चिनासँगै बग्छ इतिहास 

image

इतिहासकार डा. महेशराज पन्त भन्छन्, ‘राजा त्रिभुवनको न्वारनको नाउँ पेशल हो । २०११ फागुनमा उनको निधन हुँदा म १० वर्षको थिएँ । अन्त्येष्टिका बेला बुबासितै आर्यघाट गएको थिएँ । त्यसबेला चितामा त्रिभुवनको शव जल्दै थियो, पण्डितले उनको चिनालाई च्यातेर वाग्मती नदीमा फ्याँकिदिए । पेशलसँगै उनको तीनपुस्ते वाग्मतीमा तलतल बग्दै गयो । त्यो देख्दा आज पनि दुःख लाग्छ ।’ 

 

मेरा जिजु बाजे हरिलाल जसले पैसा काटे । जुन सामान जोख्न (तौलन) प्रयोग गरिँदै आएको पाइन्छ । तिनै जिजु बाजेबारे जान्ने कौतूहलता लागेर गत माघमा मैले ८४ वर्षीय पिताजीसँग यसबारे केही थाहा छ कि ? भनेर जिज्ञासा राखेँ ।

पिताजीलाई मेरो प्रश्न थियो, ‘हरिलाल जिजु कहिले जन्मिनु भएको थियो ?’

पिताजी, ‘ठ्याक्कै भन्न सक्दिन । सम्वत् १८८०/९० तिर हुनुपर्छ ।’

अर्को प्रश्न गरेँ, ‘उहाँको जन्म खुल्ने केही कागजपत्र छन् कि ?’

पिताजी, ‘त्यस्तो कागजपत्र त केही छैन । उहाँको निधन हुँदा चिना पनि च्यातेर बगाइदिइहाले होलान् ।’

फेरि जिज्ञासा राखेँ, ‘तपाईंको बुबाको चिना छ त ?’

पिताजी, ‘छैन । उहाँको दाहसंस्कारका बेला च्यातेर आँखू खोलामा बगाइ हालियो नि ! मरेको मान्छेको सम्झना हुने कुनै पनि चिज घरमा नराख्नु भनिन्छ । त्यसैले केही पनि राखिएन ।’

उफ् ! कस्तो चलन हाम्रो । इतिहास नै बगाइदिने, जलाइदिने ? व्यक्तिको निधनसँगै उसको चिना (जन्मकुण्डली) च्यातेर बगाइदिने वा जलाइदिने चलन छ । क्षत्री/बाहुनको च्यातेर खोला, नदीमा फ्याँकिन्छ, नेवारहरूको जलाइदिने गरिन्छ । व्यक्तिको निधनसँगै उसको जन्मकुण्डली च्यातेर बगाइदिनुपर्ने वा जलाइदिनुपर्ने हाम्रो जुन चलन छ, यसबारे कुनै शास्त्रले भनेको छ/छैन शास्त्रवेत्ताहरू नै बताउँलान् । तर व्यक्ति मरेपछि दाहसंस्कारका बेला चिना पनि सँगै च्यातेर खोला/नदीमा फालिदिँदा वा जलाइदिँदा इतिहास बगेर जाने उल्लेख गर्दै डा. महेशराज पन्त भन्छन्, ‘हामीले त बुबा र आमा दुवैको चिना च्यातेर फालेनौँ । अहिलेसम्म सुरक्षित राखेका छौँ ।’

के हो चिना ?

हाम्रो वास्तविक जन्म मिति र नाउँ खुल्ने दस्तावेज नै चिना (जन्मकुण्डली) हो । ज्योतिषहरूले शास्त्रबमोजिम जन्मेको घडी, पला अर्थात् मिनेट, सेकेन्डको हिसाब गरेर नेपाली कागजमा रंगीन जन्मकुण्डली तयार पार्छन् । त्यसमा व्यक्तिको न्वारनमा जुराएको नाउँ उल्लेख गरिएको हुन्छ । चिना तीनपुस्ते खुल्ने दस्तावेज हो ।

हाम्रो समाजमा प्रायः व्यक्तिका दुईवटा नाउँ हुन्छन् । एउटा बोलाउने नाउँ र अर्को न्वारनमा जुरेको नाउँ । जुन गोप्य नै राख्ने गरिन्छ । व्यक्तिको जीवनी उतारिएको चिना बाँचुञ्जेल अमूल्य मानेर निकै जतनसाथ राखिन्छ । तर मरेका दिन च्यातेरसँगै बगाइदिने वा जलाइदिने चलन रहेको छ ।

पछिल्लो समय कलाकार हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ लेखेपछि चिना शब्द औधी चर्चामा आयो । आचार्यको निकै बिक्री भएको यो किताबसँगै चिनाबारे धेरैलाई चासो भयो ।

