कोइरालाको त्यो अभिव्यक्ति (भिडियो सहित)

image

कोइराला निवास महाराजगञ्जबाट म निस्किए पछि गिरिजाबाबुले कान्तिपुर टेलिभिजनमा पत्रकार जगत नेपालसंग भनि दिनु भएछ –राजाको प्रत्यक्ष शासनमा सर्वोच्च अदालत निरिह र विवेक शुन्य भएको छ म एउटा सल्लाह दिन्छु सर्वोच्च अदालतलाई नारायणहिटी दरवार भित्रै राख्न उचित हुन्छ होला ।

 

२०६६ मा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो । नेपाली राजनीतिका शिखर पुरुष कोइरालाले राजाको शासनकालमा   दिएको  अभिव्यक्ति बारे ललीतबहादुर बस्नेतको यो आलेख । 

अख्तियार दुरपयोग अनुसन्धान आयोगले २०६० जेठ १ मा पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एउटा पत्र पठायो । पत्रमा लेखिएको थियो “सार्वजनिक पदमा बहाल रहदै आर्जन गरेको श्रोत नखुलेको सम्पतीका सम्बन्धमा सम्पती न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन समेतका जानकारीहरु यस आयोगमा प्राप्त हुन आएकोले सो सम्बन्धी अनुसन्धानका सिलसिलामा तपाईँसंगै केहि कुरा बुझ्नु पर्ने भएकोले २०६० जेठ ६ मा सिंहदरबार स्थित कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय भवनमा रहेको यस आयोगको कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ” । 
यो बिषयलाई संचार माध्यमले निक्कै हाइलाट गरिरहेका थिए । गिरिजाबाबु आख्तियार जाने वा नजानेमा दोधारमा हुनुहुन्थ्यो । वयान दिन जानु हुन्छ वा हुदैन ? कहिले जानु हुन्छ । यि र यस्तै आसयका समाचार पत्रपत्रिकामा हेडलाईन बनिरहेका थिए । 
वौद्धिक समुदाय पनि गिरिजाबाबु वयान दिन जानु पर्छ वा पर्दैन भन्नेमा विभाजित थियो । यही वातावरणका विच मैले गिरिजाबाबुलाई भेटने समय मागे । तुरुन्तै महाराजगंज  स्थित निवासमा आउन भन्नु भयो । थापागाउँ, बानेश्वरबाट नेपाल यायतायात बस चढेर विहान करिब ६ बजे महाराजगञ्ज पुगे । शुरुमा सञ्चो विसञ्चो सोधे । औपचारिक गफ गाफ सकिएपछि के छ त भन भन्नु भयो । 
मैले आफ्नो भनाई यसरी राखे “गिरिजाबाबु तपाईलाई अख्तियारले वयानको लागि बोलाएको संचार माध्यमबाट थाहा पाए, संबैधानिक निकायले बोलाए पछि सिधै जान्न भन्न राम्रो हुदैन । अख्तियारले तपाईलाई काटेको पत्र पुर्वाग्रही छ । त्यस विरुद्द बैधानिक उपचार खोज्नु पर्छ । अख्तियार राजनितिक रुपमा प्रतिशोध साध्न तपाई विरुद्द लागि परेको छ । तपाइलाई श्रोत नखुलेको सम्पती बारेमा सोधपुछ गर्नु आफैमा प्रतिशोध र पुर्वाग्रह हो । डिजाइन अन्तरर्गत राजनितिक रुपमा तपाईलाई डयामेज गर्ने नियतले यो पत्र काटिएको देखिन्छ”। 
गिरिजाबाबुले भन्नुभयो –अब के गर्ने त ? मैले भने – तपाई यस विरुद्द सर्वोच्चमा जानु पर्छ । बरिष्ठ अधिवक्ताहरु गणेशराज शर्मा, कुशुम श्रेष्ठ र मोतिकाजी स्थापितसंग सल्लाह गर्नु पर्छ । गिरिजाबाबु भन्न थाल्नु भयो –गणेशराजजी मेरो पक्षबाट लडनु हुन्छ त ? मैले भने–सोध्नु पर्दछ । गिरिजाबाबुले भन्नुभयो–गणेशराजजीसंग गएर सल्लाह गर । मैले त्यहीबाट गणेशराजजीलाई फोन गरि गिरिजाबाबुको चासो वारे बताए । तुरुन्तै आउ भन्नु भयो र म धोबीधारा (पुतलीसडक) स्थित उहाँको निवासमा गए । गिरिजाबाबुसंग भएको कुरा बताए । गणेशराजजी भन्न थाल्नु भयो –गिरिजाबाबुमा अख्तियार विरुद्द लडने साहस र हिम्मत छ ? यदि छ भने म उहाँको तर्फबाट मुद्दा लडन तयार छु तर फिस भने उहाँसंगै लिन्छु । ल ललितजी, अहिल्यै गएर गिरिजाबाबुलाई भनिदिनुस ।
त्यहाँबाट म सिधै गिरिजाबाबु कहाँ गए । गणेशराजजीसंगको कुराकानी सविस्तार सुनाए । फिसको कुरा सुनाउदा मुसुक्क हाँसेर मेरो बैंकमा भए जति पैसा सबै उहाँलाई दिन्छु भन्नु भयो । 
अनी भन्न थाल्नु भयो –ल हिड तिमी र म गणेशराजजीकोमा जाउँ । मैले नै फोन गरे – गिरिजाबाबु अहिले नै भेट्न चाहनुहुन्छ । उहाँले भन्नुभयो– अहिले सर्वोच्च जादैछु साँझ ५ बजे तिर आउनु होला । 
यो कुरा सुनेपछि गिरिजाबाबुले भन्नु भयो –तिमी पुगि राख्नु म उहाँको घरमै आउछु । करिब ४ः३० बजे म पुगे । गणेशराजजीले गिरिजाबाबु बस्ने कुर्सी तयार गर्न लगाउनु भयो र टेवलमा एस्ट्रे राख्न लगाउदै भन्नुभयो – यस घरमा गिरिजाबाबुलाई मात्र चुरोट खाने अनुमती छ, ललित जी । मैले भने –तपाईको फिसको पनि कुरा गरेको छु । गणेशराजजी भन्न थाल्नु भयो– गिरिजाबाबुले के फिस दिनुहुन्थ्यो । ठिक ५ बजे गिरिजाबाबु आई पुग्नु भयो– बैठक कक्षमा पुग्नासाथ चुरोट तान्न थाल्नु भयो । गणेशराजजी भन्न थाल्नुभयो – अख्तियारले तपाइलाई राजनीतिक प्रतिशोध साँधेको हो । त्यो पत्रमा दुरासय देखिन्छ । त्यस विरुद्द सर्वोच्च अदालत जानु पर्छ, तपाईमा हिम्मत र साहस छ त ? 
गिरिजाबाबुले हाँस्दै भन्नुभयो – पञ्चायत तथा राजा विरुद्द लडेको मानिस किन हुँ ? तपाई मेरो मुद्दा लडिदिनुस । म तयार छु । हामी रिट निवेदनको तयारीमा गर्छौ ।  त्यसपछि गिरिजाबाबु बिदा भएर हिड्नुभयो । 
भोली पल्ट शनिवार परेको थियो, गणेशराजजीले  मलाई पनि पालुवारी (साँखु) लिएर जानु भयो । प्राय महत्वपूर्ण काम गर्नु पर्दा उहाँ टिम सहित पालुवारीको आफ्नो घरमा जाने गर्नु हुन्थ्यो । निवेदनको खेस्रा बनाएर त्यही साँझ हामी घर फर्कियौं । त्यो मस्यौदा टाइप गराइयो र एक कपी लिएर म गिरिजाबाबु कहाँ  गए । हेरेपछि तिमीलाई खबर गर्छु भन्नुभयो । 
