक्षमा थिएनन। उनी आफूले खोजेकी कन्यासँग विवाह गर्न युवराजलाई दबाब दिइरहेका थिए। नारायणहिटी दरवारभित्रको यो झगडा उत्कर्षमा छताछुल्ल भयो। 

रत्नसँग विवाह गरे भाई हिमालयलाई राजा बनाउने धम्की राजा त्रिभुवनले दिइसकेका थिए। वुवालाई घुर्की लगाउदै महेन्द्रले पनि भनिदिएका थिए– आफ्नो प्रेमको रक्षा गर्छु, परे गद्दी त्याग्न तयार छु। 

बीपी कोइरालालाई प्रधानमन्त्री पदको सपथ खुवाउँदै राजा महेन्द्र । 
बीपीको बेडमा महेन्द्र

ति दिन दरवार अत्यन्त कमजोर थियो। नेपाली कांग्रेस पार्टी स्थापना गरी २००७ सालको क्रान्ति सफल पारेकाले नेपाली राजनीतिमा बीपी कोइराला प्रभावशाली थिए। गद्दी त्याग्ने घुर्की लगाए पनि राजालाई मनाउन महेन्द्रले बीपीको सहयोग मागे। 

यस प्रसंगमा बीपीका कान्छा भाई (पूर्व प्रधानमन्त्री) गिरिजाप्रसाद कोइरालाले यो लेखकसँगको कुराकानीमा भनेका थिए– बाहिरवाट आएर सरासर सान्दाईको वेडरुममा म गएको थिए। कोट पाइन्ट लगाएर कोही सुतेको छ। अचम्म लाग्यो। सान्दाईको बेडमा त्यसरी को सुतेको होला भन्ने लाग्यो। पछि थाहा भयो उनी त युवराज महेन्द्र पो रहेछन्। 

संयोगले त्यति बेला बीपी घरमा थिएनन्। ति दिने बीपीको आफ्नै मोटर थिएन। विशालनगरस्थित बसन्त शमशेरको दरवारमा वसेका बीपी प्रायः साइकलमा यात्रा गर्थे। जहाँ जानुपरे पनि निजी सचिव डा. तुलसी गिरी हरहमेशा साथमा हुन्थे। 

तिनै ताकाको एउटा प्रसंगमा बीपी आफैले भनेका छन् ‘एक दिन अचानक युवराज महेन्द्र मेरो डेरामा आएर भने– मैले युवराजबाट राजीनामा दिन थालें। अब म साधारण मानिस भएर बस्छु।

महेन्द्रले राजा त्रिभुवनलाई सम्बोधन गरेर लेखिएको चिठी देखाउदै थपे— म एउटी केटीसँग बिहा गर्न खोज्छु। बुबाचाहि हुदैन हुकुम हुन्छ। त्यति मात्र होइन। एउटी केटी खोजिदिएको छ, उसैसँग बिहा गर हुकुम हुन्छ। एक त आफूले चाहेकी केटीसँग विवाह गर्न नपाउनु। अर्को उहाँले खोजेकैसँग गर्नुपर्ने ? त्यसैले आफ्नो प्रेमका खातिर मैले पद त्याग गर्नुको विकल्प देखिन।

‘राजासँग कुरा गरेर मिलाउँला। सरकारले राजीनामा दिने कुरा छैन।’ बीपीले सम्झाएपछि महेन्द्र फर्किए। 

केही दिनको अन्तरालमा बीपी र त्रिभुवनबीच कुरा भयो— ‘सरकार, अस्ति मकहाँ युवराजाधिराज सवारी भएको थियो। राजीनामाको कुरा गरिबक्सन्थ्यो।’ अनि राजाले भने— ‘राणाकी छोरीसँग बिहे गर्छु भन्छ। म राणाहरुसँग सम्बन्ध टुटाउनुपर्छ भन्छु, मान्दैन। ठीक छ, उसलाई भनिदिनु— बिहा गर्ने भए म उसको राजीनामा स्वीकृत गर्छु र भाइ हिमालय राजा हुन्छन्।’

बीपीले राजा त्रिभुवनलाई सम्झाउदै भने— ‘सरकार, प्रजातन्त्र आएपछि पनि मन पराएकी केटीसँग बिहा गर्न नपाउने कुरा जायज हुन्छ र ?’ 