चिना महिला, जनजाति, दलित, मधेसी सबै जातिको बनाइने संस्कृतिविद् डा. जगमान गुरूङ बताउँछन् । जनजातिका ज्योतिषहरूले उनीहरूका समुदायका बच्चाबच्चीको चिना बनाउने काम गर्ने बताउँदै संस्कृतिविद् गुरुङ भन्छन्, ‘जनजातिमा पनि बच्चाबच्चीहरूको चिना बनाउने चलन रहेको र व्यक्तिको निधनपश्चात् चिनालाई जलाइदिने वा नदीमा बगाइदिने गरिन्छ ।’ उनका अनुसार राजा–महाराजाहरूको चिना भने सुरक्षित राख्ने गरेको पाइन्छ । उनीहरूको निधन हुँदा ज्योतिषले चिनाको आधारमा एउटा सानो टिप्पणी बनाएर बगाइदिने वा जलाइदिने गर्छन् । र, चिनालाई सुरक्षित राख्छन् । अनि त्यस्ता चिनाहरू अभिलेखालयमा राखिन्छ । ज्योतिषहरूले धनीका बच्चाबच्चीको लामो जन्मकुण्डली लेखिदिने र गरिबका छोराछोरीका टिपन (टिप्पणी) मात्र बनाइदिने गर्छन् । बढी पैसा तिर्न सक्नेलाई लामो र रंगीन चिना बनाइदिएको पाइन्छ ।

इतिहास जलाएकोमा दुखित

हाम्रो देशै ज्ञानको भण्डारमा आगो झोस्ने देश । यहाँ विद्यार्थीहरू परीक्षामा फेल भएको निहुँमा विश्वविद्यालयका केन्द्रीय विभागहरूमा आगो झोस्छन् । केही दशक पहिले त्रिभुवन विश्वविद्यालय, अंग्रेजी केन्द्रीय विभागमा यस्तै घटना भएको थियो । क्रान्तिकारीहरूले पुरातत्त्व र इतिहासलाई अन्धविश्वासको पुलिन्दा भन्दै खरानी बनाइदिए । यस्तो परिवेशमा बाँचेका हामीले आफ्नै इतिहास च्यातेर नदीमा बगाइरहेका छौँ । जलाइरहेका छौँ ।

व्यक्ति–व्यक्ति, परिवार–परिवार मिलेर समुदाय, समुदाय–समुदाय मिलेर समाज र समाज–समाज मिलेर राष्ट्र बन्छ । त्यसैले व्यक्तिको इतिहास जोगाउनु भनेकै राष्ट्रको इतिहास जोगाउनु भएको इतिहासकार डा. महेशराज पन्त बताउँछन् । उनी भन्छन्, ‘राजा त्रिभुवनको न्वारनको नाउँ पेशल हो । २०११ फागुनमा उनको निधन हुँदा म १० वर्षको थिएँ । उनको अन्त्येष्टिका बेला बुबासितै आर्यघाट गएको थिएँ । त्यसबेला चितामा त्रिभुवनको शव जल्दै थियो, पण्डितले उनको चिनालाई च्यातेर वाग्मती नदीमा फ्याँकिदिए । पेशलसँगै उनको तीनपुस्ते वाग्मतीमा तलतल बग्दै गयो । त्यो देख्दा आज पनि दुःख लाग्छ ।’

चिना च्यातेर वाग्मतीमा बगाइदिएको दृश्यबाट दुःखित हुने अर्का स्रष्टा हुन्– स्वर्गीय मनुजबाबु मिश्र । २०३८ सालमा सुप्रसिद्ध नाटककार बालकृष्ण समको निधन भएपछि कलाकार मिश्र श्रद्धाञ्जलीका लागि आर्यघाट पुगेका रहेछन् । समको अन्त्येष्टिका बेला उनको चिना च्यातेर वाग्मतीमा बगाइदिएको घटनालाई कलाकार मिश्र (एउटा अमर प्राज्ञः बालकृष्ण सम, प्रकाशकः बालकृष्ण सम फाउन्डेसन, घट्टेकुलो, अनामनगर, पो. ब. नं. ११४४१, काठमाडौं, माघ २०५४, नरेन्द्रराज प्रसाईं/इन्दिरा प्रसाईं) किताबमा लेख्छन् :

