जिम्मेवारी र उत्तरदायित्व वहन : नेपाली पत्रकारितालाई जोगाउने आधार

image

हिजोका दिनमा पत्रकारिता जगत आफ्नो उत्तरदायित्व वहन गर्ने क्रममा चुकेकै कारण नेपाली मिडियाको विश्वसनीयता माथि प्रश्न उठ्न थालेको छ, विगतको अनुभवबाट शिक्षा लिएर अघि वढ्न नसक्ने हो भने नेपाली प्रेस सत्य, तथ्य सूचना प्राप्त गर्ने साधन विनाको खोक्रो ढ्वाङ वा विघटनका सुरुवात हुने निश्चित छ । 

तीस वर्ष लामो पञ्चायती व्यवस्थाको अन्त्य गर्दै २०४६ सालको जनआन्दोलनले मुलुकमा प्रजातन्त्र पुनस्र्थापना गरेपछिका दिनमा नेपाली समाजमा पत्रकारिता प्रतिको आकर्र्षण बढ्दो थियो । नेपाल अधिराज्यको संविधान २०४७ ले प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेका कारण ठूलो लगानीका सञ्चार गृह खुलेका थिए । आधुनिक प्रविधि भित्राउने, दक्ष जनशक्ति भर्ना गर्ने, आकर्षक सेवा सुविधा दिने र पत्रिकाको गुणस्तर वृद्वि गर्ने प्रतिश्पर्धा चलेको थियो । पञ्चायतकालमा कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, सामग्रीको प्रकाशन पूर्व प्रतिबन्ध लगाउने र कुनै समाचार वा विचार प्रकाशन वा प्रसारण गरे वापत पत्रिका जफत र बन्द गर्न सक्ने कानूनी व्यवस्थाका कारण फण्टाउन नसकेको नेपाली प्रेसले त्यो प्रजातान्त्रिक खुल्ला वातावरणलाई व्यवशायिक फड्को मार्ने अवसरका रुपमा उपभोग गर्न पाएको अवस्था थियो । 
भर्खरै प्रजातन्त्र स्थापना भएकाले नेपाली समाजमा राजनीतिक विषय वस्तु प्रति एकदमै चासो र आकर्षण थियो । जनआन्दोलनका सहयात्री दल नेपाली कांग्रेस र नेकपा एमालेवीचको तिव्र राजनीतिक प्रतिश्पर्धा सम्वन्धीत समाचार, विचार, लेख रचना नेपाली पत्रपत्रिकाका समाग्री हुन्थ्ये भने पाठक वर्गको अधिक रुची पनि त्यसैमा थियो । सार्वजनीक मञ्चमा नेताहरुले एक अर्का विरुद्व गरेका कठोर आलोचना र आरोप प्रत्यारोप पत्रपत्रिकामा प्राथमिताका साथ हेडलाईन बन्थे । पञ्चायतकालभर राजनीतिक दल निकट मानिएका साप्ताहिक पत्रिकाले आफ्नो आङको भैसी नदेख्ने अरुको आङको जुम्रा देख्ने नेपाली उखानकै शैलीमा समाचार समाग्री पस्किरहेको, आफूले समर्थन गरको दल, नेता तथा सिद्वान्तको अन्ध समर्थन गर्ने र विरोधी माथि तथ्यहिन रुपमा आक्रमण गर्ने पत्रकारिताको अभ्यासलाई विस्तारै विस्तारै सचेत नेपाली समाजले अस्वीकार गर्ने वातावरण वनि रहेको थियो । साप्ताहिक पत्रिकाको तुलनामा सत्य, तथ्य, विश्वसनीय र सन्तुलित समाग्री दिने गरेका कारण ठूलो लगानीका दैनिक पत्रिकाको लाकप्रियता मात्र वढेको होइन, ति सञ्चार गृहले व्यवशायिक सफलता समेत पाउन थालेको अवस्था थियो । 
नेपाली इतिहासमा पहिलो पट पत्रकारिताले औद्योगिक स्वरुप ग्रहण गर्दै गर्दा दक्ष जनशक्तिको माग उच्च थियो । त्यो बेला हामी रत्न राज्य लक्ष्मी क्याम्पसमा पत्रकारिता पढ्दै गरेका विद्यार्थीहरु कामको खोजीमा पत्रिकाका कार्यालय धाउथ्यो । सम्पादकहरु भन्ने गर्थे –तिमीहरु जस्ता शिकारु राखेर हाम्रो पत्रिका चल्छ । हामीलाई त लेख्न जान्ने अनुभवी पत्रकार चाहिन्छ । ए भाई पत्रकारिता पढ्दैमा पत्रकार भइदैन, पत्रकार बन्ने हो भने राम्रो लेख्न सक्नु पर्छ । आजका सम्पादकहरुलाई हेर्नुस् त कोही छ पत्रकारिता पढेर आएको । सबै लेख्न जानेका कारण सम्पादक भएका हुन् । 
