प्रधानमन्त्री निवासबाटै सेनाको एक हाकिमलाई लिएर म जाटियाको घर गए । उनी सुतेका रहेछन् । उठाएर सबै कुरा भने । मेरो कुरा सुने पछि एक शव्द केही नभनी सेफ खोले, भएको सबै रकम झिके । जम्मा साठी लाख रहेछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापारिक पृष्ठभूमिका उमेश श्रेष्ठलाई मन्त्री बनाएपछि राजनीतिक वृत्तमा व्यापक चर्चा छ । राजनीतिमा स्वार्थ समुह हावी हुँदाको परिणाम कस्तो हुन्छ भन्ने वुझ्न र जान्न २०३६ सालको जनमत संग्रहको अनुभव उपयोगी हुन सक्छ ।
जनमतसंग्रह ताकाका गृहमन्त्री नवराज सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’ को पेज नं ४२ मा बहुदल हराउने बिषयमा प्रधानमन्त्री सूर्यवहादुर थापा र आफू विच यसरी कुराकानी भएको उल्लेख गरेका छन् ।
सूर्यवहादुर ः ‘जनमत नहुन्जेलसम्म कति रकम चाहिन्छ भन्नुस् । नवराज ः करिव तीन करोड पचास लाख जति भए पञ्चायत जिताउन सकिन्छ ।
साम, दाम, दण्ड, भेद प्रयोग गरी पञ्चायत जिताउने सहमतिका साथ त्यो दिनको कुराकानी सकियो ।
यस प्रसंगमा सुवेदीले २०७६ असार तेस्रो साता आफ्नै निवासमा सुनाए ‘उद्योगी व्यवशायीसंग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री थापाले मलाई नै दिनुभयो । तर भने जस्तो सहयोग मिलेन । अन्तमा भन्नुभयो नवराजजी, कुनै एक व्यापारी समाउनुस्, कुन सर्तमा दिन्छ सोध्नुस् र एकै जनासंग साढे तीन करोड लिने व्यवस्था गर्नुस् ।’
सुवेदी चालिस वर्ष अघिको त्यो घटना सुवेदीले मेरो क्यामरामा यसरी स्मरण गरे ‘आजकल दुई नम्वरी धन्दावाट पैसा कमाउने धेरै छन् । त्यो बेला समय नेपाल भित्र यो धन्दामा भारतीय नागरिक चोथमल जाटियाको एक छत्र राज्य थियो । प्रधानमन्त्री थापा र मलाई एक नम्वरी दुई नम्वरीको मतलव थिएन । पञ्चायत जिताउन पैसा चाहिएको थियो । मैले नै त्यो दुई नम्वरी व्यापारी जाटियासंग कुरा गरे ।’
जटियासंग भएको बार्तालाप बारे सुवेदीले सुनाए ‘मैले सबै कुरा राखे पछि उसले भनेको थियो, मन्त्रीज्यू तपाई र प्रधानमन्त्री थापाज्यूलाई त्यो पनि पञ्चायत जिताउन खाली साढे तीन करोड चाहिएको छ । यो त साह्रै लाजमर्दो कुरा भयो । म आजै दिन सक्छु तर पैसा दिने भए पछि मैले केही सुविधा पाउनु पर्छ ।’
जटियाका तीन सर्त यस्ता थिए ।
१. उनलाई नेपाली नागरिकता दिनु पर्ने ।
२. काठमाडौं भित्र उनलाई ठूलो कटन कारखाना खोल्न दिनु पर्ने ।
३. सर्पको छाला निर्यातका लागि उनलाई अनुमति दिनु पर्ने ।
प्रधानमन्त्री थापा ति व्यापारीका सर्त मान्न तयार भए । जाटियाका सर्त स्वीकार गरी साढे तीन करोड लिने सहमति प्रधानमन्त्री निवास वालुवाटारमै भएको थियो । वालुवाटारमा सहमति भएपछि जाटियाले प्रधानमन्त्री थापा, मन्त्री सुवेदीसंग भनेका थिए ‘तपाई दुई जनाले जनमतसंग्रह पछि मेरो काम गरिदिने जिम्मा लिनुहुन्छ भने साढे तीन करोड होइन, पञ्चायतलाई जति चाहिन्छ, जति बेला चाहिन्छ, म नै सबै रकमको व्यवस्था गरिदिन्छु ।’