‘...पारिपट्टि चितानजिकै फूल, अविर, अक्षताले पुरिएर लम्पसार परिरहेको समज्यूको मृत देहनजिकैबाट एकजना ब्राह्मण उठे । उनले एउटा रातो चम्किलो खोलबाट बेरेर राखेको एक मुठा कागज फुकाए । त्यो कागज झण्डै ७–८ फिट लामो थियो । घोट लगाएर बनाएको नेपाली बाक्लो कागजभरि माथिदेखि तलसम्म कालो मसीका अक्षरहरु, रंगीन चित्र एवं फूलबुट्टाहरु, गणीतात्मक कुण्डली, मण्डल चक्र आदिलाई म आफू बसेका ठाउँबाट नै देख्न सक्दथेँ । त्यो स्वर्गीय समज्यूको चिना रहेछ । त्यसलाई ती ब्राह्मणले निर्ममतापूर्वक तीन ठाउँमा च्यातेर वाग्मतीको बाक्लो बाढीमा फालिदिए । मेरो देब्रेपट्टिको स्थूल कान कथा सुन्दै थियो मेरा विद्वान् मित्रको । तर मेरो मन भने दौड्यो मान्छेका भीडलाई चिर्दै प्रसिद्ध इतिहासकार र पुरातत्वविद्हरुलाई धक्याउँदै, पुलपारि आर्यघाटैघाट बग्दै गएका ती बहुमूल्य राष्ट्रिय सम्पत्ति टिप्न । मेरा मनले तिनै टुक्रा कागजलाई टिप्यो, पानी निथार्‍यो, सुकायो, गुँद लगाएर च्यातिएको ठाउँ गाँस्यो, घरमा ल्यायो, हर्मिताजका भित्तामा त्यसलाई फ्रेम हालेर सगौरव झुन्ड्यायो– साथै बुट्टा एवं अक्षरहरु चिनामा यथावत् देख्दा हर्षले गद्‌गद् भयो । देशको त्यस्तो बहुमूल्य सम्पत्ति जोगाउन सकेकामा उसले आफैलाई धन्यवाद दियो । यथार्थतामा मेरो शरीर भने जहाँको तहीँ थियो । मेरा चर्मचक्षुहरु टोलाएर पानीमा टलपलाउँदै गइरहेका थिए ती चिनाका टुक्राहरुलाई हेर्दै थिए । यथार्थतामा यदि मैले ती चिनाका टुक्राहरुलाई समेटेर ल्याई सुरक्षित राख्न सकेको भए यस देशमा मेरो हर्मिताज बालकृष्ण समकै आश्रम बन्न पुग्ने थियो । स्वर्गीय समप्रति श्रद्धाञ्जलि अर्पण गर्न खोज्दा आज पनि मलाई त्यही च्यातेर फालिएको चिनाले चस्काउने गरेको छ ।’ (एउटा अमर प्राज्ञः बालकृष्ण सम, पृ. ३६७–३६८)

आज हामी दूध भए गाई नचाहिने, कृति भए स्रष्टा नचाहिने, ईश्वर भए मन्दिर नचाहिने, आत्मा भए शरीर नचाहिने नवसंस्कारवादी सोचले ग्रस्त हुन पुगेका छौँ भन्दै स्वर्गीय कलाकार मिश्रले राष्ट्रका अमूल्य रत्नहरुको मात्र होइन सबै जनको चिना जोगाउन सके इतिहास जोगिने उल्लेख गरेका छन् ।

हरेक परिवारले चिनालाई सुरक्षित राख्नुपर्ने उल्लेख गर्दै डा. महेशराज पन्त भन्छन्, ‘यसलाई हामीले सुरक्षित गर्नु पर्छ । व्यक्तिको निधनपछि उसको चिनालाई घरैमा राख्दा पनि केही अप्ठेरो हुँदैन । आफ्नो बाउ–बाजेको निधनपछि तिनको चिना घरमा राख्न मन लागेन भने मलाई ल्याएर दिनुहोस्, म सुरक्षित राखिदिने छु । यसले हाम्रो इतिहास बग्न र जल्नबाट जोगिने छ ।’ अर्थात् परिवारको सदस्यको निधनपश्चात् उनको चिना छ भने त्यसलाई राष्ट्रिय अभिलेखालयमा दिएर पनि इतिहास सुरक्षित राख्न सकिन्छ ।

यो समाग्री हामीले २०७८ साउन २९ गते कान्तिपुरबाट लिएका हौ । यस्ता विषय बस्तुलाई मिडियाले प्राथमिकता दिने हो भने हाम्रो इतिहास जोगाउन सघाउ पुग्ने छ । 
 




प्रतिक्रिया


  1. image карты таро четыре пентаклей

    гороскоп на сегодня для скорпионов павла глоба к чему снится когда мужчина обнимает и целует тригон меркурия и плутона в натальной карте заупокойная молитва спектакль где найти свежие фото со спутника?, спутниковые снимки по годам

    Achat en ligne sécurisé de médicaments en France Genera Villepinte Compra medicamentos sin receta médica