मैले पत्रकारितामा स्नताक गर्दा सम्म दैनिक नेपाली समाजमा पत्रिका लोकप्रियताको शिखर तर्फ उन्मुख हुदै थिए । तिनले दिनहुँ प्रकाशन गर्ने राजनीतिक समाचार पढ्ने पाठक बढ्दै गए । पत्रिका पसलमा उभिएर सित्तैमा पत्रिका पढ्ने र अन्तमा एउटा पत्रिका किनेर घर फर्किने पाठकको संख्या कम थियो । हामी जस्ता विद्यार्थीहरु भने उभिएरै भए भरका सबै जसो पत्रिका पढेर डेरामा फर्किन्थ्यौं । दैनिक पत्रिकाहरुबीचको व्यवशायिक प्रतिश्पर्धाले पत्रिकाको गुणस्तर, वजार, पाठकको रुची, विज्ञापन बजार र मिडियाको आम्दानी वढ्दै गयो । पाठकहरुले एउटै बिषयमा विभिन्न कोणबाट लेखिएका समाचार पढ्न पाए । 
प्रजातन्त्र पुनस्र्थापनाको एक दशक पुग्दा नपुग्दै निजी र सामुदायिक एफएम रेडियोहरु स्थापना भए । अव एफएमको आगमनले सूचनाको प्रवाह र पहुँच विस्तार हुन पुग्यो । २०५९ सम्म आई पुग्दा नीजि क्षेत्रबाट सञ्चालीत टेलिभिजन खुले । साप्ताहिक पत्रिका, रेडियो हुदै म आफै कान्तिपुर टेलिभिजनमा राजनीतिक बिट हेर्न थाले । तिनताका समाचार भनेकै राजनीति र राजनीति भनेकै समाचार भन्ने बुझाई थियो । पत्रिका, रेडियो, टेलिभिजनहरु बीच आफ्नो महत्व र प्राथमिकता क्रममा समाचार र विचार प्रकाशन प्रशारण गर्ने होड चलेकाले दक्ष जनशिक्त भर्ना गर्ने, राम्रो पारिश्रमिक दिने प्रतिश्पर्धा शुरु भएकाले शिक्षित जनशक्तिका लागि यो पेशा प्रति आकर्षण झनै वढेर आयो ।  
हरेक दिन विहानै अफिस पुग्नु, संसद बैठक, राजनीतिक दलका सभा, सम्मेलनमा जानु, नेताहरुका लामा लामा भाषण सुन्नु, समाचार बनाउनु राजनीतिक बिटमा काम गर्ने म जस्ता पत्रकारहरुको दैनिकी बन्यो । पत्रपत्रिका, रेडियो, टेलिभिजनमा प्राय नेताका भाषण मुख्य समाचार बन्थे । नेताहरुका भाषणमा आधारित समाचारमा प्राय भन्नु भयो, गर्नु भयो, प्रकाश पार्नु भयो, स्पष्ट पार्नु भयो, चेतावनी दिनु भयो, उल्लेख गर्नुभयो, चर्चा गर्नु भयो, ठोकुवा गर्नु भयो, आश्वासन दिनु भयो जस्ता शव्द प्रयोग भएका हुन्थे । 
नेताहरु भाषण गर्थे, कार्यकर्ता तालि वजाउथे, हामी भने तिनै कार्यक्रमको समाचार वनाएर दंग पथ्यौं । मिडिया थोरै भए पनि तिनको प्रभाव भने अधिक थियो, मिडियाले उठाएका मुद्वाले चिया चौतारी, सार्वजीक स्थल, सामाजिक संघ संस्था, सरकारका अंग, दलका भेला, बैठक र संसदमा सचेत चर्चा पाउथ्यो । 
पत्रकारिता नेपालीको समाजको अभिन्न अंग बन्ने क्रममा रहेका २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले मुलुकको कार्यकारी अधिकार हातमा लिएर मिडियामा सैन्य सेन्सरसीप शुरु गरी प्रत्यक्ष शासन चलाए पछिका केही दिन मिडियाले राजनीतिक समाचार दिन पाएनन् । मिडियाले सत्य, तथ्य, विश्वसनीय सूचना प्रवाह गर्न नपाएको अवस्थामा बीबीसी लगायत अन्तराष्ट्रि«य मिडियामा भर पर्नु पर्ने अवस्था आयो । निरंकुश बाटोमा जाने राजा ज्ञानेन्द्रको महत्वाकांक्षाले सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच १२ बुदे सहमति गर्ने वातावरण वनाई दियो । त्यही सहमतिको जगमा सात राजनीतिक दलको आव्ह्रनमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण प्रजातन्त्र वहालीका लागि शुरु भएको जनआन्दोलनले उचाई लिदै गर्दा मिडियाले सम्पादकीय स्वतन्त्रताको उपभोग गर्न पाए । न्यूयोर्क टाइम्स (अमेरिका) का लागि काम गरेका स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक अवेलका अनुसार ः राज्यले जिम्मेवारी पूरा नगर्नु, अन्याय, अत्याचार, अव्यवस्था हुनु, कानुन उल्लंघन हुनु समाचार हो । मिडिया शासकको इसारामा चल्नु हुँदैन । जनचाहना र भावनालाई महत्वका साथ आफ्ना समाचार र विचारमा स्थान दिनु उसको धर्म हो । अधिकार प्राप्तिको लडाई जारी रहदा सम्म राजनीतिक बिषय बस्तुलाई प्राथमिकता दिनु नेपाली प्रेसको धर्म नै थियो । निरंकुश राजतन्त्र अन्त्यको माग गर्दै २०६२–०६३ मा भएको जनआन्दोलनलाई नेपाली प्रेसले साथ दियो र राजालाई प्रतिनिधिसभा पुनस्र्थापना गर्न वाध्य बनाउने अभियान सफल बनाउन भूमिका खेल्यो । पुनस्र्थापित प्रतिनिधिसभाले संविधानसभा निर्वाचन हुदै गणतन्त्रमा जाने मार्गचित्र तय ग¥यो । राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनासम्मको राजनीतिक उपलव्धी हासिल गर्न नेपाली मिडियाको योगदान थियो । गणतन्त्र स्थापनापछि राजनीतिक अधिकार प्राप्तको युग अन्त्य भएकाले नेपाली पत्रकारिताको प्राथमिकता आर्थिक सम्वृद्वि र विकास हुनु आवश्यक छ । 
आगामी बाटो 
संविधानसभा मार्फत संविधान वनाएर राजनीतिक अधिकार र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको अवस्थामा नेपाली प्रेसले समाज प्रतिको आफ्नो दायित्व र प्राथमिकताक्रमलाई पुनः परिभाषित गर्नु पर्ने बेला आएको छ । सूचना प्रविधिका क्षेत्रमा आएको क्रान्तिले विश्वभर परम्परागत रुपमा सञ्चालन हुदै आएका पत्रपत्रिका, रेडियो, टेलिभिजन संकटको अवस्थामा छन् । डिजिटल मिडियाको पहुँच र प्रभाव वढेको भए पनि विश्वसनीयता संकटको अवस्थामा छ । सञ्चार गृहको आम्दानी घटेको, ठूलो संख्यामा दक्ष जनशिक्त पलायन भएको, थोरै जनशक्तिमा मिडिया चलाउनु पर्ने वाध्यता भएको र गुणस्तरीय समाग्री दिन नसकेका कारण मिडिया प्रतिको विश्वसनीयता कमजोर हुदै गएको अवस्था छ । 
त्यसैले सरकार, मिडिया सञ्चालक, पत्रकार महासंघ, प्रेस काउन्सिल, सहित सरोकारवाला पक्षले आगामी दिनमा मिडिया क्षेत्रलाई कसरी अघि वढाउने भन्ने बिषयमा ठोस नीति तय गरी अघि वढ्नु आवश्यक छ । यस सन्दर्भमा वहस हुनु पर्ने केही मुद्वा यस प्रकार छन् । 
क) निजी क्षेत्रबाट सञ्चालित मिडियालाई राजनीतिक दल, व्यापारिक घराना, स्वार्थ समुहको प्रभावबाट कसरी मुक्त गर्ने ।
ख) सरकारी मिडियामा कसरी सम्पादकीय स्वतन्त्रता कसरी सुनिश्चित गर्ने । 
ग) मिडियाको लगानीलाई कसरी पारदर्शी बनाउने ।
घ) पत्रकारहरुलाई राजनीतिक दलको छाँयाबाट कसरी मुक्त गर्ने । 