बीपी महेन्द्रलाई उनको गद्दीसिद्ध अधिकार दिलाउन चाहन्थे। दुवैको निकट मित्रता थियो। त्यसैले राजासँग मध्यस्तताको प्रयास गरे। त्यही बेला राजा त्रिभुवनले बीपीलाई भनेका थिए– ‘बीपी, तपाईं प्रजातन्त्रको कुरा गर्नु हुन्छ। तर मेरो छोरालाई मैले जति चिनेको छु, तपाईंले चिन्नुभएको छैन। यसले दुःख दिएपछि थाहा पाउनु हुनेछ। तपाईहरुलाई धुरुधुरु रुवाउने छ युवराजले।’

बीपीले राजा त्रिभुवनलाई सम्झाउदै भने— ‘सरकार, प्रजातन्त्र आएपछि पनि मन पराएकी केटीसँग बिहा गर्न नपाउने कुरा जायज हुन्छ र ?’ 

राजा महेन्द्र र बडामहारानी रत्न ।
राजाको त्यो वचनलाई बीपीले गम्भिरतापुर्वक लिएनन् बरु त्रिभुवनले नमाने महेन्द्रको राजा हुन पाउने अधिकार रक्षाका लागि सैन्य ‘कू’ सम्म गर्ने गुप्त योजना उनले बनाए। 

यस प्रसंगमा विश्ववन्धु थापाले लेखकलाई सुनाएका थिए– ‘बीपी र महेन्द्रको भेट प्रायः कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायको भाटभटेनीस्थित निवास हुन्थ्यो। एक दिनको भेटमा महेन्द्र एकदमै आत्तिएका थिए। उनलाई आश्वस्त पार्दै सान्दाईले भन्नु भयो ‘युवराजबाट राजीनामा नगर्नू र भाग्ने काम पनि नगर्नू, परिआयो भने हामी सैनिकको साथ लिएर ‘कू’ सम्म गरौंला।’

त्यस वेला बीपी र विश्ववन्धुबीचकाे वार्तालाप यस्तो थियो। 

बीपी: ‘हेर विश्वबन्धु, युवराज रत्नसँग बिहे गर्न नपाए क्राउन प्रिन्सको पदवी छोड्छु भन्दैछन्। त्रिभुवन पनि त्यो गरे भाइलाई युवराज बनाइदिन्छु भनेर धम्क्याउदै छन्। भोलि राजा हुने मान्छेले आफूले मन पराएकी केटीसँग बिहा गर्न नपाउने पनि हुन्छ त प्रजातन्त्रमा। म राजालाई सम्झाउँछु, भएन भने कपनि प्रेम गरेकी केटीसँग विवाह गरेको अभियोगमा कसैलाई गद्दी त्यागको सजाय दिनु त अति नै हुन्छ।’

बिश्ववन्धु: सम्झाउँदा पनि राजाले मानेनन् भने के गर्ने ? सान्दाई। 

बीपी: आवश्यक परे सैनिक कु गरेर भए पनि उनलाई गद्दीको अधिकार दिलाउनुपर्छ।’

थापाले सुनाए– सान्दाईले सैनिक ‘कु’ का लागिसेनाका जनरलहरुसंग कुरा गर्ने जिम्मा मलाई दिनु भयो। गोप्य रुपमा धेरैसँग कुरा गरे। उनीहरुले भने– यो मिसनमा बीपी र महेन्द्र एक ठाउँमा छन् भनेर हामीले कसरी विश्वास गर्ने ? 

