यो आलेख २०७५ देखि करिव करिव अचेत अवस्थामा जीवन मरणसंग संघर्ष गर्दै होसमा आएका प्रा.डा. यज्ञप्रसाद अधिकारीका बिषयमा केन्द्रीत छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा झण्डै चार दशक भन्दा वढी समय योगदान गरेका अधिकारीले तीन दशकसम्म उच्च शिक्षाको विकास र अध्ययन, अनुसन्धानमा विताउनु भयो । लोकतन्त्र, मानवअधिकार र शिक्षाको विकासका लागि जीवन अर्पण गर्नु भयो । आफैले लडेर ल्याएको वर्तमान राज्य व्यवस्थाका सञ्चालकहरु उहाँका समकक्षी र शिष्यहरु नै छन् । उहाँसंगै राजनीति गरेका, उहाँबाट राजनीतिक प्रशिक्षण पाएका धेरै नेता देशका प्रधानमन्त्री, मन्त्री, सांसद, उच्च पदस्थ कर्मचारी भएका बेला प्राध्यापक अधिकारीले उपचारका लागि राज्यबाट सहयोग पाउनु भएन ।
नेपाली समाजमा नेताहरु पहिलो दर्जाका नागरिक हुन, अन्य पेशा व्यवशाय मार्फत देशलाई योगदान गर्नेहरुको कुनै मूल्य छैन भन्ने भाष्य निर्माण भएको पाइन्छ । सार्वजनीक मञ्चको प्राथमिताक्रम होस् वा सामाजिक रुपमा दिइने मान सम्मान र सेवा सुविधा, राजनीतिक नेतृत्वमा आफ्नो हात जगन्नाथ भन्ने मानसिकता हावी छ । पत्रकारिता गर्ने क्रममा मैले जीवनका स्वर्णिम २० वर्ष नेताहरुका भाषण सुनेर विताएको छु । केही अपवादलाई छोड्ने हो भने अधिकांश नेताहरुले सार्वजनीक मञ्चको दुरुपयोग मात्र गरेका छन् । अर्काको विरोध गर्नु, जनता माझ पुरा गर्न नसक्ने आश्वासन वाड्नु, जनतामा निराशा पैदा गर्नु, सामाजिक सद्भाव खल्वल्याउनु वाहेक नेपालका राजनीतिक दल र नेताहरुले देशको विकासमा खासै ध्यान दिएको म देख्दिन ।
हाम्रो दुर्भाग्य नै मान्नु पर्छ, एक पटक पदमा पुगेका, भ्रष्टाचार वोहक कुनै योगदान नदिएका व्यक्तिहरु नै सार्वजनीक मञ्चमा अतिथी र प्रमुख अतिथीका रुपमा देखा पर्छन्, जनताले तिरेको करबाट सुविधा लिनेमा उनीहरु नै अगाडी छन् । धेरै नेताका मुखबाट मैले सुनेको छु । मलाई यहाँका अस्पतालको भर लाग्दैन, विदेशमा गएर उपचार गराउछु । मेरो शरिरलाई कसरी प्रयोगका लागि दिन सकिन्छ । यस्तो अभिव्यक्ति दिने नेताहरुबाट आम जनताले उपचार गराउने सरकारी अस्पतालको सुधार कसरी कल्पना गर्ने ? जसको नीजि अस्पताललाई कमाउ धन्दा बनाएका छन् ।
शक्तिको आडमा आफू चाँही सामान्य विरामी हुँदा समेत राज्यकोषबाट विदेशका महंगा अस्पतालमा उपचार गराउछन् । यता दिनरात देशका लागि सेवा गर्ने जनता, पेशा व्यवशायीहरु, करदाताको नियती भने रोग नलाग्दासम्म मात्र बाँच्ने, अस्पताल भर्ना हुनै पर्ने अवस्था आएको खण्डमा वेड नपाउने, पाइहाले बिल तिर्न नसकेर मर्ने अवस्था छ । देश र जनताको हितका बिषयमा भाषण गरेर कहिल्यै नथाक्ने नेतृत्व जनताका आधारभूत समस्या हल गर्ने भन्दा पनि तस्कर, माफिया र केही सिमित व्यापारीको स्वार्थ पुरा गर्न राज्य शक्तिको दुरुपयोग गरिरहेको छ । यो भन्दा लज्जास्पद र गैर जिम्मेवारीपन अरु के हुन सक्छ ?