ङ) प्रेस काउन्सिलको क्षमता अभिवृद्धि गरि त्यहाँ हुने नियुक्तलाई कसरी राजनीतिक प्रभावबाट मुक्त गर्ने । 
च) नेपाल पत्रकार महासंघमा दलिय आधारमा प्रतिश्पर्धा गर्ने परम्पराको अन्त्य गरि, पत्रकारको योग्यता र क्षमताका आधारमा प्रतिश्पर्धा गर्ने वातावरण कसरी बनाउने । 
छ) पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि मिडिया हाउस र सरकारले लगानी गर्ने वातावरण कसरी बनाउने । 
ज) मिडियाले प्रकाशन तथा प्रशारण गर्ने समाग्रीका बिषयमा अध्ययन गरी समीक्षा गर्ने वातावरण कसरी श्रृजना गर्ने । 
झ) पत्रकारहरुको सामाजिक सुरक्षा र सेवा सुविधाको सुनिश्चिता गर्दै यो पेशाको मर्यादा कसरी बढाउने । 
ञ) पत्रकारिता र पत्रकारको आवरणमा हुने पत्रकार आचार संहिता विपरितका काम कारवाहीलाई कसरी निस्तेज वनाउने । 

निष्कर्ष 
सत्य, तथ्य र विश्वसनीय समाचार सामग्रीको प्रवाहमार्फत समाजलाई सूचना, शिक्षा, मनोरञ्जन र अभिप्रेरणा दिनु मिडियाको धर्म हो । यसले समाजमा भए गरेका घटनाको सूचना मात्र दिँदैन, समाचार र विचारको प्रवाहमार्फत जनमत निर्माण गर्नसमेत सघाउँछ । सामाजिक मूल्य, मान्यता र संस्कारलाई स्थापित गर्छ । मिडिया समाजको ‘ऐना’ र परिवर्तनको आधार पनि हो । प्रेसको पहिलो दायित्व जनभावना बुझ्नु र ती भावनालाई अभिव्यक्तिको माध्यम प्रदान गर्नु हो । दोस्रो, जनचाहनाहरुको प्रतिनिधित्व गर्नु हो । तेस्रो, निर्भयतापूर्वक गलत कुराहरु उजागर गर्नु हो । आवाजविहीनको प्रतिनिधित्व गर्दै सरकार र सरोकारवालका काम कारबाहीको आलोचना गर्नु, निगरानी गर्नु र जनताप्रति उत्तरदायी बनाएर विधिको शासन स्थापना गर्न सघाउँनु पनि हो । अमेरिकी पूर्वराष्ट्र«पति जेफरसनका अनुसार ः जुन देशमा स्वतन्त्र अखबार हुन्छ, नागरिक साक्षर र पढ्न सक्ने हुन्छन्, त्यहाँ सबै कुरा सुरक्षित रहन्छ । त्यसैले उनले भनेका छन् ः यदि मलाई सरकार विनाको अखबार र अखबार विनाको सरकारमध्ये कुनै एक रोज्न भनियो भने विना हिचकिचाहट म पहिलो रोज्ने छु । २०४६ सालपछिको स्वतन्त्र वातावरणमा नेपाली प्रेसले समाजका लागि गरेको योगदान, यसका कमजोरी र अनुभवको मूल्याङन गर्दै भावी दिनमा पुरा गर्नु पर्ने दायित्व वारे मिहिन छलफल हुनु आवश्यक छ । मिडियाको विकासका लागि प्रेस स्वतन्त्रताको जति महत्व छ, प्रेसको विश्वसनीयता कायम गर्न उसले समाज प्रतिको उत्तरदायित्व पुरा गर्नै पर्छ । मिसावटरहित सूचना र विचारको प्रवाहले मात्र प्रजातान्त्रिक पद्धतिलाई सवल र सक्षम बनाउन सक्छ ।  विनापूर्वाग्रह सूचना तथा विचारको प्रवाहमा गर्ने मामिलामा हामी कहाँ छौं आत्मालाई साक्षी राखेर मनन गरौं । हिजोका दिनमा पत्रकारिता जगत आफ्नो उत्तरदायित्व वहन गर्ने क्रममा चुकेकै कारण नेपाली मिडियाको विश्वसनीयता माथि प्रश्न उठ्न थालेको छ, विगतको अनुभवबाट शिक्षा लिएर अघि वढ्न नसक्ने हो भने नेपाली प्रेस पनि जेम्स मेडिसनकै भनाई अनुसार सत्य, तथ्य सूचना प्राप्त गर्ने साधन विनाको खोक्रो ढ्वाङ वा विघटनका सुरुवात हुने निश्चित छ । 




प्रतिक्रिया