त्यसैका लागि गोप्य रुपमा योजना बन्यो। सैनिक अधिकारीहरुलाई सिनेमा हेर्ने निहुँमा जय नेपाल हलमा वोलाउने। त्यही बीपी र महेन्द्र दुवैले एक साथ हात हल्लाएर दुबै एक साथ रहेको सन्देश दिने। अनी सैनिक ‘कू’ मार्फत त्रिभुवनलाई हटाएर महेन्द्रलाई राजा बनाउने। 

राजालाई सम्झाउन बीपीले ठूलै कसरत गरे। त्यही बेला त्रिभुवनले भनेका थिए— ‘ठीक छ, प्रजातन्त्र उसलाई लागेको छ भने मलाई पनि लागेको छ। ऊ चाहेको केटीसँगै विवाह गरोस्, म रोक्तिन तर म विवाह समारोहमा सहभागी हुन्न। बम्बै जान्छु।’ 

राजा भारततिर लागे। यता काठमाडौंमा युवराज महेन्द्रको विवाह भयो। नारायणहिटीमा भित्र्याउन राजा राजी नभए पछि दुलही रत्नालाई नागार्जुन दरबारमा भित्राइयो। यसरी महेन्द्रको विवाहमा त्रिभुवन वाधक नहुने निश्चित भएपछि ‘कू’ गर्नै परेन। 

इतिहास निर्मम हुन्छ। दश वर्ष अघि बीपीले जसका लागि सैन्य ‘कू’ को योजना बनाए, १ पुस २०१७ मा उनै महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई जेलमा कोचेर प्रजातन्त्र माथि ‘कू’ गरे। 

‘कू’को कारण

राजाले हठात निर्दलीय पञ्चायती व्यवस्था लादे ? के त्यो कदम चालेकामा उनी खुसी थिए त ? 

यही प्रश्न मैले त्यो वेलाका राजनीतिक खेलाडीहरु डा. तुलसी गिरी, विश्वन्धु थापा र सूर्यवहादुर थापासमक्ष राखेको थिए। तीनै जनाले सुनाए– राजा महेन्द्र र बीपीको सम्वन्ध व्यक्तिगत रुपमा कहिल्यै नराम्रो थिएन। दुवैले एक अर्कोको आलोचना गरेको पनि कहिल्यै सुनिएन। बरु राजा महेन्द्र सधै बीपीको प्रशंसा मात्र गर्थे। 

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले भनेका थिए– पञ्चायती व्यवस्था लागु गरे पनि चाहे जस्तो काम गर्न सकिन भन्ने अनुभूति राजा महेन्द्रलाई भईरहन्थ्यो। प्राय वरिष्ठ पञ्चहरुसंगको भेटमा उनी भन्ने गर्थे– बीपी जस्तो लायक अर्को प्रधानमन्त्री अव म जीवनमा पाउने छैन। दुनियाँलाई देखाउन लायक प्रधानमन्त्री उही एउटा हो। 

त्यसो भए महेन्द्र ‘कू’ को वाटोमा राजा किन गए त ? थापाले सुनाए– बीपीको व्यक्तित्वका अगाडी राजा फिक्का थिए। त्यति अध्ययन थिएन। अन्तराष्ट्रिय जगतमा पनि बीपीकै ख्याति थियो। बीपी बलियो भए राजा बलियो हुँदैन भन्ने उनलाई राम्ररी थाहा थियो। राजा वलियो भए प्रधानमन्त्री कमजोर हुन्थ्यो। एउटै वनमा दुई वटा बाघ नअटाए जस्तो भयो बीपी र महेन्द्रको कथा।

राजाले शासन गर्ने होइन, जनप्रतिनिधिले गर्ने हो भन्नेमा बीपी प्रष्ट थिए। अर्को तर्फ राजा सार्वभौसत्ता आफ्नो हातमा हुनु पर्छ भन्ने मान्यता राख्थे। विवाद बीपी र महेन्द्रको थिएन। सर्वभौम राजा हुने कि जनता भन्ने थियो। 

सशर्त प्रधानमन्त्री !