यो आलेख २०७५ देखि करिव करिव अचेत अवस्थामा जीवन मरणसंग संघर्ष गर्दै होसमा आएका प्रा.डा. यज्ञप्रसाद अधिकारीका बिषयमा केन्द्रीत छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा झण्डै चार दशक भन्दा वढी समय योगदान गरेका अधिकारीले तीन दशकसम्म उच्च शिक्षाको विकास र अध्ययन, अनुसन्धानमा विताउनु भयो । लोकतन्त्र, मानवअधिकार र शिक्षाको विकासका लागि जीवन अर्पण गर्नु भयो । आफैले लडेर ल्याएको वर्तमान राज्य व्यवस्थाका सञ्चालकहरु उहाँका समकक्षी र शिष्यहरु नै छन् । उहाँसंगै राजनीति गरेका, उहाँबाट राजनीतिक प्रशिक्षण पाएका धेरै नेता देशका प्रधानमन्त्री, मन्त्री, सांसद, उच्च पदस्थ कर्मचारी भएका बेला प्राध्यापक अधिकारीले उपचारका लागि राज्यबाट सहयोग पाउनु भएन । यस्तो परिस्थितीमा आम नेपालीको अवस्था के होला ? अनुमान लगाउन सकिन्छ ।
जुन मुलुकमा विद्धानको सम्मान हुदैन, त्यो देशको विकास र प्रगति सम्भव छैन । लामो समय थलिएका प्राध्यापक अधिकारीले एक दिन अचानक फोनमा भन्नु भयो–जगतबाबु जन्मेपछि सबैले एक दिन मर्नु पर्छ । मलाई मृत्युको डर छैन, तर आफूले लेख्न चाहेका र लेख्ने योजना बनाएका काम अधुरै रहने भए भन्ने चिन्ता छ । बनारस हिन्दु विश्वविद्यालयबाट नेपाली कांग्रेसको विदेश नीतिका बिषयमा पीएचडी गरेका अधिकारीले सुनाउनु भयो, नेपालको प्रजातान्त्रिक आन्दोलन, बीपी र उनको सरकारले लिएको विदेश नीति बारे लेख्ने तयारी गर्दै गर्दा थला परे । तीन बर्षसम्म त होस् नै थिएन । भगवानको आर्शिवाद परिवार र शुभचिन्तकहरुको मायाले अब विगत सम्झन सक्ने भएको छु । घर वाहिर निस्कन र काम गर्न शरिरले दिदैन । मेरो सपना सपनामै सिमित हुने भयो ।
अधिकारीसंग कुरा भएपछि मेरो मन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृतिमा यो बर्ष नेपाली कांग्रेसले गरेको साहित्य सम्मेलन तिर गयो । त्यो कार्यक्रममा देश विदेशका विद्वानहरुले बीपीको योगदानका बिषयमा प्रवचन र प्रस्तुती दिएका थिए । सामाजिक सञ्जालको माध्यमबाट प्रत्यक्ष प्रशारण गरिएका कारण नेपालको प्रजातान्त्रिक आन्दोलन र बीपीका बिषयमा नयाँ पुस्ताले धेरै जान्ने र सिक्ने मौका पायो । बीपी नेपाली कांग्रेसका संस्थापक मात्र होइन्, अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउने साहित्यकार र विश्व समाजवादी आन्दोलनका नेता पनि हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलन, बीपीको सपना, उनको योगदान र व्यक्तित्व वारे नयाँ पुस्तालाई जानकारी गराउन, वर्तमान मुलुक भित्र मौलाएको राजनीतिक विकृति कम गर्न अधिकारी जस्ता विद्धानहरुको अनुभव वाहिर आउन जरुरी छ ।
पश्चिममा र अहिले विकासको गति तिव्र बनाइरहेका मुलुकले त्यसै सफलता पाएका होइनन् । त्यहाँ विद्धानहरुलाई कुन तहको सम्मान गरिन्छ भन्ने सन्दर्भमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले सेप्टेम्वर ९, २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दिक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा एउटा प्रसंग उल्लेख गर्नु भएको छ । राष्ट्रपति रिचार्ज निक्सनले अमेरिकी इतिहासमै पहिलो पटक ह्वाईट हाउसमा नोवेल पुरस्कार विजेताहरुका लागि डिनरको आयोजना गरे । त्यो दिन उनले भनेका थिए–आज म यति खुशी छु की ह्वाइट हाउसको इतिहासमा पहिलो पटक सम्पूर्ण नोबेल पुरस्कार विजेताहरुका साथ डिनर आयोजना गर्ने ऐतिहासिक अवसर मैले पाए । तर म यो भन्दा पनि बढी खुसी त्यो बेला हुने थिए, यदी मैले यस्तै कार्यक्रम विद्धान राष्ट्रपति थोमस जेफर्सनसँग गर्न पाएको भए । माथेमा लेख्नुहुन्छ ः नेपालको सन्दर्भमा हेर्ने हो भने राजनीति, साहित्य र सिद्वान्त बारे सर्वाधिक ज्ञान भएका बीपी, थोमस जेफर्सनको स्थानमा हुनुहुन्छ । नेपाली राजनीतिका विद्वान नेता प्रदिप गिरिले भन्नुभएको छ ः २० औं शताब्दीमा वीपी जतिको फराकिलो ज्ञान भएको अर्को नेता नेपालमा जन्मेन । राजनीति र साहित्यका दृष्टिले हेर्ने हो भने बीपीको जस्तो अन्तराष्ट्रिय ख्याति अरु कुनै नेपालीको छैन ।
