गिरिजाप्रसादका सहयोगी र उनको टोपीमा चुरोट लुकाउने काइदा

image

गिरिजाबाबुलाई जसरी पनि चुरोट छोडाउनु थियो । उहाँलाई सम्झाउँदा नमानेपछि हामीले बालुवाटार परिसरमा चुरोट ल्याउन, सेवन गर्न नपाइने प्रबन्ध गर्यौं । अगाडि त सबैले “हुन्छ” भने । तर फेरि पनि गिरिजाबाबुले चुरोट सेवन गरेको पाइयो । त्यहाँ काम गर्ने कुनै व्यक्तिले टोपीभित्र लुकाएर उहाँको कोठाभित्र चुरोट ल्याइदिने गरेको रहेछ । हामीले टोपीभित्र चुरोट ल्याउने व्यक्तिलाई खोजेर कारबाही गर्नुपर्छ भन्न थाल्यौं । पछि बिस्तारै घटाउँदै लगी चुरोट छोडाउन सकियो । केही समयपछि गिरिजाबाबुलाई फेरि सास फेर्न कठिन हुन थाल्यो ।

दिल्ली पुगेको अर्को दिन साँझ अमेरिका जाने फ्लाइट थियो । त्यसै साँझ मैले अस्पतालमा फोन गरें, दीपेन्द्र खड्काले उठाए । उनले भने, “सर, हामी तपाईंलाई नै कसरी सम्पर्क गर्ने भनेर खोज्दै थियौं । डा। मधु घिमिरेले फोन गर्नुभएको थियो । गिरिजाप्रसाद कोइराला दमले च्यापेर सिकिस्त हुनुभएको छ रे । हाम्रो अस्पतालमा ल्याउने कुरा भएको छ, के गर्ने होला ?”
मैले तत्काल फोनमै भनें, “ठीक छ, तर हाम्रा अस्पतालका डाक्टरहरुले मात्र हेर्ने निर्णय चाहिँ ठीक हुँदैन । फोक्सोसम्बन्धी विशेषज्ञ डा। अर्जुन कार्कीलाई बोलाएर बेलैमा संलग्न गराउनु उपयुक्त हुन्छ । डा। कार्कीलाई पनि यसबारे जानकारी गराउनुहोला । म त अहिले फर्किने स्थिति पनि भएन ।”
डा। कार्की र डा। केसी घरमै जानुभएको कुरा मैले पछि थाहा पाएँ । डा। मधु घिमिरेको सल्लाहमा उहाँको उपचार घरमै गर्ने निर्णय भएछ । यसपछि तत्कालै केही सुधार भएकाले अस्पताल भर्ना हुनुपरेनछ । म अति व्यस्ततासाथ अमेरिकाको कार्यक्रममा संलग्न भएँ । साथै म आफ्नो अस्पतालमा पनि इमेलमार्फत सम्पर्कमै रहिरहें ।
लगत्तै दोस्रो जनआन्दोलन सकारात्मक मोडमा पुगेर टुङ्गियो । मागअनुसार संसद् पुनःस्थापना पनि भयो । पुनः बहालीपछि बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै पुराना नियुक्ति सबै खारेज गर्ने भन्ने निर्णय गरेछ । त्यसपछि अस्पतालका केही चिकित्सकले गरेका गतिविधि र प्रचारबाजीबारे सुन्दा म अत्यन्त मर्माहत भएँ ।
केही त डा। कोइरालाको जागिर त गयो नि भन्दै खुसी भएछन् । कानुनतः मलाई चार वर्षका लागि नियमसङ्गत ढङ्गले नियुक्ति दिइएको थियो । त्यसैले त्यो नियुक्ति बिनाकारण रद्द हुन सक्दैनथ्यो । त्यो निर्णयको विरूद्धमा न्यायिक उपचार पनि खोज्न सकिन्थ्यो । तर तत्कालीन मन्त्रिपरिषद्को निर्णयविपरीत जानु राजनीतिक रुपमा अस्वाभाविक जस्तो देखिन्थ्यो । यस कुराले म अत्यन्त दुःखी भएँ र बिलखबन्दमा परेको अनुभव गरें । यसले गर्दा मेरो अमेरिकाको बाँकी बसाइँ अत्यन्तै तनावपूर्ण भयो । म अमेरिकाबाट फर्किएर अस्पताल नै गएँ । नजिकका साथीसँग सल्लाह गरें । नियमित काममा लाग्ने निर्णय गर्यौं । माहोल शान्त तर अझै अस्पष्ट थियो ।