त्यसैले चुनावमा दुई तिहाई बहुमतको अपार सफलता पाउदा समेत राजाले तीन महिनासम्म कांग्रेस सभापति बीपीलाई सरकार वनाउन आमन्त्रण गरेनन्। उनी कांग्रेसकै अर्का नेता सुवर्ण शमशेरलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहन्थे। प्रधानमन्त्री भएको एक वर्षमा पद छोडिदिने सर्त स्वीकार गरे पछि मात्र बीपी प्रधानमन्त्री हुने वातावरण बन्यो। 

सरकारमा गए पछि बीपीले सरकारले राजा रजौटा उन्मूलन, बनको राष्ट्रियकरण, क्रान्तिकारी भूमिसुधार जस्ता जनमुखी कार्यक्रम लागु गर्न खोजे। बीपीको लोेकप्रियता बढ्दै गर्दा राजा त्रसित थिए। सरकारले पहिलो वर्ष पूरा गर्दा नगर्दै राजाले कांग्रेस पार्टीभित्र र बाहिरवाट प्रधानमन्त्रीको राजिनामाको दबाब बढाए। 

बीपीलाई हटाउन राजालाई साथ दिएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक विश्वन्धु थापाले लेखकलाई सुनाएका थिए– सरकार वनेको एक वर्षपछि बीपीले राजिनामा गरेर पार्टीकै अर्का नेता सुवर्ण शमशेर राणालाई प्रधानमन्त्री बनाएको भए पञ्चायती व्यवस्था आउने नै थिएन। बीपीको आफ्नै व्यक्तित्व थियो। उहाँले राजालाई नमानेको पनि होइन। तर उहाँको व्यक्तित्वमा राजालाई उछिन्न गाह्रो थियो। बीपीलाई फाल्न निहु खोज्नु पर्यो‍। त्यसैले 'टेकओभर' गरे। 

बीपी र राजा महेन्द्रको सम्बन्ध बारे वुझ्ने मेरो चाहना बुझेर पत्रकार जीवराम भण्डारीले मलाई पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीसँग उनको बुढानिलकण्ठस्थित निवासमा भेटघाटको व्यवस्था मिलाई दिएका थिए। पत्रकारसँग खुलेर कुरा नगर्ने डा. गिरीको मनसाय वुझेका भण्डारीले त्यो दिन मलाई पत्रकारका रुपमा नभइ रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउने शिक्षकका रुपमा चिनाए। 

राजासँग मिलेर बीपीलाई थुनेपछि प्रधानमन्त्री बनेका डा. गिरीले भने, ‘पञ्चायती व्यवस्थाको शुरुवाती दिनमा राजा मैले जे भन्यो त्यही ठिक हो भन्ने ठान्थे। तर जव मसंग कुरा मिल्न छोड्यो, एक दिन हठात सोधे त्यसो भए डा. गिरी तिमी र बीपीमा के फरक भयो र।’

गिरीले राजासँग भनेछन्, “सरकारको कुरा सुनेर मलाई ताजुब लाग्यो। म र बीपीमा आकाश जमिनको फरक छ सरकार। बीपी जनता सार्वभौम हुन्। राजा जनताले दिएको मानो खाएर वस्नु पर्छ भन्नेमा विश्वास गर्छन्। म चाही जसरी भेडाले भेडा चराउन सक्दैन, वाख्राले वाख्रा चराउन सक्दैन। लाटो भए पनि मान्छे चाहिन्छ। त्यसै गरी मान्छेले मान्छे चराउन सक्दैन त्यसैले भगवानको अवतार राजा चाहिन्छ भन्ने मान्छे हुँ। त्यही फरक हो सरकार बीपी र मेरो विचमा। राजा केही केही बाेलेनन्।”

राजाको ‘अन्तिम चाहना’

पञ्चायती व्यवस्थाको एक दशक पुग्दा नपुग्दै राजा महेन्द्र त्यसलाई धान्न नसकिने निष्कर्षमा पुगि सकेका थिए। त्यसैले पञ्चायती संविधानलाई संशोधन गरी बीपीसंग मेलमिलापको हात अघि वढाउने विषयमा निकट पञ्चहरुसंग उनी सघन छलफल गरि रहेका थिए। 

