राजनेता मात्र होइन अभियनयमा खप्पिस थिए गणेशमान

image

पत्नी मरेको नाटक रची काठमाडाैंबाट उम्किएका गणेशमानले नौतनवामा बाबु मरेको नयाँ नाटक रचे । बाबुको काजक्रियाका लागि जाने भनेपछि सैनिक अधिकारीले रेल चढ्न अनुमति दिए ।

आठ दशक अघिको कुरा हो । तिनताका राणा शासकहरू सर्वेसर्वा थिए भने जनता रैती कहलिन्थे र तिनका दाससरह थिए । शासकको हुकुम नै संविधान, कानुन सबै हुन्थ्यो । जनताले कि त उनीहरूको हुकुम शिरोपर गर्नुपथ्र्यो नभए ज्यान तर्पनुको विकल्प थिएन । 

अरुले राणाकी छोरीसँग प्रेम गरे सर्वस्वहरणसहित देश निकाला हुनसक्थ्यो । राणाहरुले भने जनताका सुन्दरी छोरी बुहारी देखे मन लागेका बेला तानेर लान्थे । उनीहरुविरुद्ध चुइक्क बोल्ने हिम्मत कसैको थिएन । बरु कति त राणाका दरबारमा आफ्ना छोरीचेली पठाउन पाए फुर्ती गर्थे । 

 

राणाको दरबारका बडाकाजी रत्नमानका नाति गणेशमान (हिराकाजी) मा भने अन्याय अत्याचार देखेर विद्रोह चुलिँदै थियो । विसं १९९३ मा रामहरी शर्मा, टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतका युवाले यस्तो अन्याय विरुद्ध लड्न देशकै पहिलो राजनीतिक दल नेपाल प्रजापरिषद् स्थापना गरे ।

त्यही संस्थाले १९९७ साल असार ९ गते भोटेजात्राका दिन राति पहिलो पटक ‘उपत्यका भर’ राणा विरोधी पर्चा छर्‍यो । आफ्नो विरोध कहिल्यै नसुनेका राणाहरु ती पर्चाबाट अत्तालिए । अनि विद्रोहीलाई खोज्न सहरका कुनाकुनामा जासुस खटाए । प्रजापरिषद्कै एक सदस्यले सुराक दिएपछि आचार्य, शर्मा, माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दसहित गणेशमान सिंह पनि पक्राउ परे । त्यही अभियोगमा माथेमा, श्रेष्ठ, चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइयो । 

जन्मकैद सजाय सुनाइएका गणेशमान नेल र गलफन्दीसहित कडा सुरक्षाबीच २ वर्ष ८ महिनादेखि भद्रगोल जेलमा थिए । तोकिएको सजाय काट्न चुपचाप जेल बस्नुभन्दा कुनै प्रकारले उम्किने उपायको खोजीमा लागे उनी । बाहिर जान सकियो भने राणा शासनविरुद्ध आन्दोलन चलाउने उपाय हुन सक्ला कि भनेर सधैँ सोची रहन्थे । भाग्न अनेकौँ उपाय खोजे । अन्ततः २००१ साल असार ७ गते मध्यरातमा भद्रगोल जेलको १२ फिटे भित्री र त्यसबाहिरको अर्को १६ फिटे पर्खाल तोडेर उम्किए । त्यसपछि सिंह  बिहान उज्यालो नहुँदै साथीहरुको सम्पर्कमा पुगे । इतिहासकार डा. राजेश गौतम ’नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस’ नामक पुस्तकमा लेख्छन् — ‘त्यसबेला स्वास्नी मरेर काजक्रिया गरी फर्केको पुरुषको भेषमा रुँदै कराउँदै उनी काठमाडौं उपत्यकाबाट बाहिरिए ।’ 

अनि भेष बदलेर पैदलै गोर्खा, बन्दिपुर, चितवन, बुटवल  भैरहवा हुँदै नेपालको सिमा काट्ने योजनामा थिए । अर्कोतिर राणा सरकारले उनलाई समाउन पूरै बल लगाई रहेको थियो । तैपनि सरकारी जासुसले फेला पार्न सकिरहेका थिएनन् । 

यसबीच २००१ साल असार १७ गते गोर्खापत्रमा गणेशमानको एउटा फोटोसहितको इस्तिहार छापियो जसमा लेखिएको थियो १५ दिन भित्र आफैँ हाजिर हुन आउनु । नआए जुन बखत पक्राउ होला त्यस बखत ज्यान सजाय हुनेछ ।

गणेशमानलाई समाउन सक्ने सरकारी कर्मचारीलाई बढुवासहित पाँच हजार दिने र गैरसरकारी व्यक्तिले समाए दस हजार नगद इनाम दिने घोषणा भयो ।