फर्केर कुशुम श्रेष्ठ र मोतीकाजी स्थापितलाई फोन गरी गणेशराजजीले मस्यौदा हरेर सल्लाह दिनु भन्नु भएको छ । 
दुबैले जनाले भन्नुभयो –गणेशराजजीले तयार पारेको मयौदा हामीले हेर्नै पर्दैन । बहस गरौला । 
साँझ  गिरिजाबाबुको फोन आयो –मसौदामा थोरै राजनितिक भाषा थप्नु पर्छ की । तर तर थप्ने वा नथप्ने कुरा गणेशराजजीले जे भन्नु हुन्छ त्यहि गर्नु ” 
   त्यसपछि मसौदा लिएर गिरिजाबाबु र म गणेशराजजीको निवास गयौं । गणेशराजजीले भन्नुभयो –तपाईका पार्टीका नेताहरु जसलाई अख्तियारले वयानको लागि बोलाएको छ, तिनीहरुलाई म कहाँ पठाई दिनुस् । त्यसै गरी कांग्रेस निकट वकिललाई पनि पठाई दिनुस । 
त्यसपछि गिरिजाबाबुले भन्नु भयो ललीत मेरो मुद्दाको वारेस बसी देउ । तुरुन्तै गणेशराजजीले भन्नुभयो–ललित जी बस्दैन । अर्कै मान्छे खोज्नुस् । रिट दर्ता भयो । 
तर मलाई खसखस भइरहेको थियो, कि गिरिजाबाबुको रिट निवेदन अंग्रेजीमा पनि अनुवाद गरी भोलीपल्टको मिडियामा समाचार सम्प्रेषण गराउन पाए । 
अनि मैले कान्तिपुरका सम्पादक युवराज घिमिरेलाई फोन गरि भने–गिरिजाप्रसादको रिट निवेदन आज दर्ता भयो । यसलाई अंग्रेजीमा अनुवाद गरी भोलीको कान्तिपुर र द काठमाडौं पोष्टमा छाप्न तपाईको सहयोग चाहियो । उहाँले अफिसमा बोलाउनु भयो । 
तीन घण्टा लगाएर अंग्रेजीमा अनुवाद तयार गर्दा रातको ११ बजि सकेको थियो । कानुनी शब्द चयनमा मैले सहयोग गरे । 
राती ११ बजे अंग्रेजी अनुवाद भयो । एक कपी लिएर फर्किए । 
भोली पल्ट कान्तिपुर, काठमाण्डौं पोष्ट र राजधानी दैनिकमा पुर्ण पाठ प्रकाशित भयो । त्यसबाट आम जनताले थाहा पाए अख्तियारले कोइराला माथि गरेको कारवाही दुरासयपूर्ण छ । रिट दर्ता भएको करिब २ दिन पछि प्रा.अभि सुवेदीले लेख लेख्नु भयो –गिरिजालाई अख्तियारले दुराशययुक्त कारवाही गरेको रहेछ भनेर । 
  लामो बहस र बहसनोट पेश भएपछि मिति २०६१ भाद्र ३० गते प्रधानन्यायाधीश श्री गोविन्दप्रसाद श्रेष्ठ र न्यायाधीश  हरिप्रसाद शर्माको संयुक्त इजलाशले गिरिजाप्रसाद कोइरालाको रिट खारेज गरि दियो । फैसला सुनाउदा म गिरिजाबाबु निकट एक नेताको साथ सर्वोच्च अदालत परिसरमै थिए । 