यस प्रसंगमा पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले लेखकलाई भनेका थिए, ‘संविधानको मस्यौदा बनिसकेकाे थियो। २०१७ सालको राजनीतिक ‘कू’पछि लगातार आठ वर्ष वन्दी भएर छुटे पछि भारत प्रवासमा गएका बीपीलाई राजाले सन्देश पठाएका थिए– पञ्चायत नाम राखेर संविधानमा जस्तो व्यवस्था गरे पनि मलाई मान्य छ।’ 

बीपीसंगको सल्लाहमा राजाले संविधानको मस्यौदा वनाउन लगाएको राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले पनि लेखकलाई बताएका छन्। राजा महेन्द्रसँग भएको वार्तालाप वारे सुवेदीले भनेका छन्–म गृह राज्यमन्त्री थिए, एकदिन सरकारबाट हुकुम भयो–ए नवराज म तिम्रो अध्यक्षतामा एउटा सानो कमिटी बनाई दिन्छु। संविधानमा सुधार गर्नू पर्यो‍। पार्टी दिने कुरा नलेख। त्यो वाहेक सम्पूर्ण प्रजातान्त्रिक व्यवस्था लेख।’ 

सुवेदीले थपे, ‘मैले ड्राफ्ट बनाएर राजा कहाँ पठाए। त्यही ड्राफ्ट शम्भूप्रसाद ज्ञवालीलाई हेरेर मिलाउ भन्नुभयो। अनि ड्राफ्टमा छलफल गरेर अन्तिम टुङगो लगाउन राना आफैले चितवनको दियालो बंगलामा मन्त्रीमण्डलको बैठक बोलाए। पहिलो दिन छलफल सकिएन, भोली सकेर लागु गर्ने भनिएको थियो। त्यही रात (२०२८ साल माघ १७) राजालाई हार्टएट्याक भैहाल्यो।’ 

बीपी र राजा महेन्द्रको सम्बन्ध र ‘कू’ का विषयमा मैले शाही चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग विभिन्न चरणमा लामो कुराकानी गर्ने अवसर पाएको थिए। डा. पाण्डेले भनेका थिए, ‘बीपीलाई सत्ता हस्तान्तरण गरेर आफू सुनकोसी किनारमा आनन्दले बस्ने योजना राजा महेन्द्रको थियो। यो कुरा राजा आफैले मलाई भनेको चाही होइन। मेरो श्रीमती बालमन्दिरको सचिव थिइन् भने रानी रत्न संरक्षक। रानीले मेरो श्रीमतीसंग भनि वक्सेको रहेछ–राजनीतिक सुधार गरेर सुनकोसी किनारमा गएर आनन्दले बस्ने योजना सरकारले बनाई वक्सेको छ। 

सन् १९५९ मा काठमाडौंमा अमेरिकी दूतावास उद्घाटन समारोहमा बीपी कोइराला ।
पाण्डेले सम्झिए– सरकारबाट मसँगै हुकुम भएको छ। म डेमोक्रेसी मर्ने राजा भएर मर्न चाहन्न। संयोग नै मान्नु पर्छ राजनीतिक व्यवस्थामा आमुल सुधार गर्ने गरी संविधान संशोधन गर्न आफैले वोलाएको मन्त्रीमण्डलबाट निर्णय गर्न नपाउदै राजा महेन्द्रको मृत्यु भइहाल्यो। 

यस प्रसंगमा तत्कालीन प्रधानमन्त्री कीर्तिनधि विष्टले पनि लेखकसँग भनेका थिए, ‘राजाको मृत्यु नभएको भए त्यही बेला राजनीतिक सुधारको घोषणा हुनेवाला थियो।’ 

राजा महेन्द्रको निधनसँगै पञ्चहरुले खेल्ने मौका पाए। राजसंस्था कमजोर बन्दै गयो। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले लेखकसँग भनेका थिए– त्यो बेला राजा महेन्द्रले ‘कू’ नगरेर संसदलाई चल्न दिएको भए सायद यति छिट्टै (२०६५सालमा) राजतन्त्रको अन्त्य हुदैनथ्यो होला। 

बुधबार, १ पुस, २०७७, ०६:३०:०० मा हिमाल खवर पत्रिकामा प्रकाशित




प्रतिक्रिया


कमेन्ट गर्नेहोस्

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ |