मिडियाको ज्यादती र दादागिरीविरुद्व व्यापारिक संस्था र आम व्यक्ति लड्न सक्दैनन् । मिडियामा अच्काली नै भएको छ । मिडियालाई मर्यादित बनाउन र पीडितको पक्षमा लड्न काउन्सिलको व्यवस्था गरिएको हो । ऊ नै यसरी बक्तव्य जारी गरेर जिम्मेवारीबाट भाग्न मिल्दैन । दुधको दुध पानीको पानी हुने गरी अनुसन्धान रिर्पोट सार्वजनीक गरी दोषीलाई दण्डित गर्ने र व्यवशायीक मिडियालाई प्रवर्धन गर्ने जिम्मेवारी पनि काउन्सिल कै हो ।
प्रेस काउन्सिल नेपालले पुष २५ गते एउटा बक्तव्य जारी गरी भनेको छ–पछिल्लो समय सञ्चार माध्यम तथा सम्वद्ध व्यक्तिबाट विज्ञापनको अनावश्यक दबाब एवम् अन्य ‘बार्गेनिङ’ गर्ने र विज्ञापन दिन अस्वीकार गरेमा तथ्यहीन तथा आधारहीन समाचार प्रकाशन, प्रशारणको धम्की दिने प्रवृति देखिएको छ । यदी कसैले त्यस्तो गरेको छ भने प्रमाण सहित काउन्सिलमा उजुरी गर्न आउनु ।’
नेपाली मिडियाको अनुगमन गर्ने, आचार संहिता पालना गर्न लगाउने र नगर्ने सञ्चार माध्यमलाई कारवाही गर्ने अधिकार प्राप्त निकाय प्रेस काउन्सिलको यो बक्तव्यले मिडियाका नाममा गैर व्यवशायीक कृयाकलाप फष्टाएको देखाउछ । यस्ता गैर व्यवशायीक चरित्र वोकेका मिडिया र पत्रकारहरुको व्यवहारका कारण बास्तविक मिडिया र पत्रकारले वदनामी खेप्नु परेको छ । समाजमा सबै मिडिया बार्गेनिङ गर्छन् र सबै पत्रकार बदमास छन् भन्ने सन्देश प्रवाह भएको छ ।
तर पनि काउन्सिलको त्यो बक्तव्य मुलधारका प्राय सबै मिडियामा समाचारको बिषय बनेन । किन ? कि यो समाचार योग्य बिषय होइन ? या त काउन्सिलको बक्तव्य मिडिया हाउस र तिनमा काम गर्ने पत्रकारसम्म पुगेन ? वा विज्ञापन माग्ने र नपाए बार्गेनिङ गर्ने प्रवृत्ति नयाँ नभएकाले समाचार योग्य ठहरिएन ।
भनिन्छ, मिडिया समाजको ऐन हो । कुन समाज कस्तो छ भनेर बुझ्न, त्यहाँको मिडिया हेरे पुग्छ । समाजका विकृतिविरुद्ध पहरेदारी गर्ने जिम्मेवारी पाएको प्रेस आफैं ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार प्रवाह गर्ने गलत प्रवृत्तिमा संलग्न हुनु कुनै पनि सभ्य समाजका लागि स्वीकार्य बिषय हुन सक्दैन ।
पत्रकारिताले आवाजविहीनको आवाज बोल्छ, शासक र सरकारलाई निरंकुश हुन दिँदैन, भ्रष्टाचार तथा अनियमितता हटाउन पहरेदारी गर्छ जनविश्वासमा काउन्सिलको बक्तव्यले प्रश्न चिन्ह्र खडा गरिदिएको छ । त्यो भन्दा ठूलो प्रश्न मिडियाहरुमा यो समाचार किल भएको बिषयले उत्पन्न गराएको छ ।
काउन्सिलको भनाई
काउन्सिल श्रोत भने ठूला तथा जिम्मेवार भनिएका मिडियाले नै बार्गेनिङ गरेको गुनासो आउन थालेपछि बाध्य भएर वक्तव्य निकाल्नु परेको काउन्सिल बताउँछ । ‘राम्रा भनिएका मिडियाले समेत समाचार लेख्ने, बार्गेनिङ गर्ने, यति लाखको विज्ञापन नदिए समाचार लेखिदिने भनेर धम्क्याउने गरेको गुनासो बढेपछि ती प्रवृत्तिलाई निरुत्साहित गर्न वक्तव्य जारी गर्नु परेको हो उसको भनाई छ ।