उहाँले भन्नु भयो –ल अब गिरिजाबाबु कहाँ जाउँ । मैले भने –हजुर जानुस्, म कुरा बुझेर आउछु । त्यसपछि म सिधै गणेशराज जीकोमा गए, फैसला बारे जानकारी गराए । उहाँले भन्नु भयो –फैसला सबै सुन्नु भयो । मैले भने –सुने रिट खारेज भए पनि फैसलाको पेटबोलीमा अख्तियारको काम कारवाही बिधि र कानुनसम्मत हुनुपर्ने, स्वच्छ सुनुवाई विनाको अनुसन्धान कानुनसम्मत नहुने आदी डायरीमा टिपेका बुंदा सुनाए । गणेशराजजीले भन्नुभयो –यिनै आधारबाट अख्तियारले गिरिजाबाबुलाई वयानमा बोलाउन सक्दैन । ल जानुस गिरिजाबाबुलाई अदालत विरुद्द रियाक्ट नगर्न भन्नुस् । गिरिजाप्रसादको भर छैन आदी आदी । 
अनी म सिधै गिरिजाबाबुकोमा गए । सिढीमा डा. शसांक कोइराला भेटिनु भयो । उहाँले भन्नुभयो– ललित मुद्दा गिरिजाबाबुले हार्नु भयो हैन । मैले भने त्यसो पनि होइन । घरको माथिल्लो छत जहाँ गिरिजाबाबुको कोठा थियो । शशांक दाई र म गयौं । गिरिजाबाबु एक नेता र कानुन व्यवसायीसंग फैसला बारेमा छलफल गर्दै हुनुहुन्छ भन्ने भान पाए । मलाई देख्ने वित्तिकै भित्र बोलाउनु भयो । उहाँहरु बाहिर आउनु भयो ।  म भित्र पसे पछि ति नेता पनि मसंगै बस्नुभयो । 
उहाँले राजासंगै लडनु पर्छ भन्ने सल्लाह दिनु भएको रहेछ । अन्तिम लडाइ गर्नुपर्छ भन्ने उहाँको सुझाव रहेछ । अदालतले पनि राजाको इशारामा काम ग-यो आदी आदी । गिरिजाबाबुको अनुहारमा रिस र बदला भाव अभिव्यक्त भएको देखिन्थ्यो । गिरिजाबाबुले भन्नुभयो –ल भन के  छ ? त्यसैबेला नेताजीले भन्नु भयो –ललितजी गिरिजाबाबुलाई नभडकाउनुस । अदालत राजाको गोटी भयो अब अन्तिम लडाई लडनु पर्छ । मैले भने –त्यो तपाईहरुको राजनितिक बिषय हो । फैसला सुने पछि गणेशराजजीकोमा पसेर छलफल गरि आएको हुँ । उहाँले भन्नु भएको छ– गिरिजाबाबुले रियाक्ट गर्नु हुन्न । मैले भने – फैसलाको पेटबोलीमा न्याय र कानुनी शासनको भाषाहरु छन् ।  त्यति निरासा भै हाल्ने स्थिति छ जस्तो लाग्दैन । पुर्ण पाठ हेर्न नै बाँकी छ ।  तर अदालत प्रति हजुरले रियाक्ट गर्न मिल्दैन । एउटा प्रजातान्त्रिक नेतालाई सुहाउदैन । रिसको झोकमा गिरिजाबाबुले भन्नुभयो –अब म वकिल सोकिलका कुरा सुन्दीन । राजासंग राजनितिक लडाई लडछु । यति भनेर सरासर सुत्ने कोठा तिर लाग्नु भयो 
फर्किए पछि गिरिजाबाबुसंग भएका कुरा गणेशराजजीलाई सुनाए । राती करिब ९ बजे तिर फेरी उहाँको फोन आयो – ललितजी मैले फैसला अद्योपान्त पढे । फैसलाको पेट बोली हेर्दा गिरिजाबाबुले मुद्दा जित्नु भएको छ । बढी रियाक्ट नगर्न भन्नुस । कोइराला निवास महाराजगञ्जबाट म निस्किए पछि गिरिजाबाबुले कान्तिपुर टेलिभिजनमा पत्रकार जगत नेपालसंग भनि दिनु भएछ –राजाको प्रत्यक्ष शासनमा सर्वोच्च अदालत निरिह र विवेक शुन्य भएको छ म एउटा सल्लाह दिन्छु सर्वोच्च अदालतलाई नारायणहिटी दरवार भित्रै राख्न उचित हुन्छ होला । आदी आदी ” 

