नेता ज्यू, तपाईको मूल्य चाँहि कति ?

image

राजा : हेर गिरिजा सबैको मूल्य हुन्छ ।
गिरिजा : (ट्वा परे, के भन्न खोजेका हुन् राजाले) सरकारले के भन्नु भएको मैले त बुझ्न सकिन नी । 
राजा : वाख्राको मोल यति, भेडाको मोल यति । कसैको पाँच सय, पाँच हजार, १० हजार यस्तै मोल हुन्छ नी । त्यस्तै मान्छेको पनि मूल्य हुन्छ । 

राजनीतिककर्मीहरुमा नैतिकता, इमान्दारीता र सिद्धान्तको खडेरी देखिएको छ । राजनीति सेवा भावले होइन कमाउनका लागि गरिने व्यवशाय जस्तो वनेको छ । स्थानीय तह देखि प्रदेश र संघीय सरकारसम्म नेताहरुका कृयाकलापले गणतन्त्र र संसदीय व्यवस्था वदनाम भएको छ । राजनीतिककर्मीहरुका कृयाकलापले उनीहरु जनताको सेवा नभै कमाउन मात्र केन्द्रीत छन् भन्ने देखाएको छ । के मूल्य, मान्यताकोे राजनीतिक युग समाप्त भएको हो ? वा सधै राजनीति यस्तै हो । 
यसै सन्दर्भमा २०१७ साल पुष १ गतेको कु पछि वन्दी रहेका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई छुटाउने क्रममा उनका भाई गिरिजाप्रसाद कोइराला (पूर्व प्रधानमन्त्री) र राजा महेन्द्रका विचमा भएको रोचक सम्वाद । 