हो, बीपीका सच्चा अनुयायी अधिकारी के लेख्न चाहनुहुन्छ त ? मसंगको कुराकानीमा उहाँले भन्नु भएको छ । नेपाली समाजलाई प्रजातन्त्रको बिषयमा सचेत गराइ निरंकुश शासन व्यवस्था अन्त्य गर्न, विकासको आधार तय गर्न, राष्ट्रियता व्याख्या गर्न र नेपालको भूराजनीतिक अवस्थालाई बुझेर कुटनीतिक सम्वन्धको आधार तय गर्न बीपीले सर्वाधिक योगदान गर्नु भएको छ । यि बिषयलाई जनताले बुझ्ने गरी लेख्ने मेरो चाहना छ । स्वास्थ्यले साथ दियो भने प्रयास गर्छु ।
बीपी नेपाली राजनीतिका यस्ता पात्र हुन्, जसका बारेमा अहिलेसम्म सर्वाधिक पुस्तक, लेख रचना, फिल्म बनेका छन् । तर पनि उनको बिषयमा जान्न, सुन्न चाहने धेरै नेपाली छन् । वि.सं. २०१२ सम्ममा नेपालको कूटनीतिक सम्बन्ध बेलायत (सन् १८१६), अमेरिका (सन् १९४७), फ्रान्स (सन् १९४९) र भारत (सन् १९५०) चार मुलुकमा मात्र सीमित थियो । प्रजातन्त्र बहालीपछि चीन (सन् १९५५), रुस (सन् १९५६), जापान (सन् १९५६), श्रीलङ्का (सन् १९५७), इजिप्ट (सन् १९५७) र पश्चिम जर्मनी (सन् १९५८) सँग सम्बन्ध विस्तार भयो । २०१६ सालअगि नेपालमा भारत, अमेरिका, बेलायत र रुसका आवासीय राजदूत मात्र थिए ।
बीपीको १८ महिने कार्यकालमा नयाँ १६ वटा देशसंग कूटनीतिक सम्बन्ध विस्तार भयो । निर्वाचित सरकारले अस्ट्रिया, इटाली, स्विजरल्यान्ड, पोल्यान्ड, मलेसिया, ग्रिस, म्यान्मार, पाकिस्तान, नेदरल्यान्ड्स, लाओस, इजरायल, स्विडेन, थाइल्यान्ड र इन्डोनेसियामा कूटनीतिक सम्बन्ध विस्तार ग-यो । इजरायल र पाकिस्तानसंग सम्बन्ध राखेकोमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु बीपीसंग सन्तुष्ट थिएनन् । दुवै देशसंग सम्बन्ध स्थापित गरेपछि नेहरुले बीपीलाई कहिल्यै साथ दिएनन् । २०१७ पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकार र संसद् भङ्ग गर्नुमा नेहरुको पनि हात थियो । नेपालबाट प्रजातन्त्रको अन्त्य हुनुको पछाडी राजा महेन्द्र र प्रधानमन्त्री बीपी कोइरालाको व्यक्तित्व टकराव मात्र कारण थिएन । अन्तराष्ट्रिय क्षेत्रमा बीपीले कमाएको ख्याति र उनको व्यक्तित्वको टकराव राजा महेन्द्रभन्दा भारतका प्रधानमन्त्री नेहरुसित थियो । उनको समर्थन विना राजा महेन्द्रले त्यो कदम चाल्न सक्दैनथे । यो बिषयमा थप व्याख्या र विश्लेषण आवश्यक रहेको अधिकारीले मलाई सुनाउनु भयो ।
त्यसै गरी छिमेकी मुलुक भारत र चीनसंग बीपीले समान रुपमा मित्रताको राखेका थिए । सगरमाथा माथि चीनको दावी थियो । माओ र चाउएनलाईलाई नेपालको नक्सा स्वीकार गराउन बीपीले गरेको गरेको सफल कुटनीतिक प्रयास आम स्मरणिय छ । आफ्नो चीन भ्रमणका क्रममा कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्से तुङले सगरमाथालाई दुवै देशको साझा चुचुरो बनाउन प्रस्ताव गरेको र प्रधानमन्त्री चाउएनलाईको नेपाल भ्रमणका क्रममा उनले सगरमाथा नेपाललाई दिन आफूहरु सहमत भएको प्रसंग बीपीले उल्लेख गरेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलन, बीपी र उनको योगदान वारे थप अनुसन्धान आवश्यक छ । यो कामका लागि अधिकारी एउटा वलियो श्रोत हुनुहुन्छ ।
प्रतिक्रिया