त्यसपछि म तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गर्न गएँ । अघिल्लो चारवर्षे कार्यकालका लागि उहाँकै मन्त्रिपरिषद्ले नै नियुक्ति दिएकाले मलाई कुरा गर्न पनि सजिलो भयो । मैले बजारका हल्ला उल्लेख गर्दै आफ्ना कुरा पनि स्पष्ट राखें ।
उहाँले पनि स्पष्ट शब्दमा भन्नुभयो, “यो निर्णय राजनीतिक नियुक्ति भएकाहरुलाई मात्र हो । आफ्नो कार्यक्षमता र लगनशीलता देखाएर बसेका तपाईंंहरु जस्तो व्यावसायिक व्यक्तिका लागि होइन । तपाईंंलाई लागू हुँदैन । चाहिन्छ भने म क्याबिनेटबाट अर्को निर्णय गराइदिन्छु ।”
प्रधानमन्त्रीले यति भनेपछि मलाई निकै राहत महसुस भयो । छुट्टै निर्णय भने भएन ।
उपचार
म विदेशमा पढ्न जानु अघिसम्म गिरिजाप्रसाद कोइरालाको नाम सुनेको भए पनि उहाँसँग मेरो चिनजान थिएन । अमेरिका र क्यानडाको तालिम लिएर फर्किएपछि, खासगरी गङ्गालालमा मेरो नियुक्तिका सन्दर्भमा उहाँलाई मेराबारे जानकारी गराइएको रहेछ । गङ्गालालमा मेरो नियुक्ति भइसकेपछि मात्र मैले उहाँसँग भेट्ने मौका पाएको थिएँ ।
पहिलो भेटमै उहाँले भन्नुभयो, “डाक्साब, म तपाईंको अस्पतालमा बिरामी भेट्न गएको थिएँ । मलाई त अस्पताल खुबै मन पर्यो । मैले बुझिसकें, तपाईंको काम गर्ने शैली । तपाईंले त धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर भिसी -उपकुलपति- भएर चलाइदिनुपर्छ ।”
म भर्खरै नयाँ अस्पताल सेट गरेर व्यावसायिक कार्यक्षमता वृद्धि गर्ने तरखरमा थिएँ । यस्तो अवस्थामा मुलुकको प्रधानमन्त्रीले पहिलो भेटमै त्यसो भनेपछि म खुसी भएँ । तर त्यत्रो संस्थाको नेतृत्व गर्ने सोच, हिम्मत र तयारी ममा त्यस बेलासम्म थिएन ।
साथै काठमाडौंबाहिर गएर मुटुसम्बन्धी शल्यक्रियासहितका सेवा सञ्चालन गर्न तत्कालीन समयमा सम्भव थिएन । त्यसकारण मैले अलि हच्किएर भनें, “म गङ्गालाल अस्पतालमा नै ठीक छु । अहिले म यताउता सोच्न सक्दिनँ ।”
तर जे भए पनि उहाँले मेरोबारे जानकारी राख्नुभएको रहेछ, त्यसले मलाई पहिलो भेटमै उत्साह जगायो । त्यसपछि बीचमा एक दुई पटक भेट भयो ।
पछि २०६२र६३ को जनआन्दोलनको अन्तिम अवस्थातिर म अमेरिका जाँदा उहाँ बिरामी भई मलाई खोज्नुभएको रहेछ । उपस्थित हुन सकिनँ । फर्किएर आएपछि भेट गर्नुपर्ने खासै त्यस्तो सन्दर्भ पनि परेको थिएन ।
२०६३ सालको कुनै एक साँझ बिहेको निम्तोमा म र्‍याडिसन होटलमा थिएँ । कुराकानीमा व्यस्त भइरहेकै बेला मेरो ड्राइभरले मलाई खोज्दै आएर भने, “तपाईंको फोन लागेन रे । घरबाट फोन आएको छ । घरमा तुरून्त फोन गर्नुस् ।”
मैले तत्काल घरमा फोन गरें ।
सान्द्राले भनिन्, “डा. शशाङ्कले फोन गर्नुभएको थियो, उहाँ क्वार्टरमै पनि आउनुभयो, फोन गर्न भन्नुभएको छ ।”
मैले तत्कालै डा. शशाङ्कलाई फोन गरें ।
उनले भने, “भगवान, तिमी तत्काल बालुवाटार आऊ ।”
म तुरून्तै त्यहाँ पुगें । गिरिजाप्रसाद कोइराला सिकिस्त बिरामी पर्नुभएको रहेछ । उहाँको दम बिग्रिएर सासै फेर्न नहुने भएको रहेछ । भेन्टिलेटरमै राख्नुपर्ने स्थिति भएकाले डा। मधु घिमिरेले कुन ठाउँमा लगेर उपचार गर्ने भन्ने निक्र्योल गर्न मलाई खोज्नुभएको रहेछ । अन्य अस्पतालहरुमा परीक्षण गर्न अलि ढिलाइ हुन्छ । गङ्गालालमा प्रविधिहरु पनि विकसित तथा नयाँ छन् भन्ने सोचेर मलाई खोज्नुभएको रहेछ ।
मैले पनि उहाँलाई हेरें, अवस्था गम्भीर नै रहेछ । तर उहाँ अस्पताल नजाने, निवासमै उपचार गराउने भनेर जिद्दी गरिरहनुभएको रहेछ । डा। मधु घिमिरेले अनुरोध गर्दा नटेरी बस्नुभएको रहेछ । डा.घिमिरेले मलाई भन्नुभयो, “फकाएर गङ्गालालमा लगेर उपचार गराउनुपर्यो ।”
त्यति धेरै भेटघाट गरिरहने व्यक्ति नभएकाले के मान्नुहोला र भन्ने सोच्दै उहाँको कोठाभित्र पसें ।
सामान्य जाँचपछि भनें, “तपाईंको अवस्था त सिकिस्त छ, अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ । यदि परीक्षणमा सामान्य देखिएमा फर्किएर आउँला । तर जानुपर्यो ।”
उहाँ एकै वचनमा अस्पताल जान राजी हुनुभयो । यो कुराले परिवारमा सबै खुसी भए ।
मुटुको मूल समस्या थिएन । त्यो हामी सबैलाई थाहा थियो । तर तत्कालीन कठिन अवस्थामा रहेको देशको प्रधानमन्त्रीलाई हामीसँग भएको उपचार र अन्य सुविधा उपयोग गरेर उपचार गराउनु ठीकै हो भन्ने लागेर गङ्गालाल लैजान लागिएको थियो ।
उहाँलाई तुरून्तै अस्पताल लगेर भर्ना गर्ने चाँजोपाँजो मिलाइयो । अस्पताल पुगेर एक्सरे गरेर हेर्दा फोक्सोमा समस्या देखियो । आइसियूको बेड मिलाएर भर्नाको तयारी गरियो । त्यसपछि उहाँलाई “अहिले घर जान अप्ठ्यारो छ, जान मिल्दैन” भन्यौं । उहाँले रिसाउँदै “जे गर्ने हो गर” भन्नुभयो ।
उहाँलाई भेन्टिलेटरमा राख्ने तयारी गर्दै थियौं । तर केही सुधार हुँदै गएपछि राख्नुपरेन । त्यस पटक उहाँ करिब १० दिन बस्नुभयो । उहाँलाई सन्चो बनाएर घर पठाइसकेपछि पनि उपचार गर्न मसहित चिकित्सकको टोली बन्यो । त्यो टोलीले हरेक दिन परीक्षण तथा उपचार गर्न जानुपर्थ्यो । प्यारामेडिक्सलगायत अन्य विशेषज्ञलाई पनि साथै लैजानुपर्थ्यो । त्यस सिलसिलामा पनि उहाँसँग घनिष्ठ सम्बन्ध बन्न पुग्यो । मलगायत हामी चिकित्सकप्रति उहाँको ठूलो विश्वास रहेको हामीले अनुभव गरेका थियौं ।
