म चाहिँ तीन दशकअघि स्कूल पढ्दा ट्य्राक्टर चढेर पुगेको त्यस ठाउँमा के कस्तो परिवर्तन भयो भनेर हेर्न आतुर थिएँ । केटाकेटी उमेरको मधुरो सम्झना छँदै थियो । त्रिभुवन मावि सूर्यपटुवाका हामी भुराभुरीले ठाकुरद्वाराबाट बघौरा फाँटसम्मको यात्रा गरेका थियौँ । संयोगले तीस वर्षपछिको रुट पनि उही गर्न गयो । त्यस बेलाको जस्तो मज्जा लिन पाइएला, नपाइएला ? मनमा कुरा खेलिरहेका थिए ।
२०७५ मंसिर १९ गते बिहान नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका साथ हामी जंगल सफारीको तयारीमा थियौँ । बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय अघि हरियो पिकअप भ्यान तम्तयार अवस्थामा थियो । अघिल्लो सिटमा डा. यादव, अनि त्यसपछिको सिटमा पूर्वमन्त्री एवं सांसद सञ्जय गौतम, राष्ट्रिय निकुञ्जका वार्डेन अणनाथ बराल र मेरा लागि ठाउँ छुट्टाइएको रहेछ ।
अतिथि गृहबाट निस्केर मोटर चढ्नै लाग्दा गणपति प्रमुख सेनानी नन्दबहादुर गुरुङसहित नेपाली सेनाका अधिकृतले डा. यादवलाई बिदा गरे । सुरक्षाका निम्ति सेनाको हतियारधारी टोली पिकअपको पछिल्लो भागमा तम्तयार अवस्थामा छ । त्यसपछि राष्ट्रिय निकुञ्ज प्रशासनको अर्को पिकअप ।
देशकै ठूलो ९ सय ६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज हेर्न निस्कँदै गर्दा हामीमा उत्साहको कमी थिएन ।
म चाहिँ तीन दशकअघि स्कूल पढ्दा ट्य्राक्टर चढेर पुगेको त्यस ठाउँमा के कस्तो परिवर्तन भयो भनेर हेर्न आतुर थिएँ । केटाकेटी उमेरको मधुरो सम्झना छँदै थियो । त्रिभुवन मावि सूर्यपटुवाका हामी भुराभुरीले ठाकुरद्वाराबाट बघौरा फाँटसम्मको यात्रा गरेका थियौँ । संयोगले तीस वर्षपछिको रुट पनि उही गर्न गयो । त्यस बेलाको जस्तो मज्जा लिन पाइएला, नपाइएला ? मनमा कुरा खेलिरहेका थिए ।
बाघ, हात्ती, गैँडाजस्ता जंगली जनावर हेर्न चाहने स्वदेशी तथा विदेशी पर्यटकको कमी थिएन । जंगलभित्र प्रवेश गरेपछि मानिसले खचाखच केही मोटर देखिए । त्यही निकुञ्जकै आसपास हुर्किए पनि चिडियाखानामा बन्दबाहेक वनमा बाघ हेर्ने मौका नपाएकाले होला मेरो भित्री मनले जंगलको राजा देख्न पाए त यात्रा कति रोमाञ्चक हुँदो हो भनिरहेको थियो । मन बाँध्न सकिन बार्डेन बराललाई सोधी हालेँ– सर एकपटक राजा साहेबको दर्शन पाए त धन्य हुन्थ्यो नि !