अर्को दिन विहानै ५ बजेतिर गिरिजाबाबुको निवासमा गए । उहाँलाई अन इजी मुडमा देखे र भने –हिजो तपाईले सर्वोच्चलाई नारायणहिटी दरबारमा राखी दिए हुन्छ भनेर दिएको अभिव्यक्ति तपाई जस्तो प्रजातान्त्रिक नेतालाई सुहाउछ जस्तो लाग्दैन । अदालतको सम्मान गर्नुपर्छ । तपाइले सार्वजनिक रुपमा माफि माग्नु पर्छ । गिरिजाबाबुले रियाक्टीव भाषामा भन्नुभयो “मलाई कती ह्युमुलेशन गराउदै छौ यार ” । मैले भने माफी सिधै माग्ने होइन, शिष्ट र सभ्य भाषामा अदालतको सम्मान गर्ने जस्तो गरि बोल्दा हुन्छ । फेरी भोली मानहानीको मुद्दा पर्छ । राती गणेशराजजीले फोन गरि भनेको व्यहोरा पनि सुनाए र फैसलामा मुद्दा जितेको कुरा सुनाए । गिरिजाबाबुले भन्नुभयो –तिमी ५ बजे गणेशराजजीकोमा जाउ । मेरो ३ बजे पद्यमकन्या क्याम्पस, बागबजारमा कार्यक्रम छ त्यहाँ तिमि पनि आउ र अदालतको सम्मानमा के भाषा बोल्ने हो । लेखेर ल्याउ, त्यहाँ बोलौंला । मैले सानो पानामा सम्झना भएसम्म लेखेर दिएको थिए, “मैले सम्मानीनय अदालत प्रति लक्षित भनाई जुन सार्वजनिक भएको छ । त्यस भनाईमा अदालतको सम्मान गरिमामा आँच आउने मनसाय होइन  प्रजातन्त्रको लागि लडेको मान्छेले अदालतलाई होच्याउने अपमान गर्ने कुरा हुदैन स्वतन्त्र न्यायालय प्रति अटल आस्था र बिश्वास मेरो रहेको छ । आदी आदी । ” 
त्यो कागज गिरिजाबाबुकोमा सुरक्षा अधिकृतलाई दिएर गिरिजाबाबुलाई अनुहार देखाए र वहाँले भन्नुभयो –बुझेबुझे । जाउ । बस्दै राख म आउछु (गणेशराज जीकोमा)
म सिधै गणेशराज जीको निवास गए ।  गिरिजाबाबुसंग भएको कुरा सुनाई दिए र भने सायद बोल्नु हुन्छ होला । 
केही समयपछि गिरिजाबाबु आई पुग्नु भयो । एक पछि अर्को चुरोट सल्काउन थाल्नु भयो । त्यही गणेशराजजीले भन्नुभयो –यो फैसलाको आधारमा तपाईलाई माथि अब अख्तियारले अनुसन्धान गर्न सक्दैन । रिट खारेज भए पनि फैसलाको पेटबोलीमा तपाईले मुद्दा जित्नुभयो । हिजो तपाईले दिएको प्रतिकृया गलत छ । 
गिरिजाबाबुले भन्नुभयो –आज सच्याएर भनेको छु । वाफ रे वाफ । वकिलले पनि रौंका छाला काट्दा रहेछन् । कोही मुद्दा हारिस भन्छन कोही  जितिस । 
कसको कुरा पत्याउने । त्यसपछि अख्तियारले गिरिजाबाबु विरुद्द कुनै कारवाही गरेन । 
 

 

 

facebook sharing button

twitter sharing button

linkedin sharing button

sharethis sharing button

 



भिडियो पनि हेर्नुहोस


प्रतिक्रिया


  1. Hllo exceptipnal website! Dooes running a bloog like tnis take a great deal of work? I have virtuqlly nno expertiuse inn computer programmin buut I was hopinng too start my oown blog soon. Anyways, iff youu habe anyy suggestions or techniques foor neww bllg ownedrs plwase share. I know thgis iss off toppic buut I simply needed to ask. Maany thanks!

    I am genuinely thankful to thhe holder off this site who has suared this fantastic aarticle at here.