पहिलो जननिर्वाचित सरकार र संसदलाई अपदस्त गरी (२०१७ पुष १) राजाले निर्दलीय पञ्चायती व्यवस्था चालएको पनि सात वर्ष हुदै थियो । तर राजा महेन्द्र आफूले चाहे जस्तो काम गर्न नसकेकोमा खिन्न थिए । त्यसैले पनि उनी राजनीतिक दल माथिको प्रतिवन्ध हटाएर राजनीतिक सुधार गर्ने मानसिकतमा पुगि सकेका थिए । त्यसका लागि सुन्दरीजल वन्दीगृहमा रहेका बीपीलाई छुटाउने तयारी हुदै थियो । यो अभियानमा प्रधानमन्त्री सूर्यवहादुर थापा र कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायलाई खटाएका थिए उनले । 
अन्तमा बीपीकै कान्छा भाई गिरिजाप्रसाद कोइरालालाई जेलवाट रिहा गरी वार्ता प्रकृयामा सहभागी गराइयो । बीपी रिहा गर्ने सन्दर्भमा गिरिजा र राजा विच भएका बार्तालाप एकदमै रोचक छन् । यस प्रसंगमा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६४ असोजमा लेखकलाई सुनाए ‘राजा महेन्द्रले भनेका थिए, बीपी एक वर्षसम्म उपचार गराएर चुपचाप वसुन । उनी घरी घरी सोध्थे हैन गिरिजा बीपी छुटे भने के गर्छन् ?’ बीपीलाई छुटाउने सन्दर्भमा राजासंग विभिन्न चरणमा भएका लेखकलाई विस्तृत रुपमा सुनाएका थिए । त्यसको प्रमुख अंश यस्तो छ । 
पहिलो दिन
राजा : हेर गिरिजा । राजानीति अत्यन्तै खराव चिज रहेछ । आफ्नो परम मित्रलाई पनि जेल हाल्नु पर्ने । बीपी मेरो वेष्ट फ्रेण्ड (सवै भन्दा राम्रो साथी) उनलाई नै जेल हाल्नु प-यो । 
गिरिजा : सरकारको वेष्ट फ्रेण्ड हो भने आठ आठ वर्षदेखि किन जेलमा राखिरहेको । अव छोड्नु प-यो सरकार । छोडे सरकारकै इज्जत वढ्नेछ । 
राजाले : मलाई पनि त ठा“उ दिनु प-यो नी । कमसे कम ढोका नखोले पनि झ्याल त खोल्नु प-यो नी । 
गिरिजा : झ्याल किन खोल्ने, ढोकै खोल्नु पर्छ सरकार । सरकारले किन समाएको ? जसरी समाईयो त्यसरी नै छोडिदिए त भैहाल्यो नी । किन छोडेको भनेर कसले प्रश्न गर्छ र ?   
राजा : हैन मैले पनि त वाटो पाउनु प-यो नी । 
गिरिजा : बीपी कोइराला मरेर जानुहुन्छ तर आत्मसमर्पण (अण्डर टेक) दिनुहुन्न । गल्ति गरेको भए पो अण्डरटेकिङ दिने । अण्डर टेकिङ दिने कुनै कारण नै छैन ।
राजा  ः हैन मेरो पनि त इज्जत छ । तिमी यसो गर बीपीलाई भेट । 
गिरिजा : हुन्छ म भेट्छु । तर म एक्लै भेट्छु ।
राजा : कहिले जान्छौं । 
गिरिजा : भोली ।
त्यस पछि गिरिजा बीपीलाई भेट्न सुन्दरीजल जान्छन् । राजासंग भएको कुरा विस्तारमा सुनाउछन् । 
दोस्रो भेट
राजा : बीपीसंग कुरा भयो । 
गिरिजा : सरकारसंग मैले भनि सकेको छु नी मरेर जानुहुन्छ तर अण्डरटेकिङ दिनुहुन्न । वेष्ट फ्रेण्ड पनि भन्ने अनी अण्डरटेकिङ पनि गराउने ? यो त हुदै भएन सरकार बीपीलाई छोड्नु पर्छ ।
राजा : केही त गर्नु प-यो नी । मेरो पनि त इज्जत छ । 
गिरिजा : सरकारको इज्जत छदैछ । बीपीलाई छोड्यो भने राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा झन दोव्वर इज्जत प्रतिष्ठा वढ्छ । 
राजा : होइन, तिमीले भनेको ठिक हो । छोड्दा मलाई गाह्रो हुन्छ । 
दरवारवाट फर्किएर गिरिजा फेरी बीपीलाई भेट्न सुन्दरीजल जान्छन् । फर्किको केही दिनमा दरवारवाट दर्शनभेटका लागि आउनु भन्ने खवर पुग्छ । गिरिजा फेरी नारायणहिटी पुग्छ । त्यति बेला राजा महेन्द्रसंग भएको बार्तालाप यस्तो छ । 
राजा : हेर गिरिजा सबैको मूल्य हुन्छ ।
गिरिजा : (ट्वा परे, के भन्न खोजेका हुन् राजाले) सरकारले के भन्नु भएको मैले त बुझ्न सकिन नी । 
राजा : वाख्राको मोल यति, भेडाको मोल यति । कसैको पाँच सय, पाँच हजार, १० हजार यस्तै मोल हुन्छ नी । त्यस्तै मान्छेको पनि मूल्य हुन्छ । 
गिरिजा : झसंग भएर (किन राजा यस्तो कुरा गर्न थाले)
राजा : टंकप्रसाद आचार्यको ...., (भन्दा भन्दै) मातृकाप्रसाद कोइरालाको मूल्य सुनाई दिए ।
गिरिजा : मनमनै (अव बीपीको मूल्य सुनाउछन् जे भए पनि उफ्रिन्छु) । 
राजा : (भित्तामा राखिएको बीपीको फोटो देखाउदै) यसको मूल्य छैन ।
गिरिजा : छक्क पर्दै मनमनै (सान्दाईको फोटो । हिजो त थिएन । आजै राख्न लगाए होलान्) 
राजा : बीपीको म इज्जत गर्छु अन्तराष्ट्रिय क्षेत्रमा समेत यस्तो मानिस छैन । कुरा जसरी भए पनि मिलाउ । बीपीलाई भन । सम्झाउ । 




प्रतिक्रिया