त्यसपछि डा. यादव पनि ठट्यौली शैलीमा खुलिहाले । देशमा गणतन्त्र आएको दशक नाघिसक्यो । यहा“ त राजतन्त्र कायमै छ क्यारे ! वर्तमान राष्ट्रपति आएको भए, उसले (वनको राजा बाघ) दर्शन दिइहाल्थ्यो कि ? म त पूर्व परेँ ।
मोटरमा हाँसो गुञ्जियो ।
वार्डेन बरालले विस्तार लगाए– हजुर नेपालका २३५ मध्ये ८७ बाघ यहीँ छन् । कुनै एकसँग जम्काभेट हुन पनि सक्छ । निकुञ्जभित्र जंगली जनावर अवलोकनका लागि भनेर ठाउँ ठाउँमा काठका अग्ला अग्ला मचान बनाइएका छन् । बराल भन्दै थिए– कैयाैँ विदेशी पर्यटक त यहाँ बाघलगायत दुर्लभ जनावर हेर्नकै लागि भनेर सात समुद्र पार गरेर आउँछन् ।
खाना पानी बोकेर हप्तौं यिनै मचानमा बिताउँछन् । भाग्यमानीले क्षणभरमा दर्शन पाए पनि बढीमा साता दिन बस्यो भने प्रायः धेरैले यहाँका ३८ गैँडा, १२० हात्ती र ८७ बाघमध्ये कुनैसँग त साक्षात्कार हुने अवसर पाइहाल्छन् ।
डा. यादवले सुनाए प्रकृति र मानवबीच कस्तो अनोन्याश्रित सम्बन्ध छ भने जंगल, जंगली जनावर र प्रकृतिको अभावमा मानव जाति तीन पुस्तासम्म मात्र बाँच्न सक्छ । मेरो चिन्ता यही छ प्रकृतिले दिएको यो नासो भावी पुस्ताका लागि कसरी जोगाउने ? राष्ट्रपति भएका बेला बल्लबल्ल तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई ‘कन्भिन्स’ गरेर चुरे संरक्षण आयोजना बनाउन लगाएँ । सुरुमा विज्ञहरुको समूहलाई नियुक्त गरिएकाले केही काम भयो । तर, अहिले आएर त्यो निकाय कार्यकर्ता भर्ती केन्द्रजस्तै भइसक्यो । प्रकृतिको दोहन बढ्दो छ । तर, राजनीतिक नेतृत्वले यस भयावह समस्यालाई गम्भीरतापूर्वक लिएकै छैन ।
वार्डेन बरालले भने– ‘हजुर, यहा“ पनि संरक्षणको काम चुनौतीपूर्ण बन्दै गएको छ । अतिक्रमण रोक्न खोज्यो । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र जनता एकातिर हामी अर्कोतिर पर्छौँ ।’
भावुक हुँदै डा. यादवले सम्झिए ‘म केटाकेटी हुँदा जनकपुरलगायत अहिले प्रदेश नम्बर दुई रहेका जिल्लामा यस्तै घना जंगल थियो । पानीको कमी थिएन । प्रशस्त उब्जनी हुन्थ्यो, अन्नको कमी थिएन, पोखरी नहुने गरिबहरु पनि खेतका माछा खान पाउँथे । फलफूलको अभाव थिएन । हेर्दा हेर्दै मेरो जीवनकालमै त्यस क्षेत्रको जंगल सखाप भयो । तराई मरुभूमिमा परिणत भइरहेको छ । चुरेमाथिको दोहन बढ्दो छ । जताततै डोजर आतंक । राज्य संयन्त्रमा भएका जिम्मेवार व्यक्तिहरुसमेत यो भयावहताबाट मुलुकलाई जोगाउने भन्दा व्यापारीहरुसँग मिली प्राकृतिक स्रोत दोहन गरेर कमाउने ध्याउन्नमा छन् ।
डा. यादव भन्दै थिए– ‘बर्दियाको हरियाली जंगल हेर्दा मलाई बाल्यकालको जनकपुरको याद आयो । तपाइँहरुले अहिलेसम्म जोगाएर राख्नुभएको रहेछ । खुसी लाग्यो । कुरा गर्दै जाँदा लामो कासे घारी पार गर्दै बघौरा पुगिहाल्याैँ । बघौरा निकुञ्जको त्यही विशाल कासे झाडी हो जहा“ पहिला राजा महाराजाले हात्ती र मचानमा बसेर बाघको सिकार गर्थे ।