गिरिजाबाबुलाई जसरी पनि चुरोट छोडाउनु थियो । किनकि चुरोट सेवन उहाँका लागि निकै खतरा भइरहेको थियो । चुरोट छोडाउन हामीलाई निकै कठिन पर्यो । उहाँलाई सम्झाउँदा नमानेपछि हामीले बालुवाटार परिसरमा चुरोट ल्याउन, सेवन गर्न नपाइने प्रबन्ध गर्यौं ।
अगाडि त सबैले “हुन्छ” भने । तर फेरि पनि गिरिजाबाबुले चुरोट सेवन गरेको पाइयो । त्यहाँ काम गर्ने कुनै व्यक्तिले टोपीभित्र लुकाएर उहाँको कोठाभित्र चुरोट ल्याइदिने गरेको रहेछ । हामीले टोपीभित्र चुरोट ल्याउने व्यक्तिलाई खोजेर कारबाही गर्नुपर्छ भन्न थाल्यौं । पछि बिस्तारै घटाउँदै लगी चुरोट छोडाउन सकियो ।
केही समयपछि गिरिजाबाबुलाई फेरि सास फेर्न कठिन हुन थाल्यो । हामीले एक्सरे गराएर हेर्यौं र सिटी स्क्यान पनि गराउन लग्यौं । दाहिने फोक्सोतिर पानी जमेको थाहा भयो । हामीले पानी तानेर सहज गराउने निर्णय गर्यौं । विषयगत हिसाबले मैले, डा। कार्की वा डा। रामकुमार जसले पानी तान्दा पनि हुन्थ्यो । सामान्यतया फिजिसियनले नै गर्ने हो । तर साथीहरुले “ल, तपाईंले नै गर्नुस्” भन्नुभयो ।
फोक्सोमा त्यत्रो पानी छ, निकाल्दा दुख्ने होला भनेर गिरिजाबाबु डराउनुभएको रहेछ । हामीले त्यो पानी बालुवाटर निवासमै निकाल्ने निर्णय गरेर आवश्यक सरसामान ठीक गर्यौं । डा। कार्की, डा। घिमिरे र म थियौं । लोकल एनेस्थेसिया दिएर पानी तान्ने तयारी गरियो । यसरी लोकल एनेस्थेसिया दिएर मात्र पानी निकाल्दा उहाँलाई छिसिक्क पनि दुखेको अनुभव भएनछ । उहाँले थाहा नै नपाई दायाँ फोक्सोबाट करिब डेढ लिटर पानी निकालेर बोतलमा राखेको देख्दा छक्क पर्नुभयो । त्यसपछि उहाँलाई तुरून्तै सास फेर्न सजिलो भयो । उहाँलाई त त्यसपछि मप्रति धेरै ठूलो छाप परेछ ।
हुन त फोक्सोबाट पानी निकाल्ने काम सर्जिकल र मेडिकल स्पेसियालिटीमा खासै ठूलो कुरा होइन । जेहोस् त्यसपछि चाहिँ कुनै पनि अप्ठ्यारो पर्यो भने उहाँले डा। मधु घिमिरेको साथसाथ मलाई पनि खोज्न थाल्नुभयो । हुन त म मुटु शल्यचिकित्सक भएकाले उहाँको उपचारमा उपस्थित हुन जरूरी थिएन ।