त्यो दिनको घटना सुवेदीले लेखकलाई सुनाए ‘अनी मात्र प्रधानमन्त्री थापाको चेहरामा खुसी देखियो । पञ्चायत जिताउन सकिने भयो भने ढुक्क हुनुभयो ।’ सुवेदीले भनेका छन् ‘म नै जाटियासंगवाट पैसा ल्याउथे । चुनावको मिति नजिकिदै जाँदा सबै जसो जिल्लावाट वुथ खर्च चाहियो भन्ने माग आउन थाल्यो । कुनै पञ्च आफ्नो खल्तीबाट एक पैसा खर्च गर्न तयार थिएनन् । नपठाए सबै प्रयास बेकार हुने भयो । जाटियाबाट साढे तीन करोड लिइसकेका थियौं । भोली पल्ट सबै जिल्लामा मानिस पठाउने तयारी पनि भैसकेको थियो, तर पैसा बाँकी रहेन । राति १२ वजे सूर्यवहादुरजी भन्न थाल्नु भयो नवराजजी भए एक करोड नभए पचास लाख त चोथमलसंग लिनुस् । अहिले नै उसको घरमा गई पैसा माग्नुहोस् । विहान ७ वजे त जिल्ला जाने मानिसहरु पैसा लिन आई पुग्छन् । प्रधानमन्त्री निवासबाटै सेनाको एक हाकिमलाई लिएर म जाटियाको घर गए । उनी सुतेका रहेछन् । उठाएर सबै कुरा भने । मेरो कुरा सुने पछि एक शव्द केही नभनी सेफ खोले, भएको सबै रकम झिके । जम्मा साठी लाख रहेछ । त्यो रकम मेरो हातमा दिदै भने ल मन्त्रीज्यू यो रकम लैजानुस् र पञ्चायतले जितोस् ।’
जाटियाबाट कुल साढे चार करोड लिएको सुवेदीले लेखेका छन् ।
पञ्चायत जिताउन के मात्र गरिएन । तराईको चारकोसे जंगल सखाप पारियो । यसरी सरकारी श्रोत साधन, कर्मचारी, प्रशासनिक शक्ति खुलेआम बहुदलको विपक्षमा प्रयोग गरियो ।
दरवार र पञ्चले साम, दाम, दण्ड भेदको नीति अपनाउदा समेत पञ्चायतको पक्षमा सवा चार लाख मत वढी प¥यो । २०३७ बैसाख २० गते सम्पन्न मतदानको परिणाम जेठ १ गते घोषणा गरियो । ‘पञ्चायतको पक्षमा २४ लाख, ३३ हजार ४५२ (५४.७९) र वहुदलको पक्षमा २० लाख ७ हजार ९६५ (४५.२१ प्रतिशत) मत प¥यो । ३ लाख ७२ हजार ६९ मत बदर भयो ।
बहुदल हराएपछि प्रधानमन्त्री थापामा खुसीको सिमा थिएन ।
दरवारियाहरु त यसै मख्ख थिए । तिनै ताकाको कुरा हो, राजालाई भेटेर फर्किएका प्रधानमन्त्री थापाले सरकारका सचिवहरुको बैठक बोलाएर सुनाए ‘सरकार (राजा) वाट हुकुम भएको छ । सूर्यवहादुर प्रधानमन्त्री हुदा पञ्चायतले जित्यो । यसको खुसीयालीमा के गर्ने भन्ने सल्लाह माग्न मैले तपाईहरुलाई वोलाएको हु ।’
त्यो बैठकमा सहभागी तत्कालीन सचिव तेजवहादुर प्रसाईले भनेका छन् ‘धेरैले धेरै कुरा गरे । मैले प्रस्ताव राख्तै भने, प्रधानमन्त्री ज्यू, मैले धेरै ठाँउमा देखे । हाम्रा कर्मचारीहरु जड्याहा छन्, पैसा लैजान्छन्, खाएर सिध्याउछन् । विदेशमा पनि क्रिसमसका बेला कर्मचारीलाई बोनस दिने गरिन्छ । हामीहरुले दशैं बोनस किन नपाउने ? दशै खर्च दिऊ सव भन्दा राम्रो हुन्छ ।’
महामुनिश्वर आचार्यद्धारा लिखित प्रसाईको आत्मकतामा यो प्रसंग रहेको छ ।
त्यस अघि कर्मचारीलाई दशै पेस्की त दिइन्थ्यो तर छ महिना भित्र तलवबाट कट्टा भुत्तानी गरिन्थ्यो । प्रसाईको प्रस्तावमा प्रधानमन्त्री सहमत भए । यसरी पञ्चायत जिताएको उत्सवमा दशै खर्च दिने प्रचलन शुरु गरियो । जुन कायमै छ ।
सूर्यवहादुर थापालाई दरवारले समेत अप्ठेरोको सारथी मान्ने गरेको थियो । राजा बीरेन्द्रको कार्यकालमा थापा भन्ने गर्थे, मलाई राजाको आवश्यकता होइन, राजालाई मेरो खाँचो छ ।
प्रतिक्रिया