केही उम्मेदवार हाते माइक बोकेर गाउँ गाउँ घुम्ने गर्थे । पार्टीले प्रचार सामग्री बनाएर मिडिया मार्फत विज्ञापन गर्ने अहिलेको जस्तो चलन थिएन; न त पर्चा, पम्प्लेट बनाउनै सहज थियो । प्रायः उम्मेदवारहरु आफू अनुकूल स्थानीय भाषामा गीत बनाएर गाउँदै गाउँघरमा पुग्थे ।
यस पटकको चुनावमा जनताले नेता र दल माथि विश्वास गरेको पाइदैन । चुनाव प्रचार प्रसारमा उम्मेद्वार र पार्टीका कार्यकर्ता वाहेक जनताको सहभागीता र चासो देखिएन । चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग र प्रभावकारीता वढी देखिन्छ । आमसभा र कोणसभामा मतदाता देखिदैनन् ।
छ दशक अघि नेपालको पहिलो आम निर्वाचनको प्रचार प्रसार कसरी भएको थियो त ? यो आलेख त्यही बिषयमा केन्द्रीत छ ।
राणा प्रधानमन्त्री जुद्धशमशेरले पद्मशमशेरलाई श्री ३ को पदवी दिने बेलामा भनेका थिए— ‘मेरै भाइभारदार पनि नेपालमा पार्लियामेन्ट बन्नुपर्छ भन्छन् । समुद्रको सीमासँग नछोएको देशमा कही पार्लियामेन्ट बन्न सक्छ ?’ तर त्यसको दुई दशकपछि नै मुलुकमा संसद्को चुनाव भयो । २०१५ फागुन ७ गतेदेखि निर्वाचन प्रारम्भ हुने भयो । २१ वर्ष उमेर पुगेका नरनारीले मतदानको अधिकार पाए । २५ वर्ष उमेर पुगेका र कानुनले योग्य ठहराएका नागरिक उम्मेदवार बन्न सक्ने भए । केही अपवाद छोडेर सिङ्गो मुलुकमा यातायातको सुविधा थिएन । सरकारले निर्वाचन सम्बन्धी सम्पूर्ण कागजात, चिठीपत्र हवाईडाँकबाट पठाउने व्यवस्था ग¥यो ।
तर त्यति बेलासम्म राजाका निजी २ र श्री ५ को सरकारका ३ गरी जम्मा ५ वटा मात्र जहाज थिए । काठमाडौं, सिमरा, पोखरा, भैरहवा, विराटनगर, भरतपुर, राजविराज, जनकपुर, दाङ, नेपालगन्ज र धनगढी गरी जम्मा ११ वटा हवाईमैदान थिए । दिल्ली, पटना र कलकत्तामा नेपाली जहाज उड्थे । देशभित्रै आवतजावत गर्न धनीहरु घोडामा सवार हुन्थे । गरिबका लागि पैदल यात्राको विकल्प थिएन, न त सञ्चारको सुविधा नै थियो । केही महङ्खवपूर्ण सहरमा आकाशवाणी थिए । ‘चुनाव प्रचारप्रसारमा हिजोआज जस्तो सञ्चार माध्यमको प्रयोग कल्पना बाहिरको कुरा थियो । तर पनि चुनावबारे जनचेतना जगाउन देशका विभिन्न भागमा नमुना निर्वाचन गराइए ।’
‘निर्वाचन आयोगले चुनाव हुनुभन्दा केही समयअगिदेखि नै विभिन्न जिल्लाका बजारमा नमुना चुनाव गराएको थियो । चुनाव सुरू हुनुभन्दा तिन–चार महिनाअगिदेखि रेडियो नेपालबाट चुनावी वार्ता, विभिन्न भाषामा तयार गरिएका चुनाव सम्बन्धी लोकगीत बजाइएको थियो । त्यसै गरी निर्वाचन सम्बन्धी पोस्टर बनाएर देशभर पठाइयो, जसमा भोटरहरु कसैको दबाबमा नपरी निर्भय होउन्, उम्मेदवार यस्तो व्यक्तिलाई छान्नुपर्छ र मतदान कसरी गर्ने जस्ता विषयमा केन्द्रित थिए ।’ (पण्डित, २०६३ ः २४)
निर्वाचन सुरू हुनुभन्दा नौ महिनाअगिदेखि निर्वाचन सन्देश नामक पाक्षिक पत्रिका प्रकाशन गरियो, जसमा चुनाव सम्बन्धी गतिविधि प्रकाशित हुन्थे । केही उम्मेदवार हाते माइक बोकेर गाउँ गाउँ घुम्ने गर्थे । पार्टीले प्रचार सामग्री बनाएर मिडिया मार्फत विज्ञापन गर्ने अहिलेको जस्तो चलन थिएन; न त पर्चा, पम्प्लेट बनाउनै सहज थियो । प्रायः उम्मेदवारहरु आफू अनुकूल स्थानीय भाषामा गीत बनाएर गाउँदै गाउँघरमा पुग्थे । चलचित्र निर्देशक खरेल सम्झन्छन्— ‘हिजोआज जस्तो भड्किलो प्रचारप्रसारको कल्पनै थिएन । न त आमसञ्चार माध्यमबाट पार्टी र उम्मेदवारको प्रचारप्रसार हुन्छ भन्ने कल्पना गरिएको थियो । चोक चोकमा सभा हुन्थे । पर्चा, पम्प्लेट फाट्टफुट्ट देखिन्थ्यो ।’
क्षेत्र नं. ३२ मोरङमा उम्मेदवार बनेका बीपीको पनि सानो पर्चा बनेको थियो । त्यसमा लेखिएको थियो— ‘नेपाली राजनीतिका जन्मदाता । क्रान्तिका वीर सेनानी । नेपालका एक मात्र राष्ट्रिय नेता । त्याग र बलिदानका प्रतिमूर्ति विश्वेश्वरप्रसाद कोइरालालाई भोट दिनु हाम्रो कर्तव्य हो । मोरङको क्षेत्र नं. ३२ बाट खडा भएर वहाँले हाम्रो जिल्लाको सम्मान बढाउनुभयो । वहाँलाई ठूलो बहुमतबाट विजयी बनाएर हामी राष्ट्रको इज्जत बढाऔं ।’ (रिजाल, २०७२ ः ७९) यातायात र सञ्चारको पहुँच नभएको र गरिब, अशिक्षित जनताको बाहुल्य भएको त्यो समयमा पनि देशमा भएको पहिलो संसदीय चुनावको प्रचारप्रसारमा रेडियो नेपाल र केही पत्रपत्रिकाले महङ्खवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०१५ माघ २७ गते गोरखापत्रले चुनावबारे सूचना छापेको छ— ‘आमनिर्वाचन केवल आठ दिन मात्र बाँकी । निर्वाचन सफल तुल्याउन मद्दत गर्नुहोस् ।’ त्यही अङ्कमा प्रकाशित अर्को विज्ञापनको बेहोरा यस्तो छ— ‘निर्वाचन नजिक छ । शान्त वातावरणमा निक्कै नै बुद्धि पु¥याएर स्वदेशी तथा सबभन्दा सज्जन र उपकारी जो छ, जसको आनीबानीलाई वर्षौंदेखि तपाईंहरुले थाहा पाउनुभएको छ । त्यसैलाई भोट दिनुहोस् । (प्र.सं.गो.प)’
प्रतिक्रिया