ग्यालरी बैठकको कथा : चन्द्रशमशेरको नाचघर बन्यो, संसद भवन

image

चन्द्रशम्शेरले मूल भवनको पछाडी  निजि थियटर पनि बनाएका थिए । जसलाई उनले ग्यालरी बैठक नाम दिएका थिए । यहि ग्यालरी बैठकमा उनले नाचगान, भोजभतेर तथा बिदेशी पाहुनाको स्वागत सत्कार गर्ने गर्दथे । 

बि.सं.१९६५ असारमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले सिंहदरवारको संरचना बनाउँदा नै यो भाग पनि बनाएका थिए । तर बाठा चन्द्रशम्शेरले भवन तयार भए पछि नेपाल सरकारलाई २ करोडमा सिंहदरवार भित्रको सम्पूर्ण संरचना तथा जमिन पनि बेचे । तर प्रधानमन्त्रीको हैसियतले मृत्युपर्यन्त सिंहदरवारमा नै बसे ।
चन्द्रशम्शेरले सिंहदरवार बनाउँदा मूल भवनको पछाडी नै निजि थियटर भवन पनि बनाएका थिए । जसलाई उनले ग्यालरी बैठक नाम दिएका थिए । यहि ग्यालरी बैठकमा उनले नाचगान, भोजभतेर तथा बिदेशी पाहुनाको स्वागत सत्कार गर्ने गर्दथे । २००४ सालमा राणा प्रधानमन्त्री पद्म शम्शेरले भारदारी सभा गठन गरे पछि यसको बैठक यहि भवनमा नै गराए । २००४ सालको माघ १३ गते पहिलो भारदारी सभाको बैठकबाट नै नेपाल सरकार बैधानिक कानुन २००४ घोषणा भएको थियो । २००७ पुस २४ मा राणा प्रधानमन्त्री मोहन शम्शेरले भारदारी सभा बोलाई राजा त्रिभुवनलाई राजा मान्न तयार रहेको प्रस्ताव यहि भवनमा पारित गराएका थिए । देशमा प्रजातन्त्र आएपछि २००७ चैत्र २९ गते पहिलो भारदारी सभाको बैठक पनि यहि भएको थियो । 
सोही ग्यालरी बैठक नै देशको प्रथम निर्वाचित प्रनिनिधिसभा र महासभाको बैठक भवन बन्यो । २०१६ असार १६ गते मंगलवारको दिन संसदको बैठक यहि ग्यालरी बैठकमा भएको थियो । २०१७ पौष १ गते अचानक राजा महेन्द्रले पञ्चायती ब्यबस्थाको शुरुवात गरेपछि राष्ट्रिय पञ्चायतको पहिलो अधिवेशन २०२० बैशाख १ गते आइतवारको दिन यहि ग्यालरी बैठकमा बोलाइएको थियो । दोश्रो बैठक असार २० गते बिहिबार र तेश्रो बैठक माघ १५ गते बुधवार गरि एकै वर्षमा तीनवटा अधिवेशन बोलाइएको थियो । पञ्चायतकालका सम्पूर्ण अधिवेशन यहि ग्यालरी बैठकमा नै भए ।
पञ्चायतको समाप्ती पछि २०४८ सालको प्रथम चुनाव पछिको २०४८ साल असार ६ गते बिहिवार यहि ग्यालरी बैठकमा नै संसदको पहिलो बैठक बोलाइएको थियो । २०५९ जेठ ८ गते राजा ज्ञानेन्द्रबाट प्रतिनिधी सभा बिघटन भएको घोषणा गरे । यस अघिका सबै संसद बैठक ग्यालरी बैठकमा नै भए । राजनैतिक अन्योलता पछि ६२-६३ आन्दोलन पछि देशले एकपटक फेरी कोल्टे फेर्यो । २०६३ बैशाख ११ गते राजाबाट बिघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा भयो । यसपछि पुनर्स्थापित प्रतिनिधी सभाको पहिलो बैठक २०६३ बैशाख १५ गते यहि भवनमा नै भयो । यसरी २०६४ सम्म संविधान सभाको चुनाव पूर्वका सबै बैठक यसै भवनमा नै भए । 
देशले पहिलो पटक संविधान सभा पायो । तर यो संविधान सभा देशले सोचे भन्दा ठूलो थियो । जनसंख्याको अनुपात भन्दा धेरै नै ठूलो थियो । ६०१ संविधान सभाको सदस्यहरु ग्यालरी बैठकमा अटाउने सम्भावना नै थिएन । जसले गर्दा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरलाई नै अस्थायी  रुपमा संविधान सभा भवनको रुपमा भाडामा उपयोग गर्न थाल्यो ।
यसरी संविधान सभाको गठन पूर्वका १०० भन्दा बढी अधिबेशन यहिँ बाट भएको थियो । २०७२ को महाभूकम्पले आंशिक क्षति भएको यो भवन प्रयोगविहीन रुपमा रहेको छ । पुरातत्वले मर्मत गरि जीर्णोद्धार गर्ने भनिए पनि प्रतिनिधि सभाको बिकास तथा प्रविधि समितीले भत्काउने निर्णय गरेको छ । एउटा सिङ्गो ईतिहास बोकेको भवनलाई गलत सोचले भत्काई इतिहास मेट्ने तयारी गर्दैछ । 
हालै सिंहदरवार भित्रकै पुतली बगैँचा क्षेत्र सेनाबाट प्राप्त भएपछि आफ्नै नयाँ संसद भवन पुतली बगैचामा बन्दै गरेको छ । गृह मन्त्रालय नजिकै अनामनगर तर्फको क्षेत्रमा रहेको हुँदा नयाँ बन्ने संसद भवनको लागी अनामनगर तर्फबाट छुट्टै प्रबेशद्वार बनाइनेछ ।




प्रतिक्रिया