शहिद गंगालाल श्रेष्ठलाई १९९७ माघ १५ गते शोभा भगवतीमा गोली हानिएको थियो । मृत्युदण्ड दिनु परिवारका सदस्यहरु मार्फत माफी मगाउने प्रयास राणाहरुले गरि रहदा उनले बाबु भक्तलाललाई लेखेका पत्र ।
बा !
तपाईँको आज्ञा पालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्दै सकिनँ, म सक्दिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेको छु, सम्झिनुपर्ने पाठचााहिँ बिर्सनै आँटेछु ।
आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेँला मुखसित डराएर आँखा चिम्लन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु।
अन्तःस्करणबाट आगो रुमलिएर आयो । केके असह्य भयो ! अब म सहन असमर्थ छु । जताततै कोलाहलको ज्वाला दे्रख्छु, आफैँ सल्कन लागेको छ । मलाई त्यो निभाएर मर्न दिनुहोस् ।
तपाईँ मेरा पिता हुनुहुन्छ, तर हामी सबै जनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तब्यमा तपाईँको आज्ञाले म पछि हट्न सक्दिनँ । म तपाईँको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्दिनँ । अब मेरो माया मारिदिनुहोस् । मेरा अरू भाईहरू छँदै छन् । एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनु होला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गंगालालको दण्डवत् सेवा ।
प्रतिक्रिया