त्यसपछि अर्को एक पटक पनि उहाँ गङ्गालालमा भर्ना हुनुपर्ने भयो । दोस्रो पटक भर्ना हुँदा उहाँको उमेर र रोगको प्रकृति गम्भीर हुँदै गएको हामीले अनुभूति गरेका थियौं । उहाँको स्थिति गम्भीर हुँदै जान थालेपछि एकदुई पटक अल इन्डिया इन्स्टिच्युटका फोक्सोसम्बन्धी विशेषज्ञ पनि बोलाएर छलफल गरियो । त्यहाँबाट डा। गुलरिया आउने गर्नुभएको थियो । उहाँहरुले गर्ने उपचार र डा। कार्कीलगायत हामीले गर्ने उपचारमा खासै अन्तर थिएन । त्यसले गर्दा हामीलाई कुनै अप्ठ्यारो महसुस गर्नुपरेको पनि थिएन ।
दोस्रो भर्नाको अन्त्यतिर सुजाता कोइरालाले गिरिजाबाबुलाई विदेशमै लगेर उपचार गराउन जोड दिन थाल्नुभयो । त्यसमा भने मेरो फरक मत रहँदै आएको थियो । मैले उहाँहरुको अगाडि स्पष्ट शब्दमा विदेश नलैजाने सल्लाह दिन्थें ।
रोगको गाम्भीर्य बढ्दै गएको र हामीलाई पनि स्थिति जटिल बन्दै गएको महसुस भइरहेको थियो । यसै सन्दर्भमा शेखर र शशाङ्कले पनि सुजाताको अगाडि हस्तक्षेप गर्न अप्ठ्यारो मानेको अवस्था सिर्जना भयो । त्यसैले सुजाताको जोडबललाई स्वीकार गर्दै उहाँलाई सिङ्गापुर लैजाने निर्णय भयो ।
उहाँको उपचारको सिलसिलामा इन्डिया नलगेर सिङ्गापुर किन लगियो भनेर बजारमा प्रश्न उठे । उपचारको सिलसिलामा उहाँसँग रहँदा हरबखत गिरिजाबाबुले “म उपचारका लागि विदेश जान्नँ, मलाई जे गर्नु छ हाम्रा आफ्नै डाक्टरहरुले गर्छन्, म उहाँहरुको उपचारप्रति एकदमै सन्तुष्ट छु” भनेर बारम्बार भन्ने गर्नुहुन्थ्यो ।
सिङ्गापुरमा केही अरु थप परीक्षण गरेर उहाँ फर्किनुभयो । उहाँ फर्किंदा गङ्गालालको कार्यकारी निर्देशकको दोस्रो पदावधि पनि समाप्त भई म टिचिङ फर्किसकेको थिएँ । त्यो अवस्थामा उहाँको उपचारमा मेरो प्रत्यक्ष संलग्नता स्वाभाविक रुपमा कम हुँदै गयो ।
सिङ्गापुरमा उहाँको रोगको जुन पहिचान भएको थियो, त्यसलाई प्रस्तुत गर्ने सन्दर्भमा उहाँको परिवार र हामीबीच केही विमति थिए । उहाँलाई क्यान्सर भएको सिङ्गापुरमा थाहा भएको थियो । तर यो कुरा बाहिर ल्याउन परिवार चाहिरहेको थिएन । यसले गर्दा शतप्रतिशत यथार्थ कुरा अगाडि ल्याउन कठिनाइ उत्पन्न भयो ।
सिङ्गापुरबाट फर्किएर केही दिन अस्पतालमा राखेपछि उहाँको स्थिति गम्भीर हुँदै गएको महसुस गर्न थाल्यौं । स्थिति बिग्रँदै गएपछि परिवारकै अनुरोधमा अस्पतालबाट घरमा लैजाने भन्ने निधो भयो । महाराजगन्जको उहाँकै निवासमा र त्यसपछि सुजाताको निवास मन्डिखाटार लगियो ।
गिरिजाबाबुको उपचारका क्रममा गङ्गालाल अस्पताल धेरै पार्टीका नेताकार्यकर्ता जम्मा हुने थलो भइरहेको थियो । त्यसले गर्दा मैले कार्यकारी निर्देशकका रुपमा गरेको कामको चर्चा हुन थाल्यो । त्यसले मलाई काम गर्न अझ सकारात्मक माहोल बनाइदियो ।
उहाँ गल्दै जानुभएको थियो । उहाँको आयु अब धेरै दिन छैन भन्ने हामीलाई महसुस भइसकेको थियो ।