लिखित निवेदन नपरे पनि काउन्सिल पदाधिकारसँग सरोकारवालाहरुले मौखिक उजुरी गर्ने क्रम बढेको छ । ‘यसरी बार्गेनिङ गर्नेहरुले आफ्नो मिडियामा मात्र होइन अरुमा पनि समाचार आउँछ भनेर धम्क्याउने गरेका हुँदा रहेछन्,’ स्रोत भन्छ ।
यस विषयमा काउन्सिल अध्यक्ष वालकृष्ण बस्नेत भन्छन्, ‘हाम्रो काम मिडियालाई गलत बाटोमा जान नदिन सजक गराउने पनि हो । अनेपेक्षित रुपमा बार्गेनिङ गरेका गुनासा बढेपछि त्यसलाई रोक्न यस्तो कदम चाल्नु परेको हो । हामी निरन्तर फलो गरेर यस्ता बेथिती रोक्न प्रतिवद्ध छौं । उजुरी परेका विषयमा अध्ययन जारी छ । पुरा भएपछि मिडियाले के कसरी बार्गेनिङ गरे भन्ने तथ्य सार्वजनिक हुन्छ ।’
के भन्छन् बिज्ञ
विपुल पोखरेल, अध्यक्ष, नेपाल पत्रकार महासंघ
काउन्सिलले हचुवा वक्तव्य निकाल्दा सबै मिडिया संसयको घेरोमा परेका छन् । ‘कसले, कोसँग, कस्तो बार्गेनिङ ग-यो अनुसन्धान गरी दोषी किटानी गरेर मात्र काउन्सिलले वक्तव्य निकाल्नु पर्ने थियो,’ अहिलेको वक्तव्यबाट सबै मिडियाले बार्गेनिङ गर्ने रहेछन् भन्ने गलत सन्देश गयो । केही खराव होलान्, तिनको नाम किटान नगरी काउन्सिलले सतही बक्तव्य जारी गर्दा व्यवशायिक मिडियाले वर्षौंको मेहनतबाट कमाएको विश्वसनीयता गुमाउने अवस्था बनेको छ । बार्गेनिङ भयो भनेर मात्र काउन्सिल उम्किन मिल्दैन । यसको एक–एक छानविन हुनुपर्छ ।’
राजेन्द्र दाहाल
पूर्व अध्यक्ष, प्रेस काउन्सिल
‘मनि, मसल र पावरबाट चलेको राजनीतिलाई लिकमा ल्याउने काम मिडियाको हो । तर अहिलेको अवस्थामा राजनीतिक नेतृत्व र समाजले स्वस्थ्य पत्रकारिता चाहने हो भने व्यवसायिक पत्रकारलाई साथ दिनु आवश्यक छ । मिडियामा हावी भएका भाइरल विकृतिले के देखाउँछ भने हाम्रो राजनीतिक नेतृत्व र समाजले स्वस्थ्य पत्रकारितालाई साथ दिएको छैन । दण्डहीनता बढेको छ । कानून उल्लंघन गर्नेहरु खुलेआम हिँडिरहेका छन् । अपराधी र भ्रष्टाचारीहरु कानूनको दायरा बाहिर छन् । त्यसको स्वभाविक असर पत्रकारितामा पनि परेको छ ।’ नैतिकता भएका सम्पादकहरु सडकमा छन् । मालिकलाई सम्पादक होइन ‘एस म्यान’ चाहिएको छ । त्यसैले त केही अपवादलाई छोडेर कुनै पनि मिडिया सम्पादकको नाममा होइन मालिकको नाममा चिनिइरहेका छन् ।’ वक्तव्य जारी गरेर मात्र काउन्सिलको जिम्मेवारी पुरा हुदैन । ‘कुन मिडियाले कुन संस्था वा व्यक्तिसँग कस्तो बार्गेनिङ गरेको हो सत्यतथ्य बाहिर आउनुपर्छ, ।
मिडियाले आचार संहिता विपरीत काम गरे कारबाही गर्ने निकाय नै काउन्सिल हो । उसले हचुवा विज्ञप्ति निकाल्ने होइन । छानविन गरी सत्यतथ्य बाहिर निकाल्ने र दोषिमाथि कारबाही गर्ने हो ।’
मिडियाको ज्यादती र दादागिरीविरुद्व व्यापारिक संस्था र आम व्यक्ति लड्न सक्दैनन् । मिडियामा अच्काली नै भएको छ । मिडियालाई मर्यादित बनाउन र पीडितको पक्षमा लड्न काउन्सिलको व्यवस्था गरिएको हो । ऊ नै यसरी बक्तव्य जारी गरेर जिम्मेवारीबाट भाग्न मिल्दैन । दुधको दुध पानीको पानी हुने गरी अनुसन्धान रिर्पोट सार्वजनीक गरेर दोषीलाई दण्डित गर्ने र व्यवशायीक मिडियालाई प्रवर्धन गर्ने जिम्मेवारी पनि काउन्सिल कै हो ।
प्रतिक्रिया