बाघको बासस्थान आसपास घुमिसक्दा चराबाहेक कुनै जनावर देख्न पाइएन । फर्किने बेला हुन लागिसक्यो, राजाको त के कुरा खरायोसम्म पनि देख्न पाइएन । एक प्रकारले आशा मारिसकेका हामीलाई आश्वस्त पार्दै वार्डेन बराल भन्न थाले– हजुर, रातभरको चिसोबाट काठाङग्रिएका जनावरहरु बिहान पारिलो घाम ताप्न घना जंगल र झाडीबाट बाहिर आउँछन्, अझै सम्भावना टरिसकेको छैन ।
हामी बोलेका थिएनौँ । डा. यादवले भने– हेर्नुस् है, जनावर हेर्न नपाए पनि प्रकृतिको वरदानका रुपमा यत्रो रमणीय जंगल हेर्न पाइयो । मैले जापान भ्रमणका बेला थाहा पाएँ । वन जंगल घुमाइले मानिसलाई शान्ति मात्र मिल्दैन, उसको तनावसमेत कम गरिदन्छ र नकारात्मक सोचसमेत घट्दै जान्छ रे । डा. यादवले भने– जापानीहरुले मलाई सुनाएका थिए उनीहरुको अध्ययनले यो तथ्य प्रमाणित गरिसकेको छ । उनीहरुले मलाई पनि एउटा घना जंगलमा लगे । ध्यान गरे झैँ मौन बस्न र रुखलाई ढोग्न सिकाए । सन बाथ, वाटर बाथ, साउना बाथ भने झैँ जापानीहरुबीच ‘जंगल बाथ’ प्रख्यात रहेछ ।
झन्डै डेढ घन्टाको यात्रा सकिनै लाग्दा चित्तलहरुको बथान नै देखियो । तीन तीन पटकसम्म ।
तर, बाघ हेर्ने हाम्रो चाहना पूरा भएन । के गर्ने होला भनेको के थिएँ वार्डेन बरालले भने– ल जंगलभित्र तपाईँहरुको चाहना पूरा गराउन नसके पनि खोरभित्रको चाहिँ म देखाई छाड्छु । मोटरबाट ओर्लिएर वार्डेन कार्यालयतिर गयौँ । निकुञ्जका एक कर्मचारी लामो फलामको डण्डी बोकेर अघि अघि लागे हामी उनको पछि पछि । तार जालीभित्र त्यो फलामे डण्डी घुसाएर अलिकति के हल्लाएका थिए । एकैपटक सातोपुत्लो जाने गरी भयानक डरलाग्दो ह्वाङ ह्वाङको आवाज सुनियो ।
जसै ती कर्मचारीले फलामको डण्डी हल्लाउँदै गए जाली बाहिरका हामी सबैलाई एकैपटक झम्टौँला जसरी भयानक पाटे बाघ उफ्रियो ।
दुई वर्षअघि पूर्वपश्चिम राजमार्गमा मोटरले हानेर घाइते बनाएको बाघलाई निकुञ्ज प्रशासनले खोरमा राख्ने व्यवस्था मिलाएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने स्वदेशी हुन् वा विदेशी सबैजसो पर्यटकका लागि यो बाघ आकर्षणको केन्द्र बनेको रहेछ ।
सुरुमा त बाघको गर्जनले तर्सायो । झम्टिहाल्छ कि भने जसरी । केही समयपछि मैले मजाक गर्दै भने– ‘यसको नियति नै रहेछ । जीवनकालमै गणतन्त्र भोग्नु पर्यो । यो जस्तै अरु ८७ राजा यही निकञ्जमा शासन गरिरहेका छन् । मन लागेको जनावर सिकार गर्छन् । यसले भने दैनिकरुपमा प्रशासनले उपलब्ध गराउने एक दुई किलो मासुमै चित्त बुझाउनु परेको छ ।’
प्रतिक्रिया