शनिबारको दिन थियो । दिउँसोतिर मात्र त्यहाँ जान्छु भन्ने सोचेर त्यस दिन म बिहानै गुह्येश्वरी गएँ, गल्फ खेल्न । यसैबीचमा डा। कार्कीको फोन आयो । उहाँले भन्नुभयो, “डा। भगवान, उहाँको स्थिति त राम्रो छैन, अन्तिम भेटका लागि हामी सबै जानु ठीक हुन्छ कि रु”
म पनि खेल्न छाडेर त्यता लागें । उहाँले अलि अन्तिम अवस्थामै फोन गर्नुभएको रहेछ । म त्यहाँ नपुग्दै अन्तिम क्षण भइसकेको रहेछ । बाहिर हल्लाखल्ला मच्चिइसकेकाले त्यहाँ भीडभाड भइसकेको रहेछ ।
धेरै बेरदेखि ट्राफिक जाम भएर गाडी अगाडि लैजान नसक्ने स्थिति भयो । त्यसैले मैले गाडी अलि परै राखेर हिँडेर जाँदा केही समय लाग्यो । म पुग्दा उहाँको देहावसान भइसकेको रहेछ । हाम्रै चिकित्सक साथीहरुले अन्तिम क्षणसम्म साथ दिइरहनुभएको थियो ।
म खिन्न भएँ । एक दशकसम्म उपचारको सिलसिलामा उहाँले निकै विश्वाससाथ मलाई बोलाइरहने हुनाले अन्तिम अवस्थामा पनि म उहाँलाई साथ दिन चाहन्थें । नेपालमा एउटा हार्ट–लङ एकेडेमी बनाएर मुटु तथा फोक्सोको पठनपाठनसहितको राष्ट्रिय इन्स्टिच्युट बनाउने र त्यसको सेवालाई देशभर विकेन्द्रीकरण गर्ने भन्ने हाम्रो अवधारणालाई उहाँले पूरा समर्थन गर्नुभएको थियो । उहाँको देहावसानसँगै हार्ट–लङ एकेडेमीको अवधारणा पनि शिथिल बन्दै गयो । यी दुवै कारणले म त्यो दिन निकै खिन्न भएँ ।
(डा. कोइरालाको पुस्तक ‘हृदय’बाट)




प्रतिक्रिया


  1. I was suggestewd thjis weeb site via myy cousin. I aam noot suure whetrher orr nnot thyis putt up iis written bby way off him aas no onee else know such specific approximately mmy trouble. You're wonderful! Thanks!

    Whhen I initially commentted I clicked the "Notify me when new comments are added" checkbox aand noww each time a commsnt iis added I gett threee emaiils wioth the sane comment. Is there aany wway yyou can rempve people from that service? Maany thanks!

    Firest off I want too saay terrific blog! I hadd a quick question which I'd like to aask iif yyou ddo nnot mind.I was intereted to find out howw youu center yourserlf and cler your thoughts prior to writing. I've had touble clearing my thoughts inn getting my tyoughts out. I trhly do taake pleaasure iin writing but itt just seems ike thee firstt 10 too 15 minutges tend tto bbe lkst imply just trying too figure ouut how to begin. Anny ideas orr tips? Appreciate it!