‘मेरा कथाका पानाहरु’ नामक पुस्तकमा सिंहले भनेका छन् — ‘‘आफ्नोबाहेक अरु कसैको प्रचार पचाउन नसक्ने राणाहरुले हिन्दुस्थानमा ब्लक बनाउन पठाएर मेरो फोटो गोर्खापत्रमा छपाएका थिए ।’ उनको ब्लकसहितको इस्तिहार छापिनुअघि श्री ३ महाराजाको समेत फोटो ब्लक छापिएको थिएन । गणेशमानले भनेका छन् — ‘गोरखापत्र र छुट्टै पोस्टर जस्तो इस्तिहार देशका गढी-गाैंडा सबैतिर पठाइएको थियो । त्यही कारण पनि होला मानिसहरुमा मेरा सम्बन्धमा जान्ने उत्सुकता झनै बढेको थियो  ।’

जेलबाट उम्किएर उनी भारत पुगेको प्रसंग पनि अत्यन्त रोचक छ । भैरहवा नाका हुँदै नौतनवा पुगेपछि गणेशमान कलकत्ता जाने सवारी साधनको खोजीमा थिए । दोस्रो विश्वयुद्ध चलिरहेकाले सबै सार्वजनिक सवारी बन्द थिए । चालु रेल पनि सैनिक ओसार्ने काममा मात्र प्रयोग भइरहेका थिए । गणेशमानले हरेस खाएनन् । लामो प्रतीक्षापछि गोर्खाली सैनिकमात्र सवार एउटा रेल कलकत्ता जाने भयो । नागरिकलाई यात्रा गर्ने अनुमति थिएन । एक जना सैनिक अधिकारीलाई प्रभाव पार्न उनले राम्रै नाटक प्रदर्शन गरे । पत्नी मरेको नाटक रची काठमाडाैंबाट उम्किएका गणेशमानले नौतनवामा बाबु मरेको नयाँ नाटक रचे । बाबुको काजक्रियाका लागि जाने भनेपछि सैनिक अधिकारीले रेल चढ्न अनुमति दिए ।

त्यसभन्दा पहिले नै गणेशमानको पार्टी प्रजापरिषद्का चार साथीलाई मृत्युदण्ड भइसकेको थियो भने टंकप्रसाद आचार्य, रामहरि शर्मालगायत अरू जेलमा थिए । यत्रो काण्डको रोचक पक्ष चाहिँ के छ भने पर्चा छर्नुबाहेक उनीहरू कसैले केही गरेका थिएनन् । मृत्युदण्डको सजाय पाउने चार सहिदले पनि पर्चाको मस्यौदा गर्ने र छर्ने काममात्र गरेका थिए ।

यसपछि मुलुकको पहिलो पार्टी नेपाल प्रजापरिषद् छिन्नभिन्न भइसकेको थियो । भारतमा विभिन्न सहरमा राणाका जासुसले फेला पार्न सक्ने डर छँदै थियो । त्यसैले उनी कृष्णबहादुर प्रधानका नामले सक्रिय हुन थाले । 

केही समय उनले कालिङपोङको चन्द्र नर्सरीमा भूमिगतरुपमा काम गरे । त्यहीँ सहिद धर्मभक्तका भाइ ध्रुवभक्तसँग गणेशमानको पहिलो भेट भएको थियो । त्यो भेटमा ध्रुवभक्तसँग सिंहले भनेका थिए सबभन्दा पहिला राणा प्रधानमन्त्रीलाई बम वा गोली हानेर उडाउनु पर्छ । 

गणेशमानको ध्यान पैसा जम्मा गर्ने, हतियार किन्ने, राणा शासक मार्ने र प्रजातन्त्र बहाली गर्नेमा मात्र केन्द्रित थियो । त्यस अतिरिक्त राणाको जेल तोडेर आफू कसरी भारतसम्म आई पुगेँ भन्ने क्रान्तिकारी कथा सुनाउँदै उनी नेपालमा प्रजातन्त्र स्थापनाका उपाय बारे छलफल गर्दै थिए । सिक्किम हुँदै तिब्बतमा व्यापार गर्ने एक जना युवा व्यापारीलाई बेलुका नौ बजेदेखि बिहान ४ बजेसम्म  उनले एकदिन आफ्नो संघर्षको कथा सुनाए । तर, उनको कथा पूरा भएन । त्यही आधा कथा सुनाएको दक्षिणाबापत ती व्यापारीबाट उनले ८ हजार रुपैयाँ प्राप्त गरे । 

यसबीच बीपी कोइरालाले नेपाली राष्ट्रिय कांग्रेस गठनको तयारी गरेका थिए । त्यसका लागि कलकत्तामा भेला बोलाइएको थियो । भारत भर्खर स्वतन्त्र भएको थियो । भारत र पाकिस्तान विभाजनपछि हिन्दु मुसलवान दंगा फैलिएको थियो । 

त्यही बेला राष्ट्रिय कांग्रेसको सम्मेलन सुरु भयो । यस प्रसंगमा कांग्रेस नेता रामहरी जोशीले लेखकलाई सुनाएका थिए । त्यो सम्मेलनमा कृष्णबहादुर प्रधानका नाममा गणेशमानले प्रजापरिषद्को सदस्यको हैसियतमा भाग लिए । जेलमा रहेका प्रजापरिषद्का अध्यक्षलाई राष्ट्रिय कांग्रेसको अध्यक्ष बनाइयो । गणेशमान त्यो पार्टीको केन्द्रीय समितिमा चयन भए । दार्जिलिङमा कथा सुनाएर पाएको आठ हजार रुपैयाँ उनले पार्टी स्थापनाका लागि बीपीलाई हस्तान्तरण गरे । यसबीच राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलेर नेपाली कांग्रेसको स्थापना भयो । केही समयको अन्तरालपछि ‘बम हानेर सबै राणाको एक चिहान बनाई दिने’ मिसनका साथ गणेशमान भूमिगतरुपमा काठमाडौं फर्किए । 

इन्द्रजात्राको दिन बम हानेर प्रधानमन्त्री र रोलवाला राणालाई मार्ने योजना थियो । तर योजना कार्यान्वयन नहुँदै हतियारसहित गणेशमानका सहयोगी पक्राउ परे । योजना तुहियो ।  उनका लागि काठमाडौं बस्ने वातावरण नै रहेन ।

त्यसपछि त गणेशमान जसको घरमा पुग्थे त्यहाँ रुवावासी चलिहाल्थ्यो । त्यस प्रसंगमा सिंहले भनेका छन् — ‘अन्धकार रातको एकान्तमा भेटिएको भूतलाई देखेर जसरी मानिसको होस हराउँछ र उ जे पायो त्यही बर्बराउन थाल्छ । म पुगेको घरका गृहिणीको पनि त्यही अवस्था हुन्थ्यो । लोग्नेस्वास्नी दुवै क्वाँक्वाँ डाँको छोडेर रुन थाल्थे ।’

राणा सरकारको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका गणेशमानलाई अब काठमाडौंमा वास पाउन गाह्रो भइरहेको थियो । केही समय बिहान उज्यालो हुनासाथ पशुपति गुह्येश्वरीको जंगल पस्ने अनि रातमा परिचितहरु कहाँ वास खोज्दै भाैँतारिने उनको दैनिकी बन्यो । पक्राउ परे मारिने डर त छँदै थियो । अर्कोतर्फ तत्काल बम हान्ने योजना कार्यान्वयनको सम्भावना पनि समाप्त भइसकेको थियो । त्यसैले उनी राँगा व्यापारीको भेषमा ठोरी हुँदै भारततर्फ लाग्ने निष्कर्षमा पुगे । 

काठमाडौंबाट जितपुरफेदी हुँदै अनकन्टार जंगल, पहाड पखेराको बाटो पार गरेर उनी ठोरी पुगे । यसरी कैयाैँ दिन भोकै यात्रा गर्दा थाकेर लखतरान थिए । नेपाल भारत सीमामा पुगेपछि उनी थकान मेटाउन जाँड खाँदै थिए । नशा चढ्दै गर्दा एकै पटक सुने — ओ हो !  गणेशमानजी, तपाईँ कताबाट । 

राणाको त्यो जासुसबाट उम्किन गणेशमानले राम्रै नाटक गरे । उनी भन्नथाले — तपाइँले कसलाई बोलाउनुभयो ? जासुसले भन्यो — ‘तपाइँलाई गणेशमानजी ।’ जासुसबाट जोगिन उनले अचम्म परेको अभिनय गर्दै भने — ‘को गणेशमान ?’ जति गर्दा पनि त्यो जासुसले गणेशमानलाई छोडेन । तैपनि बन्दीपुरे साहुको भरिया भएको नाटक गर्दै थिए उनी । गणेशमानलाई फेला पारेपछि जासुसले छोड्ने कुरा पनि थिएन । त्यसपछि उनलाई नजिकको गोस्वारा वीरगञ्ज चलान गरियो । अनि कडा सुरक्षाका साथ सिंहदरबारमै थुनियो । त्यसअघि पनि गणेशमान सिंह त्यहाँ बन्दी बनाइएका थिए । गणेशमान सिंह पक्राउ परेपछि गोरखापत्रको २००७ साल असोज २७ गतेको अंकमा समाचार छापियो – ‘मसहुर फरार फेला पर्‍यो ।’




प्रतिक्रिया